- राजेश राई
२७ डिसेम्बर १९११ मा इन्डियन नेसनल कंग्रेस र विधानसभाले आफ्नो गीतलाई भारतकोे राष्ट्रगानको मान्यता दिएपछि रवीन्द्रनाथ टेगोरले भनेका थिए, 'जिम्मेवारी र चुनौती थपिएको छ, अब 'होलटाइमर' लेखक हुनुको विकल्प छैन ।' राष्ट्रगान सय वर्ष पुगेको अवसरमा बितेको वर्ष भारतमा भव्य कार्यक्रम गरेर टेगोरको सम्झना गरियोे । भनिन्छ, राष्ट्रगान लेखेपछि नै टेगोरले धेरै स्तरीय साहित्य सिर्जना गरे ।
यता, नेपालमा ०६४ साउन १८ मा मन्त्रिपरिषद्ले 'सयौँ थुँगा फूलका हामी' गीतलाई राष्ट्रगान बनाउने निर्णय गर्यो । लगत्तै रचनाकार व्याकुल माइला पनि उस्तै निष्कर्षमा पुगे, 'अब म 'होलटाइमर' लेखक बनेर राष्ट्रलाई थप राम्रो सिर्जना दिन्छु ।' तिनताका उनलाई अब मैले स्तरीय साहित्य सिर्जना गर्नुपर्छ भन्ने लागेको थियो । तर, विगत पाँच वर्षमा माइलाको स्तरीय सिर्जना के आयो त ? 'केही प्रयत्न गरेँ, तर सोचेजस्तो गर्न सकेको छैन,' तीन साताअघि ललितपुरमा भेटिएका माइलाले सुनाए, 'पूर्णकालीन लेखक बनुँला भन्ने थियो, अहिलेसम्म बन्न सकिएको छैन ।' समयको चाप आफ्नो राम्रो सिर्जनाको प्रमुख बाधक भएको उनले बताए । त्यसो भए कुन कुरामा 'व्याकुल' छन् त अहिले व्याकुल ? 'अतिथि बन्ने शृंखलाबद्ध कार्यक्रम र अर्थाेपार्जनको मेेलोमेसोमै समय बितिरहेकोे छ,' उनले आफ्ना दुःख सुनाए, 'राष्ट्रगानको सर्जक राष्ट्रिय व्यक्तित्व रहेछ, देशभरिबाट विभिन्न सार्वजनिक कार्यक्रममा अतिथि बोलाइन्छ । आधा समय त अतिथि हँुदैमा बितिरहेछ, आधा आर्थिक जोहोमा ।'
माइला मेचीदेखि महाकालीसम्मका कार्यक्रममा बोलाइन्छन् । दैनिक तीन/चारवटा कार्यक्रमको निम्तो आउँछ, उनलाई । 'सबैमा नगए पनि केहीमा जानैपर्ने हुन्छ, नगए पनि हामीलाई बेवास्ता गर्यो भनेर चित्त दुखाउँछन्, सबै ठाउँ गयो भने बाँच्नै गाह्रो ।' माइलाले दुःख बिसाए, 'आम्दानीको स्रोत केही छैन, कहिलेकाहीँ त निकै अप्ठ्यारोमा परिन्छ ।' खासमा उनी वकिल हुन् । राष्ट्रगान लेख्नुअघि कानुनी क्षेत्रमा करिअर बनाउन कम्मर कसेका थिए । अहिले भने कसैलाई मुद्दा जिताउन र हराउन दौडधुप गर्न असजिलो भयो । यसपछि वकालती पेसा चटक्कै छाडिदिए । किन छाडेको त पेसा ? 'राष्ट्रगान सर्जकको मर्यादा जोगाउनैपर्यो, जुन पायो त्यही पेसा गर्नुहँुदोरहेनछ,' माइला भन्छन्, 'उपयुक्त व्यवसाय पनि फेला पारिनँ, फेरि नेपालमा लेखेरै बाँच्ने अवस्था पनि छैन ।'
अरू मुलुकमा राष्ट्रगानका सर्जकलाई सरकारले सुविधा र सम्मान दिन्छ । नेपाल सरकारले पनि सुरुमा रचनाकार माइला र संगीतकार अम्बर गुरुङलाई ५/५ लाख दिएको थियो । त्यसयता आफूले केही नपाएको गुनासो गरे, माइलाले । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माइलालाई बोलाएर 'तपाईंका लागि मैले के गर्नुपर्छ ?' भनेर सोधेका रहेछन् । तर, उनले केही चाहिँदैन भनिदिए । अहिले भने उनलाई केही माग्न पाएको भए भन्ने लाग्दोरहेछ । 'मैले आज यस्तो हालत होला भनेर सोचिनँ,' माइला फिस्स हाँसे, 'पूर्णकालीन लेखक भएर बाँच्छु भन्ठानेँ ।' अहिले उनी राज्य आर्थिक अभिभावक भइदिए सिर्जनामा सजिलो हुन्थ्यो भन्ने सोचिरहेछन्, 'राज्यले वातावरण मिलाइदिए राष्ट्रले गौरव गर्नसक्ने सिर्जना गर्न सक्ने थिएँ ।'
चारवर्षे छोरी र श्रीमतीसहित व्याकुल अहिले ललितपुरको डेरामा बस्छन् । वाणिज्यमा स्नातकोत्तर गर्दै गरेकी श्रीमती र छोरीको लालनपालन उनकै काँधमा छ । त्यसो त काठमाडौं खाल्डोमा काँधमाथि यस्ता भार खेप्नेहरूको संख्या कति हजार छ भन्ने के लेखाजोखा ? तैपनि, सबैलाई आफ्नै दुःख ठूलो ! 'कमाइ गर्ने काम छैन, उधारो र सापटी मागेर बाँचिरहेको छु,' व्याकुलले भने, 'ऋण नै लाख अंकमा पुगिसक्यो ।'
विभागीय मन्त्रीहरूले कहिलेकाहीँ मासिक रूपमा आर्थिक सहयोग गर्ने वचन दिन्छन् । माइला सुनेर मख्ख पर्छन् । तर, आधिकारिक निर्णय अहिलेसम्म भएको छैन । सरकारभन्दा पनि कर्मचारीको असहयोगको कारणले सहयोग नपाएको ठान्छन्, उनी । 'मन्त्रीज्यूहरू सकारात्मक हुनुहुन्थ्योे, तर सम्बन्धित मन्त्रालयका कर्मचारीको असहयोगले मैले सहयोग नपाएको हुँ,' झन्डै बिलौनाको स्वरमा राष्ट्रगानका रचयिताले भने, 'हाम्रो देशको कर्मचारीतन्त्र असाध्यै अनुदार रहेछ ।' संस्कृतिमन्त्री गोपाल किरातीको पछिल्लो आश्वासन सुनेर आफू आशावादी भएको उनले बताए ।
राष्ट्रगान छनोट भएपछि पनि उनका दुईवटा गीतिएल्बम बजारमा आए । उनका पछिल्ला रचना सुनेर 'माइलाले स्तरीय रचना गर्न सकेन' भनेर आलोचना गर्नेहरू थुप्रै छन् । त्यसो त राष्ट्रगान छनोटकै समयमा पनि उनको सिर्जना र स्वयं उनीबारे पनि धेरैले प्रश्न उठाएका हुन् । यस्ता आलोचनाबारे उनी 'अपडेट' पनि रहेछन् । 'मलाई थाहा छ, मैले राष्ट्र र समाजले गर्व गर्नसक्ने सिर्जना दिनुपर्छ, तर बिहान के खाने, कोठाभाडा कसरी तिर्ने भन्ने तनाबले म ग्रस्त छु । यस्तै हुने हो भने मेरो व्यक्तित्व असाध्यै कमजोर हुन्छ,' उनको यो निरीह स्वर त्यति मीठो सुनिएन । आर्थिक अभावका कारण मैले स्तरीय लेख्न नसकेको हुँ भन्नु उनका लागि पक्कै पनि सुहाउँदिलो हुँदैन । स्तरीय सिर्जना भन्ने कुरा पैसा छेलोखेलो हुँदैमा सम्भव हुने भए बिल गेट्सले संसारको सबैभन्दा सुन्दर कविता लेख्दो हो । तैपनि, व्याकुल माइला लेखनलाई स्तरीय बनाउन कोसिस गर्ने बताउँछन् ।
राष्ट्रगान छनोट हुनुअघिसम्म साइकल चढ्ने माइला अहिले मोटरसाइकलमा हुइँकिन्छन् । 'सार्वजनिक बसमा हिँड्दा 'अहो, व्याकुल माइला बसमा ?' भनेर सबैले हैरानै पारेपछि सापटी गरेर मोटरसाइकल किनेको हुँ,' उनले भने । उपत्यकामा धेरैजसो विद्यालयका कार्यक्रममा मोटरसाइकल चढेर जाँदा कतिले 'मोटरसाइकलमा पो' भनेर अप्ठ्यारो मान्दारहेछन् । माइलाले भने, 'स्वागत गर्न बसेकाहरू प्रमुख अतिथि गाडी नै चढेर आइदिए हुन्थ्यो भनेजस्तो गर्छन् ।'
पछिल्लो समयमा विज्ञापनको बजार बढ्दो छ । नाम चलेका मान्छेलाई मोडलिङ गराएर आफ्नो प्रचार र प्रवर्द्धन गराउनमा बहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीहरू तँछाड-मछाड गरिरहेका छन् । माइलालाई पनि धेरै कम्पनीले मोडलिङका लागि प्रस्ताव गरेका रहेछन् । एक भारतीय बहुराष्ट्रिय कम्पनीले धेरै रकम दिएर कम्पनीको ब्रान्ड प्रचार र प्रवर्द्धनका लागि मोडलिङका लागि अफर गर्दा उनले अस्वीकार गरिदिएछन् । 'पैसाका लागि जे पनि गर्नुहुन्छ र !' माइलाले भने, 'के नेपालका कम्पनीको प्रवर्द्धन र प्रचारका लागि भारतका रवीन्द्रनाथ टेगोरलाई मोडलिङको प्रस्ताव गर्दा भारतीय जनताले दिन्थ्यो ?' जति पैसा दिए पनि व्यापार प्रवर्द्धनमा काम नगर्ने माइलाको निर्णय रहेछ । 'जति अप्ठ्यारो भए पनि कम्पनीका होडिङबोर्डमा म कहिल्यै झुन्डिन्नँ,' उनले दृढतासाथ सुनाए ।
माइलाको अहिलेको इच्छा/चाहना/सपना/माग/अपेक्षा जे भने पनि एउटै छ, 'बिहान-बेलुका खानेभन्दा पढ्ने/लेख्ने चिन्ता गर्न पाइयोस् । राज्यले मलाई हेरिदेओस् ।' नेपालीमा एउटा भनाइ पनि छ, 'नाम कमाउन भन्दा जोगाउन गाह्रो हुन्छ ।' माइलाको दुःख पनि उस्तै छ । कुनैवेला कवि हरिभक्त कटुवालले भनेका थिए, 'नखाई बाँचिने भए कति पढिने, कति लेखिने थियो होला ?' कवि कटुवाल अहिले हुँदा हुन् त माइलासँग कस्तो साउती मार्थे कुन्नि ? तर, कवि कटुवालले धेरै वर्षअघि गरेको चिन्ता र हाम्रा राष्ट्रगानका रचयिता व्याकुल माइलाको दुःखेसो भने उस्तै लाग्छ ।