Tuesday, November 6, 2012

समलिंगी जोडीको मिलन - souryadaily

१० वर्षीया छोरी र श्रीमान् त्यागेर रजनी हिडिन् ‘प्रेमिका’ च्यापेर

-जीवन विसी
काठमाडौं, २० कात्तिक । ‘अब तपाईं कोसित जाने ?’ प्रश्न भुइँमा झर्न नपाउँदै रजनी शाहीले जवाफ दिइन्, ‘मेरो समलिंगी पार्टनरसित ।’
‘श्रीमान्सित नजाने ?’ अर्को प्रश्नमा उनी झन् खुलिन् । ‘हो, नजाने । उनले मलाई १२ वर्षसम्म एकचोटि पनि यौनसन्तुष्टि दिएनन् ।’
सर्वोच्च अदालतले ‘उमेर पुगेको व्यक्तिले आफूखुसी सँगै बस्न पाउने’ फैसला सुनाउँदै समलिंगी जोडी रजनी र प्रेमकुमारीको मिलन गराएको छ । फैसलालगत्तै प्रेमकुमारीको हात समातेर रजनी सर्वोच्च अदालतबाट बाहिरिइन् । अदालत परिसरमा रजनीका बाबु, श्रीमान्, १० वर्षीया छोरीलगायत दर्जनौँ आफन्त हेरेको हेर्‍यै भए । रजनी र प्रेमकुमारी ट्याक्सी चढेर बाहिरिँदा आफन्तबाट जोगाउन प्रहरीले स्कर्टिङ नै गरेको थियो ।
रजनी र प्रेमकुमारीको सम्बन्ध दुई वर्ष पुरानो हो । १२ वर्षअघि वैवाहिक बन्धनमा बाँधिएकी रजनीकी १० वर्षीया छोरी छन् । आºनै घरमा डेरा गरी बस्ने प्रेमकुमारीसँग उनको समलिंगी सम्बन्ध गाँसिएको थियो ।
रजनीलाई महिला आयोगको सिफारिसमा काउन्सिलिङका लागि २२ भदौदेखि माइती नेपालमा राखिएको थियो । सर्वोच्च अदालतले काउन्सिलिङका लागि कुनै पुन:स्थापना केन्द्र या अन्य अन्य ठाउँमा राख्नुपर्ने कानुनबमोजिमको कारण नभएको उल्लेख गर्दै रिहा गर्न आदेश दिएको हो । माइती नेपालले उनलाई धुलिखेलस्थित ‘सेल्टर होम’ मा राखी काउन्सिलिङ गर्दै आएको थियो । आºनी समलिंगी पार्टनरलाई महिला आयोग र माइती नेपालले बन्धक बनाएको भन्दै प्रेमकुमारीले रिट दायर गरेकी थिइन् । न्यायाधीश कल्याण श्रेष्ठ र गिरिश्चन्द्र लालको संयुक्त इजलासले रिटमा सुनुवाइ गर्दै कानुनबमोजिम कसैलाई पुन:स्थापनाका नाममा बन्धक बनाउन नमिल्ने आदेश गरेपछि उनी स्वतन्त्र भएकी हुन् ।
फैसलापछि सौर्य प्रतिनिधिसित रजनीले आफू अब श्रीमान्को भूमिकामा प्रेमकुमारीसित बस्ने बताइन् । ‘श्रीमान्ले १२ वर्षमा नदिएको यौनसुख मैले प्रेमिकाबाट एकैचोटिमा पाएँ,’ उनले भनिन्, ‘अब उनीसितै जीवन बिताउन चाहन्छु ।’
छोरीलाई चाहिँ के गर्नुहुन्छ भन्ने प्रश्नमा रजनीले भनिन्, ‘उसले मसित बस्न चाही भने लैजान्छु, नत्र छाडिदिन्छु ।’
उनलाई श्रीमान् र परिवारबाट कुनै किसिमको आक्रमण हुने हो कि भन्ने त्रास छ । अदालतमा परिवारजनको ठूलो उपस्थिति देखेपछि रजनीले बारम्बार सुरक्षा अधिकारीसित सुरक्षा माग गरेकी थिइन् । सुरक्षामा रहेका इन्स्पेक्टर श्यामकुमार महतोले बहालवाला मन्त्रीलाई भन्दा बढी सुरक्षा दिएको बताउँदा पनि उनको त्रास हटेको थिएन । एकोहोरो सुरक्षाको माग गरेपछि सँगै रहेकी एक महिला प्रहरीले भनिन्, ‘अप्राकृतिक सम्बन्ध राख्ने आँट भएकी महिलाले किन डराउनुपर्‍यो ?’ प्रहरीले उनलाई सर्वाेच्च अदालत बाहिरसम्म स्कर्टिङ गरेर लगेपछि अदालत उपस्थित भएका परिवारजनले भेट्न सकेनन् ।
अदालतमा रजनीलाई प्रहरी भ्यानमा सुरक्षासहित ल्याइएको थियो । फैसला सुन्न रजनीका श्रीमान् छोरी, बुबालगायत उपस्थित भएका थिए । शाही समलिंगी नभएको भन्दै उनलाई गैरसरकारी संघसंस्थाले ब्रेनवास गरेको आरोप लगाएका छन् ।
यसअघि परिवारजनको आग्रहमा महिला आयोगको नेतृत्वमा रजनीलाई २२ भदौदेखि काउन्सिलिङका लागि धुलिखेलस्थित ‘सेल्टर होम’ लगिएको थियो । चार दिनसम्म सेल्टरमा राखिएपछि माइती नेपाल ल्याएर राखियो । नेपालीले हालेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश गिरिश्चन्द्र लालको एकल इजलासले १९ कात्तिकमा उपस्थित गराउन आदेश दिए पनि सोमबार मात्रै अदालतमा उपस्थित गराइएको हो ।
३० वर्षीया शाहीले श्रीमान्सँग सम्बन्धविच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । तर, सर्वोच्च अदालतले मुद्दाको किनारा लाग्नुअघि नै २५ वर्षीया नेपालीसँग बस्न सक्ने गरी आदेश गरेको छ ।