Tuesday, February 21, 2012

सर्वोच्चलाई सलाम ! सफाइ दिने न्यायाधीशलाई चाहिँ कहिले गर्ने कारबाही ? - mysansar


बहुप्रतीक्षित र आलटाल आलटाल हुँदै आएको जेपी गुप्ताको मुद्दाको फैसला आज हुने भनिए पनि धेरैलाई यस्तो फैसला आउला भन्ने विश्वासै थिएन। धेरैले दुई जनाको इजलासमा राय बाझिन्छ र राय बाझेपछि पूर्ण इजलासमा फेरि सुनुवाई हुन्छ र पाँच छ वर्ष फेरि समय लाग्छ होला भन्ने अनुमान गरेका थिए। पुसमा सुनाउनु पर्ने फैसला फागुनसम्म सार्नु र निर्णय सुनाउने दिन पनि अपराह्न ५ बजेसम्म फैसला नआउनुले पनि धेरैलाई यस्तो शंका गर्न बाध्य बनाएको थियो।
तर न्यायाधीश सुशीला कार्की र तर्कराज भट्टको इजलासले गजबसित बहालवाला मन्त्रीलाई भ्रष्टाचारी ठहर गर्दै जेलको फैसला सुनायो। सर्वोच्च पनि उही ड्याङको मुला हो भन्ने खालको धारणा बनिरहेको बेला भएको यो फैसलाले न्यायपालिकामाथि जनताको विश्वास बढाएको छ। यस्तै गरी अरु भ्रष्टाचारीहरुको पनि ढिलोचाँडो दिन आउला भन्ने आशा बढाएको छ।
आजको फैसला गुप्ताविरुद्ध मात्र हैन, न्यायपालिकाभित्र फैलिरहेको विकृतिविरुद्ध पनि हो। फैसलामा विशेष अदालतको गुप्तालाई सफाइ दिने फैसला गर्ने न्यायाधीशहरुले मिसिल संलग्न प्रमाणको मूल्यांकनमा गम्भीर लापरवाही र त्रुटि गरेको बताएको छ। यो फैसला विशेष अदालतका न्यायाधीश भूपध्वज अधिकारी चोलेन्द्रशमशेर जबरा र कोमलनाथ शर्मासहितको इजलासले २०६४ जेठ २४ गते गरेको थियो। अधिकारी पुनरावेदन अदालतको मुख्य न्यायाधीशबाट रिटायर्ड भइसके। अरु दुई जना चाहिँ अझै पुनरावेदनमै बहालवाला न्यायाधीश भएर न्याय बाँडिरहेका छन्। यस्ताले के न्याय बाँड्लान् है!

आजको फैसलामा विशेष अदालतको त्यो फैसला जसरी भए पनि प्रतिवादीलाई सफाई दिने भावनाबाट ग्रसित भएको ठहर गरिएको छ। भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्न बनेको विशेष अदालतका न्यायाधीश नै भ्रष्टाचारीलाई सहयोग गर्ने खालको भएको देखिन्छ आजको फैसला हेर्दा। फैसलामा भनिएको छ
प्रतिवादीले बयानमा जिकीर लिए भन्दा बढी तथा बयानमा जिकीर नै नलिएका शिर्षकहरुबाट पारिश्रमिक आयलाई मान्यता दिएको,
बैदेशिक भ्रमणभत्ताको रकमलाई पनि दोहोरो हिसाव गरी आयलाई मान्यता प्रदान गरेको,
बैदेशिक भ्रमणभत्ता बापत आय दिएको रकममध्येबाट बचत हुने ७० प्रतिशतको गणना गर्दा समेत प्रतिवादीलाई लाभ पुग्ने गरी अंक कायम गरेको,
जग्गा भाडाबाट आय प्राप्त भएको भनी प्रतिबादीले बयानमा जिकीर लिए भन्दा बढी आयलाई मान्यता दिएको
यो सबबाट न्याय सम्पादनको कार्यमा विचलित भएको प्रष्ट देखिएको हुंदा प्रचलित कानून बमोजिम आवश्यक कारवाहीको लागि यो फैसलाको प्रतिलिपि सहित न्याय परिषद् सचिवालयमा लेखी पठाउन समेत आज सर्वोच्चले आदेश दिएको छ।
सोझो अर्थमा भन्ने हो भने दोषीलाई समेत जबर्जस्ती सफाइ दिन विशेष अदालतका न्यायाधीशहरुले नचाहिने काम गरेका हुन्। त्यसैले उनीहरुलाई कारबाही गर्नुपर्छ। तर कारबाही हुनेमा भने शंकै छ।
फैसलाका केही अंश पढ्नुस्-
उपरोक्त विश्लेषणका आधारमा जाँच अवधिमा प्रतिवादीको कूल आर्जित सम्पत्ति एवं खर्च रु.१,१९,२६,३९६।–बराबर देखिन आएको छ। साथै रु.३५,१६,४६७।९३ बराबरको स्रोत पूष्टि भएको पाइएको छ। यसप्रकार प्रतिवादीको कूल आर्जित सम्पत्तिमा स्रोत पूष्टि भएको वैध आय घटाउँदा रु.८४,०९,९२८।०७ बराबरको चल अचल सम्पत्तिको श्रोत पुष्टि गर्न सकेको पाइएन।
अब, दोस्रो प्रश्नका सम्बन्धमा विचार गर्दा माथि पहिलो प्रश्नका सम्बन्धमा गरिएको
विश्लेषणबाट प्रतिवादीको जाँच अवधिको कूल आर्जित सम्पत्ति एवं खर्च रु.१,१९,२६,३९६।– बराबर हुन आई त्यसमध्येबाट स्रोत पूष्टि हुन आएको रु.३५,१६,४६७।९३ बराबरको सम्पत्ति घटाउँदा जम्मा रु.८४,०९,९२८।०७ बराबरको सम्पत्तिको स्रोत पूष्टि गर्न सकेको देखिएन।
स्रोत पूष्टि हुन नसकेको उपरोक्त सम्पत्ति स्रोत पूष्टि भएको सम्पत्तिको करीव दुई गुणा भन्दा बढी हुने देखिन्छ। उपरोक्त आधारबाट विशेष अदालतले रु.७,०६,१३९। अर्थात प्रतिवादीको कूल सम्पत्तिको सात प्रतिशत सम्पत्तिको मात्र स्रोत पूष्टि नभएकोर सो अन्तरलाई अस्वाभाविक र अमिल्दो जीवनयापनको स्तर मान्न नमिल्ने भनी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको नदेखिएको भनी आरोप माग दावीबाट सफाई दिन अबलम्बन गरिएको निर्णयाधारमा मिसिल संलग्न तथ्य प्रमाणको मल्यांकनमा प्रत्यक्ष त्रुटि हुनुका साथैकानूनी दृष्टिकोणबाट समेत गम्भीर त्रुटिपूर्ण फैसला भएको देखियो।
प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताले सार्वजनिक पद ग्रहण गर्नु अघिदेखि नै निजले
प्रकाशन र छापाखाना सम्बन्धी व्यवसाय गर्दै आएको हुँदा ती वरव्यवसाय समेतबाट उल्लेख्य आय प्राप्त भएको तथा २०४० सालदेखि पैत्रिक जग्गाको कृषि आयस्ता र जग्गा बिक्रीबाट पनि ठूलै परिमाणमा आय प्राप्त गरको हुँदा सोही वैधानिक आयस्रोतहरुबाट सम्पत्ति आर्जन गरिएको र बैंकमा रकम जम्मा भएको हो, सम्पूर्ण सम्पत्ति वैध आयश्रोतबाट प्राप्त गरेको हुँदा गैरकानूनी आर्जन गरेको तथा आयश्रोतको तुलनामा अमिल्दो र अस्वाभाविक उच्च शैलीको जीवनयापन गरको छैन भन्ने समेत जिकीर लिएको देखिन्छ। सार्वजनिक पद धारण गर्नुअघि निजको नाममा खोलिएको कृषि विकास वैंक रत्नपार्कको बैंक खातामा २०४६ सालदेखि २०४८ सालसम्म कूल रु.२२,०००। रकम मात्र जम्मा भएको देखिएको हुँदा पैत्रिक सम्पत्ति र वरव्यवसायबाट बयानमा उल्लेख गरे बमोजिम आय प्राप्त भएको भन्ने निजको जिकर विश्वासप्रद देखिन आउँदैन।
सार्वजनिक पद धारण गर्नुअघि त्यति ठूलो परिमाणको रकम आर्जन भएको भए तत्समयमा नै खोलिएको बैंक खातामा सो रकम जम्मा हुनु स्वाभाविक हुनेमा सो समयमा घरसारमै राखेकोर सार्वजनिक पद धारण गरेपछि मात्र सुरक्षाको कारणले बैंकमा जम्मा गरिएको भनी प्रतिवादीले लिएको जिकीर तर्कसम्मत हुन सक्दैन। अर्को तर्फ सोही बैंक खातामा सार्वजनिक पद धारण गरेपछि रु.३८,६१,८००। जम्मा भएको देखिएको छ । साथै प्रतिवादी तथा निजको श्रीमती सरस्वती पुरी (गुप्ता) का नाममा विभिन्न वैंकमा रहेका खाताहरुमा जाँच अवधिमा कूल रु.९०,९१,८००। रकम जम्मा भएको भनी अभियोगपत्रको तालिका नं. १० मा उल्लेख भएको व्यहोरालाई प्रतिवादीले अदालत समक्षको वयानमा अन्यथा हो भनी खण्डन गर्न सकेको पनि पाइदैन। उल्लिखित बैंक खाताको रकममध्ये अस्वाभाविक रुपमा निकालेको रु.५५,५६,७५२। रकमलाई मात्र अभियोगमा दावीको विषय बनाइएको देखिन्छ। सार्वजनिक पद धारण गर्नु अघि
र पछिको प्रतिवादीको बैंकमा रकम जम्मा गर्ने, निकाल्ने समेतका कारोबारको अवस्था, स्थिति र प्रवृत्ति हेर्दा स्वाभाविकताको अंश ज्यादै न्यून पाइएको छ। साथै सार्वजनिक पद धारण गरेपछि निजले वैध स्रोतबाट प्राप्त गर्न सक्ने आयको तुलनामा पनि उक्त बैंक कारोवार अस्वाभाविक र अमिल्दो देखिन आएको छ। त्यसै गरी सार्वजनिक पद धारण गरेको छोटो अवधिमा नै निजले काठमाण्डौंमा जग्गा खरीद गरी पक्की घर बनाएको तथा श्रीमती सरस्वती पुरी (गुप्ता) तथा निजका नाउँमा सप्तरी तथा भक्तपुरमा जग्गा खरीद गरेको र दुई दुईवटा गाडि खरीद गरेको देखिएको छ। यी खर्च, आर्जित सम्पत्ति र कारोवार निजको सार्वजनिक पदबाट प्राप्त हुने सीमित आयसँग अमिल्दो र अस्वाभाविक देखिनुका साथै यसबाट उच्च र अमिल्दो जिवन यापन गरेको तथ्य पनि पूष्टि हुन्छ।
प्रतिवादीले सार्वजनिक पदमा रहँदा वैध स्रोतबाट पाएको भनी जिकीर लिएको
पारिश्रमिक सुविधा लगायतका कतिपय शिर्षकमा जिकीर अनुरुप आय प्राप्त गरेको नदेखिएता पनि समग्रमा निजले बयानमा जिकीर लिए बमोजिमको रकमलाई नै आयको मान्यता दिइएको छ। त्यस्तै सगोलको पैत्रिक जग्गाको कृषि आय, पैत्रिक जग्गा विक्री, घरभाडा र जग्गा भाडा तथा आँप विक्री समेतबाट भएको भनिएका आयलाई पनि वैध आयश्रोतमा समावेश गरिएको छ। यी शिर्षकमध्येका कतिपय आय शिर्षक विचारणीय हुँदाहुँदै पनि ज्यादै कठोर दृष्टिकोण अवलम्बन नगरी मान्यता दिइएको हो। त्यस्तै प्रतिवादी जयप्रकाश प्रसाद गुप्ता समेत संस्थापक संचालक भएको सप्कोशी कोल्डस्टोर प्रा.लि.मा कम्पनीको प्रवन्धपत्र, नियमावली,परियोजना प्रस्ताव तथा ऋण संझौता समेतबाट निजको स्वलगानी भएको हुनसक्ने भनी स्वाभाविक रुपमा अनुमान गर्न सकिने रकमलाई पनि वयान जिकीर अनुरुप नै लगानी नपरेको भनी छुट दिइएको छ। अर्को तर्फ घर जग्गा समेतका सम्पत्तिका सम्बन्धमा तत्कालीन लिखत र लागत मूल्यका आधारमा नै मूल्यांकन गरिएको छ। यसरी अनुमानित कसूरमा आधारित मुद्दाको प्रकृति भएको कारण धेरै विषयहरुमा ज्यादै कठोर दृष्टिकोण अबलम्बन नगरी प्रतिवादीको जिकीरलाई नै मान्यता दिई जाँच अवधिमा निजको पारिवारिक भरणपोषणमा हुनसक्ने नियमित प्रकृतिका खर्च र सार्वजनिक पदमा आसिन राजनैतिक व्यक्ति भएको कारण
राजनीतिक परिचालन र सम्बन्ध कायम गर्न हुन सक्ने स्वाभाविक खर्च नकटाउँदा समेत प्रतिवादीको वैध आर्जन भन्दा दुई गुणा भन्दा पनि बढी अर्थात रु.८४,०९,९२८।०७ बराबरको चल अचल सम्पत्तिको स्रोत खुलाउन नसकेको हुँदा सो सम्पत्ति निजलेगैरकानूनी रुपमा आर्जन गरेको तथ्य स्वतः प्रमाणित हुन आएको देखियो।
यस प्रकार माथि विभिन्न सन्दर्भमा गरिएको कानूनी एवं तथ्यगत विश्लेषणबाट
प्रतिवादीको जाँच अवधिको आयस्रोत र सो समयमा आर्जन गरेको सम्पत्ति र खर्चहरु बीच तादाम्यता देखिन नआई रु. ८४,०९,९२८।०७ बराबर सम्पत्तिको स्रोत पूष्टि गर्न नसकेको भन्ने निश्कर्षमा यो इजलास पुगेको हुँदा प्रत्यर्थी प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसूर अपराध गरेको तथ्य शंकारहित तवरबाट पूष्टि हुन आएकोले आरोपित कसूर ठहर नगरी सफाई दिएको विशेष अदालतको फैसला मिलेको देखिएन।
अब के कुन सम्पत्तिको स्रोत पूष्टि भएको र के कुन सम्पत्तिको स्रोत पूष्टि हुन नसकेको हो भन्ने सम्बन्धमा विचार गर्नु पर्ने हुन आएको छ। खासगरी आरोपपत्रको तालिका नं. ११ मा उल्लेखित रु. ३५,२४,६१८।४० बराबरको चल अचल सम्पत्तिको श्रोत खुलेकोर तालिका नं. १२ मा उल्लेख गरिएको रु.२,०८,०८,०४६।३८ बराबरको चल अचल सम्पत्तिको स्रोत नखुलेको भन्ने अभियोग दावी भएको पाइन्छ। यस प्रकार श्रोत खुलेको र नखुलेको गरी प्रतिवादीसँग कूल आर्जित सम्पत्ति रु.२,४३,३२,६६४।७८ बराबरको रहेकोमा स्रोत खुलेको रु. ३५,२४,६१८।४० कटाउँदा स्रोत खुल्न नसकेकोरु.२,०८,०८,०४६।३८ बराबरको चल अचल सम्पत्ति हुने भई सो सम्पत्ती निजले गैरकानूनी रुपमा आर्जन गरेको भनी विगो कायमका साथै जफत गरिनु पर्ने भन्ने माग दावी रहेको देखिन्छ। खास गरी अभियोग पत्रको तालिका नं.११ मा उल्लिखित सम्पत्तिको स्रोत खुलेको र तालिका नं. १२ मा उल्लिखित सम्पत्तिको स्रोत नखुलेको भन्ने दावी भए पनि सम्पत्तिका मूल्यांकनका सम्बन्धमा अभियोगपत्रमा लिइएको आधारमा भिन्नता आई श्रोत नखुलेको भनिएका कतिपय सम्पत्तिको श्रोत खुलेको र खुलेका भनिएका सम्पत्तिको स्रोत नखुल्ने अवस्था देखिएकोले सोही आधारबाट सम्पत्तिको वर्गीकरण गर्नुपर्ने हुन आएको छ।
जफत प्रयोजनका लागि श्रोत खुलेका र श्रोत नखुलेका चल अचल सम्पत्तिका सम्बन्धमा
यकिन हुनु वाञ्छनीय हुन्छ। आरोपपत्रको तालिका नं.१२ मा उल्लेख भएको प्रतिवादीले श्रोत पूष्टि गर्न नसकेको भनी दावी लिइएको सप्तकोशी कोल्डस्टोर प्रा.लि.मा गरेको भनिएको रु.६६,५५,८५८।३८ को स्वलगानी नपरेको भनी विशेष अदालतले छुट दिएकोलाई यस अदालतबाट पनि सदर कायमै राखिएको हुँदा सो विषयमा श्रोत खुलेको वा नखुलेको भनी विश्लेषण गर्नु पर्ने अवस्था देखिएन। सो बाहेक प्रतिवादीको नाममा रहेको का.जि.का.म.न.पा. वडा नंं.९ कि.नं.२२५ को क्षे.फ.०–४–०–३, ऐ. कि.नं.४६३ को क्षे.फ.०–१–१–२ र ऐ. कि.नं.३७९ को क्षे.फ.०–१–२–० जग्गा र सो जग्गामा निर्मित घर, सप्तरी धर्मपुरको कि.नं.१४ को ज.वि. ०–१०–१९ जग्गा र निजको श्रीमती सरस्वती पुरी (गुप्ता) का नाममा सप्तरी जिल्ला धरमपुर गा.वि.स. वडा नं. ८(ग) अन्तर्गत खरीद गरिएका कि.नं.४९, ३५, ५२, ५३ र ५० को क्षे.फ.२–१–३ र भक्तपुर दुवाकोट गा.वि.स वडा नं.१(घ) कि.नं.१२०९ को क्षे.फ.०–४–० जग्गाको घड लिखतमा उल्लिखित र वास्तविक लागत रु.२६,२३,८६१। को स्रोत पूष्टि भएको देखियो। त्यस्तै रु.४,००,५९५। का फर्निचर तथा रु.१,८२,०००। का विद्युतीय सामानको पनि स्रोत खुलेको पाइयो। साथै प्रतिवादीको छोराको पढाईमा खर्च भएकोभनिएको रु.१,९५,३८७।–को स्रोत पूष्टि हुने देखिन्छ। यसका अतिरिक्त प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताका नाउँको स्टाण्डर्ड चार्टड बैंकको खाता नं.१८००९३७७७०१ म्ाा रहेको नगद मौज्दात रु.२,०५,४१३।६८ मध्ये
रु.१,१४,६२५। को समेत श्रोत पूष्टि भएको पाइयो।
उपरोक्त चल अचल सम्पत्ति बाहेक प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताका नाउँमा दर्ता
भएको वा.३ च ७७३९ को ल्याण्ड रोभर जिपको रु.१८,००,०००। र वा.अ.ञ.९६०२ को सन्नी
निसान कारको रु.६,६३,०१६। समेत गरी गाडि तर्फको विगो रु.२४,६३,०१६। को श्रोत खुलेको पाइएन। साथै प्रतिवादीमध्येको सरस्वती पुरी (गुप्ता) का नाउँको बैंक अफ काठमाण्डौंको खाता नं.४६०९ मा रहेको बैंक मौज्दात रु.४,५८,०५५।– र निजकै नामको नेपाल बंगलादेश बैंक लि.को खाता नं. ००८८२१ एस. मा रहेको नगद मौज्दात रु.३६,७०३।५८ र प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताका नाउँको स्टाण्डर्ड चार्टड बैंकको खाता नं. १८००९३७७७०१ म्ाा रहेको नगद मौज्दात रु.२,०५,४१३।६८ मध्ये रु.९०,७८८। को समेत श्रोत पूष्टि हुन सकेको देखिएन। यसका अतिरिक्त विभिन्न बैंक खाताबाट प्रतिवादीले निकाली लुकाई छिपाई राखेको भनिएको रु. ५५,५६,७५२। मध्ये छोराको पढाइमा खर्च भएको देखिएको रु.१,९५,३८७। ब्ााहेक रु.५३,६१,३६५। कोपनि स्रोत पूष्टि भएको पाइएन।
अब, विशेष अदालतको फैसला मिलेको छ, छैन र प्रतिवादीलाई सजाय हुनु पर्ने हो
होइन भन्ने निर्णय दिनु पर्ने हुन आएको अन्तिम प्रश्नका सम्बन्धमा विचार गर्नु पर्ने हुन आएको छ। पहिलो र दोस्रो प्रश्नका सन्दर्भमा माथि प्रकरण प्रकरणमा सम्बद्ध कानूनी व्यवस्था, प्रतिपादित सिद्धान्त र तथ्य एवम् प्रमाणहरुका सम्बन्धमा गरिएको विश्लेषण समेतको आधार कारणबाट प्रतिवादी जयप्रकाश प्रसाद गुप्तालाई सफाई दिएको विशेष अदालत काठमाण्डौंको मिति २०६४।२।२८ को फैसला नमिली त्रुटिपूर्ण देखिन आएकोले सो फैसला उल्टी भई निज प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताले रु.८४,०९,९२८।०७ बराबरकोचलअचल सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (१) बमोजिमकोकसूर गरेको ठहर्छ। सो ठहर्नालेस्रोत पूष्टि हुन नसकेको उक्त चल अचल सम्पत्ति र सोबाट वढे वढाएको सम्पत्ति समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) तथा दफा ४७ वमोजिम जफत भई दफा २०(२) अनुसार विगो वमोजिम रु.८४,०९,९२८।०७ जरिवाना र छ महिना कैद तथा प्रतिवादीले संसद सदस्य र मन्त्री जस्तो जिम्मेवारी पूर्ण पदमा रहेको अवस्थामा सो कसूर गरेको हुँदा दफा २४ वमोजिम थप एक वर्ष कैद समेत जम्मा एक वर्ष छ महिना (१।६) कैद भई विभिन्न वैंकवाट निकाली लुकाई छिपाई राखेको रकम रु.५३,६१,३६५। प्रतिवादीको स्रोत खुलेको अन्य सम्पत्ति समेतवाट भराउनेठहर्छ। अरुमा तपसिल बमोजिम गर्नु।
तपसिल
माथि इन्साफ खण्डमा उल्लेख भएवमोजिम विशेष अदालतको फैसला उल्टी भई प्रत्यर्थी
प्रतिवादी जयप्रकाश प्रसाद गुप्तालाई. एक वर्ष छ महिना (१।६) कैद हुने ठहर भएकोले
निजलाई ठहर भएको उक्त कैद सजायमा निज हिरासतमा बसको दिन कटाई बांकी कैदको लगत कसी कानून वमोजिम असूल गर्नु गराउनु भनी प्रस्तुत फैसलाको प्रतिलिपि सहित काठमाडौं जिल्ला अदालतमा लगत दिनु ……………………………………………………१
विशेष अदालत काठमाडौंको फैसला उल्टी भई प्रत्यर्थी प्रतिवादी जयप्रकाश प्रसाद
गुप्तालाई रु.८४,०९,९२८।०७ जरिवाना हुने ठहर भएको हुंदा निजलाई लागेको उक्त
जरिवानाको लगत कसी असूल उपर गरी सर्वसञ्चित कोषमा दाखिला गर्न जेथा जमानतको विवरण सहित काठमाडौं जिल्ला अदालतमा लगत दिनु ……………………………………२
विशेष अदालतको फैसला उल्टी भै प्रत्यर्थी प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताले निज
तथा निजको श्रीमती सरस्वती पुरी (गुप्ता) का नाउंका वैंक खाताबाट निकाली लुकाई छिपाई राखेको रु.५३,६१,३६५।–प्रतिवादीको श्रोत खुलेको अन्य सम्पत्ति समेतवाट भरी भराउ हुने ठहरी फैसला भएकोले सो रकम निजको श्रोत खुलेको अन्य सम्पत्ति एवं सोबाट नपुग भएमा जेथा जमानत दिएको सम्पत्ति समेतवाट कानून वमोजिम जफत गरी सर्वसञ्चित कोषमा दाखिल गर्न काठमाडौं जिल्ला अदालतमा लगत दिनु……………………………….३
विशेष अदालतको फैसला उल्टी भई मााथि इन्साफ खण्डमा लेखिए वमोजिम निम्न
लिखित प्रतिवादीहरुका नाममा रहेका निम्न वमोजिमको सम्पत्ति र सोबाट बढेबढाएको
सम्पत्ति समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) र दफा ४७ अनुसार जफत
हुने ठहर भएकोले कानून वमोजिम जफत, लिलाम तथा विक्री गरी सर्वसञ्चित कोषमा
दाखिल गर्न काठमाण्डौं जिल्ला अदालतमा लगत दिनु………………………………………४
(क) प्रतिवादी सरस्वती पुरी (गुप्ता) का नाममा नेपाल बंगलादेश बैंक लि.को खाता नं.
००८८२१ एस.मा रहेको नगद मौज्दात रु.३६,७०३।५८,
(ख) प्रतिवादी सरस्वती पुरी (गुप्ता) का नामको (आरोपपत्रको तालिका नं. १२ को
क्र.सं.६ मा उल्लेख भएको) वैंक अफ काठमाण्डौंको खाता नं.४६०९ मा रहेको
रु.४,५८,०५५।,
(ग) प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताका नाउंको स्टाण्डर्ड चार्टर्ड बैंकको खाता नं.
१८००९३७७७०१ म्ाा रहेको नगद मौज्दात रु.२,०५,४१३।६८ मध्ये रु.९०,७८८।,
(घ) प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताका नाउंमा दर्ता रहेको (आरोपपत्रको तालिका नं.
१२ को क्र.सं.४ र ५ मा उल्लेख भएको) बा. ३ च ७७३९ को ल्याण्डरोभर जीप–१
र बा.अ.ञ.९६०२ को निशान सन्नी कार–१ समेत मूल्य रु. २४,६३०१६। बराबरका
गाडि थान–२।
प्रत्यर्थी प्रतिवादी जयप्रकाश प्रसाद गुप्तालाई प्रस्तुत फैसला बमोजिम लागेकोकैद, जरिवाना र निजले बैंकबाट निकाली लुकाई छिपाई राखेको ठहर भएको रकम समेत निजको स्रोत खुलेको अन्य सम्पत्ति तथा सोबाट नपुगे जेथा जमानतबाट जफत, असुल उपर र भरी भराउ भई प्रस्तुत फैसला पूर्ण रुपमा कार्यान्वयन भएपछि विशेष अदालतबाट रोक्का रहेको बांकी सम्पत्ति फुकुवा गरी पाऊं भनी प्रतिवादीको कानूनका म्यादभित्र दरखास्त परे नियमानुसार फुकुवा गर्न सम्बन्धित कार्यालयमा लेखी पठाउनु भनी विशेष अदालत काठमाडौंमा लेखी पठाउनु………..५
माथि ठहर खण्डमा उल्लेख भए बमोजिम विशेष अदालतको फैसला उल्टी भई प्रतिवादीलाई सजाय हुने ठहरी फैसला भएको र विशेष अदालतमा फैसला गर्ने न्यायाधीशहरुले मिसिल संलग्न प्रमाणको मूल्यांकनमा गम्भीर लापरवाही र त्रुटि गरी जसरी भए पनि प्रतिवादीलाई सफाई दिने भावनाबाट ग्रसित भई प्रतिवादीले बयानमा जिकीर लिए भन्दा बढी तथा बयानमा जिकीर नै नलिएका शिर्षकहरुबाट पारिश्रमिक आयलाई मान्यता दिएको, बैदेशिक भ्रमणभत्ताको रकमलाई पनि दोहोरो हिसाव गरी आयलाई मान्यता प्रदान गरेको, बैदेशिक भ्रमणभत्ता बापत आय दिएको रकममध्येबाट बचत हुने ७० प्रतिशतको गणना गर्दा समेत प्रतिवादीलाई लाभ पुग्ने गरी अंक कायम गरेको, जग्गा भाडाबाट आय प्राप्त भएको भनी प्रतिबादीले बयानमा जिकीर लिए भन्दा बढी आयलाई मान्यता दिएको समेतबाट न्याय सम्पादनको कार्यमा विचलित भएको प्रष्ट देखिएको हुंदा प्रचलित कानून बमोजिम आवश्यक कारवाहीको लागि यो फैसलाको प्रतिलिपि सहित न्याय परिषद् सचिवालयमा लेखी
पठाउनु………………………………………………………………………………………………६
प्रस्तुत मुद्दाको दायरीको लगत कटटा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ……………७
न्यायाधीश
उक्त रायमा म सहमत छु।
न्यायाधीश
इतिसम्वत्२०६८ साल फागुन ९ गते रोज ३ शुभम………… ………………………………….।