Monday, November 19, 2012

को प्रभावशाली ?, अमेरिकी मिचेल कि चिनियाँ पेङ ? - निर्मल श्रेष्ठ - ekantipur


हङकङ, मंसिर ४ - विश्वका दुई मुख्य आर्थिक महाशक्ति राष्ट्रका प्रथम महिलामध्ये को बढी प्रभावशाली होलान् ? अमेरिकी मिचेल ओबामा कि चिनियाँ पेङ लियुआन ? विश्लेषकहरूले बहस छेडिसकेका छन् ।
मिचेल विश्व जगत्मा यसअघि नै परिचित रहेकाले सञ्चारमाध्यमका ध्यान यतिबेला समकक्षी पेङमाथि केन्द्रित छ । अमेरिका र चीनले करिब एक साताको फरकमा मुलुकको नेतृत्व चयन गरे । बाराक ओबामाले राष्ट्रपतिका रूपमा आफ्नो दोस्रो कार्यकाल सुरु गरिसके । भावी राष्ट्रपतिका पक्का उम्मेदवार सीले चार महिनापछि सत्ता सम्हाल्दै छन् । तर यतिञ्जेलसम्म पनि सर्वसाधारणमाझ सीका तुलनामा पत्नी पेङ नै अधिक चर्चित रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
४९ वर्षीय पेङ प्रसिद्ध चिनियाँ लोकगायिका तथा मोडल हुन् । सुन्दरता, मञ्चमा उपस्थित हुँदाको कला र उच्च सार्वजनिक छविलाई नेताका श्रीमतीमा हुनुपर्ने आवश्यकीय गुण बताउँदै विश्लेषकहरूले उनी शक्तिशाली प्रथम चिनियाँ महिला बन्न सक्ने दाबी गरेका छन् । सन् १९८० को दसकमा लोकसंगीतमा स्नातकोत्तर गर्ने पहिलो चिनियाँ महिला हुन् पेङ । विश्व स्वास्थ्य संगठनले गतवर्ष उनलाई क्षयरोग तथा एचआईभी एड्स जागरण अभियानको सद्भावना राजदूत नियुक्त गरेको थियो । विभिन्न सामाजिक क्रियाकलापमा संलग्न रहेर यिनले उच्च तहमा रहेका चिनियाँ महिलाहरू घरबाट ननिस्कने परम्परालाई तोडेकी छन् ।
करिब ५० मुलुकमा सांगीतिक प्रस्तुति दिइसकेकी पेङ १८ वर्षमै चिनियाँ जनमुक्ति सेना -पीएलए) प्रवेश गरेकी मेजर जनरल हुन् । सन् १९२७ मा स्थापित पीएलए करिब तीस लाख सदस्य रहेको विश्वकै ठूलो सैन्य दल हो । गायिका तथा मोडल पेङलाई पश्चिमा सञ्चारमाध्यमहरूले पूर्वप|mान्सेली प्रथम महिला कार्ला ब्रुर्नीसँग पनि दाँजेका छन् । पूर्वराष्ट्रपति निकोलस सार्कोजीकी पत्नी ब्रुनी चर्चित गायिका तथा मोडल थिइन् । 'के चीनमा पनि अन्तमा कार्ला ब्रुनी सार्कोजी युग नै आएको हो त ?' न्युयोर्क टाइम्सले शनिबार प्रकाशित एक लेखमा प्रश्न गरेको छ ।
रेनमिन विश्वविद्यालय बेइजिङका प्राध्यापक झ्याङ मिङले चिनियाँ समाजमा भावी राष्ट्रपतिको सार्वजनिक छवि उकास्न पत्नी पेङले गतिलो योगदान पुर्‍याएको बताए । 'मलाई आशा छ उनको व्यक्तित्वले चीनमा पहिलो महिलाका सबै कुरा गोप्य हुनुपर्छ भन्ने रुढिवादी परम्परालाई परिवर्तन गर्नेछ,' प्राध्यापक झ्याङको भनाइ उद्धृत गर्दै हङकङबाट प्रकाशित अंग्रेजी दैनिक साउथ चाइना मोर्निङ पोस्टले लेखेको छ । चिनियाँ फेसन म्यागजिन आइलुककी प्रकाशक हङ ह्वाङले चीनमा महिला रोल मोडलको खाँचो उनले टार्ने बताएकी छन् । 'चीनले उनीजस्ती महिला पाउनु अत्यन्तै सकारात्मक हो,' ह्वाङले कल्पना गर्न आग्रह गर्दै भनिन्, 'तपाईं सोच्नुस् त, यदि उनी मिचेल ओबामाजस्तो हुन सकिन् भने ।'
तर चीनको संस्कार अन्य पश्चिमा मुलुकभन्दा धेरै भिन्न रहेकाले उनलाई अघि बढ्न सजिलो नरहेको प्राध्यापक झ्याङको बुझाइ छ । 'आधा आकाशमा महिलाको पकड छ,' माओत्सेतुङको यो भनाइ चिनियाँ समाजमा निकै चर्चित रहे पनि व्यवहारमा भने लागू हुन नसकेको चीनलाई आरोप छ । चिनियाँ कम्युनिस्ट पार्टी -सीपीसी) को १८ औं राष्ट्रिय कंग्रेसले लिउ यानदोङलाई वर्तमान पोलिटब्युरो स्थायी कमिटीमा समेटेर अहिलेसम्मको इतिहासमै महिला सहभागिता नरहेको परम्परा तोड्ने अधिकांश्ाको अनुमान थियो । तर नेतृत्वले उनलाई केन्द्रीय कमिटीमै सीमित राखेकाले चिनियाँ समाज अझै महिलाप्रति विश्वस्त हुन नसकेको ठम्याइ छ ।
पेङलाई भने चिनियाँ क्रान्तिका नायक माओत्सेतुङकी तेस्रो पत्नी जियाङ किङपछिको सबैभन्दा प्रभावशाली उच्च चिनियाँ महिला बताइएको छ । चलचित्र अभिनेत्रीसमेत रहेकी उनले सांस्कृतिक क्रान्ति सफल पार्न ठूलो योगदान पुर्‍याएको उल्लेख छ । माओ सत्तामा रहँदा भने जियाङले छुट्टै कट्टरपन्थी राजनीतिक गठबन्धन 'ग्याङ अफ फोर' मार्फत राज्यका महत्त्वपूर्ण निकायमा नियन्त्रण जमाएकी थिइन् । माओको मृत्युपछि चिनियाँ सत्तामा आएका हुवा गुफेङ सरकारले राज्यशक्ति पूर्ण नियन्त्रणमा लिने प्रयासमा प्रतिक्रान्तिकारी समूह सञ्चालन गरेको आरोप लगाउँदै जियाङलाई जन्मकैदको सजाय सुनाएको थियो । सन् १९९१ मा उनले आत्महत्या गरेकी थिइन् । त्यसयता शीर्ष चिनियाँ नेताहरूले प्रथम महिलालाई अत्यन्तै कम मात्र सार्वजनिक समारोहमा उपस्थित गराउने अघोषित परम्परा बसालेका छन् ।
सार्वजनिक समारोहहरूमा निकै कम मात्र उपस्थिति जनाएका राष्ट्रपति हु जिन्ताओ पत्नी लिउ योङकिङ र पूर्ववर्ती जियाङ जेमिन पत्नी वाङ येपिङलाई सञ्चारमाध्यमले 'अदृश्य तथा शान्त प्रथम महिला' को पगरी गुथाएका छन् । 'यदि कसैले यो परम्परा तोड्न सक्छ भने पेङ नै एक मात्र योग्य महिला हुनेछिन्,' प्राध्यापक झ्याङले भनेका छन् ।
आफ्नो प्रतिभाका कारण पहिले नै लाखौं प्रशंसक बनाइसकेकी पेङलाई सीले यसअघिका प्रथम महिलाजस्तो सार्वजनिक नगराइने चिनियाँ परम्पराबाट मुक्त गर्ने अनुमान छ । प्रान्तीय राजधानी फुजाउमा सी पार्टी सचिव रहँदा पत्नीको सार्वजनिक सक्रियताले उनको छवि उकास्न राम्रो सहयोग पुगेको थियो । अमेरिका जस्तो सशक्त प्रथम महिला कहिल्यै पाउन नसकेको चिनियाँ अभाव पेङले पूर्ति गर्नेसमेत विश्लेषकहरूको दाबी छ ।
पेङले सन् २००७ मा पति सी स्थायी पोलिटब्युरो सदस्यमा चुनिएपछि सार्वजनिक समारोहमा सहभागिता कम गरेकी छन् । चीनको उत्तरपूर्वी सानडोङ प्राप्तमा जन्मिएकी उनको सन् १९८७ मा सीसँग विवाह भएको हो । यिनका एकमात्र छोरी सी मिङ्झे हाल अमेरिकास्थित हार्भड विश्वविद्यालयमा अध्ययन गर्छिन् । महासचिव सी चिनियाँ केन्द्रीय सैन्य दलका समेत अध्यक्ष हुन् ।