Saturday, December 17, 2011

गुण्डाहरुको झगडामा जनतालाई किन दुःख ? - mysansar




शनिबार देशका विभिन्न भागमा कांग्रेसी कार्यकर्ताहरु आक्रोशित भई तोडफोड र आगजनीमा उत्रिए। टायर जलाइयो, सवारी साधन तोडफोड गरियो, बजार बन्द गर्न लगाइयो। हाहाहुहु गर्दै नाराबाजी गरिरहेका थिए उनीहरु। बिचरा सर्वसाधारणलाई केही थाहै थिएन। यसो पहिले नै जानकारी दिएर बन्द गरेको भए नि एउटा कुरा। तिनीहरुले बन्द गरेको भनेर कसलाई के थाहा र। चुप लागेर आफ्नो बाटोमा गइरहेकाहरुको के दोष थियो र। तैपनि उनीहरुको मोटरसाइकल तोडफोड गरियो, गाडीहरुका शिशा फोरिए। बन्दका क्रममा कहाँ के के तोडफोड गरियो? पढ्नुस्। प्लेनबाट यात्रु ओसार्‍यो भनेर एअरपोर्टमा समेत आक्रमण गरे मूर्खहरुले पढ्नुस्।
धेरैले पछि मात्रै थाहा पाए, कांग्रेसका युवाहरुको संगठन तरुण दलका चितवन जिल्ला अध्यक्ष शिव पौडेल मध्यरातमा मरे रे। जेलभित्रै आक्रमण भएर उनी केही दिनदेखि सिकिस्त थिए। उपचार गर्दागर्दै मरेछन्। अनि यो उपद्रो सुरु भएको रहेछ। जेलभित्र पनि सुरक्षा दिन नसकेर हत्या भयो, अब शहिद घोषणा गर्नुपर्छ भन्ने माग थिए सडकमा चारतारा बोकेर उत्रनेहरुको। यसो सुन्दा हो जस्तो नि लाग्छ, क्या खत्तम सुरक्षा। तर भित्री कुरा बुझ्ने हो भने यो त दुई गुण्डा समूहको आपसी झगडाको परिणाम मात्र हो। एमालेको युवा संघको खोल ओढेका गुण्डाहरु र कांग्रेसी तरुण दलको खोल ओढेका गुण्डाहरुको काटाकाटको नतिजा हो यो। जेलभित्र युनुस अन्सारीलाई जस्तो बाहिरका मान्छे गएर गोली हानेका हैनन्, जेलभित्रैका एमाले गुण्डाहरुले मर्ने गरी पिटेका हुन्। एमालेका गुण्डालाई कांग्रेसका गुण्डाले सिध्याइदिएका थिए, त्यसैको बदला थियो त्यो। त्यसैले ममा मानवीयता मरेको हो कि के हो, यो मृत्युको खबर सुन्दा नि धेरै दुःख लागेन, जति दुःख कालिकोटमा चुलो छोएको निहुँमा स्थानीयले कुटपिट गर्दा ३१ वर्षका मनवीर सुनारको मृत्युमा लागेको थियो। गुण्डाहरुको नियति यस्तै हुनु नै थियो। राजनीतिक खोल ओढेको भएर यसले यस्तो रुप लियो। धन्न, एमालेको ठाउँमा माओवादी गुण्डा थिएनन्। नत्र अहिले झन् कति राजनीतिकरण हुन्थ्यो होला! खासमा के हो त पर्दापछाडिको कुरा?गुण्डा-गुण्डाको झगडा
भदौ १० गते चितवनको कविलासका सञ्जय लामालाई गोली हानियो। उपचारको क्रममा उनको मृत्यु भयो। अनि युवा संघले विरोध मच्चायो। चितवनमा बन्द गरियो, मोटरसाइकल जलाइयो, टायर बालियो। किनभने लामा एमालेको युवा संगठन युवा संघ (पहिलेको युथ फोर्स) का नेता थिए। उनकै हत्यामा संलग्न भएको अभियोगमा तरुण दलका चितवन अध्यक्ष शिव पौडेललाई प्रहरीले वारेन्ट जारी गरेको थियो। पौडेल भने भागेर काठमाडौँमा लुकिरहेका थिए। पछि काठमाडौँबाट उनलाई फेला पारियो र गिरफ्तार गरी चितवन पठाइयो। उनी अदालतको आदेशमा पुर्पक्षका लागि चितवन कारागारमा थुनामा थिए।
अब एमाले र कांग्रेसबीच यो विवाद कसरी भयो भन्ने कुरा बुझ्नतिर लागौँ। चितवन मुलुकको आर्थिक केन्द्रहरुमध्ये एक हो। त्यसैले यहाँ गुण्डाहरु पनि हुने नै भए। यहाँ जबर्जस्ती असुली, चन्दा र आपराधिक गतिविधि गर्ने दुई वटा ग्याङ सबैभन्दा सक्रिय छन्। नाम पनि गजबको छ- चमेरा समूह र कमिला समूह। खयर,काठ तस्कर, चोरीका गाडी र यातायात व्यवसायीहरुसँग असुली गर्नु नै उनीहरुको काम हो।
चमेरा समूहको नेतृत्व प्रकाश रेग्मीले गर्छन्। रेग्मी एमाले नेता केपी ओलीका विश्वासपात्र हुन्। कमिला समूहको प्रयोग भने चितवन कांग्रेसका सभापति विकास कोइराला र तरुण दलका अध्यक्ष शिव पौडेलले गर्थे। खयरको कमिसन तेरो ग्याङले उठाउने कि मेरो ग्याङले भन्ने विषयमा भएको विवादपछि कमिला समूहले चमेरा समूहका सञ्जय लामालाई गोली हान्दिए। युवा संघले राजनीतिक रुपमा यसको विरोध सडकमा गर्‍यो। प्रहरीले शिव पौडेल, साजन गुरुङ ,प्रमिस राई र राजु गुरुङलाई पक्राउ गर्‍यो। उतिबेलै पनि पौडेललाई पक्राउ गरियो भनेर तरुण दलले चितवनमा निकै पटक बन्द, चक्काजाम गरेको थियो। तरुण दलले बन्द गर्ने, युवा संघले विरोध गर्ने पनि देखिएको थियो।
गुण्डाहरुको झगडा सज्जनको जस्तो भैगो छाड् दे भने जस्तो कहाँ हुन्छ र। पख्लास्, तँलाई भनेर ढुकिरहेका हुन्छन्। अन्ततः बदला लिएरै छाडे एमालेका गुण्डाहरुले पनि। मङ्सिर २० गते बिहान छ बजेतिर सुतिरहेका बेला त्यहीँ बन्दी रहेका एमालेका गुण्डाहरुले आक्रमण गरे। ती एमालेका गुण्डाहरु चाहिँ यी शिव पौडेलका भाइ गोपी पौडेलको हत्याको अभियोगमा त्यही जेलमा थुनिएकाहरु थिए। गोपीको हत्या एमालेका गुण्डाहरुले गरेका थिए। पौडेल लगायत अरु कांग्रेसी गुण्डाहरुलाई फलामको रड, खाना पकाउने भाँडा र पानी तान्ने पम्पको ह्यान्डिलले टाउकै टाउकोमा हानेका थिए।
हङ्गामा भयो त्यसपछि। काङ्ग्रेसले संसदै अवरुद्ध गर्‍यो। कार्यकर्ताहरुले देशभर तोडफोड र प्रदर्शन गरे। दबाबका बीच त्यहाँका जेलर, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई सरकारले निलम्बन गर्‍यो। बिस्तारै अलि साम्य हुँदै थियो कुरा, फेरि सिकिस्त बिरामी रहेका पौडेलको मृत्यु भइदियो। दुई गुण्डा समूहको भिडन्तमा एउटा गुण्डा मर्दा त्यसको रिस पोखे उनीहरुले सर्वसाधारणमाथि। सडकमा टायर बाले। कति दुःख गरेर बल्लतल्ल जोडेका होलान् कसैले मोटरसाइकल, तोडफोड गरे। बसका शिशा फोडे। बिहानबेलुकी दुःख गरेर पेट पाल्नु पर्ने ट्याक्सी ड्राइभरको ट्याक्सी फोडिदिए।
गुण्डामाथि आक्रमण गर्ने गुण्डालाई कारबाही गर्नुपर्छ, त्यो मागमा कसैको पनि विमति हुन्न। तर गुण्डैशैलीमा घटनासँग कुनै साइनो नभएका सामान्य नागरिकलाई जसरी उनीहरुले दुःख दिए, त्यसले घाटा उनीहरुलाई नै गरेको छ। उनीहरु नै जनताको नजरबाट गिरे। राजनीतिक आवरणमा हुने यस्ता गुण्डागर्दीविरुद्ध आवाज नउठाएसम्म हामी अघि बढ्न सक्दैनौँ।
सकारात्मक कुरा
हरेक नकारात्मक कुराभित्र पनि सकारात्मकताको खोजी गर्नुपर्छ। आजको घटना ज्यादै नकारात्मक छ तर पनि यसको सकारात्मक पक्ष के रह्यो भने यसरी बिना सूचना गुण्डा शैलीमा गरिएको बन्द, तोडफोड र आगजनीको कुनै राजनीतिक दलसँग सम्बन्ध नरहेका स्वतन्त्र नागरिकहरुले भरमारसँग विरोध गरे। ट्विटर, फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत् उछित्तो काढियो बन्दका आयोजक, उनीहरुका समर्थकहरुको। अमेरिकी राजदूत स्कट एच डेलिसीले पनि आफ्नो फेसबुकमा कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्ना कार्यकर्तालाई हिंसात्मक विरोध प्रदर्शन रोक्न लगाउनु पर्छ भन्ने स्टायटस लेखे। चौतर्फी विरोधपछि कांग्रेसले ४ बजेदेखि बन्द फिर्ता लिन र विरोधलाई संयमित बनाउन निर्देशन दिन बाध्य भयो। नभए त भोलि वा पर्सि नेपाल बन्द गर्नेसम्मका कुरा आएका थिए। यसरी नै हामी राजनीतिक आवरणमा हुने गुण्डागर्दीको विरोध जारी राखौँ। कुनै दलका अन्धभक्त र समर्थकहरु यसो गर्न सक्दैनन्, हामी नै हौँ यसो गर्न सक्ने र हामीले नै यसलाई जारी राख्‍नुपर्छ।