Tuesday, July 9, 2013

साना किसान भर्सेज आरएमडिसी : वित्तीय अवस्था दुवैको राम्रो, लगानीकर्ताले कसको सेयर छान्ने ? - bizmandu

आकर्षक व्यालेन्सिट (वासलात), ठूलो सञ्चिति नाफा र सरकारी लगानीसमेत रहेका कारण  साना किसान विकास बैंक र रुलर माइक्रो डेभलपमेन्ट सेन्टर (आरएमडिसी) को सेयर निकै आकर्षक मानिउको छ । असार २३ मा साना किसान र २७ मा  आरएमडिसीले साधारण सेयर निस्कासन गर्दैछन् ।
क्रेडिट रेटिङ गराएर सँगसँगै निस्कासन हुन लागेको यि सेयर लामो समयदेखि लगानीकर्ताले पर्खिएका थिए । आरएमडिसीले एक सय रुपैयाँ अंकित दरका सेयरमा ८० रुपैयाँ अतिरित्त प्रिमियम थपेर सेयर निस्कासन गर्न लागेको छ । साना किसानले भने सय रुपैयाँ दरमा नै सेयर निस्कासन गर्दैछ ।
आरएमडिसीलेले १५ करोड ६० लाख रुपैयाँ बराबरको १५ लाख ६० हजार कित्ता सेयर निस्कासन गर्न लागेको हो । कम्पनीको गत वर्ष ४२.६६ रुपैयाँ प्रति सेयर आम्दानी रहेको थियो । कम्पनीको गत पुसमा २३.४८ रुपैयाँमा झर्ने छ । असार मासान्तमा २८ रुपैयाँ पुग्ने अनुमान छ । त्यसपछि ३२ रुपैयाँ हुँदै यसको अर्को वर्षमा ३५ रुपैयाँ प्रति सेयर आम्दानी पुग्ने कम्पनीको प्रक्षेपण छ ।
कम्पनीले गत वर्ष १३ करोड ६५ लाख रुपैयाँ नाफा गरेको थियो । पुसमा कम्पनीको नाफा ७ करोड ८४ लाख रुपैयाँ थियो । असारमा यो बढेर १४ करोड ६९ लाख रुपैयाँ पुग्ने  प्रक्षेपण छ ।  
यता साना किसान विकास बैंक लिमिटेडले ६ करोड रुपैयाँ बराबरको सेयर निस्कासन गर्न लागेको छ । साना किसान क्रेडिट रेटिङ गरेर सेयर निस्कास गर्ने पहिलो वित्तीय संस्था हो ।
गत पुससम्म बैंकको प्रति सेयर आम्दानी ३० रुपैयाँ ९६ पैसा छ । चालु वर्ष प्रति सेयर आम्दानी २४.७९ रुपैयाँ पुग्ने बैंकको प्रक्षेपण छ । बैंकसँग सञ्चिति नाफा उच्च छ । राम्रो नाफा गरिरहेको र प्रति सेयर आम्दानी उच्च भएकाले बैंकको सेयरमा लगानीकर्ताको चासो वढी छ । बैंक तथा वित्तीय संस्थाको आगामी आर्थिक वर्षको लाभांस मुखैमा आइसक्दा पनि सेयरको दोस्रो बजार काराबार सुस्ताएको छ । लगानीकर्ताको करिव साढे १६ अर्ब रुपैयाँ मेगा बैंक नेपालको साधारण सेयरमा अल्झिएको छ । यस्तो बेलामा आकर्षक मानिएपनि सेयरमा लगानी गर्नेको भिँड केही कम हुन सक्छ ।
दुई वटैको व्यालेन्सिट करिव करिव उस्तै भएपनि साना किसानको सेयर अंकित दरमै पाइने भएकाले आरएमडिसीमा लगानीकर्ताको आकर्षण कम हुन सक्ने संभावना छ । पछिल्लो समय आरएमडिसीमा संस्थागत सुशासन पालना नभएका (नियम विपरित प्रमुख कार्यकारीलाई उपदान दिएको) जस्ता समाचारहरु सार्वजनिक भएकाले यसले लगानीकर्तालाई  राम्रो संदेश दिएको छैन । पछिल्लो समय सुशासनमा समस्या देखिएका संस्थाप्रति दोस्रो बजारमा नै सर्वसाधारणको आकर्षण देखिएको छैन । यसले आरएमडिसीलाई भने अप्ठेरो पार्ने छ ।
वित्तीय अवस्था हेर्दा दुवै संस्थाले लगानीकर्तालाई आगामी दिनमा आकर्षक प्रतिफल दिन सक्छन । तर लगानीकर्ताले सेयर किन्नु पूर्व लगानी सुरक्षा र स्थायित्वलाई पनि हेर्नु पर्ने हुन्छ ।