नानीमैयाँ दाहालसँग रमाइलो संवाद
(अन्तर्वार्ता लिने समय मिलाउन फोन गर्दा बिहीबार नानीमैयाँ दाहालले भनिन् ँआज मैले कालमोचनमा ँअपरेसन’ गर्न जानु छ । त्यहाँ उपद्रो गर्न थालिसके । त्यसपछि हामी भेटौँला ।’ उनी कालमोचन मन्दिर, थापाथली परिसर पुगेर आफ्ना सहयोगीलाई निर्देशन दिइन् । नानीमैयाँले कसलाई चड्कन लगाउने हुन् भन्दै १५-२० जना कालमोचनमा झुम्मिसकेका थिए । तर, उनी सुटुक्क निस्किइन् । र, चिया पसलमा पसिन् । त्यसपछि सुरु भयो हाम्रो कुराकानी ।)
मानिसहरू आज पनि तपाईंले चड्कन लगाउनुहुन्छ होला भनेर हेर्न झुम्मिएका थिए । तर, तपाईं त सुटुक्क बाहिर निस्कनुभयो नि ?
नानीमैयाँले चड्कन लगाउने एकादशीमा हो । आज एकादशी नभएकाले सबै बाँचे । नानीमैयाँले हेरेर, बुझेर, समय मिलाएर गर्नुपर्ने कामै नगरी बस्ने भलादमीहरूलाई चड्कन लगाउँछे । म कहिल्यै विद्यार्थी, मजदुर र असल मान्छेलाई चड्कन लगाउन्नँ । यहाँ मान्छेहरू जनताको काम गर्न भनेर सत्तामा र अफिसमा 'गजधम्म' परेर बस्छन्, तर काम गर्दैनन् । त्यस्तालाई नानीमैयाँ ठीक लगाउँछे, तह लगाउँछे ।काम नगरेको भनेर आजसम्म कतिजनालाई चड्कन लगाउनुभयो ?
त्यस्तो सामान्य चड्कन त कतिलाई लगाएँ, लगाएँ । तर, यादै गर्नुपर्ने चड्कनचाहिँ चारजनालाई लगाएकी छु । म माननीय हुँदा सूर्यबहादुर थापालाई चड्कन लगाएँ । उनले भनेका थिए, 'हामी मिलेर जानुपर्छ ।' तर, त्यसो गरेका थिएनन् । मैले भनेकी थिएँ, 'हामी जनताका मान्छे हौँ, राजाका मान्छे हौँ । हामीले बाउको खाएका छौँ, त्यो ऋण तिर्नुपर्छ ।'अहिले आएर यो देशमा नेताहरू बाउको भात खानी, माओको प्रचार गर्नी गर्न थाले । त्यस्तै, त्यो वेला पनि सूर्यबहादुर थापाले राम्रो काम गरेनन्, मैले चड्कन लगाइदिएँ ।
अर्को, कीर्तिनिधि विष्टलाई पनि मैले झापड हानेँ । उनी सिंहदरबारमा थिए, म केही मानिस लिएर गएकी थिएँ । उनले भने, यो नानीमैयाँ कति मान्छेलाई लिएर आउँछे । मैले भने, 'तँ राजनीतिमा आएर आफूलाई होइन, जनतालाई फाइदा हुने काम गर्नुपर्छ ।' मैले थपेँ, 'तपाईं देशका लागि काम गर्नुहोस् न, तपाईं ठीक छैन, खुरुक्क यहाँबाट जाउ ।' उनले भने, 'यति धेरै मानिस लिएर आउने हो त सिंहदरबारमा ?' मैले भने, 'मैले यिनीहरूकै लागि काम गरेकी हुँ । यी मानिसलाई लिएर आउँछु ।' त्यसपछि मलाई झिनिन्न रिस उठ्यो । उनलाई तानेँ र एक झापड दिएँ । त्यो घटनापछि मलाई देखेपछि सिंहदरबारमा सबै 'थुर्' हुन्थे । मैले त्यहाँका सबै कर्मचारी र मन्त्रीलाई भने, 'तिमीहरू राजाको काम गर्न आएको कि, दलालीको ?' म गरिबको काम गर्न आएको भन्दै उनीहरूलाई देश नखायो भन्थेँ । म विद्यार्थी र गरिब लिएर हिँड्थेँ । मलाई उनीहरूको साथ थियो । सिंहदरबारमा त म आएपछि सबैजना चुप लाग्थे, खुरुक्क काम गर्न थाल्थे ।
तर, तपाईंलाई सिंहरदरबार प्रवेशमा नै रोक लगायो नि ?
अब म सिंहदरबार जाँदा गरिब र विद्यार्थीको एक हुल लिएर जान्थेँ । सबै कर्मचारी म आएको देखेपछि केही पनि नराम्रो काम गर्नेतिर लाग्न सक्दैनथे । कसले गएर मौसुफ हजुरलाई कुरा लगाइदिएछ । त्यसपछि मलाई मात्र होइन, नौजनालाई सिंहदरबार लैजान रोक लगायो । कसले गएर राजालाई चुक्लीलगाइदिएछ कुन्नी ?
तपाईंले चाहिँ राजालाई भेट्न पाउनुभएन र ?
भेटेँ । राजा वीरेन्द्रलाई नेपाली सिकाएको नै मैले हो । नेपाली काम नै मैले सिकाएको हो । उहाँ विदेशबाट पढेर आइसिएको । उहाँले भन्नुहुन्थ्यो, 'यो देशमा के होला नानीमैयाँ ?' मैले भन्थेँ, 'पर्वतेलाई मकै, काठमाडौंलाई धान, मधेसीलाई गहुँ, देश चिनौँ र बनाऔँ ।' वीरेन्द्रलाई भेट्न मलाई गाह्रो थिएन । तपाईंहरूलाई जस्तै सामान्य मानिसका रूपमा मैले उहाँलाई भेट्न सक्थेँ । तर, मेरोबारेमा मैले केही पनि भनिनँ । सबै कुरा देशको बारेमा मात्र गरेँ । अब मरेका राजा मरिहाले, जिम्दाले हाम्लाई हेर्दैनन् । जिम्दा पनि वनमा गएर बस्न पर्या छ ।तपाईंलाई त काठमाडौंका जनताले राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित पनि बनाए । के गर्नुभयो, ती जनताका लागि ?
ती जनताका लागि आज पनि म काम गरिरहेछु । मैले त्यो वेला बास-गास नभएका मानिसलाई बस्ने ठाउँ दिएँ । आज पनि कोही बास नपाएको छ वा अन्यायमा परेको छ भने म गएर काम गरिदिन्छु । जुन अड्डामा पनि म गएपछि सबै हाकिम डराएर राम्रो काम गर्न थालिहाल्छन् । त्यसैले मलाई अन्याय भएका कोही छन् भने सम्पर्क गरे हुन्छ । म काम गरिदिन्छु । राम्रो काम हुनुपर्यो, सब हाकिमहरूलाई म काम गराउन सक्छु ।तपाईंमा त्यस्तो के जादु छ ? कसरी गराउनुहुन्छ काम ?
मसँग नराम्रो काम गरेका मानिसलाई सही बाटोमा हिँडाउन एउटै 'च्वाएस' छ । मेरो औँठी छ । म उनीहरूले काम गर्न मानेनन् भने उनीहरूकै अगाडि भनिदिन्छु— अब यो औँठी बेच्ने हो, तरबार किन्ने हो र काम नगर्नेलाई छप्काउने हो । त्यसपछि उनीहरू डराउँछन्, काम सब गरिहाल्छन् ।साँच्चिकै छप्काउन सक्नुहुन्छ कि बोलेर डर देखाउनु मात्र भएको ?
पर्यो भने त साँच्चिकै छप्काउने हो । अहिलेका नेताले हाम्रो काम गरेनन् भने तिनीहरूलाई बाँकी राख्ने होइन । म अघि लाग्छु, मलाई जनताले साथ दिइहाल्छन् । मसँग डराएर अहिलेका कति नेता त मेरो नजिक पनि आएका छैनन् ।प्रचण्ड त मेरो नजिकै परेका छैनन् । मैले गाली गर्छु भनेर होला उनी मेरो नजिक आउन सकेनन् । अगाडि आए भने म उनलाई राम्रैसँग गाली गर्नेछु । उनलाई धर्मकर्म गर, राजनीति अनि सिक्छौ पनि भन्छु । पहिले मैले नै हुन्छ भनेर त हो नि प्रचण्ड प्रधानमन्त्री भएका । उनी त आएनन्, आफ्ना सहयोगीलाई दिनदिनै मेरोमा पठाउँथे । म यसो गर, उसो गर भनेर पठाइदिन्थेँ । मैले भनेको केही त माने तर यी नेताले केही गर्न सकेनन् । अहिलेका नेता सबै त्यस्तै हुन् । एउटा गीत भन्छु म, सुन्नुस्-
उता बजाउँछन् मादल र ताली,
यता नाच्छन् घुमेर फनफनी,
यस्ता नेताको के कुरा गर्नी ?
नेताहरू त सबै देशलाई नै विकास गर्ने भनेर लागिरहेका छन् । देशमा गणतन्त्र आइसक्यो । तपाईं पनि हिजोको नेता नै हो ? नेताहरूलाई किन गाली गर्नुहुन्छ ?
अर्को पनि एउटा गीत छ, सुन्नुस्-नेपाल हो बुद्धको पुण्यभूमि,
यो देशमा किन गणतन्त्र ल्याउनी ?
देश टुक्र्याउन पाइँदैन,
धर्मको राजनीति गर्न पाइँदैन ।
देशमा गणतन्त्र ल्यायौँ र राजालाई जंगलमा पठायौँ भनेर यी नेता मख्ख परेका होलान् । तर, राजालाई त झन् खुदो भएको छ । त्यहाँ पनि उनका सहयोगी नै छन्, आफूले केही काम गर्नुपर्ने होइन । झन् रमाइलो । अब हेर्नुस्, अहिले महँगी बढ्यो भने जनताले कसलाई गाली गर्छन् ? राजालाई गर्छन् ? गर्दैनन् । बरु मान्छेहरू भन्छन्, यो बाबुराम त मरिजाओस् । राजा यी कुरा सुनेका छन्, मस्तले बसेका छन् । बरु उनलाई सराप पो लाग्न छोड्यो त । त्यसैले उनी मख्ख छन् । ठाउँमा भए पनि, नभए पनि उनी राजा हुन् । अहिले पनि छन्, भोलि पनि हुनेछन् । फेरि हिजो यी नेताले गणतन्त्र ल्याउनु भनेर करौडौँ पैसा खाएका रै'छन् । मसँग लिस्ट छ । केही पहिले पत्रकारहरूलाई यो लिस्ट छाप भन्दै हिँडेँ, तर कोही मानेनन् । त्यसमा कांग्रेसले कति पैसा लियो, एमाले र मालेले कति लिए भन्ने प्रस्ट छ । माओवादीले भने लिएको रै'नछ । म अचम्ममा परेँ । माओवादीले साँच्चिकै लिएन होला र ? लिएको भए किन मेरो लिस्टमा भएन ? नेताहरूले केही काम राम्रो गरेनन् ।
अहिलेका नेता आफ्नै आमालाई पोइल जाओस् भन्दै ऐन बनाउँछन् । ल सुन्नुस् म भन्छु । अहिलेका नेताले विधवाले बिहे गर्न पाउने नियम पारित गरे । अब ती नेताका आमा पनि होलान् । उनीहरूका बाबु बितेका पनि छन् । बाबु बितेपछि उनीहरूका आमा विधवा भए कि भएनन् ? अनि आफ्नै आमालाई फेरि बिहे गर्नु भनेनन् त ? एकजना आफन्तको बिहेमा मेरो सुरेन्द्र पाण्डेसँग भेट भयो । मैले उनलाई बोलाएर भनेँ, राम्रो काम भनेको मन्त्रीबाट सुरु गर्नुपर्छ । अब तिमी आफ्नी आमाको बिहे गर भनिदिएँ । उनले भने, यो मेरी मामाकी छोरीको बिहे हो, यस्तो कुरा यहाँ नगरौँ । नेपालमा आइमाईको विरोध धेरै गर्छन् । हेर्नुस्, महिलाको रोल कति ठूलो छ । रामायण जन्मेको महिलाकै कारण होेइन ?
तर, यहाँ सुन्नुस् न । यस्ता धर्मकर्मको कुनै वास्ता नै नहुने मानिसले के काम गर्छन् ? के राजनीति गर्छन् ? यस्ता जाबाले के देश चलाउँदा हुन् ।
यी नेताले त देश चलाउन सक्दैनन् भन्नुभयो । तपाईंलाई प्रधानमन्त्री बनाइदिए चलाउन सक्छुजस्तो लाग्छ ? प्रधानमन्त्री हुनुभो भने के गर्नुहुन्छ ?
यी नेता बाउको भात खानी, माओका कुरा गर्नी खालका छन् । म प्रधानमन्त्री भएँ भने म जे पनि गर्न सक्छु । हिजो केही समय मात्र माननीय हुँदा मैले टिचिङ अस्पताल बनाइदिएँ । अरू कति मान्छेलाई बस्ने ठाउँ दिएँ । अरू नेता र माननीय आफ्ना छोरा, नातेदारलाई के के माग्थे । मेरा कोही थिएनन् । त्यसैले मैले सबै जनताका लागि मात्रै गरेँ । त्यति वेला अरूले भन्थे, 'मेरा छोरालाई यसो गर्नुपर्यो ।' मैले भन्थेँ, 'मेरो गलप|mेन्ड छैन, छोराछोरी छैनन् ।' त्यही कुरा आज पनि हुन्छ । त्यति वेला पनि मलाई काठमाडौंका जनताले जिताए, अहिले पनि प्रधानमन्त्री बनाए भने म देशलाई विकास गर्छु । देशलाई राम्रो बनाइदिन्छु । सबैभन्दा पहिले त देशमा धर्म जोगाउँथेँ । अनि, ०४७ को संविधान पनि ल्याउँछु ।तर, सुन्नुस् । यी कुरा अहिले नगरौँ । यहाँका नेता ठीक छैनन् । मैले केही भनेँ भने फेरि मेरो 'च्वाएस' चोर्न सक्छन् । मेरो तरिका चोरेर देश बनाए भने मभन्दा पनि ती लोकपि्रय होलान् भन्ने डर छ । त्यसैले यही गर्छु भन्ने कुरा बाहिर ल्याउन हुन्न ।