Sunday, November 25, 2012

हरिबोधिनी एकादशी - onlinekhabar

व्रत, उपवास तथा पुराणको पर्व हरिबोधिनी एकादशी शनिवार मनाइँदैछ । हिन्दु धर्ममा हरिबोधिनी एकादशीको व्रत बस्नाले पापको नास, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूर्य यज्ञको फल प्राप्त हुने जनविश्वास छ ।
असार शुक्ल एकादशीका दिनदेखि क्षीर सागरमा सयन गरेका भगवान विष्णु चार महिनापछि आजका दिन जागा हुने भएकाले यस दिनलाई हिन्दु धर्मावलम्बीले विशेषरूपमा मनाउने गर्छन् । आजकै दिन गृहिणीहरूले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन् । आजका दिनलाई तुलसी विवाह भन्ने गरिन्छ ।
तुलसीको मठलाई गोवरमाटोले लिपपोत गरी सेतो, रातो, पहेँलो बस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गर्दछन् । कात्तिक महिनाभरि सम्पूर्ण तीर्थसहित देवताहरू तुलसीमा बास गर्दछन् । तुलसीको धार्मिक-सांस्कृतिक महत्वका साथै वैज्ञानिक महत्वमा यसको पात, डाँठ तथा फूलको रस रुघाखोकी, औलो रोग ठीक गर्न प्रयोग गरिन्छ । तुलसीको हावा मात्रले विषालु कीटाणु नास हुने जनविश्वास रहेको छ ।
हरिबोधनी एकादशीका अवसरमा मुलकभर विष्णु मन्दिर तथा त्रिवेणीमा मेला लाग्ने गर्दछ । विशेष गरी आज हिन्दु संस्कृतिअनुसार तुलसीको विवाह सम्पन्न गरी व्रतालुहरूले फलारको रूपमा पिंडालु र सक्खरखण्ड आदि कन्दमूल खानेे प्रचलन छ ।