Tuesday, February 21, 2012

जेलमा चिरञ्जीवीसँगै बस्न चाहे जेपी - nagarik news

केपी ढुंगाना -सर्वोच्च अदालतले मंगलबार कैद सजाय सुनाएलगत्तै जयप्रकाश प्रसाद गुप्तालाई कारागार छान्ने छुट दिइयो। उनले डिल्लीबजार कारागार रोजे। स्रोतका अनुसार जेपीले त्यहाँको 'क' ब्लकमा बस्ने इच्छा देखाए, जहाँ पूर्वमन्त्री चिरञ्जिवी वाग्ले भ्रष्टाचार कसुर प्रमाणित भएपछि एक वर्षदेखि बस्दै आएका छन्।

क्षमताभन्दा बढी कैदी रहेकाले जेल प्रशासनले कारागारको पुस्तकालय बारेर वाग्लेका लागि कोठा निकालेको थियो। जेपीले पनि त्यहीँ बस्न खोजेपछि कारागार प्रशासनले तुरुन्तै पुस्तकालयको अर्को भाग सफा गर्न लगायो। अब वाग्लेले त्यही कोठा जेपीसँग बाँड्नुपर्ने भएको छ।
'डेढ सय क्षमता भए पनि सात सयभन्दा बढी कैदी छन्,' जेलर ज्ञाननाथ कोइरालाले नागरिकसँग भने, 'अब उहाँ (जेपी) लाई पनि यसैमा मिलाएर राख्छौं।'
कारागार प्रशासनले जेपीलाई केही समय कार्यालयमै राखेर कोठा तयार भएपछि लगेको थियो। उनलाई कारागारका भाइनाइकेले वाग्ले बसेको कोठामा पुर्‍याएका थिए। स्रोतका अनुसार उनी कोठामा पुगेपछि वाग्लेले त्यहाँको सोफामा बसाले।
कारागारको 'ख' ब्लक महिला जेल थियो। महिला कैदी/बन्दीलाई केन्द्रीय कारागारमा सारेपछि त्यहाँ पनि पुरुष कैदी/बन्दी राख्ने गरिएको छ। यसले 'ख' ब्लक निकै साँघुरो भएको छ। प्रायः कोही यहाँ बस्न रुचाउँदैनन्।
अपहरण अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएका अर्का पूर्वमन्त्री श्यामशुन्दर गुप्ता यही जेलको 'ख' ब्लकमा छन्। जेल प्रशासनले उनलाई 'क' मै सार्ने प्रयास गरेको थियो। धेरै बन्दी रहेको र पटकपटक झगडा भइरहने गरेकाले उनले आफूलाई 'ख' नै ठिक भएको बताएका थिए।
वाग्लेले भने एक वर्षअघि कारागार चलान हुनुअघि नै 'क' ब्लकमा बस्न पाउनुपर्ने माग गरेका थिए। जेल स्रोतका अनुसार वाग्ले अधिकांश समय आफ्नै कोठामा बस्छन्। 'प्रायः उनी कि रेडियो सुनिरहेका हुन्छन्, कि किताब पढिरहेका,' कारागारका एक अधिकारीले भने, 'लेखिरहेका पनि हुन्छन्।'
कांग्रेस राजनीतिमा वैचारिक रूपले विपरीत कित्तामा उभिए पनि वाग्ले र जयप्रकाश जेपीको आनीबानीमा केही समानता छन्। कांग्रेसका एक वरिष्ठ नेताका अनुसार जेपी वाग्लेलाई 'दाइ' भनेर सम्बोधन गर्छन्। राजनीतिक विश्लेषण र बहसमा दुवै तगडा छन्। पुस्तक पढ्नु दुवैको रुचि हो।
दुवै अध्ययनमा रुचि राख्ने र लेखनका सोखिन भएकाले सँगै बस्न सहज हुने ती नेताले टिप्पणी गरे। वाग्लेले जेलमा दिन बिताउन पुस्तक लेखिरहेका छन्। जेपीले पनि यसअघि भ्रष्टाचार अभियोगमा जेल पर्दा त्यहाँको अनुभवबारे पुस्तक लेखेर प्रकाशित गरेका थिए।
उनले मधेस आन्दोलनबारे समेत थुप्रै पुस्तक प्रकाशित गरेका छन्।
कारागार प्रशासनले कैदीका लागि प्रतिदिन ४५ रुपैयाँ सिदा दिने गरेको छ। जेपीले पनि सिदाबापत् प्रतिदिन ४५ रुपैयाँ पाउनेछन्।
सिदाले नपुगे आफैं बाहिरबाट खान्की किनेर ल्याउने छुट रहेको जेलर कोइरालाले बताए।
जेलभित्र ग्यास बाल्न पाइँदैन। स्टोभ वा हिटरमा खाना पकाउनुपर्छ। वाग्लेले स्टोभमै खाना पकाउँदै आएका छन्। उनलाई कारागार प्रशासनले सहयोग निम्ति एकजना कैदी दिएको छ। जेपीले माग गरे कारागार प्रशासनले उनलाई पनि सहयोगी दिनसक्छ। 'वाग्लेकै सहयोगीलाई पनि यसमा खटाउन सकिन्छ,' कारागार स्रोतले भन्यो।
कारागारभित्रको प्रशासन कैदी/बन्दी मध्ये छानिएका नाइके/भाइनाकेकको हातमा हुन्छ। अब जेपीले आफ्नो जेल जीवन डिल्लीबजारका भाइनाइकेको निर्देशनअनुसार चलाउनुपर्ने छ।