Monday, November 26, 2012

मेरो शरीर टालेको कपडा जस्तो - sourya daily

‘दाइ म मरेँ भने मेरो लास आमाबुबा र दर्शकलाई नदेखाइदिनू है’, मेरो मुखबाट अनायासै निस्किएछ । दाइ रामकृष्ण छेवैमा हुनुहुन्थ्यो । मेरो मुहारमा मडारिइरहेका मृत्यत्रास अनि जीवन–मोह पढिरहनुभएको थियो । म लडिरहेको थिएँ अस्पतालको शय्यामा । क्यान्सरले गाँजेर शरीर थङथिलो बनाइसकेपछि म दिल्ली ल्याइपुर्‍याइएको थिएँ । १४ वर्षअघि सेप्टेम्बर ९ को त्यो दिन । अत्यधिक पीडाले छटपटिइरहँदा सायद मेरो अन्तरात्माले अड्कल काटिसकेछ– अब साँच्चै मर्छु क्यारे † पलपल छोटिँदै गएझँै लाग्ने जिन्दगीको माया झनझन् बढ्दै थियो ।
ती पल सम्झिँदा आज लाग्छ– मान्छे सबैभन्दा बढी स्वार्थी आफ्नै जीवनप्रति हुँदो रहेछ । केही उपाय नलागेर शरीर नासिएछ भने पनि स्मृतिमै भए नि आफ्नो अस्तित्वचाहिँ बाँचिरहोस् भन्ने चाहँदो रहेछ । दर्शक अनि मातापिताको मायाको अम्मली बनिसकेको म त्यो अलिकति पनि नघटोस् भन्ने चाहन्थेँ । आमाबुबा र दर्शकको नजरमा सधैँ बाँचिरहने चाहना थियो । मृत्युले डरलाग्दो मुख बाएर मलाई निल्ने तयारी गर्दैगर्दा मनमा अनेकौँ कुरा मडारिँदै थिए– ‘शव सार्वजनिक गरिदिए विस्तारै आमाबुबा अनि प्यारा दर्शक मेरो अन्त्य स्वीकार्न बाध्य हुनेछन् । मप्रतिको स्मृति विस्तारै धूमिल हुँदै जानेछ । लास त मृत्युको जीवन्त प्रमाण पो हो त † त्यो नदेखेसम्म उनीहरूलाई विश्वास लाग्ने छैन, ‘श्रीकृष्ण मर्‍यो’ भनेर । जिन्दगीका थुप्रै प्रसंगहरूमा म उनीहरूको स्मृतिमै भए पनि बाँचिरहन पाउनेछु ।’ थाहा छैन, मृत्युपछि कुनै अस्तित्व रहन्छ/रहन्नँ, चेतना होला–नहोला । तर, पनि त्यो पल मभित्र दर्शकको माया पाइरहने स्वार्थ ह्वात्तै बढेको थियो, चाहे मरणोपरान्त नै किन नहोस् । थुप्रै चलचित्रमा आफू मरेको अभिनय गरेको थिएँ तर त्यस बेला अहिले अस्पतालको शय्यामा छटपटिइरहेजस्तो पीडा कहाँ हुन्थ्यो र ? कल्पनाको जीवन र यथार्थमा कति भिन्नता रहेछ † फिल्मको हिरो म । फिल्मभित्र त जस्तासुकै परिस्थितिलाई आफ्नै तागतले पार लगाउन सकेको अभिनय गर्थें । सोच्थेँ– यो क्यान्सरलाई पनि फिल्ममा जस्तै गरी जित्न पाए †
दाइले भन्नुभयो– ‘बाबु, चिन्ता नलिऊ, हरेस नखाऊ । यति धेरै माया गर्ने आफन्त र दर्शक हुँदाहुँदै तिमीलाई केही हुन सक्दैन ।’ दाजुको जवाफले मभित्र तत्क्षण सञ्जीवनीको काम गर्‍यो । मृत्युत्रास केही पलका लागि टाढिएजस्तो भयो । कालसँग लड्न बल मिलेजस्तो लाग्यो, आत्मविश्वास बढ्यो । हुन पनि दाजुले भनेजस्तै मायामिश्रित तिनै शुभकामनाहरूले मलाई बचाए । बीचमा लत्रिरहेको थियो मेरो जीवन । एकातिरबाट यमराज तानिरहेका थिए, अर्कातिरबाट मेरा आफन्त अनि दर्शकको असीम मायाले । बुबाआमा बूढाबूढी भएकाले नेपालमै हुनुहुन्थ्यो । बाँकी चारै दाजु मेरो हेरचाहका लागि अस्पतालमै हुनुहुन्थ्यो, पालैपालो मलाई कुर्नुहुन्थ्यो । आखिर यमराज मायाका अगाडि पराजित भएरै छाडे । त्यसैले त आज सशरीर छु । जिन्दगीलाई रिफ्रेस गरेर फेरि जिउन सकेको छु । पेटको देब्रेतिरको भागमा क्यान्सर भएको थियो मलाई । त्यो काटेर फाल्नमा सफलता मिलेपछि बल्ल म बाँचेँ ।
अहिले तन्दुरुस्तै देखिन्छु । तर, मेरो शरीर च्यातिएर सिलाएको लुगाजस्तै हो, जसै गरे नि सिलाएको दाग त कहाँ मेटिन्छ र ? काममा जीवनै दिएर लाग्दा भोग्नु नियति थियो यो । १४ वर्षअघि चलचित्र दुनियाँमा निकै छाइरहेको थिएँ । एक्सनकटको चटारोले शरीरलाई माया गर्ने फुर्सदै भएन । कामको मायाले ज्यानको माया कमजोर बनाइदियो ।
‘जीवनसाथी’ चलचित्रको सुटिङमा थिएँ । शरीर कमजोर लाग्न थालेको थियो, केही दिनदेखि ज्वरो आइरहेको थियो । सकिएला त नि भनेर काममा जोतिइरहेकै थिएँ । प्रेमदृश्यको छायांकन थियो । निर्देशक दीपक श्रेष्ठ बोलाएको बोलायै थिए रिहर्सलका लागि । ज्वरोलाई जितेर काम गर्न सक्छु जस्तो लागेको थियो तर गर्नै सकिनँ, दुखेर भक्लक्कै ढलेँ । सबैले मलाई उठाए । असिस्टेन्ट बाबु तामाङले अस्पताल पुर्‍याए । डा. शेखर थापाले स्वास्थ्यजाँच गरे । जाँच गर्दा थाहा भयो, क्यान्सर भएछ । द्वन्द्वदृश्यका क्रममा कसैले हानेको किक जोडले पेटमा लागेपछि त्यहीँको मासु बिग्रिएर भित्रभित्रै क्यान्सर भएको अनुमान डाक्टरले गरे । मलाई पनि त्यस्तै लाग्यो । अब ‘जीवनसाथी’को काम पूरा गर्न नसक्ने अवस्थामा पुगेँ, लिएको एड्भान्स फिर्ता गरिदिएँ ।
‘क्यान्सर लागेपछि कहिल्यै निको हुँदैन’, क्यान्सरबारे डरलाग्दो बुझाइ थियो मेरो । नराम्रोसँग झस्किएँ, धरातल भास्सिँदै गएभैँm भान भयो । घरीघरी त मुटु भक्कानिएर आँसु निचोरिन खोज्थ्यो । तर, परिवारले मेरो आँखामा आँसु आउनै दिएनन् । चार दाजुभाउजू अनि बुबाआमाले एक छिन पनि एक्लै छाड्नुभएन । म नआत्तियूँ भनेर होला, उहाँहरूले आफ्नो मुहारमा पनि सकेसम्म पीडा देखाउनुभएन । मेरो आँसु नझरोस् भनेर आफ्नो आँसु पनि लुकाउनुभयो । सबैजना ढाडस दिनुहुन्थ्यो– ‘बाबु तिमीलाई केही हुँदैहुँदैन ।’ त्यो मायाले क्यान्सरको दुखाइ कम गरिदिएजस्तो लाग्थ्यो ।
१५ दिन भारत बसेर उपचार गराएपछि अपरेसन सफल भयो । एक वर्ष पूरा रेस्ट बसेँ । त्यसपछि अलि तङ्ग्रिएँ । तर, असर त बुढ्यौली लागेपछि अझै बढ्दै जान्छ । हुन त म २३ वर्षे ठिटो न हुँ, हाहाहा…..† (लामो हाँसो)
बाल्यकालदेखि नै स्वास्थ्यबारे सचेत नभएको होइनँ । त्यसअघि शरीरमा कुनै रोग पनि थिएन । तर, जति बेला सचेत हुनुपर्ने हो त्यति बेलाचाहिँ काममा मात्र ध्यान दिएछु । सुटिङको टाइमटेबुल नमिल्दा दैनिकी अस्तव्यस्त थियो । नियमित गर्ने व्यायाम पनि रोकियो । खानपानमा लापरबाही झनै चर्कियो । चुरोट, खैनी, रक्सीजस्ता लत मैले कहिल्यै अपनाइनँ तर चलचित्रको दुनियाँमा व्यस्त हुन थालेपछि कोकको झोलमा बानी लागेछ । छिनछिनमा कोकले कामको तनाब घटाउने प्रयास गरिरहन्थेँ । खाँदै नखाएको दिन पनि १९ बोतल कोक सक्थेँ । यही अस्तव्यस्त दैनिकीले पनि क्यान्सर बढाउन सघायो कि †
रोगले मान्छेलाई कमजोर बनाउँछ । रोगसँगै मानसिक कमजोरी पनि बढ्यो भने मान्छे जीवनदेखि नै हार्न थाल्छ । आपसी मायाले मानसिकतालाई कमजोर हुन दिँदो रहनेछ । मलाई पनि मायाले नै जीवनशक्ति बढाउँछ, औषधि त एउटा सन्तुष्टिको बाटो मात्रै हो । घरमा आएपछि आमा अनि बाको न्यानो मायाले हरसमय जिउन प्रेरित गरिरह्यो । मेरो जीवनलाई आफन्त मात्रै होइन, स्कुले बालिकाले पनि माया गरेका छन् । दिल्लीबाट फर्किएपछि चलचित्रका सहकर्मी, दर्शकदेखि शुभचिन्तकसम्म मलाई घरमा हेर्न आइरहन्थे । एक दिन आराम गरिरहेको थिएँ । दुई सय जनाजति विद्यार्थी मेरो घर आए । तीमध्ये एउटी सानी नानीको हातमा गुलाबको फूल थियो । उनले मेरो हातमा त्यो फूल राखिदिइन् । अनि भनिन्, ‘अंकल, भगवान् छन् भने तपाईंलाई लागेको रोग मलाई सारिदिन भन्छु है ।’ मेरो आँखाबाट हर्षको आँसु बग्यो । उनलाई फर्काउने शब्द थिएन मसँग । तर, ती शब्दले जिउने हजार गुना बढी शक्ति मेरो आत्मामा भरिदिए । जवाफमा फिस्स हाँसिदिएँ मात्रै ।
०००
तीन वर्षअघि । उकालिँदो बुढ्यौलीसँगै मेरो बुबा कमजोर बन्दै जानुभयो । रोगले च्याप्दै लग्यो । उहाँको उपचारमा हरसम्भव लागिरहेका थियौँ । आइसियुमा हुनुहुन्थ्यो, म खानेकुरा लिएर जान्थेँ । मुखैनेर गाँस पुर्‍याएपछि प्रश्न गर्नुहुन्थ्यो– ‘तेरी आमाले खाई त ?’  यति धेरै माया गर्नुहुन्थ्यो आमालाई बुबा । ‘बुबा मैले खुवाइसकेँ, हजुर खानुहोस् ।’ मैले यसो भने पनि आफ्नै आँखाले नदेखेसम्म उहाँलाई सन्तोषै लाग्दैनथ्यो । आमालाई अस्पतालै पुर्‍याइन्थ्यो । आमाले खाएको देखेपछि बल्ल बुबाको घाँटीबाट खानेकुरा छिथ्र्यो ।
आइसियुमै मैले बुबालाई सम्झाएँ– ‘बुबा, म कहिल्यै आमालाई नखुवाई खाँदिनँ । हजुर ढुक्क हुनुस्, आमालाई मायाको कमी हुन दिन्नँ । मामाघर गए पनि पुर्‍याउन जान्छु, लिन पनि जान्छु । हजुरले केही चिन्ता लिनुपर्दैन ।’ बुबाको अनुहार हँसिलो भएको थियो । दोहोर्‍याएर मलाई भन्नुभयो– ‘आमालाई एक्लै नबनाऊ है त †’ मैले आश्वस्त पारेको भोलिपल्ट बिहानै बुबा स्वर्गे हुनुभयो । म विश्वस्त छु, मृत्युलाई जित्ने केही चिज छ भने माया नै हो । आमाको मायाले नै मेरो बुबालाई पनि केही घण्टा बढी बचायो । माया हस्तान्तरणको टुंगो लागेपछि मात्रै उहाँले जीवन त्याग्नुभयो ।
बुबालाई दिएको वचन मैले पूरा गरेको छु । अझै पनि म आमाकै कोठामा सुत्छु । उहाँले खाएपछि मात्रै भात खान्छु । आमा निदाएपछि मात्रै आफू सुत्छु । ८३ वर्षकी पुग्नुभयो उहाँ । आमाप्रतिको जिम्मेवारी अनि मायाले नै मलाई लामो सयमसम्म बिहेबारे सोच्न दिएनजस्तो लाग्छ । सोच्थेँ– अरू कसैको आगमनले आमाप्रतिको मेरो माया कम नहोओस् । त्यो नबाँडियोस् । तर, आमा मेरो बिहेबारे बढी नै चिन्तित हुनुहुन्छ । बिहे गर भन्नुहुन्छ । बुबाको प्रसंग जोडेर फकाउनु पो हुन्छ यसरी– ‘बाबु जसरी बुबाले मप्रतिको आफ्नो माया तँलाई हस्तान्तरण गर्नुभयो, तैँले पनि आफ्नो माया हस्तान्तरण गर्ने कोही मान्छे ल्याउनुपर्दैन त ?’ अबचाहिँ चाँडै बिहे गर्नुपर्लाजस्तो छ । तयारी सुरु गरिसकेँ ।
०००
अहिले मैले फिटनेस सेन्टर सञ्चालन गरेको छु । हरेक दिन एक घन्टा यहाँ ल्याएर मानिसहरूलाई स्वस्थ जीवनबारे चासो जगाउने र कसरत गराउने मेरो उद्देश्य हो । यसका लागि मैले चलचित्र क्षेत्रबाट एक वर्ष विश्राम लिने निर्णय गरिसकेँ । धनसम्पत्ति सुखको आधार होइन । मायाप्रेम नभए सम्पत्तिले मात्र मान्छेलाई जीवन दिन सक्दैन । आफ्नो शरीरलाई माया गर्न जान्नु पनि जिउने कला हो । आफ्नै भोगाइले दिएको जीवनदर्शन बुझाउन लालायित हुन्छु म हिजोआज ।
०००
जीवन र मृत्युको कुनै ठेगान हुँदैन । छैठीको दिन लेखिएको भावीलाई विश्वास गर्छु म । आफ्ना शव बोक्ने ४ जना व्यक्ति कमाउनु मेरो जीवनको सबैभन्दा ठूलो सोख हो । त्यसो त सबैले दिने गरेको मयाको धन मसँग प्रशस्तै छ । यो मैले आफ्नै व्यवहारका कारणले कमाएको हुँ । जानेर गल्ती गर्दिनँ । अन्जानमा भएको गल्तीमा पनि चाँडै माफी मागिहाल्छु । आफूले सच्चा दिलले गरेको विश्वासमा धोका पाउँदा पनि मलाई रिस उठ्दैन । बरु दिल दुख्छ । कहिल्यै कसैको नराम्रो चिताउँदिनँ । लाग्छ– मृत्युको तीन मिनेटअघिसम्म पनि मान्छेले सकारात्मक सोचिरहनुपर्छ । सकारात्मक सोच आउन आत्मा मायाले भरिएको हुनुपर्छ । जसरी सेप्टेम्बर ९ को त्यो दिन मृत्युले मलाई आफूतिर तानिरहँदा मेरो आत्मामा भरिएका दाजुहरूका मायालु शब्दले मलाई मृत्युशय्याबाट उठाएका थिए ।
प्रस्तुति : प्रतिमा सिलवाल