दोलखा, मंसिर १७ -
-आफ्नै बस्तीमा चित्रा, काठहरू जम्मा गरी श्रमदानबाट २००६ र २०१०
सालमा गरी दुईवटा विद्यालय स्थापना गरे । 'काजी’हरूको दबदबाबाट जोगाउँदै
तामाङ बस्तीमा शिक्षा फैलाए ।
-गाउँको विकासमा निरन्तर लाग्थे । चाहे सडक कालोपत्रे होस्, चाहे स्वास्थ्यचौकी निर्माण । वा, इन्जिनियरिङ कलेज स्थापना ।
-जिरेल समुदायप्रति औधी लगाब र माया थियो । आएपिच्छे जिरेलको घरमा पुग्थे, खान्थे र बस्थे ।
कांग्रेस नेता भीमबहादुर तामाङले पुख्र्यौली थलो दोलखाको झुलेमा विद्यालय खोलेर शिक्षाको चेतना फैलाएका दिन उनका समकक्षीले स्मरण गरिरहेछन् । अन्याय अत्याचारविरुद्ध लडाइँ लडेर दुःखीको पक्षमा न्याय दिलाएको घटना सम्झिरहेछन् । उनका समकक्षी ६९ वर्षीय सोमबहादुर तमाङका अनुसार १६ वर्षको उमेरदेखि घरमै गाउँले बोलाएर पढाउन सुरु गर्ने भीमबहादुरको प्रयासमा दुई विद्यालय खुलेका थिए ।
चिया बगानका कमान्ड काम गर्ने भीमबहादुरका हजुरबा कुबेर पाखि्रन भारतको खर्साङमा बस्थे । कुबेरका छोरा कृष्णबहादुरका दुई श्रीमती थिए । कान्छी श्रीमतीबाट खर्साङमै भीमबहादुर जन्मिए । त्यही म्याटि्रक उत्तीर्ण गरेपछि दाजुपर्ने सिंहबहादुर पाखि्रनसँग गाउँ आए । सबै भारत पलायन भएकाले जग्गा लथालिंग हुनबाट सम्हाल्न उनलाई गाउँ ल्याइएको थियो ।
भारतमा पढेकाले अक्षर राम्रो र अंग्रेजी विषयमा दखल भएका युवा गाउँ फर्केपछि पढ्न स्थानीय चल्तापुर्जाका व्यक्तिहरू
(जसलाई काजी भनिथ्यो) उनीसँग पढ्न आउन थाले । भीमबहादुरकै भरोसामा स्थानीय अमरबहादुर कार्कीको पहलमा झुलेमा पहिलोपटक २००६ सालताका विद्यालय स्थापना भयो । तामाङले खर्साङ र कालिम्पोङबाट पुस्तक झिकाएर विद्यालयमा पढाउने गरेको सोम पाखि्रनले सम्झिए । अहिले यो विद्यालय अमर उच्च माविले चिनिन्छ ।
चार वर्ष त्यस विद्यालयमा पढाएपछि २०१० मा तामाङले आफ्नै बस्तीमा चित्रा, काठहरू जम्मा गरी श्रमदानबाट अर्को विद्यालय स्थापना गरे । काजी दबाबबाट अलग रहन तमाङ बस्तीमा शिक्षा फैलाउन खोलेको स्कुलको नाम अहिले जनप्रभावात माविको रूपमा छ । गाउँमा पढेलेखा नभएकाले कक्षामा जसले राम्रो पढ्थ्यो उसैलाई शिक्षकको रूपमा प्रस्तुत हुन भीमबहादुर अह्राउँथे ।
शिक्षकबाट निवृत्त जीवन बिताइरहेका सोम सम्झन्छन्, 'ऊ बेला राजा त्रिभुवन र गान्धीको निधन हुँदा ठूला व्यक्तिहरू मर्दा मौनधारण गर्नुपर्छ भन्थे र गराउँथे ।'
भीमबहादुरको विवाह २०१० सालमा गैमुदीकी कान्छी घिसिङ भन्नेसँग भयो । तामाङको छोरो गाउँमा प्रभावी हुँदै जाँदा तत्कालमा उनका इख गर्नेहरू बढ्दै गए । एउटा सार्की थरका व्यक्तिलाई बुहारीको बात लगाई जरिवानासहित सर्वश्व हरण गर्ने काजीहरूको प्रयास विफल पार्न गरेको योगदानबाट उनी ठूलाठालुको आँखाको तारो बन्दै गएको सोमबहादुर सम्झन्छन् । त्यसबेला सार्कीले तिर्नुपर्ने जरिवाना उठाउन गाउँमा गीत गाउँदै चन्दा संकलन गर्ने अभियानमा उनले अगुवाई गरे । सार्कीको उद्धार गर्दै जमिन जोगाइदिएपछि उनी निमुखा र निम्न जातिबीच पि्रय बन्दै गए ।
२०१३ सालमा छिमेकी गाउँ दोबाटो पाटीमा राजा महेन्द्र आउँदा बनाइएको गेटमा अक्षर र भाषा राम्रो भएकाले उनलाई लेख्न लगाइयो । त्यस कामबाट राजा महेन्द्रबाट स्याबासी पाएपछि उनको नेतृत्व अझ व्यापक भयो । सोमको सम्झनामा २०१५ सालको निर्वाचनका लागि २०१४ सालबाट कांग्रेस पार्टीको कार्यकर्ताको रूपमा खट्न थाले उनी ।
शिक्षक र राजनीतिको भूमिका निर्वाह गर्दैगर्दा राजा महेन्द्रले २०१७ सालमा कु गरेर पञ्चायती व्यवस्था स्थापना गरेपछि उनी अर्ध भूमिगत भए । 'कहिले पढाउँदै कहिले लुक्दै गरेको बेला एक दिन स्थानीय काजीको घरमा खाना खान बोलाइयो र प्रहरीको फन्दामा पारियो,' सोमका अनुसार उनलाई रामेछाप जेलमा थुनियो । त्यहाँबाट आठ महिनाका लागि भद्रगोल जेल लगियो । २०१९ सालमा तारेखमा छाडिएका उनी फेरि भूमिगत भए ।
भाग्दै सिलिगुडी पुगेका उनले भर्खरै जेलमुक्त भएर भारत गएका नेता बीपीको सम्पर्कमा पुगे । अंग्रेजीमा तीक्ष्ण, आकर्षक अक्षर र लेखनका कारण बीपीले वि.सं. २०२५ सालतिर स्वकीय सचिव बनाए । पार्टी कामका शिलशिलामा स्वदेश फिर्दा २०३० सालमा पक्राउ परे । त्यसैबेला जुल्फीकर अलिभुट्टोलाई फाँसी दिएको घटनाले नेपालमा पनि आन्दोलन चर्कियो । त्यही क्रममा जेलबाट उनी छुटे ।
उनी २०३४ देखि ०४६ सम्म दोलखा कांग्रेसको सभापति बने । उनका कार्यकालका सचिव कांग्रेस जिल्ला नेता देवी न्यौपानेका अनुसार उनलाई २०१५ सालकै संसदीय निर्वाचनमा उम्मेदवारको रूपमा पार्टीले प्रस्ताव गरे पनि उमेर नपुगेका कारण उम्मेदवार बनेका थिएनन् । २०४८ सालमा निर्वाचन हारेका उनी २०५१ मा जितेर कानुनमन्त्री बने । तर २०५६ को संसदीय निर्वाचनमा पुनः पराजय बेहोरे । माओवादी द्वन्द्वकालमा समेत थुप्रै कांग्रेस नेता विस्थापित हुँदा उनी निर्वाध आवतजावत गर्थे । उनी जिल्ला आउँदा कानुन व्यवसायी, पत्रकार र फरक राजनीतिक धारका नेताहरूलाई समेत भेटघाट र सम्मान गर्थे । भाषणमा सैद्धान्तिकबाहेक व्यक्तिगत आक्षेपका कुरा उनले कहिल्यै गरेनन् ।
त्यसपछि दोलखामा फर्किएका उनी कांग्रेसका स्वर्गीय नेता आङदोर्जे शेर्पासँग मिलेर जनमत संग्रहको प्रचारमा लागे । 'त्यसै बेला काका आङदोर्जेसँग श्यामा घर आउने जाने क्रममा भीमदाइसँग चिनजान भयो,' नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य जिपछिरिङ लामाले उनैको संगतबाट त्यसबेलादेखि नै निरन्तर पार्टीको झन्डा उठाउन प्रेरणा मिलेको स्मरण गर्छन् । धन, पैसा, लालचमा कहिल्यै नफस्ने उनको त्यागलाई नेपाली राजनीतिले अनुशरण गर्नुपर्ने लामा बताउँछन् । २०३७ सालदेखि गरेको संगतले कहिले सुख नखोज्ने र कहिले दुःखको व्यथा अरूलाई नसुनाउने स्वभाव अर्को अनुशरणीय भएको उनी बताउँछन् ।
उनी दसैंमा घर आउँदा चिनी चियापत्ती र खानेकुरा आफैं लिएर आउँथे । आफ्नो घर नभएकाले भाइ मानसिंहको घरमा बस्थे । छिमेकी गाविसबाट दसैंमा टीका थाप्न आउनेलाई आफ्नै हातबाट चिया बाँड्थे । 'गाउँमा आएपछि दालभात र गुन्द्रुक, स्थानीय कोदोको रक्सीमा रुचि राख्नुहुन्थ्यो,' गाउँ आउँदा खाना खुवाउने बुहारी धनकुमारीले भनिन् । 'युवा अवस्थामा सिकार खेल्न सिपालु उनी जहिले यहाँ आउँदा सिकारकै कुरा सम्झनु हुन्थ्यो,' उनले भनिन् ।
उनी पुर्खौली थलो आउँदा मानसिंहको घरमा बस्थे । दिउँसो साथी र विद्यार्थी पनि सोम पाखि्रनको घरमा पुरानो कुराहरू सम्झँदै गफ गरेर बिताउँथे । नाति सुवास योञ्जनले भने, 'यस वर्ष दसैंमा आयोजित कार्यक्रममा गाउँसम्म करिब १५ किलोमिटर सडक कालोपत्रे गर्ने र स्वास्थ्य चौकीलाई क्षेत्रीय अस्पताल बनाउने योजना अघि सार्नुभएको थियो, उहाँको सपना अधुरै रह्यो ।' उहाँले राष्ट्र र गाउँको विकासबाहेक अरू स्वार्थ केही लिनु भएन । सुवास भन्छन्, 'आफ्ना र गाउँकाहरू जागिरका लागि जाँदा पढेको छ भने काम खोज्न आउने, नत्र नआउने भन्नुहुन्थ्यो । भनसुनमा कसैलाई केही गर्नु भएन । त्यसैले आफन्तहरूको गुनासो पनि थियो उहाँसँग ।'
दोलखा क्षेत्र नं. १ बाट उनीसँगै निर्वाचनमा प्रतिस्पर्धा गरेका एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईंले भने, 'उहाँको निधनले दोलखालीको तर्फबाट भन्दा अभिभावक गुमाएको अनुभूति भएको छ ।' नेपाली राजनीतिको आदर्श व्यक्तित्व उनलाई प्रतिस्पर्धी भएर चुनाव लड्दा पनि प्रशंसा गरेको चौलागाईंले सम्झिए ।
राजनीतिको चटारोले समय दिन नसक्दा पत्नी अर्कैसँग गएपछि जीवनको अन्तिम क्षणसम्म उनले एक्लो बिताए । एक छोरो र छोरी भए पनि उनले दुवैसँग कहिले सहारा लिएनन् । भतिजो दर्कास पाखि्रनको स्याहार सुसारमा उनी हिँड्थे । काठमाडौंमा बिहान आफैं कुचो लगाउँथे, चिया पकाएर अरूलाई पनि दिन्थे । गाउँ आउँदा पनि उसैलाई लिएर आउँथे ।
उनले पुख्र्यौली थलो झुलेपछि दोलखाको जिरेललाई असाध्यै माया गर्थे । दोलखा आउँदा एकपटक त्यहाँ पुगेकै हुन्थे । र, उनी धेरैजसो कीर्तिबहादुर र हर्कबहादुर जिरेलको घरमा बस्थे । 'उहाँलाई जिरेलको धेरै घरले परिवारको सदस्यसरह मान्थे,' जिरेल उच्च माविका प्राचार्य टेकबहादुरले 'उहाँ राजनीतिक पार्टीभन्दा माथि उठेर अभिभावकको प्रेरणा दिनु हुन्थ्यो ।' उनले जिको शिक्षा र समग्र विकासमा चासो लिइरहन्थे । टेकका अनुसार पछिल्लो समयमा इन्जिनियर कलेज स्थापना गर्ने विषयमा निकै मिहिनेतपूर्वक लागिपरेका थिए ।