के
तपाई शहरमा बसेर मौरीको मह किन्दै हुनुहुन्छ ? मौरीको चाकामा चिनी
मिसाइएको वा चिनीको घोलमा दुईर्चार वटा मौरी मारेर हालेको या बट्टाभित्रै
मिसावट गरिएको महबाट तपाई वाक्क हुनुभएको छ भने पक्कै पनि तपाईलाई चिन्ता
लागिरहेको हुनुपर्छ, मह शुद्ध छ कि छैन भनेर कसरी थाहा पाउने होला ?
राष्ट्रिय
सभागृहमा प्रथम राष्ट्रिय मह महोत्सवको तयारीमा लागिरहनुभएका केन्द्रीय मह
व्यवसायी संघका अध्यक्ष धर्मराज श्रेष्ठ मह र मौरीबारे यसरी रोचक कुरा
सुनाउनुहुन्छ :
- मह शुद्ध छ कि छैन भनेर थापा पाउने
विभिन्न तरिका छन् । शुद्ध महको थोपा पानीमा चुहाउँदा रेसा नबनी थपक्कै
पिँधमा पुग्छ भन्ने गरिन्छ । त्यसैगरी सिक्कामा मह दलेर पछाडिबाट टुकीमा
सेकाउँदा चिनी मिसाइएको मह बल्छ, शुद्ध महमा आगो लाग्दैन । त्यस्तै शुद्ध
मह कुकुरलाई दियो भने खाँदैन भन्ने पुरानो मान्यता छ । तर, अचेलका कुकुरले
जे पनि खान सक्छन् । अनुभवी मान्छेले मह शुद्ध छ कि छैन भन्ने चाखेर पनि
सहजै थाहा पाउन सक्छन् । महको शुद्धता थाहा पाउने वैज्ञानिक गरिका चाँहि
ल्याबमा गरिने परीक्षण नै हो ।
- नेपालमा पाइने परम्परागतरुपमा पालिने
गरेको मौरीको जात एप्पीस सेरेना हो । यो मौरी नेपालमा करिब १ लाख २५ हजार
घार रहेको हुनमान गरिएको छ । व्यवसायिकरुपमा पालन गरिँदै आएको मौरी चाहिँ
युरोपियन जातको हो । यो जातका मौरी नेपालमा लगभग ३५ हजार घार रहेको अनुमान छ
।
- महको मूल्य पनि मौरीको जात अनुसार
फरक-फरक हुन सक्छ । हाइ अट्टीच्युडको हिमाली मह प्रतिकिलो १५ सय रुपैयाँ
भन्दा बढी पर्छ । जबकी मेलिफेरा मौरीको मह ४ सय ५० वा ५ सय रुपैयाँसम्म
पर्छ । भीरमौरीको मह पनि अरु महभन्दा निकै महंगो हुन्छ कठ्यौरीको मह त
प्रतिकिलो ४ हजार रुपैयाँमा पनि किन्न पाइँदैन । थोरै हुने भएकाले
कठ्यौरीको मह जसले काढ्छ उसैले खाइहाल्छ ।
- मह उत्पादन गर्ने मौरीका विभिन्न
जातमध्ये उज्यालोमा बस्ने र अँध्यारोमा बस्ने दुईवटा जात हुन्छन् ।
उज्यालोमा बस्नेसँग पनि रानी हुनछ, तर त्यसलाई पाल्न सकिँदैन । अँध्यारोमा
बस्नेलाई मात्रै पाल्न सकिन्छ । कठ्यौरी, भीर मौरी र खागोले उज्यालोमा मह
लगाउँछन् भने अन्य मौरीले अँध्यारोमा ।
- नेपालमा उत्पादन हुने मह नर्वेसम्म जान
गरेकोमा हाल गइराखेको छैन । नेपालमा उत्पादित मह नेपाललाई नै पुगिराखेको
छैन । तर, नेपालमा मह उत्पादनको राम्रो सम्भावना छ ।
- चिउरीको फूलबाट उत्पादन हुने महलाई
विश्वमा अर्गानिक मह मानिन्छ । तर, चिउरीको महलाई भारतले ‘इण्डियन बटर
ट्री’ को नामबाट पेटेन्ट राइट दर्ता गरेको छ । नेपालमा पनि महाभारत
श्रृंखलामा चिउरीको मह उत्पादन हुने गरेको छ र यसको व्यवसायिक उत्पादनको एक
करोड किलोसम्म उत्पादन हुन सक्छ । हाल नेपालमा वार्षिक १८ लाख किलो मात्रै
मह उत्पादन भइरहेको छ । अहिले नेपालमा भारत र चीनबाट समेत महको आयात
भइरहेको छ ।
- महका विभिन्न परिकारहरु बनाइन्छ । मह,
मौरी र मेनको महत्व पनि छुट्टाछुट्टै छ । विदेशमा मौरीको विष संकलन गरेर
औषधिको रुपमा समेत प्रयोग गर्ने गरिएको पाइन्छ । मौरीलाई टोकाएर उपचार
गर्ने चिनियाँ पद्दति निकै प्रचलित छ । विशेष गरी नशासम्बन्धी रोगको
नियन्त्रणका लागि मौरीको विष प्रयोग हुन्छ । मौरीको चाका वा मैन जुत्ताको
पोलिस, मूर्तिहरुको धलौट लिपस्टिक, क्रिम आदिमा प्रयोग हुन्छ ।
- मौरीको चाकाबाट मह निकालिसकेपछि त्यसलाई
पेलेर पुनः चाका बनाउने ठाउँमा मौरीलाई राखिदिन सकिन्छ । त्यसो गरियो भने
मौरीलाई चाका बनाउने शुरुदेखिको झन्झट गरिरहनुपर्दैन र छिटै मह उत्पादन
गर्न सक्छ ।
- मौरीलाई एकैठाउँमा राखेर पालिरहँदा धेरै
मह लगाउन सक्दैन । त्यसैले मौरीका घारहरु मौसम अनुसार सारिराख्नुपर्छ ।
तर, विगतमा यसरी मौरी पालकहरुले घार लिएर जंगल छेउछाऊ जाँदा कतिपय ठाउँमा
माओवादीले पनि पैसा मागेर दुख दिएको तीतो अनुभव व्यवसायीहरुसँग छ । मौरकिा
घार राति सार्नुपर्ने भए पनि संकटबालका बेला सेनाले दुख दिएकाले दिउँसै
सार्दा मौरी मरेर व्यवसाय नै चौपट बन्यो ।
- मौरी पालक किसान तथा मह व्यवसायी
संगठनहरु पनि धेरै खुल्न थालेका छन् । केन्द्रीय मह व्यवसायी संघमा १०
जिल्लामा १ सय ७ जनाको सहभागिता छ । त्यस्तै मौरी पालक किसानहरुको नेपाल
मौरीपालक महासंघ पनि छ । नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ पनि स्थापना
भएको छ ।
- आगामी असोज १९ र २० गते काठमाडौंमा
प्रथम मह महोत्सव आयोजना हुँदैछ । त्यहाँ मह, यसका परिकार र मह उत्पादनमा
प्रयोग हुने सामाग्रीका करिब ५ सय स्टलहरु रहने छन् । महको महत्व र
शुद्धताबारे जानकारी गराई नेपालमा मौरीपालन व्यवसायलाई प्रवर्द्धन गर्ने र
मह उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाई त्यसको बजार अन्तरराष्ट्रिय रुपमा
विकास गर्ने उद्देश्यले मह महोत्सव गर्न लागिएको हो ।