Monday, February 20, 2012

केटलिनको रामकहानी - saptahik

अश्विनी कोइराला

हिजोसम्म उनी प्रतीक थिए, कलाकार सन्तोष पन्तका कान्छा छोरा। आज उनी केटलिन भएकी छिन्, पन्त परिवारकै कान्छी छोरीका रूपमा। केही समयअघिसम्म उनी टिसर्ट र पेन्ट लगाउँथिन्, बाध्यतामा। अब खुलेर लेडिज पहिरन लगाउन थालेकी छिन्। उसै त मृगनयनी, त्यसमाथि कोश मिलाएर गाजल लगाउँदा उनका आँखा कम राम्रा देखिँदैनन्। अनुहारको सेप, शारीरिक संरचना एवं हाउभाउले उनी कुनै नायिका भन्दा कम देखिन्नन्। बोलीमा पनि किशोरीझैं मादकता झल्कन्छ।

'मलाई सबैले तिम्रो आँखा कति राम्रा भन्थे, तपाईंले पनि मेरो आँखाको प्रशंसा गर्दा भुतुक्कै भएँ।' बैंककको सुपोर्न क्लिनिकमा करिब एक महिना उपचार गराएर गत साता नेपाल फर्किएपछि पहिलो पटक पत्रकारसँग खुल्दै केट (केटलिनको छोटो नाम) ले भनिन्, 'म धेरै भाग्यमानी रहेछु, १८ वर्ष पुगेपछि म पूर्ण रूपमा युवती भएँ।'

धेरैलाई 'हिजोआजका कुरा' मा प्रतीक पन्तले बालकलाकारको भूमिका निर्वाह गरेको सम्झना हुनुपर्छ। सन्तोष पन्तका साथ उनी विज्ञापनमा पनि झुल्किन्थे। भुक्क फुलेको जीउ र तोतेबोलीमा गरिएको अभिनयले त्यसबेला धेरैलाई मोहनी लगाएको थियो। कथामा बालकलाकारको आवश्यकता पर्नेबित्तिकै देखा पर्ने सन्तोष पन्तका दुई छोरामध्ये उनी कान्छा हुन्। नेपाल टेलिभिजनबाट उक्त टेलिश्रृंखला बन्द भएपछि प्रतीकका दाजु साकार पन्त उच्च अध्ययनका लागि अस्ट्रेलिया गए। भाइ प्रतीक भने माध्यमिक शिक्षा पूरा गर्न थाले।

'त्यसै बेलादेखि उसमा केही परिवर्तन अनुभव गर्न थालेका थियौं।' आमा प्रतिभा पन्त सम्झन्छिन्, 'ऊ सानैदेखि मेरी प्यारी थिई। हामी भङ्कु भनेर बोलाउँथ्यौं। उसमा स्त्रीसुलभ गुण आउन थालेका थिए।'

सात कक्षा पढ्न थालेपछि आफ्नो शरीर र मनबीच सम्बन्ध टुट्न थालेको अनुभव केटलिनको छ। 'मलाई कसैले प्रतीक भनेर बोलाउँदा म त्यो केटो होइन भन्ने लाग्थ्यो। मलाई मेरो नाम मन नपरेकै कारण सबैले मलाई छोटकरीमा पीपी भनेर बोलाउन थालेका थिए।' विद्यालयमा समेत पीपीका नामले चिनिएका प्रतीक अहिले पूर्ण रूपमा स्त्री बन्न पाएकोमा खुसी छिन्। 'बल्ल मेरो शरीर र मनबीच तारतम्य मिलेको अनुभूति भएको छ। पहिले जीवन असहज लाग्थ्यो, अहिले सहज भएको छ।'

पुरुषजन्य अङ्ग अप्रेसन गरी पूर्ण रूपमा महिला अङ्ग धारण गर्नेहरूको संख्या विकसित देशमा धेरै भए पनि नेपालको सन्दर्भमा यो पहिलो भएको पन्त परिवारको दाबी छ। ब्लु डाइमन्ड सोसाइटीले पुरुषजस्तै स्वभाव भएका महिला एवं महिलाजस्तै स्वभाव भएका पुरुषहरूलाई सहयोग गर्दै आएको थियो। यसलाई आन्दोलनकै रूप दिएर उक्त संस्थाले तेस्रोलिङ्गीहरूको समूह बनाएको छ। केही वर्षअघि कानुनले पनि यस्ता व्यक्तिहरूलाई तेस्रोलिङ्गीका रूपमा परिचय दिएर नागरिकता एवं पासपोर्ट बनाउने व्यवस्था मिलाएको छ। यही संस्थामार्फत केहीले लिङ्ग परिवर्तन गरेको कुरा सार्वजनिक भएको थियो। यद्यपि आफ्नो स्वभाव अनुकूल हुने गरी शल्यक्रियामार्फत लिङ्ग परिवर्तन गरेको घटना भने पहिलो भएको दाबी जानकारहरूको छ।

'संसारमा कि पुरुष हुन्छन्, कि महिला।' केटलिनका दाजु साकार आफ्नी बहिनीलाई तेस्रोलिङ्गी भनेको मन पराउँदैनन्। 'तेस्रोलिङ्गीको पहिचान कहीँ पनि छैन। त्यसो भए तेस्रोलिङ्गीका लागि छुट्टै ट्वाइलेट बनाइनुपर्ने थियो।' साकारले साप्ताहिकसँग भने,

'विकसित देशमा पनि मैले यसरी तेस्रोलिङ्गी भनेर छुट्याएको देखिनँ, न त छुट्टै ट्वाइलेट पाएँ। संसारमा कि पुरुष हुन्छन्, कि महिला। शल्यक्रिया गर्नुअघि उनी पुरुष थिए, सल्यक्रियापछि उनी महिला बनेकी छिन्।' केटलिन पनि दाजुको कुरामा सहमत छिन्। अप्रेसन गर्न जानुअघि र उपचार अवधिभरि भेटिएका आफूजस्तै व्यक्तिहरू कसैले पनि आफूलाई तेस्रोलिङ्गी भनेर नचिनाएको केटलिनको अनुभव छ। 'म पहिले शारीरिक रूपमा केटा थिएँ, त्यसैले मलाई पुरुष भनिन्थ्यो। अहिले शारीरिक रूपमा महिला छु, त्यसैले महिला भनिन्छ।'

पुरुष भए पनि १३ वर्षको उमेरदेखि स्त्रीजन्य स्वभाव देखाउन थालेकी केटलिनले सबैभन्दा पहिले आफ्नो आमालाई समस्या सुनाएका थिए। प्रारम्भमा आमाले छोरो आफूसँग जिस्किएको हो कि भन्ने मानेकी थिइन्। विस्तारै छोराको स्वभाव छोरीको जस्तै हुन थालेको अनुभव गरिन्। आफूमा केटीको जस्तै स्वभाव आउन थालेको कुरा उनले आफ्ना नजिकका साथीहरू सुयोग र अञ्जनालाई सुनाउन थालिन्। सुरुमा दुवैले त्यसलाई हलुका रूपमा लिए। जब साथीहरूसँग एसएलसीको तयारी हुन थाल्यो, त्यसैबेला उनको मोटो शरीर पातलो एवं स्त्रीजस्तै हुँदै जान थालेपछि साथीहरूले गम्भीर रूपमा लिन थाले। अब यसको समाधान खोज्न थालियो। केटलिनले इन्टरनेटको माध्यमबाट यस्ता समस्याका सम्बन्धमा जानकारी लिन थालिन्। घरमा पनि यस विषयमा सोधखोज हुन थाल्यो। इन्टरनेटको माध्यमबाटै पुरुष महिलाका रूपमा परिवर्तन हुन सक्ने जानकारी हात पर्‍यो। १२ कक्षाभरि उनले त्यसको तयारी गरिन्। तयारीका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मानसिक अवस्थाको बारम्बार परीक्षण भयो। चिकित्सकहरूले प्रतीक शरीरका रूपमा पुरुष भए पनि महिला हार्मोन बढी भएका कारण उनी मानसिक रूपमा महिला भएको स्वीकार गरे। त्यसबेला चिकित्सकहरूले उनलाई महिला समूहमा हिँडाउने, उनले महिलामा आउने समस्यालाई झेल्न सक्छिन-सक्दिनन् केलाउने एवं उनलाई महिला भएको विश्वास दिलाउन विभिन्न परीक्षण गरे। सबैमा पास भएपछि चिकित्सकहरूले थाइल्यान्ड गएर अप्रेसन गर्न सकिने गरी स्वीकृति दिए। त्यही बेलादेखि उनको स्तन बढाउन महिला हार्मोनयुक्त औषधि खान दिइयो। महिलाकोजस्तै पातलो र मिलेको शरीर भए पनि स्तन नभएका कारण उनी प्लस टु पढ्दाताका पुरुष हुन् कि महिला छुट्याउन गाह्रो पथ्र्यो, तर जसै उनले महिला हार्मोन्सको औषधी लिन थालिन्, स्तन बढ्न थाल्यो। एक वर्षको अवधिमा उनको स्तन जवान महिलाजस्तै भएपछि उनी दाजु साकारका साथ शल्यक्रिया गर्न थाइल्यान्ड गएका थिए। '१७ वर्षको उमेरसम्म दार्‍ही-जुँगा नआएका कारण पनि हामी चिकित्सकको कुरामा सहमत भयौं।' केटलिनसँग बसिरहेका दाजु साकारले भने, 'उनको हाउभाउ त महिलाको थियो नै, शारीरिक संरचना पनि बहिनीजस्तै भएपछि मैले यसलाई सहज रूपमा स्वीकार गरें।'

कसरी भयो अप्रेसन ?

कुनै पुरुष आफूलाई महिला बन्न मन लाग्यो भन्नेबित्तिकै महिला बन्न सक्दैनन्। पैसा र सनकका भरमा कुनै पनि चिकित्सकले पुरुषको अंग परिवर्तन गर्न स्वीकार गर्दैनन्। 'नेपालमा उनको धेरै मानसिक परीक्षण भएको थियो। उनको रुचि, स्वभाव एवं मानसिक अवस्था कस्तो छ भनेर धेरै चिकित्सकलाई देखायौं।' वरिष्ठ कलाकार सन्तोष पन्त भन्छन्, 'चिकित्सकले उनलाई सबै कुरामा ब्रिलियन्ट भएको सर्टिफिकेट दिएका थिए, तर पनि थाइल्यान्डमा उनको फेरी मानसिक परीक्षण गरियो। त्यहाँका चिकित्सकहरूले नेपाली चिकित्सकको सिफारिसलाई त्यत्तिकै पत्याएनन्।' केही दिन लिखित एवं प्रयोगात्मक परीक्षापछि प्रतीकमा महिला हार्मोन्स बढी भएको पत्ता लाग्यो। त्यसपछि मात्र उनीहरू प्रतीकको पुरुष अंगलाई महिला अंगमा परिवर्तन गर्न सहमत भए। उनको मुख्य अप्रेसन थाइल्यान्डका चर्चित जेन्डर चिकित्सक डा. सुपोर्नले गरेका थिए। यस्ता अप्रेसनका लागि विश्वकै नाम कहलिएका यी चिकित्सकले आठ घण्टा लगाएर अप्रेसन सकेका थिए।

अप्रेसनका बेला उनलाई बेहोसीको इन्जेक्सन लगाइएको थियो। डा. सुपोर्नको वेबसाइटका अनुसार उनी सामान्यता तीन किसिमका अप्रेसन गर्छन्। उनी पुरुष अनुहारलाई महिला अनुहारमा परिवर्तन गर्न विभिन्न प्लास्टिक सर्जरी गर्छन्। दोस्रो उनी पुरुषमाथि आकर्षक स्तन स्थायी रूपमा प्रत्यारोपण गरेर महिला शरीर निर्माण गर्न सक्छन्। उनले गर्ने सबैभन्दा जटिल अप्रेसन भने पुरुष अंगलाई महिला अंगमा रूपान्तरण गर्नु हो। प्रतीकलाई केटलिन बनाउन उनले तेस्रो प्रकारको जटिल अप्रेसन गरेका थिए। केटलिनका अनुसार अप्रेसनका क्रममा उनमा रहेको पुरुष अंगमध्ये दुईवटा अण्डकोष बाहिर झिकेर बाँकी अंगलाई महिला जनेन्द्रीयका रूपमा परिवतर्नन गरिएको थियो। अण्डकोष झिकेर बाँकी रहेको छालालाई योनिको बाहिरी आकारमा ढालिएको थियो भने यौन आनन्द आउने नशा एवं पुरुष अंगहरूलाई योनिका भित्री अंगहरूमा परिवर्तन गरिएको थियो। 'यौनआनन्दमा कुनै कमी नआओस् भन्ने कुरामा बढी ध्यान राखिँदो रहेछ।' अप्रेसनअघि र पछि डा. सुपोर्नसँग गरेको कुराकानी सम्झँदै केटलिन भन्छिन्, 'यो अप्रेसनपछि योनिको आकार सामान्य महिलाको जस्तै बनाइन्छ भने यौन आनन्दमा कुनै पनि कमी नआओस् भनेर सबै नसालाई पूर्ण रूपमा सदुपयोग गरिँदो रहेछ।'

इन्टरनेटमा प्राप्त जानकारीअनुसार कुनै व्यक्तिले आफूले यौन अङ्ग परिवर्तन गरेको छु भनेर जानकारी नदिने हो भने अङ्ग हेरेकै भरमा यो बनावटी हो कि प्राकृतिक कसैले छुट्याउन सक्दैनन्। यस्तो अप्रेसनपछि यौनआनन्द पनि बढी प्राप्त हुन्छ। 'सामान्यतया बाहिर हेरेर यो अप्रेसन गरेर बनाइएको हो भनेर थाहा पाउन सकिँदैन।' केटलिन आफ्नो बद्लिएको अंगप्रति गर्व गर्दै भन्छिन्, 'कुनै पनि कोणमा यो प्लान्टेड लाग्दैन। आफ्नै अंग परिवर्तन गरिएका कारण यौन आनन्दमा पनि कमी हुँदैन भनिएको छ।'

अप्रेसनपछिको पहिलो महिना भने पूर्ण आराम गर्नुपर्छ। ठूलो अप्रेसन हुने भएकाले स्वास्थ्यवर्द्धक एवं बलवर्द्धक खाना एवं औषधि खानुपर्छ। नयाँ अंगमा कुनै इन्फेक्सन नहोस् भनेर पिसाब फेरेपछि राम्रोसँग सफा गर्नुपर्ने नियम छ। 'सामान्यता महिला अंग त्यसै पनि सेन्सटिभ हुन्छ।' केटलिन भन्छिन्, 'त्यसमाथि नयाँ भएकाले त्यसको विशेष हेरचाह गर्नुपर्छ।' डा. सुपोर्नले केटलिनलाई दिएको स्वास्थ्य विवरणअनुसार तीन महिनापछि उनी यौन सम्पर्कमा सहभागी हुन सक्छिन् भने एक वर्षपछि पूर्ण रूपमा स्वास्थ्य जीवन बाँच्न सक्छिन्। युरोप अमेरिकामा यौन सम्पर्कलाई बढी महत्व दिइने भएकाले पनि चिकित्सकहरूले तीन महिनापछि नै यस्तो स्वीकृति दिएको हुन सक्ने केटलिनको अनुमान छ।

तेस्रोलिङ्गी भन्ने कुरा एनजीओ चलाउने मेलो हो

साकार पन्त, दाजु

अब तपाईं उसलाई के भन्नुहुन्छ, बैनी कि भाइ ?

अब बैनी भई। हामी उसलाई भङ्कु भन्थ्यौं, अहिले पनि भङ्कु नै भन्छौ। हाम्रो व्यवहारमा कुनै परिवर्तन हुँदैन। मायामा शरीरको अंग परिवर्तनले के फरक पार्छ र ?

तपाईं अप्रेसन गर्न सँगै बैंकक जानुभएको थियो, के फरक पाउनुभयो ?

त्यहाँ यस्ता समस्या भएका दर्जनौ व्यक्तिलाई भेटें। ४५ वर्ष पुगेका पुरुष पनि आफू महिला रहेछु भनेर थाहा पाएर लिङ्ग परिवर्तन गर्न आएका रहेछन्। संसारभरिबाट लिङ्ग परिवर्तन गर्न आएका व्यक्ति भेटेर हाम्रो जस्तो समस्या धेरैलाई परेको रहेछ भन्ने कुरा थाहा पाएँ। सबैभन्दा रमाइलो कुरा, युरोप-अमेरिकाजस्तो विकसित देशमा जन्मिएका व्यक्तिहरू पनि वर्षौंसम्म आफ्नो इच्छा मारेर समाजको लहलहैमा लाग्दा रहेछन्। हाम्री भङ्कु धेरै भाग्यमानी रहिछ, उसले बोल्ड डिसिजन गरी, फलस्वरूप उसले १८ वर्षकै उमेरमा आफ्नो इच्छाअनुसार शरीर परिवर्तन गरी।

यस्तो समस्या भएका व्यक्तिलाई तेस्रोलिङ्गी भन्दा रहेछन्, उनी तेस्रोलिङ्गी हुन् ?

होइनन्। संसारमा या त पुरुष हुन्छन्, या त महिला। यो तेस्रोलिङ्गी भन्ने कुरा एनजीओ चलाउने मेलो हो। तेस्रोलिङ्गी भए ट्वाइलेटमा पनि तेस्रोलिङ्गी लेखिनुपर्थ्यो। मैले संसारका सबै विकसित मुलुकमा कहीँ पनि तीनवटा ट्वाइलेट देखिनँ।

तपाईंकै घरमा यो घटना किन घट्यो भनेर अचम्म लाग्दैन ?

यस्ता समस्या भएका धेरै व्यक्ति छन्। यति हो, कोही खुल्छन्, कोही खुल्दैनन्। टेलिभिजन कार्यक्रममा 'हिजोआजका कुरा'ले नेपाली टेलिभिजनमा सामाजिक क्रान्ति ल्याएको थियो। टेलिभिजनमार्फत समाज सुधार गर्न सकिन्छ भनेर यसैले स्थापित गराएको हो। अहिले लिङ्ग परिवर्तन गरेर अर्को क्रान्ति गरेका छौं। पन्त परिवारले जे गर्छ, नयाँ र उदाहरणीय काम गर्छ।

दाजु भएका नाताले नयाँ बैनीको चिन्ता लागेको छैन ?

जसले यति ठूलो डिसिजन गर्न सक्छे, उसको चिन्ता किन गर्नु ? ऊ जस्ता धेरै व्यक्ति एक्लै रोएर जीवन बिताइरहेका छन्। उनी त यो समाजकी रोल मोडल हुन्। मलाई चिन्ता होइन, गर्व लागेको छ।



मानिस भनेको शरीर होइन, मन हो

प्रतिभा पन्त, आमा

हिजोसम्म छोरा थिए, अहिले छोरी हुँदा अचम्म लागेको छैन ?

छैन, खुसी लागेको छ। जेठी छोरीको सानैमा दुर्घटनामा निधन भएको थियो। यो नजन्मदै जेठी छोरी बितिन्। त्यसले मलाई ठूलो मानसिक आघात परेको थियो। आज १८ वर्षपछि त्यही छोरी फर्किएर आएको अनुभव गर्दैछु।

जन्मिदा छोरो भएको मान्छे, छोरीको गुण कसरी आयो भन्ने लाग्छ ?

मलाई त त्यही छोरी फेरी जन्मिएकी हो भन्ने लाग्छ। यो जन्मदा हामीले पुरानो घर छाडिसकेका थियौं, तर एक दिन उसले आमा ऊ त्यो हाम्रो पुरानो घर भन्यो। हामी छक्क पर्‍यौं। मलाई ईश्वरप्रति ठूलो आस्था र विश्वास छ। ऊ झुक्किएर छोरा भएको थियो, ईश्वरले बिस्तारै उसमा स्त्री गुण भरे, शरीर पनि महिलाको जस्तै हुन थाल्यो। आज अप्रेसनपछि उनी पूर्ण रूपमा छोरी भएकी छिन्। यसले मलाई भगवानप्रति ठूलो विश्वास जगाएको छ।

यो विज्ञान-प्रविधिको चमत्कार हो कि ईश्वरको वरदान ?

विज्ञानले मानिसको गुण परिवर्तन गर्न सक्दैन। उसले अप्रेसन गर्नुअघि पटक-पटक मानसिक परीक्षा पास गर्नुपरेको थियो। मानिस भनेको शरीर होइन, मन हो। मैले थाहा पाएदेखि ऊ मानसिक रूपमा छोरी नै थिई, शरीरमात्रै छोरोको थियो।

गर्भमा छँदा तपाईंले बढी छोरीको कल्पना गर्दा उसमा यस्तो परिवर्तन आएको भनिन्छ नि ?

मनोवैज्ञानिक एवं मनोचिकित्सकहरूले मलाई पनि त्यसै भनेका छन्। हुन पनि मैले उसलाई कहिल्यै छोराको रूपमा कल्पना गरिनँ। ऊ छोराको रूपमा जन्मदा मलाई कता-कता दुःख पनि लागेको थियो, कसरी छोरा भयो भनेर ? तर मलाई भने यो इश्वरकै वरदान भन्ने लाग्छ।

यति ठूलो खर्च गरेर छोरोलाई छोरी बनाउनुपर्‍यो भन्ने लाग्दैन ?

सन्तानको खुसीका लागि आमा-बुबाले ठूलो त्याग गर्नुपर्छ। हामी हाम्री छोरीका लागि २० लाख खर्च भयो भनेर चित्त दुखाउनुभन्दा उसले आफूले रोजेको जीवन पाई, त्यसैमा खुसी लागेको छ।

बाहिरी व्यक्तिले कुरा काटेका छन् भन्ने लागेको छ ?

काटेका होलान्। नबुझ्नेले कुरा काट्नु स्वाभाविक पनि हो। यद्यपि म त्यसमा दुःखी छैन। छोरीको खुसीका लागि यति काम गर्न पाइयो, त्यो नै खुसीको कुरा हो।

कस्तो ज्वाइँको आशा राख्नुभएको छ ?

जस्तो उसले रोज्छे। उसले आफ्नो भविष्य राम्रोसँग सोचेकी छे भन्ने लाग्छ।



यो एउटा मनोवैज्ञानिक समस्या हो

प्रतीक केटलिन हुनुअघि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन्। पुरुष भए पनि महिलाको व्यवहार गर्न थालेपछि पन्त परिवारले उनको वास्तविक समस्या के हो भन्ने बुझ्न अस्पताल पठाएको थियो। उनको केस डा. सरोज ओझा र डा. अनन्तले हेरेका थिए। अस्पतालमा पहिलो पटक आएको उक्त समस्यालाई दुवै चिकित्सकले ध्यानपूर्वक समाधान गर्ने प्रयास गरेका थिए। केटलिनका बारेमा डा. ओझासँग गरिएको कुराकानीः

प्रतीक केटलिन बन्नु आम नेपालीका लागि अचम्मको कुरा हो। चिकित्सकीय दृष्टिकोणले भन्दा यो कस्तो केस हो ?

सन् १९६० को दशकतिर युरोप-अमेरिकामा धेरैले प्रतीकको जस्तो समस्या भोगे। त्यतिबेला यसलाई मेडिकल्ली ठूलो समस्याका रूपमा लिइएको थियो। अहिले भने यो जेन्डर आइडिन्टिटी डिस्अर्डरका रूपमा परिचित छ अर्थात् यो पुरुषले आफूलाई पुरुष नमान्ने, महिलाले आफूलाई महिला नमान्ने समस्या हो।

यो समस्या कति वर्षको उमेरमा देखा पर्छ ?

सामान्यतया ४-५ वर्षको उमेरदेखि नै देखिन थाल्छ। ठूलो हुँदै गएपछि आफ्नो शरीरप्रति नै नकारात्मक धारणा उत्पन्न हुन्छ। १८-१९ वर्ष पुगिसक्दा त मान्छेको अवस्था यस्तो हुन्छ कि उनीहरू बरु आत्महत्या गर्न तयार हुन्छन्, तर प्राकृतिक अङ्ग लिएर चुपचाप बस्न सक्दैनन्। यो अवस्थालाई ट्रान्स सेक्सुअलिज्म डिसअर्डर भनिन्छ। अर्थात् उनीहरू भिन्न सेक्सका रूपमा बाँच्न चाहन्छन्।

जनसंख्याका आधारमा कति व्यक्तिमा यस्तो समस्या देखिँदो रहेछ ?

यो विषयमा धेरै लिट्रेचर पाइँदैन तर महिलामा भन्दा पुरुषमा यो समस्या बढी देखिएको छ। विश्वमा पुरुषको शरीर लिएर जन्मिएकाहरूले यस किसिमको समस्या बढी भोगेको पाइएको छ।

केटलिनले आफू आमा पनि बन्न सक्छु भनेर दाबी गरेकी छिन्, के यो सम्भव छ ?

अहिलेको विज्ञानमा असम्भव केही छैन। उनले रहरले भनेकी होइनन्। वास्तवमा उनी मानसिक रूपमा महिला नै हुन्। एउटी महिलाले आमा बन्ने चाहना राख्नु कुनै ठूलो कुरा  होइन। बरु नेपाली समाजले केटलिनको समस्या नबुझ्नु समस्या हो।

यसलाई मानसिक समस्या भन्न सकिन्छ ?

मानसिक समस्या भन्ने बित्तिकै हामी नेपालीले अर्कै रूपमा बुझ्छौं। यो पनि एक प्रकारको मानसिक समस्या नै हो। यसको उपचार भनेको लिङ्ग परिवर्तन नै हो। यसलाई हामी सामाजिक समस्या भन्न रुचाउँछौं किनभने समाजले उनीहरूको भावना बुझ्न सक्दैन।

केटलिनलाई तपाईं राम्रोसँग चिन्नुहुन्छ, उनलाई के भन्न चाहनुहुन्छ ?

उनले जुन साहस गरिन्, त्यो आम व्यक्तिले गर्न सक्दैनन्। यो समाजसँग लडेर आफूले रोजेको जीवन प्राप्त गर्नु चानचुने कुरा होइन। म उनको परिवारलाई पनि बधाई दिन चाहन्छु, किनभने परिवारले पनि ठूलो आर्थिक र सामाजिक संघर्ष गरेको छ। म केटलिनको उज्वल भविष्यको कामना गर्छु। उनलाई आफूले चाहेको जीवन प्राप्त होस्। उनी यो क्षेत्रकी रोलमोडल हुन्, उनले आफूले चाहेजस्तो जीवन बाँच्न सकिन्छ भनेर प्रमाणित गरिदिएकी छिन्।