Sunday, July 7, 2013

चेतन भगतले सोधे- ‘तुम्हारा औकात क्या है ?’ - सुदीप श्रेष्ठ - setopati

जिन्दगीमा सफलताको पहिलो मन्त्र के हो?
सायद, भनेको समयमा आइनपुग्नु।
‘बेस्टसेलर’ भारतीय लेखक चेतन भगतले शनिबार एभरेस्ट होटलको हलमा खचाखच झन्डै पाँच सय युवा दर्शक/श्रोतालाई ठ्याम्मै एक घन्टा कुराइदिए। ‘जिन्दगीमा सफल कसरी हुने’ शीर्षकको करिअर कार्यशाला दिउँसो २ बजे सुरु हुने भनिएको थियो । प्रस्तोता चेतन पूर्ण कालो पोसाकमा हलभित्र छिर्दा घडीमा ३ नाघिसकेको थियो।
समयको महत्वलाई सफलताको पहिलो खुड्किलो मानेका छन् विद्वानहरूले । चेतनले भने ढिलो आएकोमा माफीसम्म मागेनन् । यो उनकै गल्ती पनि हुनसक्छ, वा आयोजकहरूले नै एक घन्टाको ‘मार्जिन’ राखेका हुनसक्छन् । बरु नेपाली दर्शक सहृदयी देखिए । एक घन्टा कुरेर अधीर भइसक्दा पनि चेतनको निम्ति तालीको गड्गडाहटमा कमी आउन दिएनन्।
‘नमस्ते काठमान्डु, सन्चै हुनुहुन्छ?’
आफ्नो अभिव्यक्तिलाई नेपाली भाषामा उल्था गराएर ल्याएका चेतनले कागजको खेस्रा हेर्दै अप्ठ्यारो लवजमा भने, ‘तपाईंहरूसँग भेट्न पाउँदा म धेरै खुसी छु । लामो समयदेखि यो दिनको प्रतीक्षामा थिएँ । तपाईंहरू आइदिनुभएकोमा धन्यवाद।’
यति भनेपछि मार्केटिङ गुरुका रूपमा समेत परिचित यी पूर्वबैंकरले सर्वोच्च शिखर सगरमाथाको विम्बमा आफ्नो प्रस्तुति थाले।
‘नेपाल सगरमाथाको लागि चर्चित छ । म तपाईंहरूलाई त्यस्तै उचाइँमा पुग्नको निम्ति प्रेरित गर्न यहाँ उपस्थित भएको हुँ।’
हल तालीले भरियो।
‘अब योभन्दा बढी नेपाली भाषा बोल्न मलाई आउँदैन,’ उनले अंग्रेजीमा भने।
हल हाँसोले पुरियो।
‘तपाईंहरू कतिजना विद्यार्थी हुनुहुन्छ?’
अगाडि दुई/तीन लहरमा बसेकाबाहेक सबैजसो सहभागीले हात उठाए।
‘तपाईंहरू कतिजना सफल हुन चाहनुहुन्छ?’
फेरि अगाडिका लहरबाहेक सबैजसो सहभागीको हात उठ्यो।
‘अगाडि बस्नेहरूको हात उठ्दैन,’ जवाफमा चेतनले भने, ‘उनीहरू सफल भएरै अगाडि आइपुगेका हुन् ।’
उनले तेस्रो प्रश्न सोधे, ‘सफलता भनेको के हो?’
पालैपालो आएको जवाफमा धेरैको भनाइ एउटै थियो– जिन्दगीमा आफूले सोचेको लक्ष्य पूरा गर्नु नै सफलता हो । एक सहभागीले अलि रमाइलो पारामा भने, ‘हलको पहिलो लहरमा होइन, म तपाईं उभिएकै ठाउँमा उभिन चाहन्छु । मेरो निम्ति त्यही सफलता हो।’
यसमा चेतनको जवाफ थियो, ‘चिडियाघरमे लोग जाते हैं, जानवरको देखने।’
चेतनले सफलताका दुइटा उदाहरण दिए।
‘रणवीर कपुरको पछिल्लो फिल्मको नाम के हो?’
जवाफ दिन हानाथाप भयो– ‘ये जवानी है दिवानी।’
‘रणवीर कपुरको बारेमा सबै अपडेट हुनुहुन्छ, मैले कोर्सबाट प्रश्न सोधेको भए के यस्तै जवाफ आउँथ्यो ? सफलता भनेको यही हो।’
उनको अर्को उदाहरण गाउँकी एउटी केटीका बारेमा थियो, जसलाई बाआमाले पढ्न दिएनन् । ती केटीले बाआमाको इच्छाविरुद्ध संघर्ष गरिन् । स्कुल गइन् । पास भइन् । कलेज पढ्ने बेला परिवारबाट फेरि अवरोध आयो । उनले फेरि संघर्ष गरिन् । सहर गइन् । कलेज पनि पूरा गरिन् । उनी अहिले स्थानीय टेलिभिजन च्यानलमा रिपोर्टर छिन्।
‘रणवीर कपुर र गाउँकी ती केटीमध्ये को बढी सफल हो?’
सबैले गाउँकी केटीलाई नै बढी सफल माने।
चेतनको चित्त बुझ्यो । ‘सफलता नाप्दा तुलनात्मक भिन्नता महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘रणवीर प्रतिभाशाली अभिनेता हुन् । निकै मिहिनेत गर्छन् । स्टारपुत्र भएकाले मात्र सफल भएका होइनन् । धेरै स्टारपुत्र गुमनामीमा हराएको हामीले देखेका छौं । यो पनि सत्य हो, उनले जन्मेदेखि ती सबै सुविधा र अवसर पाए, जुन सामान्य मान्छेलाई पाउन गाह्रो छ।’
‘गाउँकी ती केटी भने बेनाम पात्र हुन् । घरकाले नै उनको छलाङमा तगारो हाल्न खोजे । उनी रोकिइनन् । आफ्नो क्षमताको दायरा फराकिलो पारिन्। र, अलग्गै नाम बनाइन्।’

‘तुम्हारा औकात क्या है ?’

चेतनले सफलताको पहिलो मन्त्र सुनाए– ‘हामी सबै औकातको कुरा गर्छौं । सफलताको सबभन्दा ठूलो अवरोध यही हो । मेरो जन्म कहाँ भयो, मेरो आर्थिक हैसियत के छ, सबैलाई यही आधारमा सीमाभित्र बाँध्ने गरिन्छ । हामी जबसम्म औकातको सीमाबाट बाहिर आउँदैनौं, तबसम्म सफलता सम्भवै छैन।’
‘तुम्हारा औकात क्या है ? हामीकहाँ यो सबैलाई सोधिने आमप्रश्न हो । मलाई पनि धेरै सोधियो । तपाईंहरूलाई पनि सोधियो होला । यस्तो प्रश्नतिर कहिल्यै ध्यान नदिनुस् । औकातको सीमा नाघ्नुस्, आफ्नो क्षमतालाई धकेलेर आगाडि बढ्नुस् । अनि बल्ल मान्छेले तपाईंलाई देख्नेछन्, चिन्नेछन्, तपाईंलाई मान्नेछन् । सफलता यहीँबाट सुरु हुन्छ । मसँग अवसर छैन, क्षमता छैन, आर्थिक हैसियत छैन, यस्ता मनगणन्ते कमजोरीले कुन्ठित भएर बस्नेहरू कहिल्यै सफल हुँदैनन् । सफलताको बाटोमा आधा अवरोध भनेको हाम्रो सोचाइ नै हो।’
असफल भइने डरले पनि धेरैजना खुम्चिएर बस्ने गरेको उनको तर्क थियो । उनले दोस्रो मन्त्र दिए– ‘नयाँ काम आँट्दा असफलताको डरले हामीलाई खान थाल्छ । मानसिक तनाव सुरु हुन्छ । असफल भइयो भने अहिले जे छ, जति छ, त्यो पनि गुम्ने त होइन भनेर भित्रभित्रै भुट्भुटिन्छौं । अनि चुपचाप बस्छौं । डर सफलताको सबभन्दा ठूलो शत्रु हो । डरले खुम्चिने होइन, सगरमाथालाई आफ्नो प्रेरणा बनाउनुस्, र त्यो जत्तिकै उचाइँसम्म पुग्ने क्षमता आफूभित्र विकास गर्नुस्।’
उनको आसय थियो, मान्छेको सपना असीमित हुनसक्छ । तर, क्षमता सीमित हुन्छ । क्षमता छैन भनेर हार खानेहरू कहिल्यै अघि बढ्न सक्दैनन् । जो सफल हुन चाहन्छ, ऊ आफ्नो क्षमताको दायरा बढाउँदै लैजान्छ र एकपछि अर्को नयाँ गन्तव्य छुँदै जान्छ।
चेतनको यो मन्त्र उनकै करिअरमा पनि मेल खान्छ । आइआइटी र आइआइएम पढेका चेतनले सन् १९९७ देखि २००८ सम्म बैंकिङ क्षेत्रमा बिताए । त्यहीबीच लेखनमा टख बस्दै गयो । २००८ देखि जागिरे जीवन छाडेर पूर्णकालीन लेखक बने । त्यो आफैंमा संघर्षपूर्ण यात्रा थियो । सुरुमा कुनै प्रकाशकले उनलाई पत्याएन । उनको किताब एकपछि अर्को प्रकाशन गृहबाट अस्वीकृत हुँदै गयो । जुन दिन उनको पहिलो उपन्यास ‘फाइभ प्वाइन्ट समवान’ छापियो, त्यसले बिक्रीको रेकर्ड तोड्यो । आज उनका किताब जति बिक्री हुन्छन्, त्यति अरू कुनै भारतीय लेखकका किताब बिक्दैनन् । जनस्तरमा उनीजत्तिका लोकप्रिय भारतीय लेखक सायदै कोही छन् । यति हुँदा पनि उनलाई आजसम्म गम्भीर साहित्यकारको कोटीमा राखिँदैन । रेल्वे स्टेसनमा बिक्ने लेखक हुन् भनिन्छ चेतनलाई । उनी आफैं पनि यो उपमा स्वीकार गर्छन्, गौरवसाथ।
'टाइम' पत्रिकाले निकाल्ने संसारका सय प्रभावशाली व्यक्तिको सूचीमा परेका चेतनले लेखनको सफलतासँगै अरू क्षेत्रमा पनि क्षमता तिखार्दै लगेका छन् । उनी अचेल फिल्म लेखनमा व्यस्त छन् । बलिउडमा सबभन्दा बढी पैसा कमाउन सफल 'थ्री इडियट्स' उनकै पहिलो किताबमा आधारित हो । हालै रिलिज 'काइ पो चे' उनको उपन्यास 'थ्री मिस्टेक्स अफ माइ लाइफ' बाट बनेको हो। उनले लेखेका अरु फिल्म रिलिजको क्रममा छन्। उनी पत्रपत्रिकामा स्तम्भसमेत लेख्छन्। सामाजिक सञ्जालमा सक्रिय छन्। संसारभरि सफलताका प्रवचन दिन्छन्। उनका प्रवचन कार्यक्रमको संख्या दुई सय नाघिसकेको छ । संसारभरका विश्वविद्यालयबाट प्रवचनको निम्तो पाइरहेका छन् । भारतको शैक्षिक प्रतिष्ठान एसआर ग्रुप अफ इन्स्टिच्युसनले अंग्रेजी दैनिक ‘रिपब्लिका’ सँगको सहकार्यमा चेतनलाई नेपाल निम्त्याएको हो।
‘मेरो प्रतिस्पर्धा सधैं आफूसँगै हुन्छ,’ उनले भने, ‘म आफ्ना उपन्यासबाट पाठकलाई मनोरञ्जन दिन्छु । तर, त्यसले मात्र मलाई सन्तुष्ट गरेन । म आफ्नो लेखनबाट भारतका समस्या उजागर गर्दै परिवर्तन ल्याउन चाहन्छु । त्यसैले, अंग्रेजी र हिन्दी भाषामा स्तम्भ लेख्न थालेको छु । म आफ्नो अनुभवबाट युवा पुस्तालाई सफलताको दिशामा अघि बढ्न प्रेरित गर्न चाहन्छु । त्यसैले, यस्ता अन्तर्क्रियामा सहभागी हुन थालेको छु।’
बोलीबाटै भीडलाई काबुमा राख्नु चानचुने सामर्थ्य होइन । दर्शकलाई हाँसोठट्टा र दोहोरो कुराकानीमा भुलाउँदै गहिरो छाप छाड्ने शैली छ चेतनको । यो गुण विकास भएको निकै पछि हो रे । पाँच सय दर्शकसामु निर्धक्क बोलिरहेका र सवालजवाफ गरिरहेका चेतन सानोमा पाँचजनाको अगाडि पनि बोल्न धकाउँदा रहेछन्।
सवालजवाफ क्रममा एकजनाले सोधेका थिए, ‘तपाईं कसलाई प्रेरणा मान्नुहुन्छ?’
‘तपाईं कति वर्षको हुनुभयो ?’ चेतनले उल्टै सोधे।
‘तेह्र।’
‘तपाईंको उमेरमा म पाँचजनाको अगाडि बोल्न सक्दिनथेँ,’ उनले भने, ‘तपाईं यत्तिका मान्छेको बीचमा उभिएर मलाई यस्तरी प्रश्न सोध्दै हुनुहुन्छ । अहिलेलाई तपाईं नै मेरो प्रेरणा हो।’

सफलताका ६ खुड्किला


म लेखक बन्न चाहन्छु। म दुब्लाउन चाहन्छु।
यी लक्ष्य हुन् कि होइनन्?
चेतनको भनाइमा यी दुवै लक्ष्य होइनन् । सपना मात्र हुन् । सबै सपना लक्ष्य हुँदैनन् । हुनै सक्दैनन् । सपना त्यतिखेर मात्र लक्ष्य बन्छ, जब समयको सीमाभित्र बाँधिन्छ।
एक वर्षभित्र म किताब लेखिसक्छु । छ महिनाभित्र कम्तीमा पाँच किलो दुब्लाउँछु । यी लक्ष्य हुन्।
‘लक्ष्यको निम्ति समय महत्वपूर्ण छ,’ चेतन भन्छन्, ‘समयसीमाले मान्छेलाई काम गर्न प्रेरित गर्छ । असीमित यात्राले कसैलाई कतै पुर्‍याउँदैन, यो जिन्दगीको सत्य हो।’
समयबद्ध गर्दैमा लक्ष्य स्वतः पूरा हुँदैनन् । यो त पहिलो खुड्किलो मात्र हो।
चेतनको भनाइमा दोस्रो खुड्किलो हो, लक्ष्य पछाडिको कारण । कुनै पनि लक्ष्य पूरा गर्न लामो समय घोटिनुपर्छ । त्यसैले, लक्ष्यको महत्व र कारणबारे स्पष्ट हुनु जरुरी छ । अन्यथा, मान्छे कम समयमै निरुत्साहित हुनसक्छ।
‘त्यो कारण अरूले सिकाएर वा भनेर होइन, आफ्नै अन्तरहृदयबाट आउनुपर्छ,’ उनले भने, ‘ममीको इच्छा पूरा गर्न म डाक्टर बन्न लागेको हुँ । यस्तो सोचाइले मान्छे न सफल हुन्छ, न खुसी।’
उनका अनुसार समय र निश्चित कारणको पहिचानपछि लक्ष्यप्राप्तिमा सहयोग पुग्ने समूह बनाउनुपर्छ । जस्तो, दुब्लाउनुछ भने बिहानबिहान दौडिन साथीहरू बनाउन सकिन्छ । परिवारलाई पनि साथमा लिनैपर्‍यो । आफू दुब्लाउने कोसिसमा लागेको छ, घरकाले दिनहुँ घीउभात खान बल गर्छ भने काम बनेन।
त्यसपछि पालो आउँछ, विस्तृत कार्ययोजनाको । किताब लेख्नु भनेको लामो समय खुरन्धार भएर लाग्नुपर्ने काम हो । यसले मान्छे आत्तिनसक्छ । त्यसैले, आफ्नो लक्ष्यलाई सानो–सानो टुक्रामा बाँड्नु बेस हुन्छ । यति समयमा यति शब्द लेखिसक्छु, त्यसपछि फेरि अर्को यति समयमा यति शब्द लेखिसक्छु । यही प्रकारले अघि बढ्दै जाँदा सफलता र खुसी सँगसँगै आउने चेतनको भनाइ छ।
‘हामी खानेकुरा कसरी खान्छौं ? मुखमा हाल्छौं, टुक्राटुक्रा पारेर चपाई–चपाई खान्छौं, लक्ष्यसम्म पुग्ने बाटो यही हो,’ उनले भने।
पाँचौं र छैटौं खुड्किलामा उनले असफलतासँग जुध्ने सामर्थ्यलाई राखेका छन् । असफलताले मान्छेलाई भावुक बनाउनसक्छ । आफ्नो निर्णय र आफूले लिएको बाटोमै पछुतो हुनसक्छ । यस्तो सोचले सफलतामा बाधा ल्याउँछ । चेतन भन्छन्, ‘भावुक भएर निर्णय लिने होइन । आफूमाथि विश्वास राख्ने र फेरि अर्को धक्का लगाएर अघि बढ्ने हो । सफलता सजिलै हासिल हुँदैन । त्यसका लागि कठिन समयसँग गुज्रन तयार हुनुपर्छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि जसले आफ्नो लक्ष्य त्याग्दैन, ऊ सफल हुन्छ । कति समय लाग्छ, म भन्न सक्दिनँ, तर ऊ अवश्य सफल हुन्छ, यो ग्यारेन्टी छ।’

‘अभिप्रेरित हुनु नुहाएजस्तै हो’
चेतन भगतको कुरा सुनेर हामी एक छिन, एक दिन वा एक सातालाई अभिप्रेरित भयौं होला, तर त्यसले सधैं काम गर्दैन । दैनिक व्यवहारले रगड्न थालेपछि न लक्ष्य रहन्छ, न सपना । खाली कठोर यथार्थ बाँकी हुन्छ, जसले मुटु पलपल छियाछिया पार्छ।
यसको हल के त?
चेतन भन्छन्, ‘अभिप्रेरित हुनु भनेको नुहाएजस्तै हो । आज नुहाएर सधैंको लागि ज्यान चंगा हुँदैन । भोलि नुहाउनुपर्छ । पर्सि फेरि नुहाउनुपर्छ । अभिप्रेरणा पनि त्यस्तै हो।’
उनका अनुसार मान्छको मनमा घरिघरि नकारात्मक ऊर्जा हावी भइरहन्छ । फोहोर मन सफा पार्न दिनहुँ सकारात्मक ऊर्जाले नुहाएर अभिप्रेरित हुनुपर्छ । फोहोर तन सफा पार्न दिनहुँ साबुनपानीले नुहाएजस्तै।
‘जसरी गाडी चलाउन पेट्रोल हालिरहनुपर्छ, मान्छेलाई अगाडि बढ्न पनि प्रेरित गरिरहनुपर्छ,’ चेतन भन्छन्, ‘एकचोटिको प्रेरणाले सधैं काम गर्दैन। र, यो सबैमा लागू हुन्छ।’