तिम्रो बाउ डाँकु हो ?
हजुरबा कृष्णप्रसाद कोइराला आफैँमा धनाढ्य व्यक्ति थिए । उहाँले आफ्ना सबै सम्पत्ति परित्याग गरेर निर्वासनमा मात्र बस्नुभएन, जेलमा नै उहाँको निधन भयो । कोइराला परिवारको पहिचान भनेको पद र शक्तिको होइन । राजनीतिमा पद र शक्ति पनि चाहिने रहेछ भन्ने मैले राम्रैसँग बुझ्छु । तर, हजुरबा कृष्णप्रसाददेखि बिपी र पछिल्लो समयमा गिरिजाप्रसाद कोइरालाको धरोहर भनेको राष्ट्रलाई बचाउने हो । गरिबको उत्थान गर्ने र राष्ट्रलाई केही दिने धरोहरहरू हो उहाँ
।
बिपी कोइराला राजनीतिक र साहित्यिक दुवै व्यक्ति हुन्
। मेरो बुझाइमा त साहित्यमा भन्दा राजनीतिमा उहाँको बढी भूमिका छ भन्ने मेरो बुझाइ छ । हुन त उहाँले आफ्नो आत्मवृतान्तमा धेरै कुरा उल्लेख गर्नुभएको छ । समाज रूपान्तरणको यात्रामा बिपी पटकपटक जेल र निर्वासनमा बस्नुभयो, जसले गर्दा हामीले पिता -बिपी)सँग लामो समय बिताउन पाएनौँ । बिपी जेलमा रहँदा र निर्वासनमा बस्दा हामीलाई शारीरिक कष्ट र मानसिक तनाव पनि भए । त्यतिवेला मैले भारतमा अध्ययन गर्थें । मलाई मेरा सहपाठीहरू पटकपटक प्रश्न गर्ने गर्दथे, 'तिम्रो बाउ के अपराधी थियो जेल बस्नुपर्ने ?' डाँकु थियो कि डकैती गथ्र्यो ? यस्ता प्रश्नको निरन्तर सामना गर्नुपरेको थियो । तर, मैले जहाँजहाँ पढेँ, त्यहाँका मेरा शिक्षकहरूले मलाई सधैँ हौसला दिनुहुन्थ्यो । उहाँहरूले मलाई भन्ने गर्नुहुन्थ्यो, 'डेमोक्रेसिका लागि पिताजीले गर्नुभएको संघर्षबाट तिमीले गौरव गर्नुपर्छ ।' म अध्ययनका लागि जहाँ भर्ना हुन्थेँ, त्यहाँका शिक्षकले बिपीको छोरो पढ्न आएको छ भनेर गौरव गर्दथे । मलाई पनि लाग्थ्यो, 'मेरा बाले जे गर्नुभएको छ, ठीकै गर्नुभएको छ
।'
सुशील टाइपिस्ट थिए
आर्थिक अवस्थाले कमजोर भएर हाम्रो परिवार अत्यन्त जर्जर बनेको थियो
। केटाकेटी र सुशीला आमाबाहेक ठूला मान्छे सबै जेल परेका थिए । सुशीला आमाले सबै परिवारको म्यानेज गर्नुपर्दथ्यो । कृष्णप्रसाद कोइराला निर्वासनमा भारत रहँदा आर्थिक अभाव भएपछि उहाँले सडकमा माला बेच्नुभएको थियो । कक्षा दुईमा पढ्दाको समयतिर त निकै अभाव थियो । बिहान बेलुका दुई छाक खाना खान मात्र पाइन्थ्यो । हामी संयुक्त परिवारमा थियौँ, मेस एउटै थियो । मेसमा आएर जसले पहिले खाना खायो-खायो, अरूले चाहिँ त्यही दाल-तरकारीमा पानी थपेर खानुपर्दथ्यो । फलफूल खाने त कुरै थिएन । मलाई अहिले पनि सम्झना छ, जुन दिन फलफूल खान पाइन्थ्यो, त्यस दिन स्वर्गलोक आइपुगेजस्तो लाग्थ्यो । आर्थिक अभाव भएपछि सुशील कोइराला -अहिलेका कांग्रेस सभापति)ले २७ किलोमिटर टाढा टाइपिस्टको जागिर गर्नुपरेको थियो । उहाँ २०/२५ रुपैयाँका लागि त्यो गर्मीमा साइकलमा जाने-आउने गर्नुहुन्थ्यो । त्यो समय दुःखकष्ट भयो नै, तर अहिले म त्यो कष्टको समयमाथि गौरव गर्न चाहन्छु । बरु मलाई यतिखेर कांग्रेसजन बिपीको बाटोमा नहिँडेको देख्दा बढी दुःख लाग्छ । जब कांग्रेसलाई फर्केर हेर्दछु, बिपी कोइरालाले त्यतिका मान्छेहरू बनाउनुभयो, समय र विचार दिनुभयो । तर, मान्छेहरू उहाँको विचारमा नहिँडेर अन्ततिर लाग्दा ठूलो दुःख लाग्दोरहेछ । आज मलाई बाल्यकालको दुःख र कष्टभन्दा यसले बढी मानसिक पीडा दिएको छ ।
बिपी प्रधानमन्त्री भएका वेलामा एक पैसाको पनि हिसाब-किताब राख्नुहुन्थ्यो
। तर, अहिले हेर्नुस् कांग्रेसका मन्त्रीहरू नै भ्रष्टाचारमा मुछिएका छन् । नेताहरू पैसाको आधारमा राजनीति गर्दछन् । तर, बिपीले त्यस्तो कहिल्यै गर्नुभएन । उहाँले सबैलाई समेट्न खोज्नुहुन्थ्यो । अहिले कांग्रेसमा र्हेनुस् त, सबैलाई मास्न खोजिरहेका छौँ । कोही अलिअघि बढ्न खोज्यो भने खुट्टा तान्न लागि परेका छौँ । अहिलेका नेताहरू बिपीको विचार सिद्धान्त मात्र होइन, ज्ञान र संगतमा हुर्कनुभएको हो । उहाँसँगै हाम्रो घरमा बसेका व्यक्तिहरू छन् । त्यसैले अहिले यस्तो देख्दा शारीरिक कष्टभन्दा मानसिक कष्ट र अत्यन्त पीडा लाग्छ ।
भारतीय नागरिकहरूको बिपी कोइरालाप्रतिको सम्मान आजसम्म मैले नेपाली नेताहरूले पाएका छैनन्
। उहाँले भारतीय स्वतन्त्रता संघर्षमा आफैँ लाग्नुभएकाले पनि होला भारतीय जनताले सम्मान दिएको । भारतमा बस्दा चन्द्रशेखर, जयप्रकाश नारायणसहितका शीर्ष नेताहरूसँग बिपीको राम्रो सम्बन्ध थियो । उहाँहरूको पनि बिपी कोइरालाप्रति सम्मान थियो भने अर्को नेपालप्रतिको चासो थियो । यतातिर आएर सायद भारतका नेताहरूसँगको सम्बन्ध पनि टुटेको छ । अहिले आएर कांग्रेसका कुनै पनि नेताको भारतीय नेताहरूसँगको प्रगाढ सम्बन्ध नै छैन । बिपी कोइराला र अन्त्यमा गिरिजाप्रसाद कोइरालासम्मले धान्नुभएको थियो । बिपी कोइरालाका भारतीय साथीहरू देवेन्द्रप्रतावसहितकाले त्यहाँ रहँदा हाम्रो पठनपाठनका साथै धेरै कुरामा कोइराला परिवारलाई सहयोग पुर्याएका हुन्
।
'जेलमा बिस्कुट नल्याऊ'
शिक्षादीक्षामा कुनै कमी आउन दिनुहुन्न भन्ने बिपीको धारणा थियो
। नेपालमा नै बसेको अवस्थामा आफ्ना छोरा-छोरीलाई अफ्ठ्यारो हुन्छ, मानसिक रूपमा तनाव हुन्छ भन्ने थियो । त्यसैले उहाँले परिवारका सबै सदस्यलाई निर्वासनमा नै लगेर पढाउँछु भन्ने थियो । हामी सबैलाई लिएर जानुभयो । परिवारका काका-काकी सबै सदस्य थुनामा पर्दा पनि सुशीला आमाले कष्टका साथ हामीलाई पढाउनुभएको हो । सायद हामीले नेपालमा पढेको भए अहिलेको अवस्थामा हुने थिएनौँ होला । हाम्रो मानसिक सन्तुलन पनि ठीक हुने थिएन कि ? कोइराला परिवार त्यो पनि बिपीका परिवार भनेपछि तत्कालीन शासकले मात्र होइन, गाउँटोल र आफ्ना आफन्तले समेत नकारात्मक दृष्टिले हेर्थे । नजिकका नातेदार पनि पञ्चायती व्यवस्थामा हामीलाई देखेपछि नाकखुच्याएर हिँड्ने गर्दथे ।
सानैदेखि म पढ्नका लागि होस्टेलमा बसेँ
। त्यसले गर्दा बिपी मात्र होइन, परिवारका अन्य सदस्यसँग पनि मेरो भेट कम हुन्थ्यो । बिदाका वेलामा नेपाल र्फकंदा पहिले विराटनगर जाने र त्यसपछि मात्र काठमाडौं आउने गर्दथ्यौँ । बिपी जेलमा रहँदा महिनाको पहिलो दिन उहाँलाई भेट्न दिन्थ्यो तत्कालीन सरकारले । त्यो पनि परिवारका सदस्यहरूलाई मात्र -श्रीमती र छोराछोरी), अरूलाई भेट्न दिदैँनथ्यो । बिदामा घर आएका वेला म पनि बुबा -बिपी)लाई भेट्न सुन्दरीजल जान्थे । दीर्घप्रसाद कोइरालाले हामीलाई सुन्दरीजलसम्म लगिदिनुहुन्थ्यो । उहाँ -दीर्घप्रसाद) सरकारी सेवामा कार्यरत भएर पनि हिम्मतिलो हुनुहुन्थ्यो । सरकारी जागिरे भएर पनि उहाँले आफ्नै गाडीमा हामीलाई राखेर सुन्दरीजल लगिदिनुहुन्थ्यो । त्यो वेला कसैको हिम्मत थिएन, बिपीका सन्तानलाई लिएर नेपालमा हिँड्ने ।
मसहित परिवारका अन्य सदस्य बिपीलाई भेट्न पटक-पटक सुन्दरीजल गयौँ
। जहिले पनि उहाँ उज्यालो देखिनुहुन्थ्यो । उहाँमा केही गम्भीर मुद्राहरू भेटका क्रममा अनुभूति गर्न सकिँन्थ्यो -ओखलढुंगाकाण्डजस्ता घटनाहरूमा) । तर, बिपीलाई मैले कहिल्यै निराश पाइनँ, बरु हामीलाई प्रोत्साहन गर्नुहुन्थ्यो । जीवन भनेको संघर्ष हो भन्नुहुन्थ्यो । हामी के-गर्दै छौँ भन्नेमा बिपीको निकै रुचि हुने गर्दथ्यो । भेटमा हामीलाई सोध्नुहुन्थ्यो, 'कति समय पढ्छौँ, खेलकुदमा कस्तो, के पढ्दैछौ ।'
बिपीलाई भेट्न जाँदा हामीले बिस्कुट लिएर जाने गरेका थियौँ
। तर, उहाँले सधैँ भन्नुहुन्थ्यो, 'यो लिएर आउनुपर्दैन ।' उहाँले आमालाई भन्नुभयो, 'सुशीला तिमी मलाई भेट्न किन आउँछौ ? तिमी आउँदा २८ रुपैयाँ खर्च हुन्छ । त्यो पैसाले त चेतना -छोरी)को पढाईलाई सहयोग पुग्छ । मलाई केही अफ्ठ्यारो पर्यो भने तिमीलाई बोलाइहाल्छु ।' घरमा पैसा थिएन । छोरा-छोरी कसरी पढ्छन् भन्ने सारै चिन्ता थियो बिपीलाई । अर्को, छोराछोरी संघर्षशील हुनुपर्दछ भन्ने चाहना थियो । त्यसअनुसार नै हामी जेलमा भेट्न जाँदा पनि सोध्ने गर्नुहुन्थ्यो । आफ्ना साथीहरूको अवस्थाका विषयमा चासो राख्दै हामीसँग बिपीमा आध्यात्मिक चिन्तनका साथै सामाजिक र राजनीतिक अवस्थाका विषयमा पनि चिन्ता व्यक्त गर्नुहुन्थ्यो । उहाँले जीवनप्रति सधैँ सकारात्मक चिन्तन वा विचार राख्नुभयो । हामी सुन्दरीजल गएर बिपीलाई भेटेर र्फकंदा सधैँ उत्साह लिएर र्फकन्थ्यौँ । हामी त साना न थियौँ । उहाँलाई भेट्न जाँदा हामीलाई त वनभोजजस्तो लाग्थ्यो । त्यहाँ गएपछि खानभन्दा पनि पहिले बा -बिपी)सँग पनि भेट्न पाइने अनि निकै रमाइलो लाग्थो
।
संघीयता होइन, विकेन्द्रीकरण
बिपीले लिनुभएको मेलमिलापको नीति भन्नुहोस्, राष्ट्रियताको भन्नुहोस् वा विकेन्द्रीकरण
। बिपीले त्यतिवेला भन्ने गर्नुहुन्थ्यो, 'नेपाल एउटा राष्ट्र हुन सकेन, नेपाल त एउटा प्रकाशनिक इकाइ मात्र रहन पुग्यो ।' उहाँले राष्ट्र निर्माण हुनका लागि एउटा समूह हुन्छ जसले एउटा राज्य बनाउँछ । अर्कोचरणमा एउटा राज्यले अर्को राज्यलाई अतिक्रमण गरेर साम्राज्य बन्दछ, त्यसपछि मात्र राष्ट्र बन्दछ भन्ने गर्नुहुन्थ्यो । दुर्भाग्यवश नेपाल राष्ट्र बन्न सकेको छैन ।
उहाँका हरेक भाषण अहिले पनि सुन्नुहोला राष्ट्रियता भनेपछि मात्र प्रजातन्त्र भन्ने गर्नुहुन्थ्यो
। तर, अहिले राष्ट्रियताको विषयमा कसैले बोल्दैन । सबैले आफ्नै जातीयताको कुरा उठाएका छन् । संघीयतामा पनि जातीय हिसाबबाट उठाएका छन् । राष्ट्र नै रहने वा राष्ट्रियताको भावना नै रहने भने मुलुक कसरी रहन्छ । जातीय आधारमा संघीताको कुरा गर्दा मुलुक विखण्डन हुनसक्छ । मलाई आज पनि लाग्छ, हामीलाई चाहिने पनि विकेन्द्रीकरण नै हो ।
साधारण गाउँका मान्छे वा जनतालाई गाउँको राज्य त्यहाँका मान्छेले चलाइरहेको अनुभूति हुनुपर्दछ
। जनता अदालत, कर, राहदानीको कामका लागि काठमाडौं वा अन्य ठाउँमा धाउन नपरोस् भन्ने हो । विकेन्द्रीकरणको अन्तिम लक्ष्य संघीयता हो । तर, हामीलाई एकैपटक संघीयता नै चाहियो । कुन आधारमा संघीतामा जाने, त्यहाँ राष्ट्रियताको कुरा पनि आउँछ, अल्पसंख्यका कुराहरू पनि सँगै आउने गर्दछ यस्ता विषयमा हामी पहिले प्रस्ट हुनुपर्दछ । जातीय राज्य बनाएर हामी १७औँ शताब्दीतिर र्फकंदै छौँ । उहाँले त्यसवेला दिनुभएको विचार अहिले पनि राजनीतिलाई दिशानिर्देश गर्छ । जसले नेपालमा साँच्चिकै राजनीतिक गर्ने हो, अझ नेपाली कांग्रेसको समाजवादी चिन्तनबाट पे्ररित भएर राजनीतिक गर्ने हो भने मेरो दृष्टिमा बिपीको आत्मवृतान्तमा प्रस्ट उल्लेख छ । अहिलेसम्म कुनै नौलो कुरा भएको छैन । गाउँका दूरदराजका जनता अहिले पनि गरिब नै छन्, कुनै परिर्वतन आएको छैन । प्रजातन्त्र अझ अहिले त लोकतन्त्र अझ लोकतान्त्रिक गणतन्त्र नेपालमा स्थापना भइसक्यो तर, त्यसको उपलब्धि मैले अहिलेसम्म देखेको छैन ।
अलि-अलि घर बने होला, लगाउने लुगामा केही परिर्वतन आयो होला तर, ठूलाले सानालाई दबाउने क्रम चलिनै रहेको छ
। निमुखा अहिले पनि निमुखा नै छन् उनीहरूको जीवनस्तरमा कुनै सुधार आएको छैन । बिपीको समय र आज टेलिभिजन, पत्रपत्रिका, रेडियो र मोबाइलहरू -सञ्चार माध्यममा) सुरु भएका छन् त्यसबाहेक हाम्रो विचार, सोच र जनताको जीवनस्तरमा कुनै परिवर्तन आएको छैन । पहिले एउटा राजा थिए अहिले १२/१५ वटा राजा भएका छन् ।
हामी आफूलाई लोकतान्त्रिक भन्छौँ, तर लोकतान्त्रिक सिद्धान्तलाई कांग्रेसीले पनि बुझ्न सकेनन्
। लोकतन्त्रमा विपक्षी पनि हुन्छ, त्यसको सम्मान गर्न सक्नुपर्छ । बिपीले हामीलाई भन्ने गर्नुहुन्थ्यो, 'एउटा सरकार हुन्छ अर्को विपक्षमा हुन्छ, उसको पनि स्थान हुन्छ ।' तर, हामी के चाहन्छौँ भने, 'जसरी पञ्चायती व्यवस्थामा हरेक नेपाल पञ्च र हरेक पञ्च नेपाली ।' ०४६ सालको राजनीतिक परिर्वतनपछि कांग्रेसले पनि त्यही सोच बनायो । अहिले माओवादी त झन् सिंगो मुलुकलाई माओवादीकरण गर्न लागिपरेको छ । यो प्रजातन्त्र वा लोकतन्त्र जे भन्नुहोस् त्यो भएन । तर, बिपीले यस्ता साधारण कुरा पनि बुझ्नु भएको थियो । लोकतान्त्रिक भनेपछि त विपक्षी हुन्छ र अरूले अवसर पाउँछ । नेपाली कांग्रेसले नै आउँदो दुई सय वर्ष राज्य गर्ने होइन पाँच वर्ष गर्ने हो । पाँच वर्षमा जनताले फेरि भोट गरेनन् भने त
छोड्ने हो
। लठैतको आधारमा निर्वाचन जित्नु भएन । कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भन्छ, तर हामी
प्रतिपक्षी देख्नै चाहन्नौँ
।
समाजवादी कि जातिवादी ?
कांग्रेस आफूलाई समाजवादी पार्टी भन्छ, तर जातीय संगठन खोल्छ
। समाजवादीले जाति र धर्मका आधारमा राजनीतिक गर्नुहुँदैन । किन खोलेको जातीय संगठन ? राजनीति भनेको पेसा होइन । समाजवादी व्यक्तिले राजनीतिलाई कहिल्यै आफ्नो पेसा मान्दैन । घर चलाउनका लागि राजनीतिक गर्ने त्यो समाजवादी हुनैसक्दैन । बिपीले त्यसैले त भन्नुहुन्थ्यो, 'सम्पन्न भएपछि मात्र राजनीति गर । सानैदेखि पढ, अनुभव प्राप्त गर, पैसा कमाउ र घर परिवारलाई हेर्ने क्षमता जब तिमीमा हुन्छ अनि मात्र राजनीति गर ।' आज त्यो सोच विचार खै ? हामी हरेक कुरामा कमजोर बनेका छौँ ।
कांग्रेसमा मौलाएको व्यक्तिवादी चरित्र, पैसा र शक्तिको आधारमा राजनीतिका कारण बिपीले अघि सारेका विचार लागू हुनसकेन
। कित अब कांग्रेसका नेताहरू स्पष्ट भन्नुपर्यो, 'हामी समाजवादी होइनौँ भन्न सक्नुपर्यो समाजवादी हो भने त्यो व्यक्ति हो जसले समाजको रूपान्तरण गर्न आफ्नो योग्यता र क्षमतालाई प्रयोग गर्दछ । समाजवादलाई भजाएर गाडी चढ्ने, घर बनाउने, छोराछोरीलाई विदेशमा पढ्न पठाउने समाजवादी होइन । कुर्था र जामा लगाएर गाउँ र समाजको परिवर्तनका लागि निस्वार्थ लाग्नु नै बिपीले देखाउनुभएको समाजवाद हो ।
नेपालका कुनै राजनीतिक दल आफ्नो विचारमा स्पष्ट छैनन्
। त्यसको परिणति हो, अहिलेको अन्योल । माओवादी वेलावेलामा सर्वहारावर्गको अधिनायकत्वको कुरा उठाउँछ । तर, अन्तर्राष्ट्रिय समुदायबीच गएपछि भन्छ, 'होइन हामी डेमोक्रेटिक संविधान ल्याउँछौँ ।' कुन कम्युनिस्ट सिद्धान्तमा डेमोक्रेटिक सिद्धान्त छ मैले बुझ्न सकेको छैन । एमालेलाई हेर्नुहोस् विनापिँधका लोटा । स्पष्ट भन्न सक्नुपर्यो, 'हामी कम्युनिजममा विश्वास गर्छौं, पूर्णविराम ।' संसदीय प्रजातन्त्र, बहुलवादका कुरा कम्युनिजममा ठाउँ छैन भन्न सक्नुपर्छ । कांग्रेस आफूलाई समाजवादी भन्छ, तर धर्म र जातीय आधारमा राजनीतिक गर्दछ । राजनीतिक गर्ने व्यक्ति र पार्टीमा राजनीतिक सिद्धान्तको स्पष्टता र राजनीतिक दृढता चाहिन्छ । यी दुई कुरा भएपछि मात्र राजनीति अघि बढ्छ । अहिलेका नेताहरूमा यी दुवै कुराको अभाव देखिएको छ ।
बिपीले ०१५ को आमनिर्वाचनपछि आफ्नो नेतृत्वको सरकारका कमी-कमजोरीका विषयमा लेख्न पत्रकारलाई मासिक तीन सय रुपैयाँ दिएर लगाउनुभएको थियो
। उहाँले भन्नुभएको थियो, 'मेरो विरोधमा मेरो पार्टीबाट बोल्न सक्दैनन्, अपोजिसन एकदम कमजोर छ, तपाईंले मैले लिने निर्णय र त्यसमा हुने त्रुटिहरू लेख्नुहोस् ।' अहिलेसम्म हामीले प्रजातान्त्रिक मूल्य मान्यताहरू बुझाउन पार्टीहरूले प्रयत्न गरेनन् । प्रजातन्त्र भनेको नेपाली कांग्रेस हो, लोकतन्त्र भनेको माओवादी वा एमाले हो भनेर मात्र बुझाए । तर, सबै अटाउने शासन नै लोकतन्त्र वा प्रजातन्त्र हो भनेर हामीले बुझाउन र बुझ्न लागि परेनौँ ।
०१४/०१५ सालमा नै बिपीले आउट अफ रिङरोडको परिकल्पना गर्नुभएको थियो
। त्यो अहिलेसम्म काम अघि बढ्न सकेको छैन । त्यस्तै, सुनकोसीलाई कमलामा डाइभर्सन गर्ने कुरा बिपीले ०१५ सालमा भन्नुभएको कुरा हो । बिपीले त्यही वेलामा कृषि र वनको क्षेत्रमा धेरै कुरा गर्नुभएको थियो । उहाँले भनेअनुसार काम नगर्दा हामी पछाडि परेका हौँ । कांग्रेसले गर्नुपर्ने धेरै कामहरू छन् । तर, हामीले सरकारमा रहँदा पनि गरेनौँ ।
विकास गर्न ठूलो कुरा होइन तर, पहिला व्यक्ति ठीक हुनुपर्यो
। हामी अहिले गलत बाटोमा हिँडिरहेका छौँ । सुरक्षासँग सम्बन्ध मन्त्रालयको खर्च मात्र कुल बजेटको २८ प्रतिशत छ । जसमा ९० हजार सेना छ । ६५ सय माओवादी लडाकु थप्ने सहमति भएको छ भने, गठबन्धनका दलहरूले दश हजार मधेसीलाई पनि सेनामा थप गर्ने सहमति गरेका छन् ।