६ मंसिर, काठमाडौं । मंसिरको यो बेला
विवाहको तयारीमा लाग्नुभएको छ भने पण्डित, पुरोहितबाट चनाखो हुनुहोला ।
तपाईंको दबाबमा उनीहरुले जथाभावी विवाह गराइदिए भने तपाईंको दाम्पत्य
जीवनमा ठूलो असर पर्न सक्छ ।
मंसिरमा १४, १५, २०, २२ र २३ गते मात्र
विवाहको लगन छ । १४ गते दिउँसो र राति, १५ गते दिउँसो, १० गते राति, २२ गते
दिउँसो र राति तथा २३ गते दिउँसोको लागि मात्र विवाहको उपयुक्त समय छ ।
शास्त्रले तोकेको विधान र नियम मान्ने हो यी दिन र त्यो दिनमा पनि निश्चित
समय बाहेक अरु बेला विवाह गर्न हुँदैन । तर हिजोआज हाम्रा पण्डित,
पुरोहितहरुले जुनसुकै दिन र समयमा पनि विवाहको लगन निकाल्न थालेका छन् ।
गाउँठाउँका पण्डित, पुरोहितहरुले जथाभावी
विवाह गरेर भद्रगोल अवस्था उत्पन्न गराएको भन्दै धर्म गुरुहरु हैरान भएका
छन् । जथाभावी विवाह गराउने त्यस्ता पण्डित, पुरोहितहरुलाई सपार्न धर्म
गुरुहरुले बृहत सम्मेलन गर्ने सोचाई समेत बनाएका छन् ।
के गरे पण्डितहरुले ?
धर्मशास्त्रका विद्वानहरुका अनुसार
गाउँठाउँमा न्यायाधीशको रुपमा काम गर्ने पण्डित, पुरोहितहरुले विवाहको लगन र
समयलाई लत्याउन थालेका छन् । ‘हामीले ग्रह, नक्षत्र र शास्त्रका धेरै
कुराहरुको हिसाब गरेर विवाहको लगन निकालेका हुन्छौं’ नेपाल पञ्चांग
निणर्ायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले अनलाइनखबरसित
भन्नुभयो-’तर कसैको आग्रहमा पुरोहितहरुले मनलाग्दी रुपमा जथाभावी लगन
निकालेर विवाह गर्ने प्रवृत्ति बढेको छ ।’ उहाँका अनुसार यस्ता पुरोहित,
पण्डितहरुले धर्मशास्त्र र विधान विपरीत काम गरेका छन् । ‘शास्त्र र
विधानले हुँदैन भनेको कुरालाई त मान्नुपर्यो नि’ ढुंगेलले
भन्नुभयो-’पण्डितहरुकै कारण विवाहको संस्कार, परम्परा र मान्यता खलबलिन
पुगेको छ ।’
हतारमा विवाह गर्नुपर्यो पुरोहितसँग
सल्लाह गरेर लगन नभएको बेलामा पनि साइत जुराउने चलन हिजोआज हृवात्तै बढेको छ
। विवाहको लागि निशेध गरिएको कात्तिक र चैतमा समेत हिजोआज विवाह हुन्छ ।
मायाप्रेम, विदेश जाने हतारो या अरु कुनै कारणले केटाकेटी तथा अभिभावकले
गाउँठाउँका पण्डितसँग विवाहको बारेमा सल्लाह गर्छन् । लौ लगन भन्दा पहिल्यै
या त्यो भन्दा पछि गर्नुपर्यो भनेर दबाब दिन्छन् । पुरोहितहरुले पनि यसो
पात्रो पल्टाएजसो गर्छन् । लौ न त यो दिन मिल्ने रहेछ भनेर तर्क गर्छन् ।
अनि लगन नभएको दिन पनि विवाह हुन्छ । यो परिपाटी विस्तारै बढ्दै जाँदा
हिजोआज विवाहको लागि लगन पर्खनेहरुको संख्या घट्दै गएको छ ।
यसरी निकालिन्छ लगन
धर्म गुरुहरुका अनुसार मंसिर, माघ, फागुन,
बैशाख, जेठ र असार मात्र विवाहको लागि उचित महिना हो । यी महिनामा पनि सबै
दिन विवाह गर्न सकिन्न । ग्रह, नक्षत्र र धर्मशास्त्रका अरु धेरै हिसाब
गर्नुपर्छ । ‘२७ वटा नक्षत्र मध्ये ११ वटामा मात्र विवाह गर्न हुन्छ’
ढुंगेलले भन्नुभयो-’यस्ता धेरै हिसाब गरेर लगन निकाल्न हामीहरुलाई झण्डै १५
दिन मेहनत गर्नुपर्छ ।’
उहाँका अनुसार पात्रो निकाल्ने बेला नेपाल
पञ्चांग निणर्ायक समितिका सदस्य र पात्रो तयार पार्ने अरु पण्डितहरुले
छुट्टाछुट्टै बसेर आआफ्नो ढंगले लगन हिसाब गर्छन् । यसरी हिसाब गरेर लगन
निकाल्न एकजनालाई झण्डै दुई दिन लाग्छ । १० जनाले छुट्टाछुट्टै बसेर तयार
पारेको लगनलाई एक ठाउँमा राखेर हेरिन्छ । सबैकोमा सबै लगन मिलेको छ भने
उतिखेरै पारित हुन्छ । तर छुट्टाछुट्टै भयो भने फेरि सामुहिक बसेर साझा
दिनको टुंगो लगाइन्छ । यसरी छुट्टाछुट्टै र सामुहिक रुपमा बसेर तयार भएको
लगन पारित गरेर पात्रोमा लेख्ने काम हुन्छ ।
‘यसरी हामीले धेरै मेहनत र आपसी छलफल गरेर
लगन निकालेका हुन्छौं, तर यसको उल्लंघन गर्ने काम भैरहेको छ’ ढुंगेलले
भन्नुभयो । शास्त्रले दिउँसो १२ बजेदेखि साँझसम्म विवाह गर्न हुँदैन भनेको छ
। तर हिजोआज यही समयमा बढी विवाह हुन्छ । ‘जन्ती ढिलो पुगेको, नभ्याएको
भनेर लगनको दिन पनि समयको ख्याल गरिएको हुँदैन’ ढुंगेलले भन्नुभयो-’लगनमा,
त्यो पनि समयमै विवाह गर्नेहरु निकै नगण्य मात्रै छन् ।’
जथाभावी गर्दाको असर
धर्मगुरुहरुका अनुसार लगन र समयको ख्याल
नगरी विवाह गर्दा दम्पत्ती, घरपरिवार र समाजमा नकारात्मक असर परिरहेको छ ।
तर यसमा कसैले ख्याल गरेको हुँदैन । ‘विवाह हुने बित्तिकै कसैको मृत्यु भयो
या छिटै सम्बन्ध विच्छेद भयो भने मात्र मान्छे झल्याँस्स हुन्छन्, तर
कालान्तरमा हुने असरको चाहिँ ख्याल गर्दैनन्’ पञ्चांग निणर्ायक समितिका
सदस्य सचिव ढुंगेलले भन्नुभयो । उहाँका अनुसार दम्पत्तीबीच मनमुटाब,
पारिवारिक कलह, सन्तान प्राप्तीमा दोष, स्वास्थ्यमा समस्या लगायतका असरहरु
बढ्दै गएका छन् । ‘विवाह जस्तो महत्वपूर्ण कुरामा अरु विषयजस्तै लगन र
समयको महत्व निकै छ भन्ने कुरा बुझ्न जरुरी छ’ ढुंगेलले भन्नुभयो ।
पण्डित सम्मेलनको तयारी
विवाह लगायतका धर्मशास्त्रका धेरै कुरामा
विकृति, विसंगति फैलिन थालेको भन्दै धर्मगुरुहरुले बृहत पण्डित सम्मेलनको
तयारी गरेका छन् । ‘देशभर काजकर्म, संस्कार र धार्मिक कार्यलाई एकरुपता
ल्याउने हिसाबले हामीले सम्मेलन गर्ने सोच बनाएका हौं’ नेपाल पञ्चांग
निणर्ायक समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले अनलाइनखबरसित
भन्नुभयो-’ गाउँका न्यायधीश मानिने पुरोहितहरुले जथाभावी गर्न थालेपछि अब
सुधार नगरी नहुने भएको छ ।’
समिति र धर्मसभा नेपालको आयोजनामा हुने
सम्मेलनमा देशभरका पण्डित, पुरोहित प्रतिनिधिहरुलाई सहभागी गराउने लक्ष्य
लिएको ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार चैतसम्ममा सम्मेलन गर्ने
तयारी छ ।