Tuesday, February 14, 2012

मूलधारे मिडियालाई माफी मगाउन सफल भो सोसल मिडिया - mysansar


-भोजराज दाहाल @nepaldiary-
फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालका साइटले ‘समाजमा द्वेष र आतङ्क फैलाउने गरेको’ भन्दै प्रधानमन्त्रीले चिन्ता व्यक्त गरेको भोलिपल्ट नेपालको सर्बाधिक बिक्री हुने भनिएको राष्ट्रिय दैनिक कान्तिपुरले आफ्ना पाठकहरुसँग माफी माग्यो। जस्तै ठूलो गल्ती गर्दा पनि गल्ती गरेँ भनी माफी माग्न हिच्किचाउने नेपाली पत्रकारिताको ‘गौरवशाली’ परम्परालाई कान्तिपुरले तोडी सही पत्रकारिताको ‘ट्रेन्ड’ बसाउने यात्रामा पाइला अघि सारेकोमा बधाई ! उनै फेसबुक र ट्विटर प्रयोगकर्ताले पहरेदार (वाचडग) को भूमिका निर्वाह गरी सचेत र सजग नबनाएको भए यो संभव हुने थिएन। सोसल मिडियाको प्रभावकारिताको एउटा उदाहरण हो यो। नेपाली पत्रकारिताको इतिहासमा सोसल मिडियाको वाचडगको भूमिका र आलु (आशिष लुइँटेल) प्रकरण अब कहिल्यै कसैले बिर्सन नसक्ने गरी दर्ता भएको छ।
कान्तिपुरको शुक्रबारे अंक “हेल्लो शुक्रबार” को विकी टेक स्तम्भमा न्युयोर्क टाइम्स, टेलीग्राफ लगायत अन्य पत्रिकामा प्रकाशित “टेक्नो न्युज” हुबहु नेपाली भाषामा अनुवाद गरेको बिषयमा सामाजिक संजाल फेसबुक र टुइटरमा ब्यापक आलोचना भयो। त्यसपछि कान्तिपुरले आफ्ना पाठकहरु, न्युयोर्क टाइम्स, टेलिग्राफसँग सम्पादकीय टिप्पणी मार्फत माफी मागेको हो। स्तम्भ लेखकले पनि माफी माग्दै आफ्नो गल्ती स्वीकार गरेका छन्।

भएको के थियो ?
कान्तिपुर दैनिकले केही अघिदेखि युवाप्रति लक्षित शुक्रबारे सप्लिमेन्ट हेलो शुक्रबार प्रकाशन गर्दै आएको छ। त्यसमा “विकी टेक” नामको स्तम्भ हुन्थ्यो जसमा प्रविधि सम्बन्धी लेख हुन्थ्यो। विश्वका पछिल्ला प्रविधिसम्बन्धी समाचार र जानकारी हुने भएकोले युवामाझ यो स्तम्भ लोकप्रिय थियो। तर सामाजिक सन्जालमा रहेका नेपाली पाठकहरु त्यति बेला निरास भए जब उक्त लेख स्तम्भकारले आफूले लेखेको नभै अरु पत्रिकाहरु (न्युयोर्क टाइम्स, टेलिग्राफ) बाट हुबहु नेपाली अनुवाद गरेर आफ्नो नाममा छाप्दै आएको पत्ता लगाए। श्रोत उल्लेखसम्म नगरी न्युयोर्क टाइम्सका David Pouge ले लेखेका लेखहरुलाई रिठ्ठो नबिराई नेपाली भाषामा अनुवाद गरेर आफ्नो नाममा उक्त लेख प्रकासित गर्ने सो सप्लिमेन्टका संयोजक आशिष लुइँटेलको पर्दाफास भएपछि सामाजिक सन्जालमा अनेकौ प्रतिकृया आए।
कसरी अनुवाद गरेका थिए उनले। तल केही स्क्रिनसटहरु छन्।




सामाजिक सन्जालमा ब्यापक विरोध भएपछि कान्तिपुरका सम्पादकले ट्विटरमार्फत् सो विषयमा स्पष्टिकरण दिने जवाफ दिएर विरोधको स्वरलाई मत्थर पार्ने कोशिस गरे । तर गएको हप्ता (फेब्रुअरी ३) कान्तिपुरले गल्ती महसुस गर्नु त कता हो कता , एक लाइनको प्राविधिक कारणले स्रोत छुटन गएको भन्दै ‘प्राबिधिक त्रुटी’ मा त्यसलाई सीमित राखेर आम पाठकलाई भ्रममा राख्ने कोशिस गर्‍यो।

सोसल मिडियामा प्रमाणसहित आफ्ना स्तम्भकारले अर्काको लेख चोरी गरेर आफ्नो नाममा छपाएको थाहा पाउँदापाउँदै पनि अत्यन्त हल्का र गैरजिम्मेवार जवाफ दिएपछि सामाजिक सन्जालमा त्यसको ब्यापक आलोचना भयो।

दर्जनौँ फेसबुक स्टायटस र ट्विट, केही ब्लगले यस विषयमा लेखे। केही सामाजिक संजाल प्रयोगकर्ताले न्युयोर्क टाइम्स र David pouge लाई इमेल र ट्विट् गरेपछि अन्ततः कान्तिपुरका सम्पादकको अर्को ट्विट आयो जसमा हेलो शुक्रबारका उक्त लेखबारे छानबिन भइरहेको र संयोजकलाई जिम्मेवारीबाट हटाइएको उल्लेख थियो।

न्युयोर्क टाइम्सका David ले आफूले कान्तिपुरको चोरीबारे जानकारी पाएको र उक्त बिषयलाई पत्रिकाको कानुन शाखामा बोधार्थ पठाएको र उचित कारबाही गर्ने उत्तर सामाजिक सञ्जालका प्रयोगकर्ताहरुलाई ट्विटर र इमेलबाट दिए।
अन्ततः यो शुक्रबार (फेब्रुअरी १० मा) कान्तिपुरले यस्तो स्पष्टिकरण दियो-

सोही अङ्कमा स्तम्भकारको टिप्पणी यस्तो थियो-

नेपालमा सामाजिक सन्जालको प्रभाव
विश्वमै सामाजिक सन्जालहरु कतिपय अवस्थामा मूलधारका पत्रपत्रिकाभन्दा सशक्त र प्रभावकारी हुँदै गैरहेका छन्। सामाजिक संजाल ले सत्ता परिवर्तन गरेको ताजा उदाहरण इजिप्ट र लिवियालाई हेरे हुन्छ। लिबियाका पूर्व शासक मोअम्मर गद्दाफी मारिएको र इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनलाई फाँसी दिएको भिडियो सामाजिक सन्जालबाटै सार्वजनिक भएको थियो। किम जोङ इलको मृत्यु भएको खबर मै हुँ भन्ने विश्वभर सञ्जाल बिछ्याएको भनिने अमेरिकी गुप्तचर एजेन्सीलाई समेत थाहा थिएन। उत्तर कोरियाका कतिपय नागरिकले बीबीसी वर्ल्ड सर्भिसलाई इमेलमार्फत् जानकारी गराएपछि बल्ल यसबारे थाहा भएको थियो। २००९ मा इरानमा भएको निर्वाचनका बेला विदेशी पत्रकारहरुलाई रिपोटिङ गर्न बन्देज लगाइएको थियो । त्यतिबेला व्यावसायिक पत्रकारले सूचना र जानकारी प्राप्त गर्न ट्वीटरको सहारा लिएका थिए । छिमेकी देश भारतमा भ्रस्टाचार बिरुद्धको अन्ना हजारेको आन्दोलनलाई ब्यापक बनाउने काम समेत सामाजिक सन्जाल फेसबुक र ट्विटरले गरेका गरिरहेका छन । मिडिल इष्टमा एक वर्षअघिदेखि चलेको आन्दोलनले व्यापकता बनाउने होस् वा अमेरिकामा सुरु भएको ‘अकुपाई वालस्ट्रिट (वालस्ट्रिट कब्जा गरौं)’ अभियानलाई सामाजिक सन्जालले नै व्यापकता दिलाएको हो। जियाद अली हानीले जनवरी २०११ मा आफ्नो ब्लगमा ट्युनिसियाको आन्दोलनलाई जस्मिन रिभोलुसन नामकरण गरेपछि यो शब्द (चमेली क्रान्ति) ले विश्वब्यापी चर्चा पाएको थियो।
नेपालको हकमा आजसम्म त्यति प्रभावकारी नदेखिएपनि सामाजिक सन्जाल बिस्तारै सशक्त हुँदै गएको छ। ज्याला पूरै लियो अब संविधान देऊ भन्ने फेसबुक अभियानले सुरुमा चर्चा बटुले पनि त्यसले पछिल्ला दिनमा खासै केही गर्न सकेन। केही पटक यो अभियानले सडकमा प्रयोगकर्तालाई भने पक्कै उतारेको थियो। केही सकारात्मक काम जस्तै पुल र मन्दिर सफा गर्ने तथा बन्द अवज्ञा गर्ने जस्ता काममा पनि यो प्रयोग भएको थियो। अहिले भने संगठित रुपमा यसको प्रयोग भएको देख्न पाइएको छैन।
‘मूलधार’ लाई निगरानी
मूलधारका पत्रपत्रिकाले सामाजिक संजालको क्षमतालाई नजरअन्दाज गरिरहेको अवस्थामा यो ‘आलु’ प्रकरण नेपाली सामाजिक संजाल र यसका प्रयोगकर्ताहरुको लागि एउटा सुखद समाचार हो। मूलधारका मिडियामा काम गरिरहेकाहरुबीच अघोषित कार्यगत एकता भएकोले कुनै मूलधारका मिडियामा पनि यसबारे खबर आउन सकेन। त्यसबाहेक मूलधारका मिडियामा नै काम गर्ने पत्रकारहरुका सामाजिक सञ्जाल (ब्लग, फेसबुक र ट्विटर) यो प्रकरणमा निस्क्रिय रहेको तीतो सत्य हो।
पाठकहरु असल “वाचडग” पनि बन्न सक्छन् र परेको बेला सही र आबश्यक कुरालाई उठान गर्न पनि सक्छन भन्ने सन्देश पनि गएको छ यो प्रकरणले। ‘मूलधार’ लाई अझै निगरानी आवश्यक छ। र, यसका लागि पाठक सँधै तयार रहनु पर्छ।
सकारात्मक कुरा
कान्तिपुरबाहेक अन्य मूलधारका पत्रिका र नाम चलेका विचार पृष्ठका लेखकहरुले पनि यदाकदा यस्ता हुबहु लेख छाप्ने गरेको आरोप छ। तसर्थ कान्तिपुरको यो प्रकरणले अरु मिडियालाई पनि सचेत बनाएको छ।
एक वर्षअगाडि राइजिङ नेपालमा समेत अरु पत्रपत्रिकाबाट हुबहु सारेर लेख प्रकाशित भएको सार्बजनिक भएपछि राइजिङ नेपालले उक्त स्तम्भ नै बन्द गरेको थियो। तर अरु पनि थुप्रै गल्ती कमजोरी सार्वजनिक भए पनि नेपाली मिडियाले आफ्नो गल्ती स्वीकार गर्दैनन्। अनुजा प्रकरण पछि अहिले आएर कान्तिपुरले यो प्रकरणमा पाठकहरुसँग क्षमा मागेर आफ्नो कमजोरी ढाकछोप गर्ने नेपाली मिडियाको परम्परालाई तोडेको छ। हैसियत भन्दा धेरै गुणा बढाइचढाइ गरेर रसेन्द्र भट्टराईलाई धनाढ्य भनेर लेख्‍ने कान्तिपुरले त्यतिबेला माफी माग्न आवश्यक ठानेन। स्रोतहरुलाई उल्लेख गर्दै डा भक्तमानको अपहरण माओवादीले नै गरेको भनेर लेख्‍ने नागरिकले पछि आपराधिक समूहबाट यस्तो भएको पुष्टि प्रहरीले गरिसक्दासमेत माफी माग्ने नैतिक साहस अहिलेसम्म गर्न सकेको छैन। गल्ती स्वीकारेर कान्तिपुरको स्तर खस्केको हैन, झन् बढेको छ। कान्तिपुरको यो कदमबाट अरु नेपाली संचार माध्यमले पनि पाठ सिक्ने आशा गर्न सकिन्छ।
यो ब्लग तयार गर्न सहयोग गर्ने @prawesk , @anupdgn लाई धेरै-धेरै धन्यवाद!