Monday, February 27, 2012

पड्काउनेको हुँकार : ‘अझै शक्तिशाली बम पड्कन सक्छ’ - onlinekhabar

१५ फागुन, काठमाण्डौ । झलनाथ खनालको पालामा सरकारसित वार्तामा वसिसकेको ‘जातीय मुक्ति मोर्चा’ नामक समूहले आयल निगम गेट अगाडी बम बिष्फोट गराएको दावी गरेको छ । त्यसका प्रवक्ता बताउने बिश्व क्रान्तिले बिभिन्न संचारमाध्यममा टेलिफोन गरि आफुले बम पड्काएको दावी मात्र गरेनन, लामै अन्र्तवार्ता दिनसमेत भ्याए ।
सगरमाथा टेलिभिजनमा लाइभ अन्र्तवार्ता दिएका उनले आगामी दिनमा अझ भयंकर बिष्फोट हुनसक्ने बताए । आयल निगमभित्रै पड्काउन प्रयास गरेको भएपनि त्यो सफल नभएको बताउने उनले ठूल्ठूला राजनीतिक गफ दिन पनि भ्याए ।
उनको भनाईको सम्पादित अंश-
जनतालाई महंगीको भार बोकाउने र अभाव गराउने सरकारलाई चेतावनी दिनको लागि हो । सरकारसितको वार्ता भंग गर्दै हामी जनयुद्धमा जान लागेको संकेत पनि हो । हामीले होइन, सरकारले हिंसा चाहेको छ । हामीले मात्रै होइन, प्रचण्डले पनि मान्छे मारेका छन् । त्यसको पनि हिसाबकिताब हुन पर्यो । सरकारले उनीहरुसित चाहिं वार्ता गर्ने, हामीसित चाहिं नगर्ने ? हामी सौताको छोरा हो ? सरकारले हामीलाई बाध्यता बनाएको हो ।
यो सरकार भनेको सुतेको सरकार हो, कहाँ छ सरकार हामीलाई थाहा छैन । अरु ठाउँमा पनि पड्कन सक्छ, अझै शक्तिशाली हुन सक्छ त्यो । हामी सर्वसाधारणलाई अपील गर्न चाहन्छौं, एकदमै भ्रष्टाचारी र राष्ट्रघाती काम हुने अखडामा नबस्नोस् । पेट्रोल पम्प, नेटवर्क व्यवसायको कार्यालयको अगाडि, दिनदहाडै कालोबजारी र ठगी गर्ने कार्यालय वरिपरी नबसिदिनोस् । ठीक ठाउँमा पर्यो भने २० देखि ५० जनासम्म मानवीय क्षती हुन सक्छ ।
आज त हामीले सानो प्रकृतिको मात्रै राखेका हौं । भित्रै पड्काउन खोजेका हौं । एक हप्तादेखि नियमित रुपमा भित्रबाहिर गर्दा पनि खोजेको ठाउँमा राख्न सकिएन । त्यसैले बाहिर राखेका हौं । भित्रै राखेको भए धेरै क्षति हुन्थ्यो । नेपालमा भ्रष्टाचार सबैभन्दा बढी हुने नगरपालिका, गाविस, कर, काठ तस्करी हुने ठाउँ, आयल निगम, मिस कलको पनि पैसा लिने एनसेलको टावर लगायत भोलि अख्तियारमा पनि पड्कन सक्छ । किनभने अख्तियारले पनि बिशुद्ध छानविन गर्नुपर्यो ।
को हुन् पड्काउने ?
बबरमहल बिष्फोटको जिम्मेवारी लिने संयुक्त जातीय मुक्ति मोर्चासित सरकारले गएको साउन २६ मा वार्ता गरेको थियो । ऊबेला झलनाथ खनाल नेतृत्व सरकारले बार्ता गरेको यो समूहसित अहिलेको सरकारले पनि वार्ताको तयारी गर्दैथियो । सरकारसित अनौपचारिक छलफलको क्रममा रहेको मोर्चा गएको मंसिर २४ मा विभाजन भयो ।
पहिले मुक्तिदान भन्ने मोर्चाको महासचिव थिए र मोर्चा महासचिव प्रणालीमा चलेको थियो । तर अनन्त क्रान्ति भन्नेहरुको समूहले मोर्चालाई अध्यक्षतात्मक प्रणालीमा लैजाने भन्दै महासचिव मुक्तिदानलाई हटाएको घोषणा गरे ।
अनन्त क्रान्ति अध्यक्ष रहेको मोर्चामा विश्व क्रान्ति सञ्चार विभाग प्रमुख छन् । उनको खास नाम देवराज लामा हो । बबरमहल बिष्फोटपछि उनले नै सञ्चारमाध्यममा फोन गरेर जिम्मेवारी लिइसकेका छन् ।