Monday, November 12, 2012

सिस्नुपानीको देउसीमै झटारै झटारो - onlinekhabar



राजनीतिक तथा सामाजिक क्षेत्रमा तीखो व्यंग्य प्रहार गर्दै आएको सिस्नुपानी नेपालले हरेक तिहारमा व्यंग्यात्मक देउसीभैलो गर्दै आएको छ । यसवर्ष पनि वर्षभरीका राजनीतिक घटना क्रमलाई झटारो हान्दै सिस्नुपानीका कलाकार देउसी फलाक्न व्यस्त छन् । तर उनीहरु अरु जस्तो घरघरमा डुल्दैनन् । बिभिन्न सञ्चारमाध्यम मार्फत आफ्ना प्रस्तुति प्रस्तुत गर्छन् ।
सोमबारदेखि नै शुरु भएको सिस्नुपानीको देउसीले सहमति, सरकार, पूर्वसभासद, दलका नेतादेखि अरु सामाजिक घटनाक्रमलाई पनि व्यंग्य गरेको छ ।
जहिले पनि सहमति गर्छौं भन्ने तर नगर्ने नेताहरुको प्रवृत्तिले सहमति शब्द नै मजाक बिषय बनेको छ । त्यही कुरालाई सिस्नुपानीको देउसीमा यसरी उल्लेख गरिएको छः

सागभन्दा सस्तो – सहमति
सुगाले जस्तो – सहमति
भन भन गोपि – सहमति
भन भन कृष्ण – सहमति ।

भन भन भाइ हो- सहमति
मन भन बैनी हो- सहमति
दक्षिणमा एउटा – सहमति
उत्तरमा अर्कै – सहमति
पहाड मधेशमा – सहमति
अनेक प्रदेशमा – सहमति
चोर डाकासँग -सहमति
डन गुण्डासँग – सहमति
काले र कालेको- सहमति
सिध्याउने भाले – सहमति
चिकेनमा चिसो – सहमति
मटनमा मिठो – सहमति
तिघ्रामा तीन बुँदे – सहमति
छोइलामा छ बुँदे – सहमति
साँप्रामा सातबुँदे – सहमति
आन्द्रामा आठ बुँदे – सहमति
भन भन गोपि – सहमति
भन भन कृष्ण – सहमति ।

यस्तै प्रधानमन्त्रीले हरेक महिना गाउँ घुम्ने गरेको प्रसँगलाई पनि सिस्नुपानीको देउसीमा व्यंग्य गरिएको छ ।
हामी त यसै आएनौं बाबुरामले खटाका
अर्को महिना बास बस्ने घर खोज्न पठाका ।
अघि अघि बुल्डोजर पछि पछि बाबुराम
बाबुरामले आँसु झार्दा डोजर जिल्लाराम ।
सुकुम्वासी घर भत्काई पुर्‍याएर घाटमा
गरिबीको प्रमाण पत्र दिन्छन् हातमा ।

 संविधान बनाउन असफल पूर्व सभासदहरुलाई त खेदो नै खनिएको छ ।
बानेश्वरको बाटो हिँड्न मान्छे अचेल डराउँछन्
राति राति सभासद्का भूत कराउँछन् ।
सुत्थे, घुर्थे, बस्थे, उठ्थे, घुम्थे फर्की आउँथे
केको लेख्थे सम्विधान लुतो कनाउँथे ।

सम्विधान नामको – पोकैमा
कुनै बेला बानेश्वर – चोकैमा
सम्मेलन केन्द्रको -ढोकैमा
सभासद् पाइन्थे -थोकैमा
बेलाबेलै सभासद् – हराउँथे
मसाजसेन्टर पुगेर – कराउँथे
डिस्कोमा नाचेर – रमाउँथे
बारुले कम्मर – समाउँथे
तस्करले तिनलाई – चराउँथे
नोटले उठबस् – गराउँथे
लुटेका गाडी -गुडाउँथे
अर्काकी श्रीमती – उडाउँथे
अहिले ता भवन – रित्तो छ
सभासद् छैनन् – भित्तो छ
भनभन साथी हो – के भन्ने ?
तलवभत्ता फिर्ता – ले भन्ने ।

 दल र नेताहरुलाई पनि उसैगरी व्यंग्य गरिएको छ ।
ठिटाठिटी लिई वैद्य जङ्गलतिर जाने रे
वादल चाहिँ यतै प्रधानमन्त्री खाने रे !
जङ्गल हो कि सिंहदरबार कतातिर जाने हो
जता गए नि यिनको नियत टन्न खाने हो ।
मुखले एक मधेश, नेतैपिच्छे प्रदेश
आफैं धामी आफैं झाँक्री कठै मधेश ।
एमालेले पहिले जसलाई नेता मन्त्री बनायो
के सुँघेर आज तिनलाई पार्टी गनायो ।
प्याज बोकी नारानकाजी वैठक बस्न गएछन्
विधानसभा मर्‍यो भन्दै क्वाँक्वाँ रोएछन् ।
प्रचण्डको सत्तामा रोजगारी खूब पाइन्छ
जुँगै कोर्न पनि कर्मचारी चाहिन्छ ।
घुमाई फिराई देशको सत्ता प्रचण्डको फन्दामा
कठैबरा राष्ट्रपति बिलखबन्दमा ।
जेठी भन्छे घाम देऊ कान्छी भन्छे पानी
एक्ला बूढा राष्ट्रपति कतातिर जानी ।

धार्मिक भ्रमण भन्दै देशका ठाउँठाउँमा कुद्ने पूर्व राजा ज्ञानेन्द्रलाई पनि सिस्नुपानीका कलाकारले देउसी गीत मार्फत व्यंग्य गरेका छन् ।
घुम घुम माल्दाजु मठ मन्दिर घुमिरऊ
ढोके छाते चम्चे ओरि परि झुमिरऊ ।
नआए नि राजतन्त्र आउँछ आउँछ भनिदेऊ
नेताहरूलाई निको पार्ने झाँक्री बनिदेऊ ।
तिम्ले माग्ने टेण्डर् अचेल प्रचण्डले माग्दैछन्
प्रधानमन्त्री खान आओ भनी डाक्दैछन् ।
खान्छौ कि त प्रधानमन्त्री हाल्छौ कि त टेण्डर
राम्रै था छ तिम्रो हिष्ट्री तिम्रो जेण्डर ।

सिस्नुपानीको देउसीमा सामाजिक विषयवस्तुलाई पनि जोडिएको छ ।
दुई दिन मात्रै किन सरकार पूरै हप्ता बिदा देऊ
बन्द गर प्राधिकरण हाम्लाई टुकी देऊ ।
हाम्रो देशका थोत्रा पिलेन चराले नै खसाउँछन्
पाइलटलाई दोष देखाई बिमा पचाउँछन् ।
बूढो प्रश्न बनाउने, बूढीलाई उत्तर लेखाउने
लोकसेवा आयोगलाई धोती देखाउने ।

सिस्नुपानीको देउसीमा आशीष दिने तरीका पनि बेग्लै छ ।
ए दिँदैछौं आषिश – गनेर
महंगी घटोस् – भनेर
शेयरको मूल्य – बढ्दो होस्
लोडशेडिङ सधैं – घट्दो होस्
थोत्रा पिलेन – नउडून्
भीरमा गाडी – नगुडून्
पानीमा पहेलो – तर नहोस्
सडकका छेउमा – घर नहोस्
रुपियाँ छुँदा – डलर होस्
आमाभन्दा छोरी – जान्ने होस्
भ्रष्टलाई थाममा – बान्ने होस्
छोराले सगरमाथा – नचढोस्
चढे पनि त्याँबाट – नलढोस्
प्रधानमन्त्री पाहुना – नआउन्
आए पनि कुखुरा – नखाउन्
नेताका मनमा – भय होस्
नेपाली जनताको – जय होस् ।।
सिस्नुपानी नेपालका कलाकारहरुले तयार पारेको यो भिन्नै शैलीको देउसी बिभिन्न रेडियो र टेलिभिजनले प्रसारण गर्न थालिसकेका छन् ।