Thursday, February 16, 2012

प्रधानमन्त्री र कर्मचारीबीच भनाभन - onlinekhabar

४ फागुन काठमाण्डौ ।
कर्मचारी : प्रधानमन्त्रीज्यू, गैरकानुनी सरुवा बदर गर्नुस् ।
प्रधानमन्त्री : केही सरुवा सच्याउन सकिन्छ ।
कर्मचारी : सबै सच्याउनुपर्छ ।
प्रधानमन्त्री : कर्मचारी भएर राजनीति गर्ने ? राजनीति गर्ने भए राजीनामा दिएर मैदानमा जानूस् । प्रधानमन्त्रीसँग मुखमुखै लाग्ने ?
कर्मचारी : प्रधानमन्त्रीज्यू, तपाइँको छातिमा रौँ भए कारबाही गरेर देखाउनुस् हामी पनि हेर्छौँ ।
प्रधानमन्त्री : बन्दुक बोकेर आएको हुँ म डराउँदिन ।
कर्मचारी : बन्दुक त जनताले बोकेको हो, तपाइँले कहिले बोक्नुभयो ?
कर्मचारी सरुवाको विषयमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइ र कर्मचारीसम्बद्ध ट्रेड युनियनका प्रतिनिधिबीच भएको भनाभन हो यो । प्रधानमन्त्री भटराइले राजनीति गर्ने कर्मचारीलाई कारबाहीको चेतावनी समेत दिएका छन् ।
सामान्य प्रशासन मन्त्तालयले सोमबार र मंगलबार गरेको ३ हजार २ सय भन्दा बढि कर्मचारीको सरुवा बदरको माग सहित बुधबार प्रधानमन्त्रीलाई भेट्न बिहान साढे १० बजे कर्मचारी सम्बद्ध ट्रेड युनियनका पदाधिकार प्रधानमन्त्री कार्यालयमा पुगेका थिए । राजनीति गरेमा कारवाही गर्ने प्रधानमन्त्रीको चेतावनी पछि प्रधानमन्त्रीको कार्यकक्षमै झण्डै आधा धण्टा भनाभन भएको थियो ।
प्रधानमन्त्रीलाई भेट्न माओवादी निकट राष्ट्रिय कर्मचारी महासंघ र राष्ट्रिय कर्मचारी संगठन, एमालेनिकट नेपाल निजामति कर्मचारी संगठन, फोरम निकट मधेशी कर्मचारी मञ्च लगायतका संगठनका प्रतिनिधि गएका थिए । प्रधानमन्त्रीले केही सरुवा बदर गर्न सकिने बताएपनि कर्मचारीहरुले पूरै बदर गर्न माग गरेपछि विवाद बढेको थियो । नयाँ पत्रिका दैनिकमा छापिएको खबर अनुसार आफु बोलिरहेका बेला कर्मचारीहरुले कुरा काट्न खोजेपछि प्रधानमन्त्री आक्रोसित भएर कर्मचारीलाई झपारेका थिए ।
सबै कर्मचारी संगठन आफुमाथि जाइ लागेपछि प्रधानमन्त्री आश्चर्यमा परेका थिए । ४५ मिनेटको भनाभनपछि केही नरम बन्दै प्रधानमन्त्रीले भने,’त्यसो भए राम्ररी हेरौँला र निकास खोजौँला ।’