स्वदेशी पुँजीबाट निर्माण हुन लागेको
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट नेपाल टेलिकमका कर्मचारीहरु मालामाल
हुने भएका छन । आयोजनामा झण्डै १० करोड रुपैयाँ बराबरको संस्थापक शेयर
पाउने भएपछि कर्मचारीहरु मालामाल हुने भएका हुन् । दोलखा जिल्लाको
लामाबगरमा रहेको ४ सय ५६ मेगावाट क्षमताको आयोजना हाल निर्माण भइरहेको छ ।
आयोजनामा टेलिकमका कर्मचारीहरुले ९ लाख १४
हजार कित्ता शेयर पाउने भएका छन् । टेलिकमले निर्माणाधीन आयोजनामा ६ अर्ब
ऋण लगानी र ६२ करोड संस्थागत शेयर लगानी गरेको छ । आयोजनाले गत बिहीबार
टेलिकमलाई पत्राचार गरि कर्मचारीलाई वितरण गरिने सेयरको खाका पठाउन आग्रह
गरेको छ । तामाकोशीमा लगानी सम्झौता हुनु अगावै टेलिकममा कार्यरत
कर्मचारीहरुलाई सेयर दिने सहमती भएको थियो । निर्माणाधीन आयोजना भएकाले
कर्मचारीहरुले प्रतिकित्ता एक सय रुपैयाँका दरले सेयर पाउने भएका छन् ।
कर्मचारीले पाउने सेयरको खाका पठाउन
आयोजनाले पत्राचार गरेपछि टेलिकमले कर्मचारीलाई छुट्टाएको सेयर कसरी वितरण
गर्ने भनेर खाका बनाउन लागेको जनाएको छ । कर्मचारी युनियनहरुसँग छलफल गरेर
छिट्टै सेयर वितरणको खाका तयार पारि आयोजनालाई पठाउने टेलिकमकले बतायो ।
सबैभन्दा कम लगानीबाट निर्माण हुन लागेको
आयोजनाको शेयरमा लगानी गर्नेहरु मालामाल हुने पक्का पक्की रहेको छ । आयोजना
सम्पन्न भएपछि लोडसेडिङ ४ घण्टामा झर्ने अपेक्षा गरिएको छ । ३५ अर्ब २५
करोड रुपैयाँमा निर्माण हुन लागेको आयोजनामा ७० प्रतिशत सेयर नेपाल टेलिकम,
कर्मचारी सञ्चय कोष, राष्ट्रिय वीमा संस्थान, नागरिक लगानी कोष र सरकारको
रहेको छ । बाँकी ३० प्रतिशत सेयर कम्पनी र सर्वसाधरणलाई वितरण गरिने भएको छ
।
आयोजनाले १० अर्ब ५९ करोड रुपैयाँ
बरारबरको सेयर वितरण गर्ने छ । कुल सेयरमध्ये नेपाल विद्युत प्राधिकरणले ४१
प्रतिशत, टेलिकमले ६ प्रतिशत, बीमा संस्थानले २ प्रतिशत, सञ्चयकोले १७
दशमलव २८ प्रतिशत, दोलखाबासीले १० प्रतिशत, सञ्चयकोषले २.८८ प्रतिशत,
प्राधिकरण र आयोजनाका कर्मचारीले ३.८४ प्रतिशत सेयर पाउने छन् ।
सन् २०१५ भित्रमा निर्माण कार्य सम्पन्न
गरिसक्ने लक्ष्य राखिएको आयोजना अण्डरग्राउण्ड आयोजना हो । यस आयोजनामा १६
किलोमिटर सुरुङ रहने छ । आयोजनाको विद्युत गृह पनि जमिन मुनि नै रहने छ ।