Wednesday, December 7, 2011

किरणजीलाई रातारात बोकेर हिडें - अंकुर मासिक

-वर्षमान पुन, अर्थमन्त्री एवं स्थायी समिति सदस्य, एनेकपा माओवादी
पार्टीको अन्तरसंघर्षले सरकार सञ्चालनमा कतिको असर परेको छ ?
सरकार सञ्चालन भनेको एकीकृत प्रयत्न हो । पार्टीको अन्तरसंघर्षले यसलाई स्वभाविक रुपमा विकेन्द्रीत गरेको छ । जुन रुपमा सरकारमा गएका जिम्मेवार नेताहरुले पार्टीको अन्तरसंघर्षले काम गर्न सकेनौ भनेर पन्छिनुपर्ने अवस्था छैन । यद्यपी एकीकृत रुपले सरकारलाई सहयोग गर्ने वातावरण हुँदा यो भन्दा धेरै राम्रो काम हुन सक्थ्यो ।
–वैद्यपक्षको विरोधले सेना समायोजन लगायत शान्ति प्रक्रियामा असर गर्छ कि गर्दैन ?
शान्ति प्रक्रियामा उहाँहरुको विरोधले असर गर्दैन । संविधान निर्माणमा पनि उहाँहरुको विरोधले असर गर्दैन र गर्नु पनि हुँदैन । किनभने यो प्रक्रियामै उहाँको मतभेद छ । उहाँहरुले चुनवाङदेखि यता आउनु नै बेठिक भयो भन्नुहुन्छ । हामी चुनवाङदेखि यता आउनु ठिक थियो भन्छौं । क्रान्तिका विभिन्न मोडलमध्ये रुसी र चिनियाँ मोडलहरुलाई एकीकृत गर्दै हामीले अहिलेको नेपालमा नयाँ प्रयोग गर्नुपर्छ, क्रान्तिकारी ढंगले प्रयोग गर्नुपर्छ । त्यो भनेको सरकार, सदन र सडकलाई एकीकृत गरेर क्रान्तिका बाँकी कामहरु पूरा गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो । २०४८ सालमा संसदमा बसेर क्रान्तिको तयारी गर्नु, जनयुद्धमा प्रवेशसागै वार्ता र संघर्षलाई संगसंगै लैजानुकै विकसित रुप हो चुनवाङ यताका घटनाक्रम पनि । त्यसैले यो विचार र प्रयोगको शृंखला हो । तर उहाँहरुले परम्परागत ढंगले चिनिया मोडलबाट मात्रै जानुपर्छ भन्नु हुन्छ । यसबाट के प्रष्ट हुन्छ भने राजनीतिक कार्यदिशामै हाम्रो गम्भिर मतभेद छ । यो प्रकृयाभित्र आएर भएका कामहरुमा उहाँहरुले स्वामित्व लिन सक्नु भएको छैन, हाम्रो मतभेद त्यहिंनेर हो । उहाँले संविधानसभाको पनि विरोध गर्नु भएको हो, अध्यक्षले नेतृत्व गरेको नौ महिने सरकारलाई पनि सहयोग रहेन । त्यसपछि झलनाथ खनाल नेतृत्वको गठनबन्धन सरकारलाई पनि असहयोग गरेकै हो । अहिले चार बुँदे सम्झौता, विप्पा सम्झौता र सेनासमायोजन लगायत सात बुँदे सहमतिको पनि विरोध गरिरहनु भएको छ । यति मात्र होइन तीन वर्षदेखि राज्यपुनर्संरचना आयोगको विरोध गर्दै आउने अनि आयोगको साटो विज्ञ टोली गठन गर्ने कुराको पनि विरोध गर्ने । यसबाट के बुझिन्छ भने- उहाँहरु विरोधको शृंखलामा हुनुहुन्छ । यो भनेको राजनीतिक कार्यदिशाको मतभेद हो । यस अर्थमा उहाँहरुले यो कार्यदिशा प्रयोग गर्न दिनुपर्छ ।
–उहाँहरुले चुनवाङ यताका कुनैपनि प्रकृया स्वीकार नगर्ने भएपछि एउटै बाटोबाट अघि बढ्ने सम्भावना पनि सकियो होला नी ?
हामीले नयाँ नयाँ प्रयोग गर्दै आएका छौ । कार्यदिशामै मतभेद रहेपछि त सागै रहन धेरै गाह्रो कुरा हो । तै पनि हामी बाहिरी समाजमा प्रतिष्पर्धाको राजनीतिलाई स्वीकार गरेका छौं, विकास गरेका छौं । जनवादी क्रान्तिको चरणमा पनि प्रतिष्पर्धात्मक समाज हुन्छ अनि राजनीतिक प्रतिष्पर्धा हुन्छ । समाजवादमा पनि एउटा सिमामा रहेर प्रतिष्पर्धा हुन्छ भन्ने कुरा हामीले स्वीकार गरेका छौं । त्यसले स्वभाविक रुपमा कम्युनिष्ट पार्टी भित्रको जनवादको पनि विकास गरिएको हुन्छ । मतभेत हुँदाहुदै पनि पार्टीभित्र र जनतामा बहस गर्दै बहुमतले गरेको निर्णय कार्यान्वयन गर्दै हिड्न सक्ने हुनुपर्छ । त्यस अर्थमा अहिले हामी जे गर्दै आएका छौं, त्यो भनेको कार्यदिशाका हिसावले कैयौं मतभेदहरु छन् तर एक तहमा जनतासाग बहस गर्दै एकै ठाउँमा छौं । हामी लेनिनवादी संगठनात्मक सिद्धान्तबाट अलि अघि बढेका छौं । यो प्रयोग गर्न सक्दा लेनिनवादी सिद्धान्तमा के विकास गर्न सक्छौ ? नसक्दा यो पार्टी विघटन विसर्जनतिर जान्छ । त्यसैले एकैठाउँमा रहेर विचारको विकास र कार्यदिशाको मदभेदहरुलाई पनि कम गर्दै जान सकिने ठाउँहरु हुन सक्छ कि भनेर हामीले हेरिहेका छौं ।
–बैद्यजीहरुले अहिलेको कार्यदिशा नै नस्वीकार्ने, तपाईहरु उता जाने पनि सम्भावना नहुने भएपछि माओवादीको अन्तरसंर्घषको हल भनेको फुट नै हो त ?
अहिले कार्यदिशामा मतभेद छ तर बहुमतद्वारा स्वीकृत कार्यदिशालाई अलिअलि विरोध गरे पनि उहाँहरुले पूरै अवरोध गर्नु भएको छैन । उहाँले लागू गर्न दिन्छौ पनि भन्नु भएको छ र हामीले लागु गर्दै पनि आएका छौं । यस अर्थमा हामी एक ठाउँमा छौं । संस्थापन पक्षले पनि सचेत ढंगले मतभेदहरुलाई पार्टी भित्र र जनतासाग लैजान दिएको हुनाले उहाँहरुले आफ्नो कुरा राख्ने बहुमतको मान्ने हुनुपर्छ । अनि बहुमतले आफ्ना कुरा लागू गर्ने अनि जनतासँग गएका फरक मत सुन्ने भईरहेको छ, यो अलि स्वतःस्फूर्त भएको छ । यसलाई लेनिनवादी संगठनको सिद्धान्तमै अलिकति विकास गरेर जान सकियो भने जनवादको अभ्यास पनि भयो, स्वीकृत लाइन पनि लागु भयो । यो खालको सिद्धान्त लागु गर्न सके सबै कुरा मिल्छ । हामी एकै ठाउँमा रहेर बहस गर्दै लाइनको पनि विकास गर्दै एकै ठाउँमा आउन सकिन्छ ।
–सरकार गठन हुनु पूर्व तपाईहरु र बाबुराम भट्टराई फरक कित्तामा हुनुहुन्थ्यो, अहिले एउटै कित्तामा हुनुहुन्छ भन्दा फरक पर्छ कि पर्दैन ?
फरक पर्दैन । किनभने राजनीतिक पार्टी विचारको आधारमा हुन्छ । मिलेको बेला नेताहरुको यो चिज ठ्याक्कै मिल्यो भन्न अफ्ठेरो मान्नु हुँदैन र मिलेर जान पनि अफ्ठेरो मान्नु हुदैन । होइन भने फरक पार्टीसाग त खास खास विषयमा मिलेर अगाडि बढिन्छ भने एउटै पार्टीमा त्यसमा हिच्किचाउनै पर्दैन । विगतमा कम्युनिष्ट आन्दोलन कस्तो हो भने पार्टी भित्र मतभेद भयो भने फूट्नै पर्ने या स्थायी प्रकारको गुट बनाएर बस्नै पर्ने जस्तो थियो । तर अहिले एउटा विषयमा एकठाउँ हुन सक्छ, अर्को विषयमा अर्को ठाउँमा हुन सक्छ । तर स्थायी प्रकार गुट र प्रवृत्ति बनाएर बस्नु जडसुत्र हो । मिल्यो भने मिलिरहने, संघर्ष भयो भने कहिले पनि एकता नदेख्ने चिन्तन हाम्रो पार्टीमा पनि छ । द्वन्द्वात्मक भौतिकवादमा संघर्ष पनि हुन्छ, एकता पनि हुन्छ । एकता हुनुको अर्थ त्यसभित्र संघर्ष पनि छ भनेको हो । जोसाग संघर्ष हुन्छ, त्यो संग एकता पनि हुन्छ, यसलाई त्यो रुपमा बुझ्नु पर्ने हो । तर अहिले लाइनको हिसावले शान्ति प्रक्रियालाई सम्मानजनक ढंगले पूरा गर्ने र संविधान बनाउने विषयमा अध्यक्ष र बाबुरामजी एकैठाउँ हुनुहुन्छ । विगतमा यसमा जोडकोणमा अलिअलि फरक थियो । अहिले पनि अध्यक्ष र बाबुरामजीमा अलि अलि जोडकोण फरक होला तर अहिले कति फरक छ भनेर बहस गर्ने बेला होइन । मूल कार्यनीति मिलेको छ, त्यसमा एक भएर पार्टी भित्र पनि र पार्टी बाहिर पनि एक भएको सन्देश दिदै कार्यकर्ताहरुलाई एकता गर्ने प्रयत्न भएको छ ।
–तपाईको बुझाईमा यो एकता अल्पकालिन हो कि दीर्घकालिन ?
नेताहरु मिल्ने विचारमा हो । विचार मिल्यो भने वर्षौसम्म पनि एकता हुन्छ नमिल्दा संघर्ष हुन्छ । तर मैले बुझेको के हो भने अध्यक्ष र बाबुरामजीको सम्बन्ध संघर्ष पनि छ एकता पनि छ । उहाँहरुबीच संघर्ष हुँदा पार्टी फूट्छ कि जस्तो, आन्दोलनमै हेरफेर हुन्छ कि जस्तो हुने, मिल्दा पार्टी भित्र गुणात्मक एकताभाव पैदा हुने र पार्टी नयाँ उचाईमा पुग्ने, वर्ग संघर्षमा पनि सफलता हासिल गर्ने भएको छ । चुनवाङ अघि पनि अव पार्टी के हुन्छ ? भन्ने अवस्थामा पुगेको थियो तर चुनवाङमा आएर उहाँहरुबीच भएको एकताले गणतन्त्र, संविधानसभा हुँदै मुलुकको ठूलो पार्टी हुँदै अहिलेको अवस्थासम्म ल्यायो । यो विचमा फेरि ठूला संघर्ष भए, पार्टी एउटै रहन्न कि भन्नेसम्मको तहमा पुग्यो । तर पछिल्लो समयमा कार्यनीतिक रुपमा एकैठाउँमा आएपछि शान्ति प्रक्रिया पनि अघि बढेको छ र संविधान निर्माणको पनि सुनिश्चित जस्तै भएको छ । यो सम्बन्धले राजनीतिक दिशा स्पष्ट हुँदै गएको छ । अध्यक्षको नेतृत्वमा पार्टी अघि बढ्छ र आन्दोलन पनि सफल हुन्छ भन्ने कुरा स्पष्ट पारेको छ । त्यसैले अध्यक्ष र बाबुरामजी मिल्दा हामी सफलतामा पुग्न सक्छौं अनि पार्टी र क्रान्तिलाई सहि दिशामा अघि बढाउन सक्छौ । उहाँहरुबीच संघर्ष भयो भने पार्टी ठूलो दुर्घटनाको खतरामा पर्ने देखिन्छ । अहिले उहाँहरु एक ठाउँमा हुनुहुन्छ । त्यसैले यो अवस्थामा शान्ति र संविधान निर्माण कार्य पूरा हुन्छ । यहि अवस्था कायम रहे मात्र माओवादीले लामो समयसम्म सफल राजनीति गर्न सक्छ भन्ने अहिले देखिएको छ । उहाँहरुबीच एकता भएपछि किरणजी, बादलजी लगायतका नेताहरुलाई पनि सँगसँगै लिएर जाने क्षमता पनि राख्नु भएको छ । यो विगतदेखिको निरन्तरता हो । उहाँहरुबीचको सुदृढ एकताले अरु नेताहरुलाई पनि सागसागै लैजाने आधार पनि बनाएको छ ।
–हिजो बाबुरामजीले अध्यक्ष सच्चिनु पर्छ भन्दा तपाईले उहाँलाई कारवाहीको माग गर्नु भएको थियो तर अहिले बैद्यपक्षका नेताहरुले नेतृत्वका विषयमा तल्लो तहका अनेक लान्छना लगाउँदा तपाई चुप हुनुहुन्छ नि किन ?
बाबुरामजीलाई कारवाही हुनुपर्छ भनेर मैले कही पनि बोलेको छैन । कुनै मिडियाहरुले आफ्नै ढंगले लेखेका होलान्, त्यो मलाई जानकारी छैन । मरो आफ्नै पृष्ठभूमि हेर्दा मैले कुनै पनि संघर्षमा आक्रोसित भएर कोही नेता सिध्याउनु पर्छ भनेको छैन । मरो २०/२२ वर्षको राजनीतिक इतिहास त्यसमा पनि १३ वर्षदेखि केन्दि्रय समितिमा छु । यो विचमा सबै नेताहरुसाग संगत गरियो, धेरै उतार चढाव आए पार्टीमा, कसैलाई सिध्याउनु पर्छ भनेर मैले भनेको छैन । बादलजी जतिबेला कारवाहीमा पर्नुभएको थियो, त्यतिबेला उहाँलाई केन्दि्रय समितिमा ल्याउनु पर्छ भन्ने म नै हो । ‘बादललाई ल्याउनै हुँदैन, त्यो त लिनप्याओ हो, वाङजुङ हो, तीनीहरुलाई ल्याउँदा माओले गल्ती गर्नु भएको थियो’ भन्ने साथीहरु अहिले उहाँको दाहिने हात भएर हिडेका छन, बादलजीलाई अहिले बोकेर हिडेका छन् । मलाई केही अप्ठेरो लागेको छैन । त्यसैगरी बाबुरामजीलाई चुनवाङको बेला ल्याउनुपर्छ भनेर अध्यक्षलाई पूर्ण समर्थन र सहकार्य गर्ने मध्ये पर्छु म । एकथरी साथीहरु ल्याउनै हुँदैन, बल्ल ठिक भएको छ भन्नेहरु थिए । अहिले पनि किरणजी, बादलजीहरु बाहिर जानु भएको छ, मैले कहिं पनि सिध्याउनु पर्छ भनेको छैन । उहाँहरुलाई सामुन्ने पछि भन्छु, पार्टी कमिटीमा पनि भन्छु, मिडियामा पनि भन्छु- ‘तपाईहरुले गल्ती गरिरहनु भएको छ ।’ ‘मतभेद छ भने बाहिर भन्नु हुँदैन पार्टीभित्र भन्नु पर्छ’ भन्दै सिकाउने उहाँहरु हो । अहिले आफै बाहिर बाहिर भन्दै हिड्नु भएको छ । सबैभन्दा ठूलो कारवाही त्यही हो । आन्दोलन, क्रान्ति, परिवर्तन र अनुसाशन सिकाउने उहाँहरु नै दुनियाँथरी भन्दै हिड्नु हुन्छ, त्यसले सबैभन्दा घाटा उहाँहरुलाई नै भएको छ । यसले उहाँहरुको व्यक्तित्व विघटन भएको छ । अध्यक्ष कस्तो एजेण्ट, के को एजेण्ट भन्नुहुन्छ, मैले त कमिटीमै भनेको छु- अध्यक्ष कसैको एजेण्ट रहेछ भने, एजेण्टको पुच्छर बनेर किन बस्नु भएको छ ? कसैको एजेण्ट अध्यक्ष भएको पार्टीमा तपाईहरु किन बस्नु हुन्छ ? अलग भए भइहाल्यो नि । कि कारवाही गर्न सक्नु पर्‍यो । यो विषय मै पार्टी भित्र पनि भनेको छु र व्यक्तिगत रुपमा पनि भनेको छु ।
त्यसैले कोही पनि नेताले आफ्नो सिमा नाघ्नु हुँदैन । यदि कसैले सिमा नाघ्यो भने उसैको व्यक्तित्व विघटन हुन्छ । किरणजीको र बादलजीको व्यक्तित्व विघटन हुनु भनेको उहाँहरुको आफ्नो मात्र व्यक्तित्व होइन नि त । त्यो व्यक्तित्व त हामीले, काध थापेर, रगत, पसिना बगाएर बनाएको हो । कतिपय अवस्थामा त मैले रातको अन्धकारमा किरणजीलाई बोकेर पनि हिडेको छु । त्यसरी बनेको व्यक्तित्व विघटन हुनु भनेको हाम्रो लगानी डुब्नु हो । त्यसैले किरणजी, बादलजी वा बाबुरामजी होस् वा अरु कोही होस्, सिध्याउनु पर्छ भनेर मैले कहिल्यै पनि भनेको छैन । क्रान्तिमा मतभेद हुँदा आफ्नो कुरा नेताहरुलाई मजासाग भन्ने गरेको छु । त्यस अर्थमा अहिले पनि किरणजी र बादलजीहरुले जे गर्नु भएको छ, त्यो उहाँहरुले बेठिक गर्नु भएको छ । उहााहरु सच्चिनु पर्छ । उहाँहरुमा हाम्रो पनि लगानी छ, जनताका छोराछोरीको रगतको लगानी छ, त्यसैले पनि उहाँहरु सच्चिनै पर्छ । अध्यक्ष, बाबुरामजी, किरणजी, बादलजी र हामीहरु जनताको रगत बगेर बनेको हो । त्यसैले उहाँहरु सिमा नाघेर जानु हुँदैन ।
–यो अवस्थामा बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री भएर काम गर्न कति सहज-असहज महशुस गर्नु भएको छ ?
बाबुरामजीको बाहिर एउटा छवि छ, त्यसले अलिकति काम गर्न सजिलो भएको छ । त्यसमा पनि उहाँ विगतमा अर्थमन्त्री भएको हुनाले अर्थ मन्त्रालय राम्रोसाग बुझ्नु भएको छ । यसबाट पनि मलाई काम गर्न निकै सजिलो भएको छ । अहिले गठबन्धन सरकार भएकोले सबै पार्टीलाई मिलाएर अघि बढ्दा केही असहज त हुन्छ । तै पनि उहाँसँग काम गर्दा अहिलेसम्म त्यस्तो असहज भएको छैन । खास गरी शान्ति, संविधान, आर्थिक सम्बृद्धि, सुशासन र जनतालाई राहत दिने विषयमा बाबुरामजी र मेरो जोड एउटै भएकोले कुनै अप्ठेरो छैन । यतिमात्र होइन सुशासनको पाटोमा हाम्रो एउटै स्पि्रट छ, मैले उहाँलाई सहयोग गरको महशुस गरेको छु । टिममा पनि निकै सहज महशुस गरेको छु ।
अहिले फेरि अध्यक्षको नेतृत्वमा सरकार गठन हुने पनि चर्चा हुन थालेको छ, के हो यथार्थ ?
अहिलेको सरकारलाई असफल बनाउने कुनै आधार छैन । अहिले मधेशी मोर्चाले सरकार छोड्दैन अनि माओवादी पार्टी एकीकृत रहन्छ । त्यो अवस्थामा यो सरकार सुरक्षित अवस्थामा हुन्छ, बहुमतमा सजिलै अगाडि जान्छ । अध्यक्ष र बाबुरामजी मिल्दा ठूलो परिवर्तन हुन्छ भन्ने कुरा पार्टी भित्रको प्रवृत्ति र बाहिरकाले राम्रोसाग बुझिसकेका छन् । प्रचण्ड र बाबुराम मिलेपछि यो सबै प्रक्रिया पनि टुंगोमा पुर्‍याउँछ, नेपालको राजनीति पनि आफ्नो हातमा लैजान्छ भन्ने कुरा सबैले बुझेका छन् । त्यसैले दुई जना नेताहरु नमिलुन भन्ने उनीहरुको चाहना हो । त्यस्तै विभिन्न शक्ति केन्द्रहरुछन् जसले कोही पनि सरकारमा स्थिर नहोस भन्ने चाहन्छन् । यस प्रकारका प्रवृतिहरुले चलखेल गरेका हुन् । मैले अध्यक्ष र बाबुरामजीसाग छलफल गर्दा त्यस्तो अवस्था नै देख्दिन ।
जसरी विगत नौ महिनाको सरकारमा अध्यक्षलाई एकोहोरो चौतफिर् आक्रमण गरिएको थियो, त्यहाँ उहाँको व्यक्तित्व थोरै कमजोर भएको जस्तो थियो । तर उहाँले झलनाथ खनालको उचाई बढाएको छ । त्यसैगरी बाबुरामजीको नेतृत्वमा सरकार बनाउनका लागि पार्टी भित्र र बाहिर जुन भूमिका निर्वाह गर्नु भयो, त्यसले अझै उठेको छ । अहिलेको सरकारलाई पूरै सहयोग गर्दै शान्ति प्रक्रियामा जुन साहसिक निर्णय गर्नुभएको छ, त्यसले उहाँको व्यक्तित्व थप उचाईमा पुगेको छ । अहिले संविधान निर्माण प्रक्रियामा देखाउनु भएको सक्रियताले राष्ट्रिय व्यक्तित्वको रुपमा उभिनु भएको छ । जसले गर्दा हामीलाई सरकारमा काम गर्न निकै सजिलो भएको छ । उहाँको भूमिका त्यहि हुनुपर्छ । यसले पूरै पार्टीलाई एकतावद्ध बनाउन पनि सजिलो हुन्छ । देशलाई सर्वस्वीकृत नेता चाहिएको छ, उहाँ त्यो बाटोमा हुनुहुन्छ । अनि अहिलेको सरकारलाई शान्ति र संविधान निर्माण कार्य पूरा गर्नलाई पनि बाबुरामजीको नेतृत्वमा सजिलो हुन्छ । त्यसैले अहिले उहाँले यसबारे सोच्नु भएको पनि छैन । कसैले यसमा खेल्न खोजे पनि उहाँ प्रभावित हुने मैले देखेको छैन ।
–पार्टीका कतिपय नेताहरुले त, राष्ट्रिय सहमतिको सरकारको नेतृत्व अध्यक्षले गर्नुपर्छ भनेका छन् नि ?
धोविघाट मोर्चा अगाडि अध्यक्षलाई सिध्याउनु पर्छ, सबै पदबाट हटाउनु पर्छ, सेनाको जिम्मा एउटालाई दिने, संगठनको जिम्मा अर्कोलाई दिने, दलको नेता अर्कोलाई बनाउने, अनि उहाँलाई सेरेमोनियल अध्यक्ष बनाउने भनेरै रोल खेलेका साथीहरुले नै अहिले अध्यक्ष प्रधानमन्त्री हुनुपर्छ भनेर हिड्नुको कुनै तुक रहदैन । सामान्य बच्चाले पनि बुझ्छ, यसमा केही छ । अस्ति बाबुरामजीलाई उचालेर अध्यक्षलाई सिध्याउनुपर्छ भन्ने साथीहरुले अहिले अध्यक्षलाई उचालेर बाबुरामजीलाई सिध्याउन खोजेका छन् । बरु बाबुरामजीले अध्यक्षको सहमतिबीना दलको नेता लिदिन भन्नु भयो । किनभने उहाँ नेता हो, उहाँलाई नेता मान्दा मान्दै उहाँको सहमति विना नै उहाँलाई कमजोर गरायो भने आन्दोलन कमजोर हुन्छ भनेर बाबुरामजीले धोविघाट मोर्चामै अडान लिनुभएको हो । अरुले त बाबुरामजीलाई दलको नेता बनाउनलाई लागि परेकाहरुले उहाँलाई खुट्टा टेक्नु भएन भन्ने आरोप पनि लगाएका थिए । त्यहि साथीहरु अहिले बाबुरामजीलाई सिध्याउने र उहाँको खुट्टा तान्नु भनेको यो पूरै राजनीतिक चालबाजी मात्र हो, यो अव चल्दैन । राजनीतिक इमान्दारिता हुनुपर्छ । जो जससाग मिल्दा पनि संघर्ष गर्दा पनि राजनीतिक आचरणमा बस्नुपर्छ । त्यसो भयो भने नेताहरुको उचाई बढ्छ तर एक दिन एउटा कुरा गर्ने अर्कोदिन अर्कै कुरा गर्ने साथीहरुले जसले नौ महिने सरकारमा असफल बनाउन लागे उनीहरुले फेरि अध्यक्षलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्नुको केही अर्थ छैन । धोविघाट मोर्चामा अध्यक्षलाई कमजोर बनाउनु पर्छ भन्दै हिड्ने अनि अहिले प्रधानमन्त्री बनाउनुपर्छ भन्दै हिड्ने ? अध्यक्ष प्रधानमन्त्रीकालागि चुनाव लड्दा तिनीहरुलेनै विरोध गर्दै हिडे अनि अहिले फेरि प्रधानमन्त्री बनाउनु पर्‍यो ? तर्कहरु एउटा सेटमा हुनुपर्छ । सोच्ने तरिकाको शृंखला मिल्नुपर्छ । विना शृंखलाको तिगडमबाजीले केही हुनेवाला छैन । पार्टी भित्र इमान्दारीपूर्वक बहस हुनुपर्छ । बाहिरका मान्छे खेल्नु, अरु पार्टीका नेताले बोल्नु बेग्लै हो । पार्टी भित्रका नेताको यो हर्कत गलत हो । पार्टी भित्र कसलाई उचालेर आफ्नो राजनीतिक स्थान हुन्छ भनेर राजनीति गरियो भने त कुनै पनि मूल्यमा सर्वहाराको नेता भएनौ, कम्युनिष्ट पार्टीको सदस्य भएनौ । त्यसैले यो नैतिकताको धरातल भित्रको कुरा होइन ।
प्रधानमन्त्रीले आर्थिक सम्बृद्धिको यात्रा सुरु भएको घोषणा गर्नु भएको छ, तपाई अर्थमन्त्री, कस्तो योजना बनाउनु भएको छ ?
प्रधानमन्त्रीको निर्देशनअनुसार हामीले आर्थिक सम्बृद्धिका लागि विभिन्न योजना बनाएका छौ । हामीले अहिले औपचारिक रुपमा एक दशकका लागि नयाँ नेपालको रणनीति बनाएका छौं । विभिन्न विज्ञहरुसाग छलफल गरेर एउटा भिजन पेपर तयार गर्दैछौं । अर्कोतिर अहिले लगानी बोर्ड गठन भएको छ । त्यसको कार्यकारी निर्देशक यसैसाता आउदै हुनुहुन्छ । त्यसलाई पूर्णता दिएर १० अर्व भन्दा माथिको राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी सोझै लैजाने तयारी भएको छ । यसलाई हामीले छिट्टै कामकाजी बनाउँछौं । त्यसैगरी भारतसँग विप्पा सम्झौता भएको छ । यो दुई सम्झौताले भारतका लगानीकर्ता नेपाल आउने र नेपालका लगानी कर्ता भारतमा जाने स्थिति बनेको छ, त्यसले हामीलाई अझै सजिलो बनाएको छ । हामी चीन लगायतका अन्य देशहरुसँग पनि विप्पा सम्झौता गर्न कसैलाई औपचारिक पत्र पठाएका छौं भने कसैसँग अनौपचारिक छलफल सुरु गरेका छौं । त्यस्तै हामीले सन् २०१२ र १३ लाई लगानी वर्षको रुपमा मनाउने तयारी गरेका छौं । यसले लगानीको वातावरण बनाउँछ । अर्काकुरा हामीले ठूलो आर्थिक सम्मेलनको तयारी गरिरहेका छौं । त्यो मार्फत नेपाललाई लगानी मैत्री वातावरण बनाउन ठूलो सहयोग हुने हामीले अपेक्षा गरेका छौं ।
त्यस्तै पश्चिमसेती, बुढी गण्डकी लगायतका हाइड्रो सञ्चालन गर्न उर्जा मन्त्रालय लागिरहेको छ । हामीले यसका लागि लगानी जुटाउने प्रयास गरिरहेका छौं । यस्तै विमानस्थल निर्माण, फास्ट्रयाक, पूर्व-पश्चिम रेल मार्गका लागि डिटेल सर्भेका लागि कामहरु अघि बढेको छ । यो सबै जोडेर हेर्दा यसले एउटा आर्थिक सम्बृद्धिको आधार निर्माण गर्छ । त्यस्तै ५० हजार युवाहरुलाई स्वरोजगार बनाउन हामीले अभियानकै रुपमा अघि बढाएका छौं । हामीले नीजी क्षेत्रहरुलाई प्रोत्साहित गरेर अघि बढ्ने योजना बनाएका छौं । सहकारीको माध्यमबाट पनि जनतामा जादैछौं । सार्वजनिक संस्थानहरु रुग्ण अवस्थामा छन् । यसकालागि एउटै वोर्डको मातहत ल्याएर त्यसलाई एकैखालको नियुक्त तथा सञ्चालनको व्यवस्था गरेर सुधार गर्ने योजना बनाएका छौं । त्यसो गर्दा सार्वजनिक क्षेत्र, नीजी क्षेत्र र सहकारीको भूमिका स्पष्ट रुपमा परिभाषित हुन्छ । हामीले एउटा मात्र आधार समातेर अघि बढ्ने अवस्था छैन ।
–तपाईको बुझाईमा यो सरकारका चुनौतिहरु के के हुन् ?
हाम्रो संस्कार के छ भने कोही पनि तीन महिना वा छ महिना भन्दा बढी सरकार बाहिर बस्न सक्दैन । राष्ट्रिय एजेण्डा के हो भन्दा पनि जसरी हुन्छ, पार्टी भित्रबाट र बाहिरबाट सरकारको खुट्टा तान्ने प्रवृति नै सबैभन्दा ठूलो चुनौति हो । अर्कोकुरा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन ठूलो मेहनत गर्नुपर्ने अवस्था छ । त्यस्तै गठबन्धन सरकार भएकोले एउटै संस्कार र सोंच भएका व्यक्ति सरकारमा छैनौं, त्यसैले प्रधानमन्त्री वा अर्थमन्त्रीले मात्र राम्रो गर्छु भन्दैमा राम्रो परिणाम आउँदैन । विभिन्न विचार बोकेका पार्टीहरुलाई कमसेकम एउटा राष्ट्रिय लक्ष्यमा लैजान अलि बढि मेहनत गर्नु पर्ने देखिन्छ । अर्काेतिर हामी सहमतीय राजनीतिमा जान्छौं भनेका छौं, सात बुँदे मार्फत । त्यसैले नेपाली काँग्रेस र एमालेलाई सहमतिमा ल्याउनु अर्का चुनौति हो । यी कामहरु भए भने अहिले हामीसाग बैदेशिक सहायताको कुनै कमि छैन, दुई खर्व भन्दा बढी ऋण सहयोग पाइप लाइनमा छ । तर हामीले खर्च गर्न सकिरहेका छैनौं । बजेट माग्न जति पनि तछाड-मछाड गर्ने तर खर्च गर्न नसक्ने । हामीले सोचे अनुरुप पूँजीगत खर्च गर्न सकेका छैनौ । देश भित्र रोजगारी शृजना गर्ने र उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने कुरा अलि जोड पुगेको छैन ।
–शिर्षनेताहरु सम्मिलित राजनीतिक संयन्त्र निर्माण गर्ने कार्य किन हुन नसकेको हो ?
त्यसमा मलाई धेरै जानकारी छैन । सात बुँदेमा हामीले त्यो पनि रोखका छौं । छलफल भइरहेको छ, छलफलबाटै शान्ति प्रक्रिया अघि बढेको छ । एक ढंगले शिर्ष नेताको काम र भूमिका भइरहेका छ । औपचारिक रुपमा निर्माणका लागि छलफल जारी छ ।
यो सरकार कहिलेसम्म ?
यो सरकार कम्तिमा पनि संविधान जारी गर्दासम्म हुन्छ । शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउदै नयाँ संविधान जारी नगरुन्जेल सम्म यो सरकार रहन्छ । संविधान जारी हुने बेलासम्म यो सरकार रहेन भने संविधान बन्ने अवस्था नै आउदैन । बस्तुगत कारण र राजनीतिक समिकरणका कारणले पनि यो सरकारले नै नयाँ संविधान जारी गर्छ, गर्नुपर्छ ।