लक्ष्मण गाम्नागे
सिस्नुपानी
नेपालका हामीहरू हरेक पटक देउसी तयारी गर्ने क्रममा ‘आउँदो वर्ष चाहिँ
बेलैमा देउसी तयार गर्ने है’ भन्ने गर्छौ । प्रत्येक आउँदो दसैंमा भने उही
पारा दोहोर्याइरहन्छौँ । तिहारको मुखमुख आए पछि अत्तालिँदै जुट्न थाल्छौं ।
जुट्न पनि भ्यागुताको धार्नी जस्तै । पहिला पहिलाका वर्षहरूमा अर्जुन
पराजुली सक्रिय हुनुहुन्थ्यो । अलि सजिलो थियो । असाध्यै बटारिएका शब्द र
वाक्यहरू फुराएर देउसीलाई साह्रै चोटिलो बनाउनमा मुख्य भूमिका उहाँको
रहन्थ्यो । उहाँलाई पलेँटी कसाउन मात्रै मुस्किल । अचेल उहाँ आफ्नै उद्योग
व्यवसायमा बढी व्यस्त हुनुहुन्छ । धीरेन्द्र प्रेमषिर्जीलाई पनि अचेल
सिस्नुपानीप्रति खासै रुचि छैन । चट्याङ् मास्टर अन्तै लाग्नुभएको निकै
वर्ष भइसक्यो ।
पुराना टोलीका हामी बाँकी रह्यौँ मनोज
गजुरेल, टंक आचार्य र म । माणिकरत्न, देवी घिमिरे, थरेन्द्र बराल, हरिकला
उप्रेतीको सहयोगी भूमिका हुन्थ्यो, यसपालि उहाँहरूले पनि भ्याउनुभएन । पछि
थपिएकामा सरोज घिमिरे र कृष्ण अविरलहरूले देउसी माझ्न निकै सघाएका छन् ।
राजा राजेन्द्र यसैपालि थपिएका हुन् तर उनी पनि निकै व्यस्त कलाकार भइसके ।
मनोजलाई पछ्याउँदैछन्, व्यस्ततामा र स्तरीयतामा पनि । यसपालिको देउसी
तयारीमा सरोज, राजा राजेन्द्र र हामी तीन भाइ लागेका थियौँ । तिहारको अगाडि
घटेको एक रमाइलो घटना सुनाउन खोज्दैछु ।
निकै मुस्किलले भ्यागुताको धार्नी
पुर्याएर हामी एक बसाइ बसेका थियौं । पहिलो बसाइमा हामीले वर्ष भरि घटेका
मुख्य मुख्य घटनाको टिपोट मात्रै गरेका थियौं । अब तिनीहरूमा प्राण भर्नु
थियो । भाका हाल्नु थियो । दोश्रो बसाईका लागि बानेश्वरको कोलम्वस कलेजमा
बिहान ८ बजे जम्मा हुने निर्णय भएको थियो । सबैभन्दा सजिलो र बिकामे म छु,
लक्ष्मण गाम्नागे, जहिले जहाँ भन्यो त्यहीँ पुग्छु । साथीहरूको नानीदेखिको
बानीबाट चिरपरिचित हुँदाहुँदै पनि म लण्ठु आठै बजे पुगिसकेको थिएँ । मनोज
गजुरेल र टंक आचार्य आधा घण्टा वा एक घण्टै ढिलो आउन सक्छन् अथवा मनोज त
आउँदै नआउन पनि सक्छन् भन्ने मलाई थाहा थियो । समयको पालनाका विषयमा
सिस्नुपानी नेपालमा संस्थापक अध्यक्ष चट्याङ मास्टरले जतिसुकै प्रयत्न गरे
पनि व्यक्तिगत रुपमा भने हाम्रा साथीहरूमा त्यसको कुनै प्रभाव परेन ।
संस्थाले भने ठिक समयमा कार्यक्रम शुरु गर्ने परम्पराको पालना गरिरहेको छ ।
सदाबहार व्यस्त यी दुई भाइहरूलाई यस्ता
मिटिङ् बैठकमा तोकिएको समयमा प्राप्त गर्नु भनेको कुनै मन्त्री वा नेतालाई
प्रमुख अतिथि बनाएर समयमा कार्यक्रम थाल्छु भन्ने आशा गर्नुभन्दा पनि
दुर्लभ आशा हुनसक्छ । म वाध्य थिएँ उनीहरूलाई पर्खिन र पर्खिएर बसिरहेको
थिएँ कलेज बाहिर गेट छेऊमा । आठ बजेको मिटिङ् भनेको साढे आठ भइसकेको थियो ।
मनोजलाई ढिलो हुँदा जाममा परेको उत्तर आउँथ्यो । टंकलाई फोन गर्दा पाँच
मिनेटमा आइपुग्छु भन्ने रेडिमेड जवाफ आउँथ्यो । आज पनि त्यही भयो । म रिसले
मुर्मुरिँदै सडकको पेटीमा यता र उता गर्दैथिएँ । एकजना मानिस आएर
मोटरसाइकल रोक्यो र सोध्यो ‘भाइ कोलम्बस कलेज यही हो ?’
मैले मन नलागी नलागी भनेँ ‘हो’ । मलाई मन
नलाग्नुका कारण दुइटा थिए । एक, म आधा घण्टादेखि सडक पेटीमा उभिएर कसैलाई
पर्खिरहेको थिएँ । दुई, उसले चिन्नु न जान्नु मलाई भाइ सम्वोधन गरेको थियो ।
यो मेरो पुरानो खराव बानी हो । अलि बूढै लाग्ने बाहेककाहरूले हेप्ने
टाइपले भाइ भने भने झनक्क रिस उठ्छ ।
‘गुल्मेलीहरूको मिटिङ् भनेर आएको, श्रीकृष्ण ज्ञवालीले बोलाउनुभएको मिटिङ् । तपाईं पनि त्यही मिटिङ्मा हो ?’ उसले सोध्यो ।
मैले भनेँ ‘होइन । म अर्कै कामको लागि आएको हो ।’
‘अर्को के काम ?’ ओहो ! कस्तो काम नपाको मान्छे रैछ । मलाई झनै रिस उठ्यो ।
‘मिटिङ् छ ।’ मैले ऊतिर नहेरी अलि झर्किएर भनेँ ।
‘अनि किन बाहिर बस्नुभएको त ?’
‘तँ सालेलाई के मतलव !’ मैले मनमनै भनेँ ।
‘मेरा साथीहरू आइपुगेका छैनन्, यसैले ।’ प्रकटमा भनेँ ।
उसले त्यहीँबाट कसैलाई फोन गरेर हप्कायो ।
‘खोई त अहिलेसम्म मिटिङ् शुरु भएको छैन । म आएको आधा घण्टा भइसक्यो । टाइम
दिएपछि त आउनुपर्छ नि ! कति महत्वपूर्ण काम छाडेर आएँ ।’
‘…………….।’
‘खोई, यहाँ गेट बाहिर एकजना भाइ बसेको छ,
अरु कोही छैन ।’ मतिर छड्के हेर्दै उसले भन्योे र गेटमा गएर ढक्ढक्याउन
थाल्यो । गार्डले गेटको प्वालबाट चियाए । गुल्मेली भित्र पस्ने प्रयासमा
लाग्यो । बैठक छ भन्यो । पालेले टङ्क सरलाई सोध्छु अनि मात्रै भित्र
पसाउँछु भनेछन् । त्यतिकैमा टङ्क आइपुगे । गुल्मेलीले मोटरसाइकल गेटै अगाडि
रोकेको थियो । टङ्कको हर्न सुनेर गार्डले ढोका खोले । गुल्मेलीले त्यही
मौकामा मोटरसाइकल भित्र हुल्यो । उसले मोटरसाइकल लगेर कार पार्क गर्ने
ठाउँमा राख्नै लाग्दा टंकले भने ‘भाइ मोटरसाइकल उता राख्नुस् ल !’
उसले मोटरसाइकल हटाएर मेरो सँगै ल्यायो र
राख्यो । मोटरसाइकलबाट ओर्लेर परतिर हेर्दै भन्यो ‘यहाँ त होइन कि क्या हो
!’ म बोलिन । ऊ फेरि मोबाइलमा कसैसँग कुरा गर्न थाल्यो । ऊ अर्कैतिर
लाग्यो, म टंकजीको अफिसतिर लागेँ । ढिलो गरेकोमा टंकसँग रिसाउँदै हामी
देउसीका विषयमा छलफल गर्न थाल्यौं । मनोजको कुनै अत्तोपत्तो थिएन । मनोज
कतिपटक आउँछु, भनेर आउँदै नआउने पनि गर्ने भएकोले हामीले उसलाई पर्खिन
थालेनौँ । यतिकैमा त्यो गुल्मेली भर्याङ्को भित्तातिर झुण्ड्याएका
तस्वीरहरू हेर्दै हेर्दै बिस्तारै माथि आयो र आएर टंकसँग गुल्मेली बैठकबारे
सोधपुछ गर्न थाल्यो ।
‘यो गुल्मेली समाजको बैठक हो ?’
टंकले भने ‘होइन । सिस्नुपानीको हो ।’
‘सिस्नुपानी ?’ ऊ हाँस्यो । ‘के हो सिस्नुपानी भनेको ? सिस्नुपानीको पनि वैठक हुन्छ ?’
‘संस्थाको नाम हो । हास्यव्यंग्य सम्वन्धी काम गर्ने संस्था ?’ टंकले प्रष्ट पारे ।
‘ ए…तिहारमा देउसी खेल्ने संस्था हो कि क्या हो ? ओहो कस्तो व्यंग्य हान्छ नि ! त्यही हो ?’ ऊ निकै उत्साहित देखियो ।
‘हो, त्यही हो । अब हामी काममा लाग्छौं ल ! तपाईंको मिटिङ् यहाँ होइन जस्तो छ ।’ टंकले त्यसलाई पन्छाउन खोजे ।
उसले सोध्यो ‘नेपाली नाम नै नभए जस्तो के
नाम राखेको हो, कोलम्बस !’ गुल्मेलीको व्यवहार र कुरा मलाई शंकास्पद पनि
लाग्न थाल्यो । कतै चन्दा सन्दा उठाउन आएको पो हो कि Û उसले फेरि सोध्यो
‘कोलम्बस भन्ने अर्को पनि कलेज छ र ?’
टंकले भने ‘कलेज त छैन, स्कूल हो भने अलि उता छ ।’
‘स्कूल पो भनेको हो कि क्या हो ! लोकेशन त
ठ्याक्कै यही भनेका थिए ।’ भन्दै उसले पुनः कतै फोन गर्यो । फोनबाट कुरा
बुझेर उसले ‘कोलम्बस इन्स्टिच्यूट भन्ने छ यतातिर ?’ भनेर टंकलाई सोध्यो ।
टंकले पारिपट्टछि भनेर बताएपछि बल्ल गुल्मेली बाटो लाग्यो ।
टंकजीले मनोजलाई फोन गरेर आउने कि नआउन
सोधे । मनोजले आइपुग्नै लागेको बताएपछि हामीले चिया मगायौं र देउसीकाा
बारेमा छलफल थाल्यौं । छलफल शुरु मात्रै गरेका थियौं, गुल्मेली फेरि
फर्किएर आयो र सरासर भित्र पसेर सोफामा बस्यो । हामी आश्चर्यचकित र भयभित
पनि भयौंँ । टंक रिसाएर केही भन्न मुख तिखार्दै कुर्सीबाट उठ्न खोज्दैथिए,
गुल्मेलीले ‘ तपाईंहरूले मलाई किन झुक्याएको ?’ भनेर रिसाउँदै हेल्मेट
खोलेर टेबुलमा राख्यो । त्यसपछि मुख छोपेको रुमाल पनि हटायो । हामी अवाक्
भयौं । हामी हेर्याहेर्यै भयौं । निकैबेर जिल्लिएपछि एकैसाथ हाम्रो
हाँसोको फोहोरा छुट्यो, हामी हाँसेको हाँसेकै भयौं । हुरुक्कै भयौं । त्यो
बज्जे गुल्मेली अरु कोही थिएन, मनोज गजुरेल नै थियो ।
मैले मनोजलाई चिनेको ऊ कक्षा सात वा आठमा
पढ्दादेखि हो । ऊ मेरो एकै परिवारको भाइ जस्तै हो । टंकसँग पनि उसको
दोस्तीको २० औँ वर्ष चलिरहेको छ । हामी दुवैलाई दिनदहाडै यसरी चक्मा दिन
सक्ने यो मनोज गजुरेलको कलालाई मैले मानेँ । टेलिफोनबाट त उसले बेलाबेला
झुक्याउँथ्यो । कुनै कार्यक्रममा ज्ञानेन्द्रको नक्कल गर्दा प्रहरीले
साँच्चिकै ठानेर स्यालुट हानेको कुरा गथ्र्यो मनोजले । मलाई पत्यार लागेको
थिएन । आज मैले पत्याएँ ।
दुई
कहिलेकाँही घटनाहरू अचम्मैसँग दोहोरिँदा
रहेछन् । माथिको घटना भएको ठीक भोलिपल्ट अर्को एउटा अनौठो घटना मसँग भयो । म
आफ्नो घर सिनामंगलबाट निस्किएर अफिस जान लाग्दै थिए । घर छेऊको पहेंलो
पुलमा पुग्दा एकजना मानिस बिग्रेको बाइक घँचेटेर अगाडि लाग्यो । पुलमाथि
चढाउन उकालो बाटो थियो । त्यसले मोटरसाइकल घँचेटेको देखेपछि ऊ पुलमाथि
पुगोस् भन्ने ठानेर म पर्खिन थालेँ । त्यो मानिसले बाइक माथि चढाउन सकेन,
हेर्दा हेर्दै पछि सर्न थाल्यो । ल्यायो-ल्यायो-ल्यायो, झ्याप्पै पारेर
मेरो मोटरसाइकललाई हिर्काइहाल्यो । मेरो बाइकको अगाडिको साइड लाइट
भाँचिदियो । उसको व्याक लाइट चकनाचुर भयो । अब शुरु भयो लफडा । गल्ती उसको
थियो । त्यतिकै छाड्न पनि मिलेन । मेरो लाईट भाँचिएको छ । नछाडौं भने ऊ
बग्गीखाना जाउँ भन्दै किचकिच गर्न थाल्यो । अफिस पुग्न ढिलो हुन लागि सक्यो
।
‘मेरो गल्ती छैन, उकालोमा बाइक पछि सर्यो
त मेरो के दोष’ भनेर ऊ उम्किन प्रयास गर्न थाल्यो । त्यतिकैमा एकजना
मानिसले हाम्रा छेऊमा बाइक रोकेर के भयो भनेर सोध्यो । मैले बेलिबिस्तार
लगाएँ । त्यो मानिसले मेरो पक्षमा वहस गर्न थाल्यो । वहस झन् झन् चर्किन
थाल्यो । अफिस जान ढिलो हुन लागेकोले म त मरोस् छाडिदिनुपर्यो भन्दै थिए ।
तेस्रो व्यक्ति जमेरै मेरो पक्षमा लागेर त्यो मानिसलाई थर्काउन थालेपछि म
झनै अप्ठ्यारोमा फँसेँ । त्यो नवागन्तुक बाइकबाट ओर्लिएर मेरो पक्षमा
कस्सिएरै बाझ्न थाल्यो । उसैले हामी दुवैलाई नजिकको मोटरसाइकल बनाउने
ठाउँमा लग्यो । सोधपुछ गर्दा जम्मा डेड सय रुपैयाँमा क्षतिपूर्ति हुने रहेछ
। तर त्यो मानिस बग्गीखाना जाउँ उहीँ कुरा गरौँला भनेर ढिप्पी कसेको कसेकै
। रमितेहरूको भिड लागिसक्यो । सबैले त्यो मानिसको सरासर गल्ती भएको थाहा
पाइसके । सबैले पैसा तिर्न भनिसके । तर ऊ डेग चलेन । मेरो पक्षमा लागेको
मानिस रिसायो र मोटरसाइकलको चाबी खोस्यो ।
त्यो मानिसले ‘हामी दुईजना बिचको झगडामा
पस्ने तपाईं को हो ?’ भनेर नवप्रवेशीलाई सोध्यो । वास्तवमा म पनि
आश्चर्यचकित भएको थिएँ । सोच्दैथिएँ, कहाँ जान लागेको मान्छे चिन्नु न
जान्नु मेरो पक्षमा लागेर यसरी किन झगडामा फसेको होला । नदुखेको टाउको किन
दुखाएको होला ! नवप्रवेशीले हेल्मेट खोलेर पाखुरा सुर्कँदै त्यो मानिसलाई
कुट्ने तरखर गर्न थाल्यो । रमितेहरूले उसलाई छेके । त्यो बेला पो थाहा भयो,
मेरो पक्षमा लागेर यत्रोबेर लफडा गर्ने त मेरो आफ्नै सालो रामु पो रहेछन् ।
एउटै घरबाट निस्किएर उनी मेरा पछि पछि आउँदै रहेछन् । त्यो मासिनसँग झगडा
भएको सुरमा मैले हेल्मेटले मुख छोपिएको आफ्नै सालोलाई पनि नचिनेर चकित
भइरहेको रहेछु । म सोच्दैथिएँ, यो कुनै मलाई चिन्ने छिमेकी होला वा लक्ष्मण
गाम्नागेको कुने प्रशंसक वा पाठक होला । रामुले कुट्न झम्टिएपछि त्यो
मान्छेले खुरुक्क पैसा तिर्यो, हामी हिँड्यौँ ।