Friday, January 6, 2012

भीओपीले थप १ अर्ब असुलेको खुलासा - ekantipur


काठमाडौ, पुस २२ - अवैध नेटवर्किङ मार्केटिङमार्फत सर्वसाधारणबाट करिब ३० करोड रुपैयाँ असुलेको भ्वाइस अफ पिपुल (भीओपी) का सञ्चालक रोबियस इन्टरनेसनलले अपार्टमेन्ट र सहकारीका लागि भन्दै थप करिब १ अर्ब रुपैयाँ असुलेको खुलासा भएको छ ।
सुविधासम्पन्न अपार्टमेन्ट बनाएर दिने प्रलोभन देखाई ३० करोड रुपैयाँ र आफ्नो सहकारी संस्थामा पैसा जम्मा गरे ४ वर्षमा दोब्बर फिर्ता गर्ने भन्दै करिब ७० करोड रुपैयाँ असुलेको हो । पीडितले करिब १ अर्ब रुपैयाँ ठगी गरेको भन्दै रोबियसका संस्थापक तथा प्रबन्ध निर्देशक कुमार तामाङ र रोबियस इन्टरनेसनलअन्तर्गतको रोबियस जिस्टार बिल्डर्स एन्ड डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक इन्द्र पौडेललाई समाती प्रहरीको जिम्मा लगाएका छन् ।
उनीहरूलाई करिब १५ जना पीडितले मंगलबार बेलुका काठमाडौं तीनकुनेको न्यौपाने टावर अगाडि समातेर ललितपुर प्रहरीमा बुझाएका हुन् । रोबियसले भीओपीबाट ३० करोड रुपैयाँ ठगेको समाचार सार्वजनिक भएपछि ललितपुर प्रहरीले बिहीबार कुमार र इन्द्रलाई काठमाडौं प्रहरीको जिम्मा लगाएको छ । 'करिब १ अर्ब रुपैयाँ ठगी गरेको थाहा पाएपछि कुमार र इन्द्रलाई प्रहरीको जिम्मा लगायौं,' जाउलाखेलका पीडित सुमन पौडेलले भने । उनले ललितपुरको छम्पीमा 'बाइब्याक ग्यारेन्टी' -अपार्टमेन्ट बिक्री गर्न चाहे निर्माताले किनिदिने) योजनाको अपार्टमेन्ट पाउने आसमा रोबियस जिस्टार बिल्डर्सलाई १६ लाख ८० हजार रुपैयाँ बुझाएका थिए । पीडितले बिहीबार काठमाडौं प्रहरीमा रोबियसका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष तामाङ, संस्थापक/प्रबन्ध निर्देशक कुमार, संस्थापक/प्रशासन निर्देशक सुमन श्रेष्ठ र रोबियस जिस्टार विल्डर्सका प्रबन्ध निर्देशक पौडेल विरुद्ध ठगी मुद्दा दर्ता गरेका छन् ।
समाचार प्रकाशित भएपछि सन्तोष र सुमन भने फरार रहेको पीडितले बताए । काठमाडौं प्रहरी प्रवक्ता धिरजप्रताप सिंहले रोबियस सञ्चालकविरुद्ध ठगीको उजुरी परेको उल्लेख गर्दै अनुसन्धान भइरहेको बताए ।
'सुमन श्रेष्ठको मोबाइल स्वीचअफ भएर सम्पर्क हुन नसकेपछि हामी आज सिनामंगलस्थित उनको घर र स्कुल गएका थियौं,' सिनामंगलकै आशिष शर्माले भने, 'तर उनी भागिसकेका रहेछन् ।' रोबियसका प्रशासन निर्देशक श्रेष्ठ काठमाडौंको गैरीगाउँस्थित ल्यान्डमार्क एजुकेसनल फाउन्डेसन स्कुलका सञ्चालक पनि हुन् ।
रोबियसका सञ्चालकले २०६६ पुसमा ललितपुरको छम्पीमा २ सय ८० फ्ल्याटका ३ अपार्टमेन्ट बनाई बेच्ने भन्दै विज्ञापन गरेका थिए । दुई बेडरुम, एउटा किचन, एउटा लिभिङ रुम, दुई ट्वाइलेट र एउटा बाल्कोनीसहित ७ सय ४६ वर्गफुटका फ्ल्याट ३० महिनामा उपलब्ध गराउने भन्दै रोबियसले प्रतिफ्ल्याट १५ लाख रुपैयाँदेखि १८ लाख रुपैयाँसम्म असुलेको
थियो । तर अपार्टमेन्ट निर्माणको काम हालसम्म सुरु भएको छैन ।
यो समूहले किस्ताबन्दीमा फ्ल्याट किन्न खोज्नेसँग २ लाख रुपैयाँदेखि १३ लाख रुपैयाँसम्म उठाएको थियो ।
दुई वर्ष पुग्न लाग्दा पनि अपार्टमेन्ट बन्ने छाँटकाँट नदेखेपछि पीडितहरू रोबियस सञ्चालकको खोजीमा लागेका थिए । कुमार र इन्द्रलाई ललितपुर प्रहरीले काठमाडौं प्रहरीको जिम्मा लगाएपछि करिब ३ दर्जन पीडित बिहीबार हनुमानढोका पुगेका थिए । 
रोबियसका सञ्चालकले बानेश्वरस्थित रोबियसको सपोर्ट सेन्टरसँगै कार्यालय रहेको हिरो बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ४ वर्षमा दोब्बर रकम दिने भन्दै करिब ७० करोड रुपैयाँ असुलेको पीडितहरूको भनाइ छ ।
त्यो रकमबाट रोबियसले उक्त सहकारीका नाममा छम्पीमा अपार्टमेन्ट बनाउन ११ रोपनी ३ आना र भक्तपुरस्थित ब्राइटर टुथपेस्ट फ्याक्ट्री परिसरको करिब ४ रोपनी जग्गा किनेको छ । नयाँबानेश्वर र सुविधानगर प्रयागमार्गमा तीनवटा कार्यालय रहेको रोबियसले हालै पुरानो बानेश्वरमा भव्य मार्टसमेत सञ्चालनमा ल्याएको छ ।
सहकारीकै रकममा रोबियसका प्रशासन निर्देशक श्रेष्ठको सिनामंगलस्थित जग्गामा ठूलो घर बनाइएको छ । 'मैले पैसा फिर्ता देऊ नत्र मिडियामा जान्छु भनेपछि उनीहरूले भक्तपुरको जग्गा प्लटिङ गरेर दिन्छु भन्दै फकाए र जग्गा देखाउनसमेत लगे,' अपार्टमेन्टका लागि सहकारीमा १८ लाख रुपैयाँ बुझाएकी एक महिला पत्रकारले भनिन् ।
हिरो सहकारीमार्फत अपार्टमेन्टको मासिक किस्ता ७३ हजार रुपैयाँ तिरिने र
त्यहाँ जम्मा गरिएको सावाँ पनि फिर्ता हुने प्रलोभन आफूलाई देखाइएको उनले बताइन् । उनीबाहेक यसरी ठगिनेमा नेपाली सेनाका एक कर्णेल, प्राध्यापक योगेन्द्र रञ्जित, व्यवसायीहरू र कलाकारसमेत छन् ।
काठमाडौं प्रहरी कार्यालय अगाडि भेला भएका पीडितहरूका अनुसार एउटै फ्ल्याटका लागि १५ लाख रुपैयाँ, १६ लाख ६० हजार रुपैयाँ र १८ लाख रुपैयाँसम्म फरक-फरक मूल्य लिएको देखिएको छ । 'मसँग एउटा फ्ल्याटका लागि  १५ लाख रुपैयाँ लिए,' स्याङजाकी सकुन्तला थापाले भनिन्, 'त्यस्तै फ्ल्याटका लागि अरूसँग १८ लाख रुपैयाँसम्म पनि लिएछन् ।' उनीहरूको नियत जसरी पनि ठग्ने देखिएको उनले बताइन् ।
जाउलाखेलका पौडेलले ३० महिना पछि फ्ल्याट नचाहिए 'बाइ ब्याक ग्यारेन्टी स्किम' अन्तर्गत २५ लाख रुपैयाँ फिर्ता दिन्छु भन्ने प्रलोभनमा १६ लाख ८० हजार रुपैयाँ बुझाएको बताए । 'त्यति रकम बैंकमा राख्दा पनि ३० महिना पछि ब्याजसहित करिब २६ लाख रुपैयाँ पाइने रहेछ,' उनले भने, 'छोरालाई उच्च शिक्षा दिन आवश्यक परे फ्ल्याट फिर्ता गर्न मिल्ने देखेपछि मैले ऋण खोजेर लगानी गरेँ ।' अहिलेसम्म पनि आफूले उक्त ऋण तिरिरहेको उनले बताए ।
प्राध्यापक रञ्जितले भने बिरामी दिदी र दाइको पैसा संकलन गरेर अपार्टमेन्टका लागि १६ लाख रुपैयाँ बुझाएको बताए । 'दिदी ब्रोङकाइटिस र निमोनियाले ग्रस्त हुनुहुन्छ । पैसा डुबेको थाहा पाउनुभयो भने के होला भन्ने चिन्ता छ,' उनले भने । भारतबाट हालै उपचार गरेर फर्किएकी उनकी दिदी यतिबेला राजधानीको एक अस्पतालमा थप उपचार गराइरहेकी छन् ।