नीलम कार्की नीहारिका
’हेर कति भाग्यमानी ? जन्मँदा जन्मँदै सिटिजन ! अब यो अमेरिकाको सिटजन भई, होइन ? ओह, भाग्य हेर…’
न्वारानमा जम्मा भएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूका कुरा हुन् यी ।
सबैको एउटै कुरा- ‘ल सिटिजन… । कति भाग्यमानी !’
सुत्केरी आमाको मन फुरुङ्ग भयो- ‘मेरी छोरी भाग्यमानी छोरी !’ अनुहार हेरिरही आमा सैलूले ।
भाग्यमानी नहोस् कसरी ? मान्छेलाई यहाँको
ग्रीनकार्डको लागि कस्तो मरिहत्ते छ । ऊ सिधै सिटिजन । बाटो खुल्ला छ ।
हुनसके प्रेसिडेन्ट बन्न खुल्ला छ यहाँ जन्मेका सिटिजनको लागि ।
यति बिघ्न सुविधा छ बालबच्चालाई यहाँ ।
आमाको गर्भमा आएदेखि एक्स्ट्रा खाना
दिन्छन् आमालाई, सरकारको तर्फबाट । भनौँ निःशुल्क, कमाइ कम भएकाहरूको लागि
यो । जसको आम्दानी कम छ तिनको बच्चालाई जन्मेपछि पुग्दो खाने कुरा होस्
भनेर ।
कुनै बच्चा भोको रहनु पर्दैन यहाँ ।
खान नपाएर कुपोषित हुनु पर्दैन ।
भोकमरी लाग्दैन ।
यतिबेला अनामनगर चोकमा मकै पोलेर बेच्ने महिलालाई सम्झन्छे सैलू ।
उसकी
छोरी चार नाघेकी थिइन् होली, बेस्सरी कुटेकी थिई मकै बेच्ने महिलाले- ‘दुई
घोगा खाइसकी अझै ले भन्छे, अझै खाने रे ! कति नै आउँछ नाफा ? दस घोगा
बेच्दा एउटा जस्तो पर्छ, कोइला त्यत्ति महँगो छ, मकै खोज्न कहाँ
पुग्नुपर्छ, कति थोते पर्छ ।’ ऊ सराप्दै थिई, ‘तँलाई कालले खान नसकेकी,
खानको काल । खानको लागि जन्मेकी ।’
अभावको दरिद्रता ! पटकपटक उसले सम्झने दृश्य ।
ऊ यो सम्झन्छे । त्यो दिनदेखि धेरैलाई यो
दृश्यको बयान पनि गरी । जतिलाई सुनाई, बढी जसोले सामान्य कुरा हो भने ।
केहीले दुःखमनाउ गरे ।
त्यो दरिद्रता यहाँ छैन ।
आमाको दूध नआए डिब्बाको महँगो दूध पाइन्छ
निःशुल्क । दूध ? आˆनो देशमा बालमन्दिरमा एकताका बच्चाको दूध, लिटो
बाँड्थ्यो’रे सरकारले । तर लिटो मात्रै भेट्थे’रे बच्चाले, दूध कर्मचारीको
घरमा बाक्लो चिया बन्थ्यो’रे । सैलूकी आमाले उसलाई सुनाएको कुरा यो । त्यो
बेला ऊ निकै सानी थिई या जन्मेकै थिइन ।
मकै खान्छु भन्दा कुटाई खा’की, खरानी
दलिएको मैलो जामा लगा’की बच्ची आउँछे सैलूको सम्झनामा । बच्चाले होमवर्क
गरेन भनेर शिक्षकले लाठी बर्साउँदा बच्चा अस्पताल भर्ना गर्न परेको घटना
नौलो होइन मेरो देशको लागि । त्यस्तो समाचार अहिले पनि आउँछ अनलाइन
समाचारमा । यहाँ शिक्षकले त के आˆनै आमा-बाबुले समेत पिट्न पाउँदैनन्
त्यसरी । त्यसरी अस्पताल पुग्नु त परै जाओस् थप्पड लाउन पाउँदैनन् । थप्पड
टाढाको कुरा, अपशब्द भनेर गाली गर्न, थर्काउन पाउँदैनन् यहाँ । यहाँको
निम्ति त्यो कुटाइ महाआश्चर्य हो ।
‘हो, हाम्री आयुषा छोरी पक्कै भाग्यमानी हो ।’ सैलू निक्र्यौलमा पुगी ।
ओह, त्यो बन्द, हडताल, लुटपाट सबैबाट टाढा छ आयुषा ।
पकाउने ग्याँस नपाएर उसको जाउलो पकाउन पाइनँ भन्नुपर्ने छैन ।
बिजुली नआएर होमवर्क गर्न पाइनँ भन्ने छैन ।
दूध पाइएन भन्ने छैन ।
कुनै कुराको चिन्ता छैन ।
‘हो, छोरी भाग्यमानी हो । मेरी छोरी भाग्यमानी छोरी ।’ बलियो निक्र्यौलमा पुग्छे अझ ।
सासूसँग भनी- ‘आमा हाम्री छोरीको भाग्य बलियो रै’छ ।’
बुहारीको सुत्केरी उतार्न आएकी सासुले
होमा हो थपी- ‘भाग्यमानी छ, जन्मँदा जन्मँदै हजुरआमालाई यो देश देखाई । अब
सबैलाई तान्छे यतै यसले, फुपूहरू, अङ्कल सबैलाई यतै बोलाउँछे यसले । मेरी
लच्छिनकी नातिनी Û’ गालामा चुप्पा खान्छे ।
‘अब अरू तिम्रा नन्द देवरको समेत पीर रहेन ।’ थप्छिन् सासुले ।
छ महिनाको लागि आएकी सासू-बुहारीको सुत्केरी स्याहार्न ।
सुत्केरी भनेर सधैँ कोठामा बसेर काम
चल्दैन । हो, एक जनाको कमाइ सानो परिवारलाई खान पुग्छ, कोठा भाडा पुग्छ यसो
बचाउँ भने पुग्दैन । बचाउँ भन्यो भने छटपटी हुन्छ ।
सासूसँग छोरी छाडेर जागिरमा हिँडी दुई महिनामै सैलू । चार महिनाको लागि ढुक्कसँग काम गरी, छोरी हजुरआमाको काखमा छ भनेर ।
छ महिनाको भिसा सकियो । सासू नेपाल फर्किन् ।
सासू नेपाल फर्केको अर्को दिनमा नै आयुषा
ठूलो समस्या बनी आमा-बाबुको कामको । अब के गर्ने ? समाधान त थियो
उनीहरूसँग- बेबी सिटर । तर सबैको हेरेर उनीहरूलाई राम्ररी थाहा थियो सहज
उपाय पक्कै होइन । तर पनि पुग्नु थियो बेबी सिटरको कोठामा ।
बेबी सिटरकहाँ पुगी पूर्वयोजना अनुसार ।
ऊ नजन्मँदैदेखिको योजना थियो अरूको जस्तै उनीहरूको पनि । केही महिना हजुरआमा बोलाउने अनि बेबी सिटरकहाँ राख्ने ।
बेबी सिटर !
बेबी सिटर दिदी बच्चाहरू जम्मा पारेर
आफ्नै कोठामा हेर्थिन् । कहिले दुईजना मात्र हुन्थे बच्चा, कहिले
सातजनासम्म । सात भने कहिले नाघेको थिएन । पाँचतलामाथि बस्थिन् उनी, दुईवटा
सुत्ने कोठा र सानो कमन-रुम थियो । छोरी ज्वाइ, अनि अर्को एक परिवार एकएक
कोठामा, उनी कमन-रुममा सुत्छे । अङ्ग्रेजीको कारणले बाहिर काम गर्न गाह्रो
छ, आफ्नै कोठामा हेर्छिन् बालबच्चा । अन्त पनि यसरी हेर्ने अरू छन् ।
उनीहरूले यिनी दिदीलाई रोजे । अलि सस्ती छन् यिनी दिदी अरूको तुलनामा । तर
यसरी बच्चा हेर्नु हेराउनु दुवै कानुनको विपरीत हो ।
बिहान काममा जाने बेला त्यहाँ छाडिदिन्छे
सैलू, यो सबै जानेर पनि । उसले झैँ अरूले पनि छाड्छन् । अरूका आमा-बाबुसँग
भेट हुन्छ आउँदा जाँदा ।
राति फर्केर आउँदा छोरीलाई बेबी
सिटरकहाँबाट लिएर आउँछे । सधैँ साढे आठ बज्छ आउँदा । बिहान ठीक नौ बजे
छोड्छे । दुई महिनादेखि बच्चाले खाने दूध छातीमै सुकाई उसले । डिब्बाको
महँगो दूध बिनाशुल्क पाइन्छ, तर आमाको हृदय दुख्छ भित्र कतै ।
आफ्नो देशमा हुँदा सरकारी कार्यालयमा अधिकृत थिई सैलू ।
यहाँ आँखीभौँ मिलाउने काम गर्छे । डीभी
चिठ्ठा परेको चिठी पाएपछि उसले यो काम सिकिहाली, यहाँ स्टोप छ पहिला नै यता
आएकाहरूले । हुन पनि राम्रो ग्राहक आए राम्रै टिप्स मिल्छ । कोही कन्जूस
हुन्छन्, एक डलर नदिने पनि आउँछन् । आफ्नो आफ्नो ग्राहक हुन्छ । नयाँ
ग्राहक आएकोलाई बाँडेर लिनुपर्छ पालैपालो ।
साँझ र्फकदा आफ्नो ज्यान आफ्नो होइनझैँ
लाग्छ । जता छोए उतै दुख्छ । स्टोलरमा छोरी गुडाउँदै आउँछे । आउँदा कहिले
पल्लो कोठाको भाइहरू आइसकेका हुन्छन्, कहिले आधा रातमा आउँछन् । आए पनि नआए
पनि खाना बनाउने काम महिलाको मात्र हो भनेझैँ गर्छन् । पूरा ˆलेट लिँदा एक
जनाको कमाइ सबै रेन्टलाई नै बुझाउनपर्ने हुँदा एक कोठामा दुई विद्यार्थी
भाइहरू राखेका छन् । अर्कोमा आफूहरू छन्, सैलूहरू ।
छोरीको पेट सधैँझैँ आज पनि डामो छ । खुवाउन खोज्छे झन् चर्कोसँग रुन्छे ।
फ्रिजभरि खानेकुरा छ तर छोरी खान्न । भोलि बिहानी काममा जानु छ । एकपटक फेरि अनामनगरकी मकै बेच्नेकी छोरीलाई सम्झन्छे ।
सैलू र्झकन्छे, झर्काइमा थकाइ छ, अरू के-के छ… ।
श्याम बन्धु !
जन्मेको देशमा हुँदा जागिरे थियो । अहिले
यहाँ काम गर्छ । ऊ सबैलाई काम गर्छु मात्र भन्छ, धेरैलाई थाहा छैन के गर्छ
कहाँ गर्छ ? यो कामको इज्जत गर्ने ठाउँ हो, सानो ठूलोको वर्गीकरण छैन ।
बिहान दस बजे जान्छ, राति एघार नबजी आउँदैन । शुक्रबार, शनिबार र आइतबार
मुख्य थाक्ने दिन उसको । छोरीको मुख राम्ररी हेर्न पाउने दिन बिदाको दिन
मात्र हो । नत्र आˆनो निदाउन आतुर आँखाले कोक्रेमा निदाइरहेको छोरीलाई यसो
हेर्छ अनि सुत्छ ।
छोरी आयुषा ।
यसै गरी दुई वर्ष पूरा भयो । बिहानै बेबी
सिटरकहाँ पुग्नु, साँझसम्म आमाको बाटो कुर्नु । कसैले आˆनै कोठामा बेबी
सिटर बोलाउँछन् । खर्च महँगो पर्छ । एकजनाको कमाई सबै बुझाउनुपर्छ । बेबी
सिटरकहाँ लगेर छाड्दा धेरै सस्तो पर्छ ।
सुतिरहेकी छोरीलाई उठाएर स्टोलरमा
गुडाउँदै पुर्याउँछे सैलू काममा जानुअगाडि । पहिला त आमा नचिन्दासम्म केही
थिएन । अहिले चिन्छे, मान्दिन । स्टोलरमा बसाउनासाथ रुन लाग्छे । छोडेर
हिँड्ने बेला चिच्याई-चिच्याई रुन्छे । सैलू त्यहाँ हुँदासम्म बेबी सिटरले
समात्छे जब सैलू बाहिर पुग्छे छाडिदिन्छे बेबी सिटर दिदीले… आयुषा रुन्छे,
थाक्छे… थाक्छे… रुन्छे… कुनै नयाँ कुरा होइन । बेबी सिटर दिदीलाई पनि कुनै
नयाँ कुरा छैन बच्चा रुनु, थाक्नु । रोएको बच्चा फकाएर बसिसाध्य पनि छैन ।
आमा तल नपुग्दासम्म काखमा लिन्छिन् नानी… ज्ञानी नानी… यी भाषामा बोल्छिन् । अनि केहीबेरमा छाडिदिन्छिन् फ्यात्त भुइँमा ।
एक्लै यताउता गर्छे । सामान फाल्छे ।
खेलौना खोसाखोस पर्छ कहिले अरू केटाकेटीहरू । सक्नेले नसक्नेलाई पिटी पनि
हाल्छ । कहिले अति भयो भन्दै दिदी हप्काउँछिन् ।
ढोका खोलेको आवाज आउनासाथ आयुषाको कान
चनाख हुन्छन्, कतै मेरी आमा हो कि भनेर । ढोका खुल्नासाथ एक आशाको हेराइ
हेर्छे । पाहुना या अरू कोही हुन्छन् । निराशाको सीमा हुँदैन । अब त समय
ठम्याउन सक्ने भएकी छ, यो बेला आउने बेला भो भनेर । रुन्छे, पछारिन्छे ।
डराउँछे उत्ति नै । अलि ठूलो आवाज आउनु हुन्न तर्सन्छे । राति निदमा पनि
तर्सेर रुन्छे ।
राति सुत्दा आमासँग सुताउने चलन यहाँ छैन,
कोक्रोमा एक्लै सुत्ने हो । आमासँग सुत्दा सुरक्षित हुँदैन भन्छन् । कसैले
सँगै सुताए पनि किरिप किनेर कोठामा राख्ने गर्छन् । नभए जो आए पनि खोई
किरिप छैन ? प्रश्न यही हुन्छ ।
सुरुसुरुमा अलग सुताउन मन नभए पनि अलग सुताएको जाति भन्न लागेकी छ सैलूले पनि । थाकेर आइन्छ ! केही भयो भने भइहाल्यो नि ।
राति आमाको हातलाई तकिया बनाएर सुत्नु छैन बच्चालाई यहाँ ।
महिना दिनमा बाबुलाई फुर्सद भएको दिन
बाबुसँग कारमा कतै लगे भने बाबु-आमा अगाडिको सिटमा हुन्छ । कार सिटमा
बाँधिएर पछाडिको सिटमा एक्लै हुन्छे आयुषा । एक वर्ष पुग्नुपहिला पछाडि मुख
फर्केर बस्नुपथ्र्यो, अहिले अगाडि र्फकन्छे ।
कुनै दिन पार्क घुम्न लगे त्यो स्टोलरमा नै गुड्ने हो आमाको काखमा होइन ।
‘नानू’ भनेर बोलाउने कोही छैन ।
तोते बोलीमा साथ दिने साथी छैन ।
यसो गालामा चुम्मा गरिदिन्छन् त्यत्ति हो । कतै रेस्टुरेन्ट खान गए स्टोलरमा बाँधिएर बस्ने हो । उसलाई हिँड्ने जमिन छैन ।
भाग्यसँग रेस्टुरेन्टमा पहिलो जन्म दिन
मनाए । रमझम पार्टी चल्यो, डीजे चल्यो । ऊ भोकाई, रोई, कराई । सबै नाच्दै
रहे । आमा-बाबुलाई सत्कार गर्दै र पाहुनालाई साथ दिँदा ठिक्क भयो । ऊ कति
बेला स्टोलरमा निदाई अन्य पार्टीमा जस्तै ।
बाबुसँग जान खोज्दिन, आमासँग टासिन्छे बाबुले बोलाएमा । मानौँ बाबा चिनेकी नै छैन एकै घरमा भएर पनि ।
हिउँ झरिरा’छ । आमा चाहिँले स्टोलर
कुदाउँदै बेबी सिटरकहाँ छोडिदिन्छे । पानी परिरा’छ । प्लास्टिकबाट पानी
पसेछ । लुगा भिजेछ । ‘बेबी सिटरकहाँ पुर्याएर लुगा फेरिदिनू है दिदी’ भनेर
गई आमाचाहिँ । फोनमा अल्झिई दिदी झन्डै एक घन्टा चिसो लुगामा नै । ऊ
रुन्छे । रुन निषेध छ त्यहाँ । सुकसुक गर्दै डराई-डराई रोई ।
त्यसपछि हप्ता दिन खोकी, रातमा समेत ।
डाएपर पिसाबले झोली पर्छ । ‘ल बिर्सेको’
भन्दै फेरि दिन्छिन् दिदी झ्याकभुक पार्दै । ‘दुब्ला’की छ । खानै मान्दिन
जति कोसिस गरे पनि ।’ दिदीको गुनासो दिनदिनैको । अझ भन्छिन्- ‘मैले त
नसम्हालेझैँ भा’की छ, सबैलाई भन्दा यसलाई बढी गर्छु ।’
राति निद्रामा रुँदै उठ्छे । रातमा दुई-तीनपटक दूधको बोतल रित्याउँछे निद्रामा नै । ऊ बामे सरेको हेरेर खुसी हुने कोही भएन ।
पहिलो दाँत टुसाउँदा हेरेर खुसी हुने फुर्सद कसैलाई भएन ।
बेबी सिटर दिदीलाई पीर परेको थियो- अब धेरैपटक डाइपर फेरिदिनुपर्ने भो ।
ताते-ताते गरी, उनै दिदीलाई पीर पर्यो । अब सामान यताको उता फाल्ने भई । स्याहार्न गाह्रो हुने भयो ।
अलिअलि आवाज निकाल्न लागी, पीर पर्यो उनैलाई, अब हल्ला गर्ने भई ।
यो सबै हेरेर खुसी हुने कोही भएन । पहिलोपटक आयुषा आफैँ उभिएको बेला हेर्ने आँखा खै ?
आˆना तालमा दूधे दाँत देखाएर हाँस्थी, तर हाँसोको उत्तर आएको खोइ ?
कति बेला दुवै हात पिटेर ताली बजाउँथी ।
एक्लै गुनगुनाइरहन्थी मीठो गीतजस्तो, सुन्ने कान खोइ ?
झर्को लाग्छ दिदीलाई नै । ऊ कसैले मलाई
हेरेका छन् कि भनेर यसो हेर्छे, कोही छैन । उल्टो झर्को लागेको हेराई
हेर्दै गरेकी दिदीको अनुहार देख्छे ।
‘यो नगर त्यो नगर । नगर नगर नगर’ भनेको
सुनेकी छ । दिदीले टेलिफोनमा कुरा गर्दा नेपाली शब्द सुन्छे, त्यति हो ।
नत्र धेरै सुनेकी छैन शब्दहरू ।
आज आनीले सिसा फुटाई । सानो घाऊ लाग्यो । भगवान्को सिसा फुटाई ।
‘मलाई अलच्छिन हुने भयो’ दिदीको गुनासो अर्कै छ आज । हिजोआज गुनासो धेरै हुन्छ दिनैपिच्छे सैलूसँग ।
छोरी डराइरहेकी छ । आफ्नी आमासँग पनि आउन्न, अलि टाढा टाढा जान्छे ।
‘भनेको मान्दिन । अलि सानी छँदा सोझी होलीजस्ती थिई । यसले दुःख दिन्छेजस्तो छ बहिनी तपाईंलाई पछि ।’ उनै सिटर दिदीको कुरा ।
घर पुगेपछि पनि बेस्सरी रोइरही । दुःख
दिइरही आयुषाले । केही भन्न खोजेजस्तो इसारा गर्न खोजेजस्तो । तर भाषा
बुझिन सैलूले, न इसारा नै बुझी । पूरा आमा भन्न पा’को भए पो बुझ्नु…
मडारिइरहन्छ नानी । लुगा फेरिदिन खोज्छे ऊ, झन् मडारिन्छे, रुन्छे ।
बल्लतल्ल लुगा खोल्छे छोरीको । देख्छे,
पछाडि पिठयूँमा औलाको मेटिदै गरेको डाम । मोटो औलाको डाम । सैलूले यो छुन
खोज्छ, झन् रुन्छे । चर्को स्वर रुन्छे नानी । एकाएक उसको हात टेलिफोन
समाउन पुग्छ- ‘आज म सजाय नदिई छाड्दिन, कम्प्लेन गर्छुगर्छु पुलिसकहाँ आज ।
पहिला पनि चोट नै चोट हुन्थ्यो । केटाकेटी एक-आपसमा लडे भन्थिन् दिदी, आज त
यति मोटो औलाको दाग ? अझै दाग मेटिएको छैन ।’ नम्बर हान्न खोज्छे । डायल
गर्न खोज्छे १११ ।
१११ इमरजेन्सीमा डायल गर्ने नम्बर । यो हानेपछि पुलिस, दमकल, अनि एम्बुलेन्स आइपुग्छ घरमा सेवा दिन ।
डर अनि रिसले हात काँप्छ ।
उसले रिसिभर राख्छे, आफूलाई नियन्त्रणमा पार्दै । सम्झन्छे बाल नेग्लिजेन्स, बालअधिकार हननमा परेका बाबु-आमाहरूका सत्य खबर ।
यहाँ कम्प्लेन गर्नु कसको ?
सैलू सुम्सुमाउँछे । यतिविधि बालअधिकार
भएको देशमा जन्मेर पनि पिठयूँमा परेका यी डामहरू ? छोरी ! मेरी छोरी,
भाग्यमानी छोरी ! बलियो गरी अठयाउँछे ।
सम्झन्छे, सासू जाने बेला श्रीमान्ले
भनेको वाक्य- ‘आमा ! यहाँ छोराछोरीको लागि बस्ने हो । बालबालिकाको भविष्य
धेरै उज्ज्वल छ यहाँ । हामी कसरी हुर्कियौ ! भुइँमा नटेकी हुर्कन्छन् यहाँ
।’
(नीहारिकाको कथासंग्रह ‘बेली’बाट)