Tuesday, February 21, 2012

नेपालमै पनि बन्छन् एप्पलका एप्लिकेसन - nagariknews

रामचन्द्र भट्ट, काठमाडौं, फागुन १० - सफ्टवेयरको आउटसोर्सिङ व्यवसाय सञ्चालन गरिरहेका नेपाली कम्पनीले एप्पल र सामसुङका एप्लिकेसन तयार गरेर पठाइरहेका छन्। 'हामीले आइप्याडका लागि स्वास्थ्य सम्बन्धी एप्लिकेसन बनाइरहेका छौं,' डियरवाकका सञ्चालन निर्देशक प्रमोद राईले भने।
कुन बिरामीले के खाने के नखाने भन्नेलगायत जानकारी उक्त एप्लिकेसनबाट पाइन्छ। मोबाइल, आइप्याडलगायत सूचना प्रविधिका उपकरणमा राखिएका सुविधाहरु एप्लिकेसन हुन्। ती सुविधा चलाउन आइकन (संकेत) हरु राखिएका हुन्छन्। ती आइकनमार्फत एप्लिकेसनहरु चलाउन सकिन्छ।
डियरवाकले अमेरिकाका स्वास्थ्य संस्थाको निम्ति आवश्यक सबै प्रकारका सफ्टवेयर बनाएर दुई वर्षदेखि निर्यात गर्दै आएको छ। पछिल्लो समय आइप्याडमा चल्ने एप्लिकेसन अमेरिकाबाट माग भएर आएपछि नेपालमै बनाएर पठाइरहेको राईले बताए।
डियरवाकले अमेरिकाको बोस्टनमा समेत कार्यालय राखेर सफ्टवयर निर्यात गरिरहेको छ। कतिपय कम्पनीहरुले सानो कोठामा केही कम्प्युटर राखेर समेत सफ्टवयरहरु बनाइरहेका छन्। डियरवाक, भर्सिक इन्फरमेसन टेक्नोलोजीजस्ता ठूला कम्पनीले भने ठूलो संख्यामा इन्जिनियर राखेर सफ्टवयर बनाइरहेका छन्।
यस्ता कम्पनीले अमेरिका र युरोपका ठूला सूचना प्रविधि कम्पनीका लागि एप्लिकेसनहरु बनाइरहेका छन्। सामसुङ मोबाइलले पनि आफ्नो सेटमा नेपाली संस्करण राख्न काम सुरु गरिसकेको छ। सामसुङको सेटमा अहिले अंग्रेजीमा देखिने विभिन्न एप्किेसनलाई नेपालीमै चलाउन सक्ने बनाउन काम सुरु भइसकेको यसको काममा संलग्न नेपाली प्राविधिक प्रदीप न्यौपानेले बताए।
'काम सुरु भएको केही समय भइसक्यो, अझै केही समय लाथ्छ होला,' न्यौपानेले भने। सामसुङले आफ्नो बजार आक्रामक रुपमा विस्तार गर्ने क्रममा नेपालीको मन जित्न एप्लिकेसनलाई नेपालीमा बनाउन थालेको हो।
सामसुङमा नेपाली एप्लिकेसन बनाइरहेका न्यौपानेले हालै मोबाइलको च्याट एप्लिकेसन 'मिग-३३' लाई नेपालीमा बनाइसकेका छन्। यो नेपाली एप्लिकेसनबाट मोबाइलबाटै च्याट गर्न सकिन्छ।
कम्प्युटर र मोबाइलमा प्रयोग भएका लाखौं एप्लिकेसनमध्ये केही नेपालमै बनेका हुन्। तर नेपालमै बनेको भनेर धेरैलाई जानकारी छैन। 'कम्पनीसँग भएको सम्झौताअनुसार कतिपय कुराहरु सार्वजनिक गर्न नपाउने गरी सम्झौता भएको हुन्छ,' डियरवाकका राईले भने।
हालै माइक्रोसफ्टको इनोभेसन सेन्टरले मोबाइल एप्लिकेसनको प्रतियोगिता नै आयोजना गरेको थियो। विन्डोज मोबाइलको नेपाली एप्लिकेसनहरु बनाउने प्रतियोगितामा विद्यार्थीहरुले ३४ एप्लिकेसनहरु बनाएका थिए। लोडसेडिङदेखि लिएर इमरजेन्सी कल, नेपाल सम्बतका एप्लिकेसनहरु प्रतिस्पर्धामा थिए। विन्डोज मोबाइलमा डाउनलोड गरेर यी एप्लिकेसनलाई प्रयोग गर्न सकिन्छ।
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का अनुसार नेपालमा ठूला आउटसोर्सिङ कम्पनीहरुले भन्दा पनि साना कम्पनीहरुले विभिन्न कम्पनीका लागि एप्लिकेसनहरु तयार गरिरहेका छन्। 'केही कम्पनीहरुले एन्ड्रोइडका लागि समेत एप्लिकेसनहरु बनाइरहेको जानकारी पाएका छौं,' क्यानका अध्यक्ष सुरेशकुमार कर्णले भने।
अमेरिका र युरोपका आइटी कम्पनीलाई काम लाग्ने सफ्टवेयर नेपालमै बनिरहेका छन्। 'सरकारी अधिकारीको आँखामा परिने र विभिन्न राजनीतिक दल चन्दा माग्न लाइन लाग्ने हुँदा उनीहरु भित्री रुपमै सूचना प्रविधिका ठूला कामहरु गरिरहेका छन्,' क्यानका संस्थापक अध्यक्ष विमलकुमार शर्माले भने। नेपालीकै प्रतिष्ठा बढाउने यस्तो काम गर्नेलाई प्रोत्साहन दिने भनेभन्दा पनि दुःख दिने प्रवृत्ति हावी भएकाले एप्लिकेसन बनाउनेहरु चुपचाप काम गरिरहेको उनको बुझाइ छ।
नेपालमै ठूलो संख्यामा दक्ष प्राविधिकलाई रोजगारी दिइरहेको भेरिस्क इन्फरमेसन टेक्नोलोजीले समेत अमेरिकाको लागि स्वास्थ्य सम्बन्धी सफ्टवयर बनाइरहेको छ। यो कम्पनीमा साढे तीन सयले काम गर्छन्।
अमेरिकीहरुको स्वास्थ खर्च घटाउने खालको सफ्टवयर भेरिस्कले बनाइरहेको छ। एप्पल, सामसुङ, विन्डोजले नेपालमा एप्लिकेसन बनाउन प्राथमिकता दिनुको कारण सस्तो जनशक्ति र नेपालीले समयमै डेलिभरी दिनु हो। 'उनीहरुलाई समयमा बनाएर दिने हो भने रकमको त्यति ठूलो चासो राख्दैनन्,' डियरवाकका राईले भने। यति भइकन पनि अरु देशको भन्दा नेपालमा बनाउनु सस्तो भएकाले एप्लिकेसन निर्माताहरु यता आकर्षित भएका हुन्।
एक वर्ष अघिदेखि अमेरिकी कम्पनी ट्राफिक गिजरले किट्टी सफ्टवेयर बनाइरहेको छ। यो सफ्टवेयर फेसबुक, युटुब जस्तै हो। 'हामीले हाम्रो प्यारेन्ट कम्पनीका लागि अर्डर भएका सबै खालका एप्लिकेसनहरु बनाइरहेका छौं,' ट्राफिक गिजर नेपालका प्रमुख कार्यकारी अधिकृत सुदेश जिसीले भने।
सन् २००२ मै नेपालीले जापानको टोकियो सहरको नक्सालाई जिपिएसमा राखेका थिए।
'त्यतिखेरै जापानीजले समेत यस्तो काममा नेपालीलाई पत्याएका रहेछन्,' क्यानका पूर्व अध्यक्ष शर्माले भने। सूचना प्रविधिका क्षेत्रमा कार्यरत विज्ञहरुका अनुसार काठमाडौं र बाहिरसमेत गरी यो क्षेत्रमा झन्डै सात सय कम्पनीहरु छन्। सबैभन्दा बढी रोजगारी दिने कम्पनीको सूची नै एक सयको हाराहारीमा छ।