Tuesday, July 23, 2013

‘यौनमा अशक्त डाक्टर श्रीमती कुट्न सशक्त’ - टेकराज थामी - naya patrika



श्रीमान् डाक्टर, श्रीमती पनि डाक्टर । उनीहरूको स्वास्थ्य समस्याले पारिवारिक झगडा निम्त्यायो, श्रीमान्ले धकेल्दा श्रीमतीको मेरुदण्ड नै भाँचिएको छ भने घरेलु झगडा प्रहरीमा पुगेको छ ।



पूर्वगृहसचिव उमेश मैनालीकी भतिजी डा. स्निधा मैनाली र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाका माइलो देवर डा. सुधांशु कोइरालाबीच गत १४ मंसिरमा बिहे भएको हो । स्निधा बालकुमारीस्थित किस्ट अस्पतालको डेन्टल विभागकी प्रमुख हुन् भने सुधांशु अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको प्याथोलोजी डिपार्टमा छन् ।



बिहेको केही सातापछि उनीहरूबीच झगडा हुन थालेको हो । स्निधा र उनको माइती पक्षका अनुसार डा. सुधांशु यौन रूपमा दुर्बल छन्, त्यही हीनताबोधले उनी श्रीमतीमाथि हिंस्रक भएका हुन् । स्निधाकी काकी हरिप्रिया मैनालीले नयाँ पत्रिकासित भनिन्, ‘ज्वाइँले पुरुषको व्यवहार नगरेको भनेर छोरी गुनासो गर्थिन् । उपचार गर्दा भइहाल्छ नि भनेर मैले सम्झाएँ पनि । त्यहीअनुसार छोरी आफैँले देश–विदेशका विभिन्न अस्पतालमा लगिन् । डाक्टरले ठीक हुन्छ भनेकै थिए । तर, सेवामा खटिएकी श्रीमतीलाई नै कुटे ।’



बिहे भएको हप्तौँसम्म पनि सुधांशुले पुरुषको व्यवहार नदेखाएपछि स्निधालाई श्रीमान्को यौन दुर्बल रहेको पक्का भएको थियो । काकी हरिप्रियाका अनुसार गत १ जनवरीको अघिल्लो साँझ ‘न्यु इयर इभ’मा पार्टीमा दुवैजना सहभागी थिए । स्निधाले श्रीमान्को कमजोरी सहपाठीसँग खोलेकी थिइन्, तर उनीहरूको कुरा सुनेका सुधांशुले तत्कालै श्रीमतीलाई कुटेका थिए । ‘पछि घरमा आएर पनि कुटे रे । त्यसपछि त बारम्बार कुट्छन् भनेर छोरीले भन्थिन्,’ हरिप्रियाले भनिन्, ‘तर छोरी गुनासो गरेर बसिन, बरु उपचार गराउन देश–विदेशका अस्पताल पुर्‍याई ।’



श्रीमती डा. स्निधाले उपचार गराउन श्रीमान् डा. सुधांशुलाई भारतको हरियाणास्थित मेदान्त अस्पताल लगेकी थिइन् । पछि उनलाई थप शारीरिक परीक्षण गर्न १ वैशाखमा बैंकक पनि लगेकी थिइन् ।



सुरुमा निजी समस्या भनेर आफैँ मिलाउन लागेकी डा. स्निधाले अन्याय चर्को भएपछि प्रहरीको शरणमा जान बाध्य भएको बताइन् । उनले नयाँ पत्रिकासित भनिन्, ‘बिहे भएको केही दिनमै मैले उनको कमजोरी थाहा पाएकी हुँ, त्यसपछि लगातार सात महिनासम्म कुटाइ खाएरै भए पनि म उनीसँगै रहेँ । उनको उपचार गराउन इन्डिया लगेँ । त्यहाँ पनि नभएपछि बैंकक लगेँ । तर, श्रीमानप्रति विश्वास गरेर उपचारमा खटिएकी श्रीमतीलाई उनले कुटपिट मात्र गरिरहे ।’



डा. स्निधाका अनुसार बैंककको अस्पतालमा डा. सुधांशुको यौन उत्तेजना बढाउने प्रयास गरिएको थियो । ‘तर उनको शरीरमा त्यस्तो कुनै प्रतिक्रिया देखिएन, सबै रिपोर्ट मसँग छन्,’ उनले भनिन् । तर, बैंककबाट फर्किएपछि डा. सुधांशु झन् हिंस्रक भएको डा. स्निधाको भनाइ छ ।



स्निधाका अनुसार गत १९ जेठको राति श्रीमान्ले उनलाई फेरि कुटपिट गरे । उनले भनिन्, ‘मलाई लछारपछार गरे । कुटपिट गरे । धकेल्दा मेरो ढाड फलामको रडमा पर्‍यो । उठ्न नसक्ने भएपछि कान्छा ससुराले राति साढे २ बजे अस्पताल लैजानुभयो, मेरुदण्डको पुच्छर भाँचिएको रहेछ ।’ अस्पतालमा उपचारपछि घर फर्केकी स्निधालाई सुधांशुले २८ जेठमा कुटेका थिए ।



किस्टकी डाक्टर स्निधा कुटिएपछि उपचार गर्न किस्टमै लगिएको थियो । उपचारबाट आंशिक निको भएकी उनी अहिले मुस्किलले हिँडडुल गर्छिन् । तर, उनले प्रहरीमा उजुरी गरेकी छैनन् ।



डा. सुधांशुले भने आफूमाथि कुटपिट भएको भनेर प्रहरीमा उजुरी गरेका छन् । उनले भने×, ‘मैले कुटपिट गरेको छैन । बरु मलाई उनको भाइ सिद्धार्थले कुटेको हो । मैले प्रहरीमा समेत रिपोर्ट गरेको छु ।’



डा. स्निधाले आफूमाथि कुटपिट भएको मेडिकल रिपोर्ट र नीलडामका फोटा रहेको बताइन् । उनले भनिन्, ‘उनी अहिले उल्टै हामीलाई आरोपित गर्न कसरी सकेका होलान् ? म उनको घरमा कुटिएकी छु । कान्छा ससुराले मलाई अस्पताल लगेका छन् । उपचार गरेका मेडिकल रिपोर्ट छन्, मसँग । शरीरभर नीलडाम भएका फोटा छन् ।×’
सुधांशुले आफू यौन रूपमा सक्षम भएको दाबी गरे । उनले भने, ‘म शारीरिक रूपमा ठीक छु । बरु उनी कमजोर छिन् । उनको ओभरी (पाठेघर) झिकिएको रहेछ । त्यसैले हामीबीचको सम्बन्ध ठीक रहेन ।’



स्निधाले भने आफ्नो पाठेघर ठीक रहेको बताइन् । भनिन्, ‘उनले कसरी यस्तो भन्न सक्छन् ? मेरो ओभरी स्वस्थ छ । झिकिएको छैन ।’ प्रहरीले भने यो विषयमा अनुसन्धान भइरहेको बताएको छ ।