Saturday, November 17, 2012

चरित्रहत्या भएको भन्दै दीनबन्धु दुःखी 'प्रमाण भेटिए सजाय भोग्न तयार छु' - onlinekhabar

२ मंसिर, काठमाडौं । परिवारका केही सदस्यहरुले लगाएको आरोप गलत भएको भन्दै वाचन प्रवीण दीनबन्धु पोखरेलले आपत्ति जनाउनुभएको छ । उहाँकै परिवारका एकजना सदस्यले बिभिन्न सञ्चारमाध्यममा दिएको खबर झुटो र चरित्रहत्या गर्ने खालको भएको पोखरेलको दावी छ । केही दिनअघि अनलाइनखबरमा आएको खवरप्रति आपत्ति जनाउँदै दीनबन्धुले प्रमाण भेटिए सजायँ भोग्न तयार रहेको बताउनुभएको छ ।
पहिले पण्डित पोखरेलसँगै पुराणमा सहभागी हुने परिवारका एकजना सदस्यले दीनबन्धु बिग्रन थालेकाले सपार्नुपर्यो भन्दै बिभिन्न सञ्चारमाध्यममा पुगेर हारगुहार गरेका थिए । उनले पोखरेलले श्रीमती र छोरीलाई अलपत्र पारेर अरु महिलासँग लसपस गरेको र आर्थिक घोटाला गरेको आरोप लगाएका थिए । तर पण्डित पोखरेलले यी आरोप सरासर झुटो र कपोलकल्पित भएको भन्दै खण्डन गर्नुभएको छ ।
पण्डित दीनबन्धु पोखरेलले पठाउनुभएको खण्डन जस्ताको तस्तै :
१. मेरो चारित्रिक विषयको उठानः- म, मेरो परिवारसँग खुशी छु । मेरो माता उमा, पत्नी बिमला, छोरी दीविसा पोखरेल मेरो परिवारमा छौँ । अन्य विषयको जिज्ञासाको लागि मेरो निवासमा आउँदा जो कोहीलाई स्वागत छ । कुनै महिला सबुत प्रमाण (फेरि भ्रामक होइन) लिएर आउँछ भने म सजायको भागीदार बन्नेछु । सबैको परिवार हुन्छ व्यक्तिगत जीवन हुन्छ, निर्दोष व्यक्तिहरुको नाम लेखेर चरित्र हत्या गर्ने कार्य गरेको अत्यन्तै पाशविक कार्य प्रति खेद छ । साथै म डेरामा बसेर कसैलाई घर बनाइदिएको भन्ने अप्रामाणिक विषय प्रति पनि क्षोभ प्रकट गर्दछु । कसैले कपोल कल्पित विषय उठाउँछ कसैले भने त्यसलाई समाजले मूल्यांकन गर्नु पर्दछ ।
२. म आध्यात्मिक व्यक्ति ”व्राम्हणले दक्षिणा तोक्नु हुँदैन” भन्ने मान्छे हो । र, अहिलेसम्म काठमाडौंमा भाडा तिरेर डेरामा बसेको सबैलाई थाहा छ । कहिँ कतैबाट प्रमाण सहित कसैले यति प्रतिशत यज्ञबाट माग गरेको भन्ने विषय लाग्यो भने त्यसमा पनि मूल्यांकन गर्ने समाज छ । होइन भने कसैको चरित्र हत्या गर्न कसैलाई छुट छैन । शायद म अर्थकै पछि लागेर सदैव हिँडेको भए म यति धेरै यज्ञमा व्यस्त हुँदैन थिएँ । समाजबाट तिरस्कृत हुने थिएँ, त्यसमा समाजले मूल्यांकन गरेकै छ र गर्ने पनि छ ।
३. म आध्यात्मिक व्यक्ति, सरकारले काठमाडौं रामकोटमा आध्यात्मिक केन्द्र्र निर्माण गर्न जग्गा प्रदान गरेको छ । त्यही आध्यात्मिक केन्द्र निर्माण गर्नका खातिर गत साल टुँडिखेलमा यज्ञ लगाइएको, यज्ञबाट कति उठेको, कति कार्य भएको भन्ने लेखा परीक्षण र प्रतिष्ठानको विवरणले बताउँछ । त्यसमा १ रुपैयाँ हीनामिना भएको प्रमाण दिनको लागि म भ्रामक प्रचार गर्ने व्यक्तिलाई चुनौति दिन चाहन्छु । साथै रामकोटमा ‘आध्यात्मिक केन्द्र’ निर्माणाधीन छ, धेरै दाताहरुले बोलेको रकम दिने क्रम जारी छ ।
त्यसैले समादरणीय व्यक्तित्वहरु, तमाम धार्मिक/आध्यात्मिक, गैर-आवासीय नेपाली जन तथा सबै आम जनमानसमा परेको यो भ्रामक विषयको पछि नलाग्न अनुरोध छ । सञ्चारकर्मी साथीहरुले पनि कुत्सित मनसायले प्रचार गरिएका कुनै पनि नकारात्मक तथा प्रमाणविहीन, असत्य विषयलाई उठान गरी कसैको सामाजिक अवसान गराउने कार्य गर्नु हुँदैन । कसैले गल्ती कमजोरी गरेको भए सजायको भागीदार जो पनि बन्छ, त्यसका कानूनी बाटाहरु होलान कपोल कल्पित विषय उठान गर्ने व्यक्तिको खोजबिन र कारबाही गर्न समाजले साथ दिनु पर्छ भनी अनुरोध गर्दछु ।
”आध्यात्मिकताको माध्यमबाट समाजको वहुआयामिक समुन्नयन” भन्ने मूलभूत मान्यतालाई अंगीकार गर्दै समाजको सम्वृद्धिको अभियानलाई अगाडि बढाएर राष्ट्र सेवामा समर्पित रहेको नेपाली जनमानसमा जगजाहेर छ । पिताजी वाचन शिरोमणि पं. नारायण प्र. पोखरेलको अभियानलाई अझै नवीनतम ढंगबाट समाज सेवामा समर्पित गराएर राष्ट्रको समृद्धि गर्नु आफ्नो महान कर्तव्य ठानेर अहोरात्र समाज विकासमा लागी परेको भन्ने विषयमा सबैको दृष्टिगोचर परेकै छ ।
नेपाली समाजमा भौतिक विकासका हिसाबले भन्ने हो भने झण्डै २०/२२ अरब संकलन गरी एक्लो व्यक्तिको प्रयासले समाजमा कति परिवर्तन भएको छ भन्ने कुरा मैले आम जनमानसमा प्रष्ट्याई रहनु पर्ने विषय होइन । चाहे सुर्खेतको विश्व विद्यालय होस्, चाहे मनमोहन अस्पताल वा जनमैत्री अस्पताल यी सबैले यज्ञको स्मरण गरेकै छन् । झण्डै १८० वटा विद्यालय, ४० वटा अस्पताल, केही धर्मशाला, पुल-पुलेसा, सिँचाई, धाम, मन्दिर निर्माण लगायतका भौतिक उन्नयन तथा विकासको लागि आफू समर्पित रहेको सबैका सामू पानी झैँ छर्लङ्ग छ ।
भौतिकता मात्रै होइन मैले यो अभियान सामाजिक रुपान्तरणका लागि गरेको हो ।
१. छुवाछुत तथा पशुवली जस्ता सामाजिक विकृति विसंगतिको समूल अन्त्यको प्रयास तथा सो अनुरुपको क्रियाकलाप ।
२. वैदिक धर्मको वैज्ञानिक व्याख्या गर्दै युवालाई पनि आध्यात्मिकताको मूलधारमा समाहित गर्दै समाजलाई दीगो शान्तिकामी गर्ने कार्यको थालनी तथा त्यसको कार्यान्वयन ।
३. समाजमा देखिएका तथा लेपन लगाइएका जस्तैः जातीय, धार्मिक, वर्गीय, साम्प्रदायिक, भाषिक आदि सबै खालको विभेदीकरणको अन्त गर्दै मानव मिलन समाजको परिकल्पना तथा समग्र रुपमा मानवको एउटै धर्म र एउटै जात भन्ने मान्यताको समग्र प्रचार तथा विकास गर्दै जनचेतनाको प्रवाह ।
४. पूर्वीय दर्शनका उपादेयता प्रष्ट्याउँदै यसको गहनताको प्रचार तथा प्रवाह ।
५. नेपाली समाजको संभ्रान्त व्यक्तिको पहुँचमा रहेको निस्त्रिmय पूँजीलाई समाज विकासमा दानको माध्यमद्वारा समर्पित गरेर गरीब जनमानसले सेवा प्राप्त गर्ने क्षेत्रमा लगाउने कार्य तथा आर्थिक समानताको सिद्धान्तको विकास ।
यी तथा समाजमा परोक्ष वा अपरोक्ष विकासका निम्ति सदैव आफू समर्पित रहेको सबैले जानेको बुझेको विषय हो ।
यसरी राष्ट्र सेवामा अहोरात्र समर्पित भएर लाग्दा विभिन्न समयमा विभिन्न किसिमका हावा लाग्नुलाई मैले स्वभाविक रुपमा पनि लिएको छु । मलाई थाहा छ ‘ठूलो वृक्षलाई बढी हावा लाग्छ’ तथापि त्यही वृक्षले धेरैलाई शीतलता दिन्छ पनि । यति भनेर म आफैले आफूलाई महान व्यक्ति भन्न खोजेको होइन, म त एउटा सामान्य प्राणी हो तर यो अभियान आफैँमा महान छ, यसले राष्ट्रको वहुमुखी प्रगति तथा उन्नयनमा अत्यन्तै ठूलो भूमिका खेलेको छ । हामी सबैलाई थाहा छ, देशमा विकास निर्माण ठप्प छ, सामाजिक समृद्धिका हरेक पक्षहरु बन्द छन् तर यही एउटा अभियान छ, जसले समाजको विकासका निम्ति जस्तो सुकै अवस्थामा पनि अहोरात्र लागी रहेको छ ।
यसै शिलशिलामा केही समय अगाडि म र मेरो सामाजिक अभियानको विषयमा केही भ्रामक, कपोलकल्पित तथा चरित्र हत्या एवं तेजोबध गराउने कुत्सित मनसायले कुनै एउटा असामाजिक (व्यक्ति हो वा गिरोह) सोचबाट उद्धत भएर केही कुरा उठान तथा प्रवाह भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । कुनै तर्कहीन तथा वेतुकको विषय उठानले मलाई आश्चार्य चकित बनाएको छ । तर म विचलित छैन । यो सामाजिक अभियानको लोकप्रीयतालाई सहन गर्न नसकेर विक्षिप्त मनस्थितिको उपजले त्यस्ता भ्रामक विषयको प्रचार गरिएको म, मेरा शुभ-चिन्तक तथा सम्पूर्ण भक्तजनहरुको ठम्याइ छ ।
वाचन प्रवीण पं. दीनबन्धु पोखरेल