- गेहेन्द्र शर्मा
नेपाल वार एसोसियसनका पुर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापा नेपाली समाजमा दोहोरो व्यक्तित्वका साथ बाँचिरहेका छन् । यसलाई मनोविज्ञानमा ‘स्प्लीट पर्सनालीटी’ भन्ने गरिन्छ । आफूभित्रको दोहोरो चरित्रलाई ओझेलमा राखेर समाजमा ‘सभ्य’, ‘लोकतन्त्रवादी’, ‘व्यवसायिक’, ‘इमानदार’ र ‘विधिको पक्षधर’ व्यक्तित्वका रुपमा आफूलाई प्रस्तुत गर्छन् तर व्यवहार र पेशागत जीवनमा भने भ्रष्टाचारीसँग संगत गर्छन् र उनीहरुकै पक्षमा अदालतमा बहस गर्छन् । नागरिक समाजको अगुवाका रुपमा लोकतन्त्र, विधिको शासन र स्वतन्त्रताको पक्षमा हुंकार गर्ने यी वकिलको अर्को कालो पाटो पनि रहेको छ । प्रस्तुत छ, यहाँ केही दुष्टान्तः
खुमबहादुरका खेताला
२०४७ सालपछि पटक–पटक मन्त्री बनेका खुमबहादुर खड्काले सार्वजनिक पदको दुरुपयोग गरी २ करोड ३६ लाख ८७ हजार बराबरको गैरकानुनी सम्पत्ती आर्जन गरेको अभियोग लाग्यो । अख्तियारले ४ कार्तिक २०५९ मा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । तर, विशेष अदालतका तत्कालीन अध्यक्ष न्यायाधीश भूपध्वज अधिकारी र सदस्य न्यायाधीश कोमलनाथ शर्मा तथा चोलेन्द्रशमशेर जवराले २९ कार्तिक २०६३ मा खड्कालाई सफाइ दिए । विशेष अदालतले खड्कालाई सफाइ दिने फैसला सुनाएपछि अख्तियार पुनरावेदनका लागि सर्वोच्च अदालत पुग्यो । अख्तियारले १५ चैत २०६३ मा खड्काविरुद्धको भ्रष्टाचार मुद्दाको पुनरावेदन ग¥यो, तर, पुनरावेदन गरेको चार वर्षसम्म मुद्दाले प्राथमिकता नै पाउन सकेन ।
भ्रष्टचारी खड्काले आफनो बचाउका लागि दर्जनौँ प्रभावशाली कानुन व्यवसायी प्रयोग गरे । उनको पक्षबाट लड्ने मुख्य वरिष्ठ अधिवक्ता थिए, शम्भु थापा । शम्भुका साथै सुशील पन्त, बीरबहादुर कार्की, बार अध्यक्ष प्रेमबहादुर खड्का, शेरबहादुर केसी र भीमार्जुन आचार्यले भ्रष्ट खड्काको पक्षबाट बहस गरेका थिए । यस्ता दिग्गज भनिने अधिवक्ताले पनि खड्कालाई बचाउन सकेनन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैधनाथ उपाध्यायको संयुक्त इजलासले पूर्वमन्त्री खड्कालाई भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद सजाय मात्र सुनाएन, उनलाई ९४ लाख ७४ हजार १२२ रुपैयाँ बिगो र त्यति नै जरिवाना भराउने निर्णय पनि ग¥यो ।
डनका ‘मतीयार’
शम्भु थापा विधिको शासन, शुसानको भाषण गर्न पछी पर्दैनन । तर यीनै शम्भु वकालत गर्दा भने सँधै डनहरुकै पक्षबाट गर्ने गरेका छन् । चर्चित डन दिपक मनाङेको पक्षमा बहस गर्ने पनि यिनै शम्भु थापा हुन् । केही समयअघि दिपक मनाङे पक्राउ परे । उनका दुई नाम छन्, दिपक मनाङे र राजीव गुरुङ । यो तथ्य प्रहरी प्रशासन, अदालत र लगभग सबै नेपालीलाई थाहा भएको कुरा हो । शम्भु थापाले अदालतमा दिपक मनाङ्गे र राजीव गुरुङ फरक व्यक्ति हुन् भनेर बहस गरे । अदालतले राजीव गुरुङलाई रिहा गरी दिपक मनाङेलाई पक्राउ गर्न आदेश दियो र यसरी डन रिहा भए ।
जेल प्रशासनलाई थाहा थियो, दिपक र राजीव एकै थिए । पुलिसले चिनेको दिपक र राजीव पनि एकै थिए । अदालतले सार्वजनिक अपराधको दोषि ठहर गरेको र प्रहरीले पक्राउ गरी जेल प्रशासनलाइ बुझाएको दिपक मनाङ्गेलाई त्यसरी रिहा गराउने शम्भु थापा अझै पनि सुशासनको दुहाई दिएर थाक्दैनन । एकै व्यक्तीलाई फरक हुन भनेर जेलबाट मुक्त गराउने कानुनी राज्यको खिल्ली उडाउनु हो ।
हत्यारालाई बचाए
करिब सात वर्ष अघि कोटेश्वरबाट आठ वर्षीय अबोध बालक विवेक लुइँटेलको अपहरण भएको थियो, पछि विवेकको टाउको एकातिर र ढाड अर्कोतिर पारेर धोबीखोलामा फालिएको शब फेला प¥यो । यसरी अपहरणकारी समूहकी नाइके पतेनी लामालाई कानुनको पन्जाबाट छुटाउन मुद्दा लड्ने जिम्मेवारी लिए अरु कोही नभएर शम्भु थापाले । पतेनी लामा जसले आठ वर्षीय बालकलाई दुई टुक्रा पार्न पेसेबर हत्यारालाई हतियार दिएकी थिइन् । थापको विरोधमा उनका छिमेकीहरूले नारा–जुलुस गर्दै उनको घर घेराऊ समेत ।
भ्रष्ट प्रशासकका पक्षमा
नागरिक अगुवाका नाममा विधिको शासनको हुंकार गर्दै हिँड्ने शम्भु सँधै भ्रष्ट कर्मचारीको पक्षमा खडा हुने गरेका छन् । उनले केही समयअघि भ्रष्ट पूर्वसहसचिव सावित्री राजभण्डारीलाई जोगाउन धेरै कोशीस गरेका थिए । तैपनि बिशेष अदालतले भौतिक योजना तथा निर्माण मन्त्रालयबाट अवकास पाएकी पूर्वसहसचिव सावित्री राजभण्डारी भ्रष्टाचारी नै भएको ठहर ग¥यो । शम्भु थापाको अथक कोशीस पनि डेग चलेन, न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलास सामु । इजलासले राजभण्डारीलाई २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ ५९ पैसा भ्रष्टाचार गरेको ठहर गर्दै भण्डारीलाई १ वर्ष कैदको फैसला सुनायो ।
सुडान घोटालाका सहयात्री
सुडान घोटाला कान्डका नाइकेहरुको पक्षमा बहस गरेर शम्भु थापाले फेरी आफुलाई भ्रष्टाचारीका वकिल सावित गरे । मुख्य नायिके ठेकेदार शम्भु भारतीको तर्फबाट बहस गर्ने वकिलमा शम्भु थापाको नाम नम्बर एकमा थियो । त्यसैगरी यो मुद्दामा अधिवक्ता लोकभक्त राणा, श्रामप्रसाद भण्डारी, पर्सुराम कोइराला र यादवकुमार ढुङ्गानाले बहस गरेका थिए। शम्भु भारतीले स्थानीय प्रतिनिधिको हैसियतले नेपाल प्रहरीको सुडान मिसनलाई आवश्यक पर्ने सामान खरिद गर्ने क्रममा सम्झौता गर्दादेखि नै प्रहरी अधिकृतसम्म आफ्नो पहुँच पुर्याएर अनियमितता गरेका थिए । भारतीमाथि प्रहरी प्रधान कार्यालयका तत्कालीन प्रमुख ओमविक्रम राणासँग मिलेमतो र साँठगाँठ गरी कमसल र पुराना तथा काम नलाग्ने सामान सप्लाई गरेको अभियोग थियो ।
पासपोर्ट बेच्नेका पक्षपाती
शम्भु थापा नेपालका लोकतान्त्रीक संस्कारको कुरा गर्न पनि पछी पर्दैनन । तर, लोकतन्त्रलाई बदनाम गराउने गतिविधिको पक्षमा भने उनी नै भित्र–भित्र लागीरहेका हुन्छन् । यसको एउटा उदाहरण हो, रातो पासपोर्ट बेच्ने सभासदको पक्षमा उनले बहस गर्नु । रातो पासपोर्ट बेचेको अभियोगमा अख्तियारले २०६८ साल वैशाख २८ गते मुद्दा चलाएका दुई सभासद बीपी यादव र गायत्री साहलाई विशेष अदालतले १५ लाख धरौटी तिरे जेल बाहिरै बसेर मुद्दा लड्न छुट दिएको थियो । रातो पासपोर्ट बेच्नेमध्ये गायत्रीका पक्षबाट अधिवक्ता शम्भु थापासहित चार जनाले बहस गरेका थिए । रातो पासपोर्ट बेच्नेलाई जोगाउन शम्भुले ‘संवैधानिक हकको उल्लंघन गरी मुद्दा लगाइएको’ मात्र हैन, ‘मुद्दा छिटो पेश गरी षडयन्त्र गरी संविधान बनाउन नदिने उदेश्यले मुद्दा लगाइएको’ जस्तो दलील पेश गरेका थिए । त्यसैगरी अख्तीयारले संसदीय स्वतन्त्रताको अपहरण गरेको पनि उनको दावी थियो ।
अख्तियारबाट आतंकित
जब अख्तीयार दुरुपयोग अनुसन्धान आयोगमा लोकमान सिंहलाई आयुक्त बनाउने निर्णय भयो, शम्भु थापाजस्ता वकिलहरु आत्तीए । लोकमानले नेपालका भ्रष्टाचारीलाई छानी छानी कार्वाही गर्ने भनेकाले शम्भुले काखी च्यापेका भ्रष्टहरुको समुहमा कोलाहल मच्चीयो । भ्रष्टहरुले नै शम्भुलाई लोकमानविरुध्द उचाले । कहाँसम्म भने लोकमानलाई नियुक्त गर्न सिफारीस गर्ने एक दल एमालेकै विरुध्दमा शम्भु खडा भए, जुन दलबाट उनी गत संविधानसभामा खडा भएका थिए । तर, अख्तीयारमा लोकमान आएरै छाडे । शम्भु थापाजस्तो वकिलको साथ पाएर उन्मुक्ती पाउँदै आएका भ्रष्टहरु अब धमाधम खोरमा जाकिंदैछन् । शम्भुको ल फर्म आफैमा भ्रष्टाचारी चोख्याउने आखडा भएकाले अख्तीयार र राजश्वले त्यही अखाडामा छापा मारेर तीर नीशानामै साँधेको हो । शम्भु नै अब कार्वाहीको दायरामा आएपछि भ्रष्टाचारीको पक्षको वकालत गर्दै आएका वकिलहरुको धन्दा चौपट हुने देखेर अहिले बार एशोसीएसन सडकमै उत्रीएको छ । यसबाट पनि नेपालका वकिल र न्याय क्षेत्र कति भ्रष्ट रहेछ भन्ने स्पष्ट हुन्छ । राज्यलाई कर ठगी गर्न पाउनुपर्छ, छापा मार्न पाइँदैन भनेर बार एशोसीयसन लाग्नु आफैमै रोचक दृश्य हो ।
हो, शम्भु थापा कानुन व्यवसायी हुन्, सज्जन अथवा दुर्जन जोसुकैको विषयमा मुद्दा लड्न पाउनु उनको पेसागत अधिकार हो । तर, आफूलाई ‘लोकतन्त्रवादी’, ‘व्यवसायिक’, ‘इमानदार’ र ‘विधिको पक्षधर’ भन्नेले के भ्रष्टाचारी र हत्याराहरुको मतियार बन्न कति जायज हो ? खै त उनको व्यवसायिक धर्म र नैतिकता ? फेरि वकिल भनेको डाक्टरजस्तो पेसा होइन जहाँ उपचार नगरे कसैको ज्याननै जाने । आफूलाई लोकतन्त्रवादी भन्ने थापाको नैतिकता कहाँ गयो यति बेला ?कहिले भ्रष्टाचारी खुमबहादुर त कहिले जनआन्दोलनका दोषी दुर्जकुमार राईलाई जोगाउन लागी पर्ने थापा आफूलाई वरिष्ठ अधिवक्ता, नागरिक समाजका अगुवा तथा न्याय र कानुनको संरक्षकका रूपमा उभ्याउँछन् र हुँकार्छन् – ‘म यो देशको वरिष्ठ अधिवक्ता हुँ, मेरो कार्यालयमा छापा मार्न पाइँदैन ।’ के वरिष्ठ अधिवक्ता हुने बित्तिकै राज्यले उनको छानबिन गर्न नपाउने हो ? नेपाल बार एसोसिएसनले पनि वक्तव्य निकालेर भनेको छ, ‘जानकारी नदिई छापा मारेर सरकारले कानुन उल्लंघन गरेको छ, अझ कानुन व्यवसायीको कार्यालयमा छापा मार्नु कानुनको अपमान हो ।’ यसरी कानुनका दिग्गजहरु बुझेका छैनन् र छापा मार्ने भनेको ‘आकस्मिक निगरानी हो’ ? आफूलाई विधिको शासनको संरक्षक भन्नेले यति पनि बुझेका छैनन् र ? यदी उनी निर्दोष छन् भने किन यति डराइरहेका छन् ?