शहरी
जीवनयापनमा रमाउनेलाई लाग्ने विभिन्न रोगमध्ये एउटा कब्जियत पनि हो ।
कब्जियत हुनु, पेट खराब हुनु वा सफा नहुनु तथा पेटमा ग्याँस बन्नु शहरी
जीवनमा आम समस्या भइसकेको छ । यसको असर शरीरमा र मष्तिष्कमा समेत पर्ने
चिकित्सक बताउँछन् ।
जनस्वास्थ्यसम्बन्धी
डा. अरुणा उप्रेतीका अनुसार स्थायी कब्जियतबाट मुक्ति पाउन निकै कठीन
हुन्छ र यो कैयौं रोगको कारण पनि बनिरहेको हुन्छ । अस्थायी कब्जियत चाहिँ
केही सामान्य विचार पुर्याएमा हटाउन सकिने उहाँको भनाइ छ ।
भोक नलाग्ने, मुख गन्हाउने, पेट फुल्ने,
टाउको दुख्ने, बान्ता र वाकवाक हुने, दिसा साह्रो भएर हषर्ा हुने आदि
समस्या कब्जियतले ल्याउँछ । रेशादार पदार्थको सट्टा रेशा नभएका पदार्थ
जस्तै -मैदा, बिस्कुट, चाउचाउ, केक आदि पदार्थहरूको बढी खानाले कब्जियत
हुन्छ । साथै हिँडडुलको कमीले पनि कब्जियत हुने र तौल बढ्नेे हुन्छ ।
झोल पदार्थको नाममा आजकल कफी, कोकाकोला,
Çयाण्टाजस्ता पेय पदार्थहरू पिइन्छ, जुन कब्जियतका लागि जिम्मेवार रहेका
डा. उप्रेतीको भनाइ छ ।
कब्जियत हटाउनका लागि दैनिक भोजन र
खाजाबाट बजारिया रेडिमेड खाद्यपदार्थहरू हटाएर विभिन्न किसिमका, विशेष गरी
बोक्रासहितका तरकारीहरू जस्तै गाजर, काँक्रो, मूला त्यस्तै चना, भटमास,
क्वाँटीको प्रयोग बढाउनु पर्छ । त्यसैगरी आँटा, नफलेको चामल, मकै, कोदो,
बोक्रा सहितको आलु, फापर र कोदोमा पनि रेशादार पदार्थ पर्याप्त मात्रामा
पाइन्छ ।
व्यायाम मुटुका लागि मात्र होइन,
आन्द्राका लागि पनि आवश्यक पर्ने डा. उप्रेतीको भनाइ छ । उहाँका अनुसार
व्यायामले पाचन शक्ति बढाउन मद्दत गर्दछ ।
नियमित नित्य क्रियाले कब्जियत हटाउँछ
विभिन्न कारणवश कतिपय व्यक्तिहरू बिहान
उठ्नेबित्तिकै नित्य क्रिया गर्दैनन् । कामको चाप, हतार, ढिलो उठ्ने बानी
आदिले गर्दा अफिस वा काममा दौडन्छन् । दिसा लाग्दा लाग्दै पनि च्यापेर,
रोकेर दौडिन्छन् । यस्तो बानीले पछि कब्जियत हुन जान्छ ।
बिहान उठ्नेबित्तिकै दिसा गर्ने बानीले
कब्जियत हुनबाट बचाउने डा. उप्रेतीको भनाइ छ । बालबालिकाहरूलाई पनि बिहान
उठ्नेबित्तिकै दिसा गर्ने बानी बसाल्नु पर्छ । यदि घरमा दिसा गरेनन् भने
स्कूलमा डर वा लाजले शिक्षकलाई भन्न नसकी उनीहरू च्यापेर बस्छन् । यसले
गर्दा कब्जियतको समस्या हुन्छ । जसको कारण जीवनभर स्वास्थ्य समस्या आउन
सक्छ ।
खानेकुरा र व्यायामको अभाव मात्र होइन,
लगातारको मानसिक चिन्ता र डर पनि कब्जियतको कारण बन्न सक्छ । चिन्ता र तनाव
हटाउन ध्यान, योग, हिँडाइ र जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन
ल्याउनुपर्छ । मानसिक चिन्ता हटाउन आनन्दपूर्वकको हिँडाइ, दौडाइ र हँसाइ
पनि एउटा राम्रो माध्यम हो । पेट मिचिमिची हाँस्दा आन्द्राहरूको मालिस
हुन्छ ।
डा. उप्रेतीका अनुसार कब्जियतलाई समाधान गर्न निम्न उपाय अपनाउन सकिन्छ :
क) रासायनिक प्रक्रियाः
यसअन्तर्गत विभिन्न औषधिका प्रयोगहरू
पर्दछन् । जस्तै, आयुर्वेद, एलोपैथिक र यूनानी औषधिहरूले कब्जियत कम गर्छन्
भनेर विभिन्न औषधि प्रयोग गरिन्छ । यसको प्रकृतिमा रासायनिक असर हुन्छ ।
तर यसरी प्रयोग गर्नाले शरीरमा हानी हुने हुँदा त्यस्ता किसिमका औषधिहरू
कमै प्रयोग गरे उपयुक्त हुन्छ ।
ख) सामान्य यान्त्रिक प्रक्रिया
यस अन्तर्गत मलद्वारबाट तरल पदार्थ प्रवेश
गराएर पनि पेटभित्रको विकारलाई सहज गर्न सकिन्छ । तर यो प्रक्रिया पनि
घरमा दैनिक रूपमा आफैंले गर्न सकिँदैन र दैनिक रूपमा प्रयोग गर्नु पनि
हुँदैन ।
ग) आन्तरिक यान्त्रिक र योग प्रक्रिया
यो प्रक्रियाअन्तरगत निम्न तरिका प्रयोग गरेर कब्जियत हटाउन सकिन्छ
सफाइ
जसरी हामीले शौचालयलाई पानी खन्याएर सफा
गर्छौं, त्यसैगरी हाम्रो शरीरमा प्रशस्त मात्रामा पानीको प्रवाह गरेर पनि
हाम्रो आन्तरिक शारीरिक संरचनालाई सफा गर्न सक्छौं ।
रेशादार खानेकुराको प्रयोग
हाम्रो दैनिक जीवनमा प्रयोग हुने भोजनमा
रेशादार पदार्थ भएको भोजनको प्रयोग गरेर पनि हामीले कब्जियतलाई प्राकृतिक
तरीकाबाट रोकथाम तथा उपचार गर्न सक्छौं । रेशादार पदार्थले कब्जियतबाट
छुटकारा दिन्छ । यसरी प्राकृतिक प्रक्रियाद्वारा गरिने उपचार प्रभावकारी र
स्थायी हुन्छ । यसले मोटोपन हटाउन पनि मद्दत गर्छ ।
योगाभ्यास
योगाभ्यासबाट पनि कब्जियतलाई हटाउन सकिन्छ
। योगाभ्यासले शरीरमा पानी र रेशाको प्रतिक्रियालाई गति प्रदान गर्नाले
शरीरका अङ्ग र पाचन प्रणालीमा सकारात्मक असर पुग्छ । टुसादार गेडागुडीमा
प्रशस्त मात्रामा पानी र रेशादार पदार्थ पाइन्छ र कब्जियत हटाउँछ । यसरी
योग, व्यायाम, पानी र टुसायुक्त खानाले कब्जियत हटाई स्वस्थ राख्न मद्दत
गर्छ ।