
काठमाडौं । सिंगापुर एयरलाइन्सले आफ्ना विमानमा नयाँ पुस्ताको क्याविन उत्पादनहरु उपयोगमा ल्याएको छ । आरामदायी उडान यात्राका लागि यो नयाँ सेवा बेन्चमार्क बन्ने कम्पनीको विश्वास छ । सेप्टेम्वर महिनादेखि सिंगापुरबाट लण्डन जाने बिजनेश र इकोनोमिक क्लासका यात्रीहरुले नयाँ उत्पादित क्याविनको अनुभव गर्न सक्नेछन् ।

नयाँ विमान थपिंदै जाँदा नयाँ सिट र क्रिस वल्र्ड मनोरञ्जन सेवा अन्य रुटका यात्रीहरुले पनि पाउने छन् । सिंगापुर एयरलाइन्सले यो सेवाका लागि सुरुका आठ बोइङ ७७७–३०० ‘इआर’ विमानमा १५ करोड डलर लगानी गरेको छ ।

आउँदा वर्षहरुमा सिंगापुर एयरलाइन्सका लागि आउने नयाँ एयरबस ए३५० बिमानमा पनि यो सेवा थप्न कम्पनीले थप लगानी गर्नेछ । मंगलवार घोषणा गरिएको यो नयाँ सेवा जडानका लागि कम्पनीले विश्वका प्रख्यात डिजाइन कम्पनीहरुसँग दुई वर्षदेखि सहकार्य गर्दै आएको थियो ।

नयाँ फस्ट क्लासका लागि बिएमडब्लु डिजाइनवर्क अमेरिका, बिजनेश क्लासका लागि जेम्स पार्क एशोसिएट्सले र म्यासिभ इन्टरयाक्टिभले मनोरञ्जन प्रणालीको विकास गरेको हो । सिंगापुर एयरलाइन्सका कमर्सियल भाइस प्रेसिडेण्ट माक स्वी वाले नयाँ पुस्ताको क्याविन उत्पादनले प्रिमियम एयर ट्राभलप्रति आफूहरुको विश्वास प्रदर्शन गर्ने बताउनुभयो । विमान सेवामा नयाँ उत्पादनका लागि हाम्रो प्रतिवद्धता र नेतृत्व यसबाट झल्कन्छ, उहाँले प्रष्ट पार्नुभयो ।

सिंगापुर एयरलाइन्सको भगिनी संस्था सिल्क एयरले सिंगापुर–काठमाडौं उडान गरिरहेको छ । कम्पनीले अहिले साताका चार उडान गर्दछ भने यसलाई निकट भविष्यमा विस्तारको तयारी भैरहेको छ ।

