Friday, November 23, 2012

विश्वकै ‘गरिब’ राष्ट्रपति यिनी, जीवनशैली अचम्मको ! - hamrakura

जोस मुजीका उरुग्वेका राष्ट्रपति हुन् तर उनलाई देखेर कसैलाई पनि उनी राष्ट्रपति हुन् र ? भन्ने विश्वास नहुन सक्छ । कारण जोस एक गरिब किसानले जस्तो आफ्नो जिन्दगी बाँच्ने गर्छन् ।
समाचार एजेन्सी बीबीसीका अनुसार एक सामान्य फार्म हाउसमा उनले जीवन व्यतित गरिरहेका छन् । जुन कुनै पनि देशको राष्ट्रप्रमुखको लागि लगभग असम्भव कुरा हो ।
एक पंक्तिमा उल्लेख गर्दा जोसको जीवन शैली यस्तो छ–एक जीर्ण फार्म हाउसमा निकै कम सुविधाका साथ उनी बसिरहेका छन् । जहाँ कुवाबाट पानी भर्ने गरिन्छ भने आफ्नो कपडा पनि बाहिर खुल्ला स्थानमा धुने गरिन्छ ।
राष्ट्रपति जोसले भने आफ्नो जीवन शैलीलाई कसैकसैले पागल र सन्की देख्लान् तर यो त जीवन जिउने आफ्नो–आफ्नो तरिका भएको बताउँछन् ।
जोस उरुग्वेका वर्तमान राष्ट्रपति हुन् तर उनको सुरक्षाको लागि जम्मा २ जना मात्रै प्रहरी अधिकारी रहेका छन् र निजी रुपमा उनको ‘मनुएला’ नामक एक कुकुरले उनलाई सुरक्षा दिने गर्छन् ।
यस्तो होइन कि उरुग्वेको राष्ट्रपतिलाई सुविधा कम दिइन्छ, जोस आफ्नै खुशिले यसरी बसेका हुन् । जोसले उरुग्वेको तर्फबाट दिएको आलिशान घर त्यागेर आफ्नी पत्नीको सानो फार्म हाउसमा बस्ने रहर गरेका हुन् । जुन राजधानी मोनतेविडियोको नजिकै छ ।
जोस आफ्नी पत्नीको साथमा त्यहाँ बस्छन् र फूलको खेती पनि गर्छन् । जोस आफ्नो तलब मध्येबाट ९० प्रतिशत तलब दान गर्ने गर्छन् । जुन लगभग १२ हजार डलर हुने गर्छ ।
उरुग्वेका राष्ट्रपति जोस मुजीका ‘क्युबा क्रान्ति’बाट उदाएका नेता हुन् । उनी सन् २००९ मा उरुग्वेको राष्ट्रपति चुनिएका थिए । जोस १९६० र १९७० मा उरुग्वेमा भएको गुरिल्ला संघर्षको सबैभन्दा ठूला नेता पनि हुन् । उनले आफ्नो छातीमा ६ पटक गोली समेत खाएका छन् । उनले १४ वर्ष जेल जीवन विताएका छन् ।
आफ्नो जीवन शैलीका बारेमा जोस भन्छन्–‘म सबैभन्दा गरिब राष्ट्रपति कहलिने गरेको छु, तर म सम्झिन्छु कि म गरिब छैन । गरिब त ति हुन्छन्, जो आफ्नो पूरा जीवन खर्चिलो जीवन शैलीमा बिताउँछन् र धेरै भन्दा धेरै कमाई गर्ने इच्छा राख्छन् ।’