Thursday, November 8, 2012

मिट रोम्नीले अब के गर्लान् ? - ekantipur

काठमाडौ, कार्तिक २४ - राष्ट्रपति निर्वाचनमा कडा प्रतिस्पर्धापछि पराजित ६५ वर्षे विलार्ड मिट रोम्नीले भावी योजनाबारे स्पष्ट रूपले केही बोलेका छैनन् । उनले बिहीबार जित वा हार जे भए पनि आफ्नो लागि परिवार सदैव महत्त्वपूर्ण भएको बताएका छन् । उनका पाँच छोरा र अठार नातिनातिना छन् । उन्नाइसौं नाति वा नातिनीको रोम्नीको घरमा आगमन हुन गइरहेको छ । उनले आउँदो केही दिनसम्म परिवारसँग बिताउने संकेत दिएका छन् ।
निकटहरूले सञ्चारमाध्यममा जनाए अनुसार रोम्नी समुद्री किनार वा गल्फ कोर्टमा समय कटाउने खालका व्यक्ति भने होइनन् । अमेरिकाको मिसिगन राज्यको सबभन्दा ठूलो सहर डिट्रोइटमा जन्मेका उनी यसअघि पनि धेरैपटक केही वर्ष विश्राम लिएर राजनीतिमा फिर्ती भएका छन् । दोस्रो कार्यकालका लागि उम्मेदवार दिएका ५१ वर्षे बाराक ओबामासँग पराजित भएपछि बुधबार सपरिवार उपस्थित भएर कार्यकर्ता र समर्थकलाई सम्बोधन गर्दा रोम्नी निकै भावुक देखिएका थिए ।
आफूसँग भएको हरथोक यो निर्वाचनमा खर्चेको अभिव्यक्तिले पनि राष्ट्रपति पदमा आसीन हुने उनको भित्री आकांक्षालाई प्रकट गरेको थियो । उनले परिणाम आएपछि श्रीमती ६४ वर्षे एन डेभिजलाई एक असल प्रथम महिलाको रूपमा देखेको मनको बह पोखेर सबैलाई भावुक बनाएका थिए ।  अमेरिकाका लागि आर्थिक रूपले चुनौतीपूर्ण यो घडीमा रोजगार उत्पादन गर्न सक्ने व्यक्तिको खाँचो भएको उनले भनेका थिए । यसबाट पनि उनी निकै सशक्त योजनाका साथ निर्वाचन प्रतिस्पर्धामा उत्रेको छर्लङ्ग भएको छ । मूलतः अमेरिकी व्यवसायी रोम्नीले सन् २००३ देखि २००७ सम्म म्यासाचुसेट्सको ७० औं गभर्नर पदमा रहँदा स्वास्थ्य विमा र रोजगारीको क्षेत्रमा उत्कृष्ट कार्य गरेका थिए । निकै कसरतपछि राष्ट्रपतीय निर्वाचनमा उनी विपक्षी रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार मनोनीत भएका थिए । उनमा राजनीतिक संस्कार परिवारबाटै आएको थियो । १९७१ मा उनले माता सिनेटर पदका पूर्व उम्मेदवार एवं रंगकर्मी लेनोर लाफाउन्ट  र पिता जर्ज डब्लूको राजनीतिक अभियानमा भाग लिन्थे ।
उनका पिता पनि व्यवसायी र राजनीतिज्ञ थिए । उनका पिता सन् १९६३ देखि १९६९ सम्म मिसिगनका ४३ औं गभर्नर थिए । रोम्नीले बीए, एमबीए र विद्यावारिधि गरेका थिए ।
अध्ययनपछि म्यानेजमेन्ट कन्सल्टिङ उद्योगमा प्रवेश गरेका उनले सन्् १९७७ मा बोस्टनको बेन एन्ड कम्पनीमा राम्रो पद हासिल गरेका थिए । उनले स्थानीय चर्चमा राम्रो नेतृत्व गरे । उनका पुर्खाहरू पनि चर्चमा सक्रिय थिए । उनले यसपछि सन्् १९९४ मा अमेरिकी सिनेट पदका लागि म्यासाचुसेट्स निर्वाचनमा भाग लिएर पराजित भएका थिए । उनी त्यसपछि व्यवसायमै फर्केका थिए । सन् २००२ को विन्टर ओलम्पिक्सका लागि गठित साल्ट लेक अर्गनाइजिङ कमिटी अध्यक्ष एवं प्रमुख कार्यकारीको सफल भूमिकाले उनलाई फेरि लोकपि्रय बनायो । उनी म्यासाचुसेट्सको गभर्नरमा नियुक्त भएपछि स्वास्थ्य हेरचाहसम्बन्धी कानुनलाई परिमार्जन गरेर कार्यान्वयनमा ल्याए । उनी क्याम्पसदेखि राष्ट्रिय राजनीतिमा सक्रिय थिए । १९६८ मा राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारीमा पिताको असफलतापछि उनी केही वर्ष राजनीतिबाट वाक्क भएका थिए । यतिसम्म कि रिपब्लिक रोम्नीले आफूलाई स्वतन्त्र मतदाताको रूपमा दर्ता गराएरर सन् १९९२ मा डेमोक्रेट पार्टीका तर्फबाट राष्ट्रपति छान्ने प्रक्रियामा भाग लिँदै पूर्व सिनेटर पौल संगसका पक्षमा मतदान गरेका थिए । पिताको पदक्रम अनुरूप अघि बढ्नुपर्ने चाहना र श्रीमती एनको आग्रह अनुरूप सन् १९९३ मा उनी पुनः राजनीतिमा आउनेबारे सोचे । हजारांैका लागि रोजगार सृजना र सामाजिक मुद्दामा सन्तुलित दृष्टिकोणका लागि उनको ठोस छवि बनिसकेको थियो । उनी सिनेटरको प्रतिस्पर्धामा उत्रे पनि निकै कम मत अन्तरले सन् १९९४ मा फेरि पराजित भए । यो परिणामले पनि उनमा दीर्घकालीन प्रभाव पार्‍यो । 'म जित्न नसकेसम्म फेरि कुनै कुराको पछि दगुर्न चाहन्नँ,' उनले त्यतिखेर भाइलाई भनेका थिए । तर, कुशल व्यवसायी रोम्नी धन मात्र कमाउने दिशामा आफूलाई सीमित राख्न ँचाहँदैन्थे । सन् २००२ को ५ नोभेम्बरमा म्यासाचुसेट्सबाट रिपब्लिकनका तर्फबाट गभर्नर पदमा उनी विजयी भए । यसको करिब ६ वर्ष पछि सन् २००८ मा रोम्नीले औपचारिक रूपमा रिपब्लिकनका तर्फबाट आफूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा अघि सारे । यो दौडमा उनी एरिजोनाका सिनेटर जोन म्याकेनसँग पछारिए । म्याकेन पनि ओबामासँग पराजित भएका थिए ।
धेरैखाले राजनीतिक प्रयास, प्रतिस्पर्धा र उतार-चढावपछि २०१२ को २८ अगस्टमा पmलोरिडाको ताम्पामा आयोजित रिपब्लिकनको राष्ट्रिय सम्मेलनमा रोम्नीलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरियो । यो निर्वाचन क्रममा भएको तीन मुख्य बहसका अग्रपंक्तिमा रोम्नी पनि देखिए । निर्वाचन प्रचार अभियानमा आर्थिक मन्दीबाट गुजि्ररहेको अमेरिकाका लागि रोम्नीको व्यावसायिक र गभर्नरको अनुभवलाई जोडतोडले अगाडि ल्याइयो । तर, जनताको चाहना र भाग्यको अगाडि कसको के लाग्छ र ? अन्ततः उनी १४ वर्ष कान्छा ओबामासँग पराजित भए । यिनका बाबजुद अमेरिकी इतिहासले उनलाई शालीन उम्मेदवार र राष्ट्रवादीका रूपमा सम्भिmरहने छ ।
-एजेन्सीहरूको सहयोगमा)