Friday, September 20, 2013

ट्वीटरको नेपाली अन्दाज - setopati

मनोज दाहाल   



नित्यमुक्ता @regmijyoti निद्रा खुल्नेबित्तिकै आँखै नउघारी ओछ्यानको कुनै कुनामा च्यापिएको फोन छामछुम गर्दै हात पार्छिन् र उनको दिन सुरु हुन्छ– ट्वीटर दर्शनबाट।
ओछ्यानमा पल्टेरै दुई–चार ट्वीट गरेपछि बल्ल उनी बाथरुम पस्छिन्।
बाथरुममै पनि उनी ट्वीट गर्न बेर लगाउँदिनन्। फर्केर आएपछि चियाको सुर्कोसँगै फेरि ट्वीटर टाइमलाइन छिर्छिन् र यतै हराउँछिन् दिनभरि।
ट्वीट, रिट्वीट र रिप्लाईमै उनको लगभग दिन गुज्रिन्छ।
दिनभरि ट्वीटरमै हराउन उनलाई अफिसले पनि छेक्दैन। उनको अफिस नै इन्बक्स हो जुन प्रायः हातहातै चलिरहन्छ। इमेलमै धेरैजसो काम हुने भएकाले मोबाइल फोन नै उनको अफिसघर हो।
ट्वीटरमा सक्रिय भएको एक वर्षभित्रै उनको टाइमलाइनमा २९ हजार ३ सय ट्वीट छन्। बिहीबार राति सुत्नुअघि उनले ट्वीट गरिन्, ‘ट्वीटर मेरो दोस्रो घर हो।’
जुनसुकै विषयलाई पनि टाइमलाइनमा हलुका रुपमा प्रस्तुत गर्न रुचाउने उनी कहिलेकाहिँ भने समाज र संस्कृतिबारे गम्भीर ढंगले ट्वीट गर्छिन्। ‘हाँस्न र हँसाउन नै ट्वीटर छिरेको’ भन्ने उनका ट्वीटहरूको हास्यरसभित्र समझको गहिराइ अनुभव गर्न सकिन्छ।
जनकपुरमा जन्मेर विराटनगरमा हुर्केकी ज्योति रेग्मी ट्वीटर नाम ‘नित्यमुक्ता’ राख्नुको कारण भन्छिन्, ‘सधैं स्वतन्त्र हुन रुचाउने मेरो स्वभावलाई देवीको यही नामले साँचो रुपमा व्यक्त गर्छ।’
ट्वीट, रिट्वीट र रिप्लाई गर्न उनीसँग कुनै निश्चित समय हुँदैन। भात खाएको बेला, हिँड्दै गरेको बेला, कसैसँग कुरा गर्दै गरेका बेला पनि पनि उनी टाइमलाइन फलो गरिरहेकी हुन सक्छिन्।
‘ममात्र होइन, मजस्ता सयौं ट्वीटेहरु दिनभरि ट्वीटमै व्यस्त भइरहन्छन्,’ नित्यमुक्ताले ट्वीटमै भनिन्।
टाइमलाइन नै दोस्रो घरझैं भएका ट्वीटरका लतीहरूको सूचीमा नित्यमुक्ता न एक्लो नाम हो, न पहिलो नै।
समीरमणि दीक्षित @sameermdixit, आकार अनिल  @aakarpost, शंखेकिरो @Sadan_Shankhe, सेती रिभर @subhadraman, प्रेम–मोती @pearl_nepal, विकास @bikuko, ऋचा भट्टराई  @15n3quarters, राज खरेल @jhapaliMailo इन्द्रध्वज क्षेत्री @indradhoj सयौंमध्ये केही नाम हुन् जो लगभग २४ घन्टै ट्वीटरमै बरालिइरहन रुचाउँछन्। बिहान उठेदेखि राति अबेरसम्म ट्वीटरमै झुमिरहन्छन् यी।
कति त टाइमलाइनमै रात बिताइदिन्छन्।
...
अनुमानित रुपमा लाख हाराहारी नेपाली प्रयोगकर्ता रहेको ट्वीटरमा झुम्ने नेपाली अन्दाज मौलिक छ। आफ्नै भाषामा ट्वीट गर्ने स्वतन्त्रताका कारण ट्वीटरका नेपाली लतीहरूको सानो संसार एकापसमा गहिरोसँग जोडिएको छ।
जीवनशैलीमै परिवर्तन ल्याइदिएको होइन, इन्टरनेटमा पहुँच भएका नेपाली युवाको सानो जमातका लागि त बाँच्ने एउटा तरिका नै भएको छ ट्वीटर।
सक्कली नाममा ट्वीटर एकाउन्ट खोलेर जिम्मेवार ट्वीट गर्नेहरूको जमातमा छद्म नाममा जथाभावी लेख्नेहरू पनि कम छैनन्।
एउटा महत्वपूर्ण तथ्य के भने सबै छद्मभेषीहरू जथाभावी गर्दैनन्। आफ्नो पेशा, रुचि वा स्वभावको कारण छद्मभेष धारण गर्न रुचाउनेमध्ये सयौं यस्ता छन् जो टाइमलाइनमा जिम्मेवार ढंगले प्रस्तुत हुन्छन् र प्रयोगकर्तामाझ अलग छाप छोड्छन्।
ट्वीटरको विशेषता भनेकै स्वतन्त्रता हो, यसले नाम सोध्छ तर जात, धर्म, भुगोलबारे खासै चासो राखिरहँदैन। लम्बेचौडे र लेघ्रो तानेर कुरा गर्ने शैलीमा विश्वास गर्दैन, १ सय ४० क्यारेक्टरमा अभिव्यक्त हुनैपर्ने सीमाना जो कोरेको छ।
मेरो अनुभवमा हामीकहाँ ट्वीटरले मुख्यतः चारथरि भूमिका खेलिरहेको छ– मनोरञ्जन, आक्रोश अभिव्यक्ति, अन्तरक्रिया र सूचना। एउटै मञ्चमा जीवनमा आवश्यक यी सबै काम हुनसक्ने भएपछि कतिपय युवाका लागि इन्टरनेट भन्नु नै ट्वीटर बनेको छ। अरु वेबसाइटमा छिर्न उनीहरू ट्वीटरकै लिंक प्रयोग गर्छन्।
नवप्रवेशीहरू टाइमलाइनमा ठट्टा/रमाइलोमै बढी रमाइरहेका हुन्छन् भने राजनीति र समाजको विसंगतिमा औंला ठड्याउनेहरूको हुल ठूलो छ। विभिन्न विषयमा अन्तक्रिया पनि चलिरहन्छ भने पछिल्लो समयमा सूचनाको एउटा प्रमुख स्रोत ट्वीटर बनेको छ।
सूचनाको अन्तर्क्रियात्मक तरिका भएकाले पनि ट्वीटरमा एकपटक पसेपछि निस्कनै गाह्रो हुन्छन् भन्छन् कतिपय लतीहरु ।
ट्वीटर भेटघाटको थलो पनि हो । कतिपय ट्वीटर प्रयोगकर्ताहरु ट्वीटर पिकनिक वा हाइकिङ आयोजना गर्छन्। सामाजिक काममा सक्रिय हुन्छन्। ट्वीटरबाट संगठित युवाको पहलमा ट्वीट फर कज टीएफसी अभियान बनेको छ जसले अनाथ र निःसहाय बालबालिकालाई सहयोग जुटाउँछ।
यसरी ट्वीटर भर्च्युअल दुनियाँबाट नेपाली प्रकृति र समाजमा ओर्लिएको छ।
सञ्चारकर्मी शिवानी सिंह थारु @shivani tharu का शब्दमा ‘यो औंला ठड्याएर बोल्ने ठाउँ हो।’ अफ्रिकामा भएको अरब स्प्रिङपछि सामाजिक सञ्जालको भूमिका आत्मसात गरेकी शिवानीलाई ट्वीटरले बढी जिम्मेवार र समझपूर्ण बनाउँदै लगेको छ।
शिवानी का लागि ट्वीटर त्रिभुवन विश्वविद्यालयको चिया पसल हो, तातो चियासँग तात्तिंदै साथीहरुसँग बहस गर्ने। कीर्तिपुरको नयाँ बजारमा रहेको फोटोकपी पसल हो, ठेलीका ठेली नोटहरु फोटोकपी गरिरहँदा विभिन्न विषयमा झोक्किँने, लन्डनको हाइडपार्कमा रहेको ‘स्पिकर्स कर्नर’ हो, अभिव्यक्तिको स्वतन्त्रता पनि स्वतन्त्र हुने, माइतीघर मण्डला हो, १४० क्यारेक्टरमा औंला ठड्याएर आवाज बुलन्द गर्ने।
अर्का ट्वीटर प्रयोगकर्ता सञ्जीव पोखरेल @sanpokh राजनीतिक, आर्थिक र सांस्कृतिक विषयमा आफ्ना बुझाइ अरूसँग सेयर गर्न र अरूका विचार सुन्न ट्विटरको प्रयोग गर्ने बताउँछन्। उनलाई आफ्ना विचार अरूसँग सेयर गर्ने सहज र प्रभावकारी माध्यम लाग्छ ट्वीटर ।
नेपालमा ट्वीटर समसामयिक विषयमा बहस गर्ने प्रभावकारी माध्यम बन्दै गएको सञ्जीवको बुझाइ छ।
हामीकहाँ कम भए पनि विदेशतिर धर्मदेशना, उपदेश, गतिविधि, प्रचारजस्ता थुप्रै काम पनि ट्वीटरबाटै भइरहेका हुन्छन्। समाजसेवा र जागरणको काम पनि ट्वीटरले गरिरहन्छ।
फरक विचारलाई सम्मान गर्ने संस्कृतिको विकास नहुँदा र आफूलाई मन नपर्ने टिप्पणीको विरोध भद्र शैलीमा नहुँदा सञ्जीव दुखी हुन्छन् ।
समीरमणि दीक्षितले ३४ हजारभन्दा बढी ट्वीट गरिसकेका छन् र उनका फलोअर्स ५३०० भन्दा बढी छन्। ट्वीटरमा किन झुम्नुभएको भनेर मैले डाइरेक्ट म्यासेज (डिएम)* गर्दा उनले प्रस्ट्याए, ‘छरिएका आवाज एकै ठाउँमा सुन्ने र विचार बाँड्ने साझा पिपलबोट भएर आएको छ ट्वीटर। अरु बेला भेट्न नपाइने, नमिल्ने व्यक्तिसँग छलफल गर्न पाइएको छ, समाज परिवर्तनबारे वकालत गर्न पाएको छु।’
उनका दृष्टिमा ट्वीटर यस्तो साझा थलो हो जहाँ हामी सबै समान हिसाबले छलफल, बहस गर्न पाउँछौ, र नयाँ साथी बनाउन पाउँछौं।
कहिल्यै नभेटेका साथीहरुसँग छलफल, विचार आदानप्रदान गर्न पाउनु, भ्रष्टाचार विरोधी र समाज परिवर्तनसम्बन्धी विषयमा वकालत गर्ने थलो ट्वीटरलाई पाएको अनुभव गरेका छन् समीरले।
उनको थरकै आधारमा केही व्यक्तिले सोझै हमला गर्न खोजेको भने उनलाई मन पर्दैन। मान्छे राम्ररी नचिनी, विचार नबुझेर विरोध गरेको चित्त बुझ्दैन।
...
ट्वीटरका लतीहरूमा पत्रकारको ठूलो जमात छ। सामाजिक कार्यकर्ता, नेता, कलाकार, अधिकारकर्मीहरूलाई पनि ट्वीटरले लोभ्याएको छ। १ सय ४० क्यारेक्टरको सीमितताले आम प्रयोगकर्तालाई भने ट्वीटरले खासै तान्दैन।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई @brb_laaldhwoj, कांग्रेस नेता रामशरण महत @ramsmahat, युवा नेता गगन थापा @thapagk लगायत नेताहरू; नारायण वाग्ले @narayanwagle, रवीन्द्र मिश्र @MishraRabindra, सुधीर शर्मा @sudheerktm, प्रतीक प्रधान @prateekpradhan लगायत पत्रकारहरू; मन्जुश्री थापा @manjushressthapa, बुद्धिसागर @buddhisagar, लेनिन बन्जाडे @lendaai, आन्विका गिरी @anbika, नारायण अमृत @amritna, ब्रजेश @brajeshk जस्ता शब्दकर्मीहरू; मनीषा कोइराला @mkoirala, अमृत गुरुङ @amritnepathya जस्ता कलाकर्मीहरू नेपाली ट्वीटर प्रयोगकर्तामाझ लोकप्रिय केही नाम हुन्।
सबैभन्दा बढी फलोअर्स भएका नेपाली नेता बाबुराम भट्टराईलाई ४० हजारभन्दा बढीले पछ्याउँछन्। उनी आफैं भने *२४ जनालाईमात्र फलो गर्छन् । केही नेपाली पत्रकारका अतिरिक्त, अमिताभ बच्चन, बाराक ओबामा, नितीशकुमार, नरेन्द्र मोदी उनले पछ्याउने सूचीमा छन्।
न्युयोर्कलाई स्टेशन बनाएर काम गरिरहेका नेपाली फेसन डिजाइनर प्रवल गुरुङ सबैभन्दा धेरै फलोअर्स भएका नेपाली ट्वीटर प्रयोगकर्ता हुन्। उनलाई एक लाखभन्दा बढीले पछ्याउँछन्।
काकाबा @kakabaa, बराजु @baraaju, साहिँलादाइ @SahilaDai जस्ता नेपाली नामका अतिरिक्त पिँध नभएको लोटा @lotaaaaaa, बरुणकम्पनी @brmpkrl, युसाफ्ट @ushaft, कुलरिम्स @cooolrims जस्ता सयौं छद्म नाम ट्वीटरमा सक्रिय छन् जसले प्रयोगकर्तालाई सूचना, मनोरञ्जन र अन्तर्क्रियामा सघाइरहेका हुन्छन्।

पत्रकार तथा लेखक ऋचा भट्टराईका फलोअर्स करिब २५०० छन् तर उनले पनि प्रयोगको छोटो समयमै ११ हजारभन्दा बढी ट्वीट गरिसकिन्। बिहीबार राति दस बजेसम्म उनी टाइमलाइनमै घुमिरहेकी थिइन्।
मि.पोलाइट @ibnamra त बिहीबार राति एक बजेसम्मै टाइमलाइनमै थिए। फलोअर्स कम भए पनि उनले ११ हजारभन्दा बढी ट्वीट गरिसकेका छन्। नाम नखुलाएका उनले परिचयमा आफूलाई टेक इन्थुजियास्ट भनेर चिनाएका छन्।
आकार अनिलले अहिलेसम्म ६६ हजार ट्वीट गरिसकेका छन्। उनलाई ६६ सयभन्दा बढीले पछ्याउँछन्। उनले गरेका ट्वीटहरू एकै ठाउँ मिसाउने हो भने सायद दुइटा ‘वार एन्ड पिस’ तयार हुन्छन्। लियो टल्स्टायको यो कालजयी उपन्यासमा करिब साढे पाँच लाख शब्द छन्।
तीनपाते @saNokEto ले आफ्नो ट्वीटर एकाउन्टमा परिचय लेखेका छन्– कसैको लागि चिकित्सक, ईन्जिनियर, प्रध्यापक, सल्लाहकार, बरिष्ट, घनिष्ट कनिष्ट, तपाईको लागि म के?
उनले अहिलेसम्म करिब ३८ हजार ट्वीट गरिसकेका छन्।
अमेरिकाबाट टाइमलाइनमा सक्रिय सेती रिभरका भाषामा ट्वीटरमा धरै अल्लारे छन्, मायाप्रेमका कुरा बढी गर्छन्। उनले डिएममै भने, 'मुख्य रुपमा यो सूचना र विचारकै आदान प्रदान गर्ने साधन हो र त्यही प्रयोजनका लागि प्रयोग हुन्छ।'
काठमाडौंबाहिर चितवनबाट टाइमलाइनमा सक्रिय सुश्मिता पौडेल @sushmekali 'सुश्मे' युजरनेमबाट साथीभाइसँग अन्तर्क्रिया गर्छिन्। उनी पनि 'केही जान्न र समसामयिक खबरका लागि ट्वीटर पसेको' सुनाउँछिन्।
'हामीजस्ता युवाको टाइमपास र मनोरञ्जनको माध्यम पनि बनेको छ,' उनले डिएममै भनिन्। वर्ष दिन नपुग्दै उनका २४ हजार ट्वीट र २८ सय फलोअर्स छन्।
अर्की प्रयोगकर्ता सम्झना मानन्धर @SamjhanaMa का लागि ट्वीटर 'मनको कुरा लेख्ने माध्यम हो, जुन फेसबुकमा चिनेकामाझ लेख्न अफ्ट्यारो लाग्छ।'
...
सात वर्षअघि खुलेको ट्वीटरका विश्वभरिमा ५० करोडभन्दा बढी प्रयोगकर्ता छन्।
ट्वीटरले प्रयोगकर्तालाई अथेन्टिकेट गर्छ। यो मान्छे फलानो नै हो है भनेर ट्वीटरले दिएको प्रमाणपत्र हो अथेन्टिकेसन। कला, पत्रकारिता, साहित्य तथा सामाजिक तथा राजनीतिक दुनियाँमा सक्रिय सेलिब्रिटीलाई ट्वीटरले अथेन्टिकेसनको ट्याग झुन्ड्याइदिन्छ। यो भनेको ट्वीटरको विश्वव्यापी सञ्जालमा एउटा परिचयका साथ पस्नु हो।
नेपाली प्रयोगकर्तालाई ट्वीटरले अथेन्टिकेट गरेको छैन। बाबुराम भट्टराई, नारायण वाग्ले वा रवीन्द्र मिश्रजस्ता धेरै अन्तर्क्रिया गरिरहने र फलोअर्स पनि टन्नै भएका व्यक्तित्वहरु किन ट्वीटरको अथेन्टिकेसनमा पर्दैनन् भन्ने स्वाभाविक जिज्ञासा हो।
अमेरिकामा बसेर काम गर्ने सञ्चारकर्मी अनुप काफ्ले र न्युयोर्क टाइम्सका कतिपय थोरै फलोअर्स र खासै उल्लेखनीय गतिविधि नभएका पत्रकारलाई भने ट्वीटरले अथेन्टिकेट गरेकोबाट लख काट्न सकिन्छ- नेपाली प्रयोगकर्ता ट्वीटरका प्राथमिकता होइनन्।
मनीषा कोइरालालाई पनि ट्वीटरले अथेन्टिकेट गरेको छैन। कसैलाई फलो नगर्ने मनीषा क्यान्सर लागेर न्युयोर्कको अस्पतालमा उपचाररत भएको बेला ट्वीटरमा सक्रिय हुन थालेकी हुन्।
...
पत्रकार भएकाले मैले नेपाली सञ्चारमाध्यमका ट्वीटर एकाउन्ट त फलो गरेकै छु, न्युयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल, हफिङ्टन पोस्ट, हिन्दू, आउटलुक, डिएनए, गार्डियनजस्ता समाचार संस्था पनि पछ्याएको छु।
ट्वीटर टाइमलाइन स्क्रोल गर्दै जाँदा संसारभरिका सूचना, गतिविधि र विश्लेषण थाहा पाइन्छ भने कहाँ अन्त अल्मलिरहने?
थुप्रै विदेशी र भारतीय कलाकर्मीलाई पनि मैले फलो गरेको छु।
मिस अमेरिकाको नतिजा निस्कनेबित्तिकै भारतीय निर्देशक रामगोपाल बर्माले तात्तातै ट्वीट गरेका थिए, ‘विजयवाडाकी युवतीले मिस अमेरिका जितिछन्।’
केहीबेरमै उनको अर्को ट्वीट आयो, ‘आन्ध्र प्रदेशकी मिस अमेरिकाभन्दा पञ्जाबकी सन्नी लियोन मलाई दसौं गुणा राम्री लाग्छिन्।’
रमाइलो!
दुई दिनअघि भने अर्का निर्देशक अनुराग कश्यपले ‘दीलिपकुमार मरेको खबरले दुखी छु’ भन्ने ट्वीट गरेपछि हतारहतार न्यूज बनाउन खोज्दा केहीबेरमा उनैले ‘सरी’ भन्दै ट्वीट गरे। ट्वीटको मात्र भर परे कहिलेकाहिँ जिल्लिन बेर लाग्दैन भन्ने पाठ!
भारतमा हुने आमनिर्वाचनमा भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारमा चयन भएको दिन नरेन्द्र मोदीले ट्वीट गरेका थिए, ‘आज बिहानै आमाको दर्शन गरेँ, आमाले मलाई गीताको पुस्तक उपहार दिनुभयो।’
हिन्दू मतदाता तान्न मोदीको यो भावनात्मक ट्वीट राम्रै टुल बन्नेमा शंका छैन।
बिहानै उठ्दा टाइमलाइनमा मैले फलो गरेका व्यक्ति वा संस्थाबाट संसारभरका सूचना झरिसकेका हुन्छन्। नेपालमा कहाँ के भयो वा संसारको कुन कुनामा के भयो भन्ने तत्कालै थाहा हुन्छ। शुभप्रभातबाट सुरु हुने ट्वीट शुभरात्रिमा पुगेर टुंगिन्छ। ट्वीटरको टाइमलाइन सक्रिय भइरहन्छ।
अफ्रिकाको कुनै गाउँमा भएको सूचना बिबिसीले तत्कालै ब्रेक गर्छ भने दार्चुलाको कुनै दुर्गम गाउँमा भएको घटनाबारे स्थानीय पत्रकार वा सूचनाप्रविधिको जानकारले तुरुन्तै संसारलाई टाइमलाइनमा खबर दिन्छ।
ट्वीटरको लती भएपछि बाहिर निस्किनै गाह्रो!
इभा लंगोरिया, रिहाना, बाराक ओबामा, अमिताभ बच्चन, नरेन्द्र मोदीका गतिविधि तत्क्षणै टाइमलाइनमा आएपछि मजामाथि मजा थपिन्छ।
...
हिजो राति बाह्र बजेसम्म ट्वीटरको टाइमलाइन पछ्याइरहँदा केही लतीहरू सक्रियतापूर्वक अन्तर्क्रियामा व्यस्त थिए। यिनीहरुलाई निद्रा लाग्दैन कि क्या हो!
नित्यमुक्ता, ऋचा, समीर, कञ्चन ओझा @KanchanOjha, चेत चापागाईं @adrishya_, का ट्वीट एकपछि अर्को झरिरहेकै थिए।
मेरा आँखा पोल्न थालेँ। म सुतेँ– बिहानै उठेर ट्वीटरबारे स्टोरी लेख्नु थियो।

*यो स्टोरी तयार पार्ने क्रममा मैले करिब १० जना ट्वीटेसँग डिएममै कुरा गरेको थिएँ।