Sunday, September 22, 2013

आवेगको आगो - nagariknews

  

                                                                                                      
नयाँ नेपालका राजनीतिक नेताहरूमा सबैभन्दा भारतपरस्त नेतामा बाबुराम भट्टराईको नाम पहिलो नम्बरमा आउँछ। उनको आफ्नै दलले समेत उनलाई उक्त आरोप लगाएको र कारबाहीसम्म चलाएको हुनाले कतै प्रमाणित गर्न गइराख्नु पर्दैन। अझ उनका गुरु भनेर चिनिने नेपाल विशेषज्ञ भारतीय विद्वान एसडी मुनिले पुस्तकमै कसरी बाबुराम र पुष्पकमल दाहालले भारतको अहित नगर्ने प्रण गरेको पत्र लेखेर बुझाए भन्ने विवरण सार्वजनिक गरेपछि त यो विषयमा थप बहस गर्नै परेन।तर, अचानक भारतीय प्रहरीले बर्दियाको एउटा घरमा प्रवेश गरेको कुराले उनको मनमष्तिकमा नराम्ररी घोचेछ। उनले उक्त कुरा फेसबुकमा लेखे। टि्वटरमा त्यसको लिंक पनि आयो। अहिले भट्टराईको भनाइमा टि्वटेहरूको चर्को चिरबिर र फेसबुकेहरूमाझ ठूलै चर्चाको विषय भएको छ।भट्टराईले आफ्नो फेसबुकको वालमा लेखेअनुसार भारतीय प्रहरीको बलमिच्याइँ नेपाली सार्वभौसत्तामाथिको नांगो अतिक्रमण हो। र, उनलाई खेद लागेको छ यस्तो खबर चुपचाप पढेर र सुनेर बस्नुपरेकामा। यो खबर पढेर चुपचाप किन बस्नुपरेको हो भट्टराईलाई? उनी अझ भन्छन्, 'आखिर थोत्रो मुख बजाएर मात्र पो के हुन्छ र?'कुनै बेला कुनै साधारण निहुँमा सात–सात दिन नेपाल बन्द गर्ने शक्तिशाली दलका नेतालाई किन चुपचाप बस्नुपर्‍यो? यदि उनको मन साच्चै घोचेको हो भने हजारजना मान्छे लिएर लैनचौर घेर्न किन जाँदैनन्?भट्टराईको मन त जर्मन राजदूतले पनि घोचेछन्। राजदूतले तनहुँमा पुगेर कस्तो राजनीतिक दललाई समर्थन गर्ने र भोट हाल्ने भनेर 'उपदेश' दिएछन्। आफू प्रधानमन्त्री हुँदा भारतीय राजदूत विभिन्न स्थानमा गएर स्कुल उद्घाटन र खानेपानी वितरण गर्दै हिँडदा केही नबोल्ने र उनलाई रोक्न नसक्ने नेताको मन अचानक कसरी उग्रराष्ट्रवादी भयो बु‰नुपर्ने विषय बनेको छ। भट्टराईको भनाइलाई जनताले कसरी लिएका छन् भन्ने कुराको झलक पाउन उनको फेसबुक वालमा रहेका पोस्टिङ्स नै हेरे पुग्छ। यो लेख लेख्दासम्म १६ सय हाराहारी जनताले टिप्पणी गरेका छन्। अधिकांशले उनीप्रति सहानुभूति होइन, व्यंग्य गरेका छन्। करिब सबैले उनलाई पाखण्डी चित्रण गरेका छन्। अहिलेसम्मको प्रवृत्ति हेर्दा जसले जति प्रोत्साहन वा दुरुत्साहन गरे पनि भट्टराई भारतको विरोधमा जाँदैनन्। उनको मन भारतसित कुँडिएको होइन, भारतबाट आफू टाढिएको भान परेर आफैंमा कुँढिएजस्तो देखिन्छ। भारतीय दूतावासको सक्रियतामा दाहाललाई जिल्लाएर प्रधानमन्त्री बन्न सफल भएका भट्टराईलाई आफू अचानक भारतको विश्वासपात्र स्थानबाट टाढा हुन पुगेको भान भएर चित्त दुःखेको हुनसक्छ। आफूले गर्न नसकेको निर्वाचन खिलराज रेग्मीको पूर्वसरकारी कर्मचारीको सरकारले कुनै हालतमा सम्पन्न गर्न नसक्ने विश्वास लिएर बसेको हुनाले अहिले निर्वाचन हुने वातावरण बन्दा उनी आत्तिएका हुन सक्छन्। राजीनामासमेत नगरी (उनको राजीनामाको कुरा बाहिर आएको छैन) सत्ताबाट बाहिरिएका भट्टराईलाई पुनः उक्त पद प्राप्त गर्ने उच्च विश्वास भएको कुरा उनले विश्वासपात्रहरूलाई बारम्बार भन्दै आएका थिए। आफ्नो राष्ट्रियतासम्बन्धी अवधारणा र प्रतिबद्धताबारे प्रश्न उठाएको देख्दा निकै नमिठो अनुभूति गर्ने भट्टराई आफैंमा प्रस्ट छैनन् राष्ट्रियताका सम्बन्धमा। एकातिर भारतीय प्रहरीको नेपाल प्रवेशले उनको मन दुख्छ भने अर्कातिर आफूले विगतमा राष्ट्रियताका सम्बन्धमा विवेकसम्मत भन्दा आवेगात्मक धारणा राखेको आफैं स्विकार्छन्। उनको राष्ट्रियताका सम्बन्धमा आवेग गलत थियो कि गरिब नेपालीलाई सामन्ती भनेर टाउको छिनाउनु गलत थियो? त्यसमा उनी प्रस्ट छैनन्।यदि राष्ट्रियताका सम्बन्धमा आवेग थियो भनेका हुन् भने उनले त्यसबेला गरेको विस्तारवादी भारतीय नीतिको विरोध ठिक थिएन भनेका हुन सक्छन्। अर्थात्, एकातिर भारतले गरेको बलमिच्याइँमा उनको चित्त दुख्छ, अर्कातिर आफूले लिएको भारतविरोधी आन्दोलनप्रति उनलाई पश्चाताप देखिन्छ। भनेको मतलब के भने, माओवादी नेताहरू एउटा अतिक्रुर, असामाजिक र गैरराजनीतिक विचार अघि बढाएर सत्तामा त आए, तर अब कसरी अघि बढ्ने भन्नेमा रनभुल्लमा परेका छन्। उनीहरूलाई पहिले गल्ती भयो भन्ने आभास भएको छ, तर अब पुनः डरलाग्दो गल्ती नगर्ने मार्ग खुट्याउन सकेका छैनन्।भट्टराई फेसबुक पेजमा लेख्छन्, 'सुरुसुरुमा म पनि राष्ट्रियतासम्बन्धी विवेकसम्मतभन्दा आवेगात्मक धारणा बढी राख्थेँ। मेरो पिएचडी शोधग्रन्थ, संयुक्त जनमोर्चाकालका मेरो नेतृत्वमा भएका अनगिन्ति राष्ट्रियतासम्बन्धी आन्दोलन, चर्चित ४० सूत्रीय मागपत्र आदि त्यसका दसी हुन्।'एकातिर भट्टराई आवेगी भएको स्विकार्छन्, तर त्यो आवेगमा डढेर १५ हजारभन्दा बढीको ज्यान गएको स्विकार्दैनन्। बाबुराम भन्छन्, 'आन्तरिक राष्ट्रिय एकता मजबुत नगरी, जनतालाई अधिकारसम्पन्न नबनाई र देशलाई आर्थिक रूपले समृद्ध र सम्पन्न नगराई हामीले बाहिरी राष्ट्रियताको लडाइँ जित्न सक्दैनौं।' तर, यो उनकै आवेग हो, जसले देशलाई जात, जाति, भाषा, धर्म, पहाडी, मधेसी आदि विभिन्न नाममा बाँड्यो र अब फेरि गल्ती नगर्ने भन्ने यिनै कमरेड जनतालाई काम गरेर बाँच्न होइन, आफ्नो भूभागमा नचाहिँदो अधिकार दाबी गरेर र अरूसँग लडेर बाँच्न सिकाउँदैछन्। एकातिर समाजवाद आउन पँुजीवादको पूर्ण विकास हुनुपर्छ भन्छन् भने अर्कातिर पुँजीवादी व्यवस्था निमिट्यान्न बनाउन, प्रतिस्पर्धी व्यवस्था सिध्याउन उत्पादन–ब्रिगेड बनाउँछन् र राष्ट्रको ढुकुटी रित्याई आफ्ना कार्यकर्ताको बचत तथा ऋण सहकारीलाई बलियो बनाउँछन्। राष्ट्रिय पुँजीपतिको संरक्षण गर्ने कुरा गर्छन्, तर उनको दललाई करोडौं सहयोग नगर्ने उद्योगपति र व्यापारीलाई जरैदेखि उखेल्ने कार्य गर्छन्। कमरेड बाबुरामजस्तै अर्का ठूला कमरेड पुष्पकमल दाहालले पनि आफूले विगतमा गरेका गल्तीका फेहरिस्त दिने काम गर्दै आएका छन्। उनलाई पनि अहिले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएको, प्रधानसेनापतिसँग अनाहक निहुँ खोजेकोजस्ता अनेक विषयमा पश्चाताप छ। अहिलेको नेपाली राजनीतिका यी दुई शीर्षस्थ नेतालाई आफूले विगतमा गरेका कुरा गल्ती भएछन् भन्ने बुझाइ भएको देखिन्छ, तर दुवै यो गल्ती सच्याउने बाटोमा छैनन्। उनीहरू अझै बलको भरमा निर्वाचनमा जानुहुन्न भन्ने मान्न तयार छैनन्। जनतालाई जबर्जस्ती तर्साएर भोट हाल्न लगाउनुहुन्न भन्ने बु‰दैनन्, चन्दा माग्नु तिम्रो स्वविवेकीय अधिकार होइन भन्ने थाहा नपाएझैं गर्छन्, मरेका मान्छेको नाममा भोट खसाएर जित्दा नैतिक बल प्राप्त हुन्न भन्ने चेत छैन। विगतमा गरेका गल्ती सम्झँदै रुने, तर वर्तमान र भविष्यमा गल्ती नसुधार्ने हो भने केही तुक छैन मनमष्तिक घोच्यो भनेर गोहीको आँसु बहाउनुको।


बाबुरामविरुद्ध किन खनिए प्रतिक ? - ratopati

  • पंकज चौधरी/ सुजन पन्त
pratikराजधानीको होटल अन्नपूर्ण । असोज ३ गते । साँझपख होटल अन्नपूर्णको ‘जुनेली बार’मा एक जापानी, एक अमेरिकी र नागरिक दैनिकका सम्पादक प्रतिक प्रधानवीच भेटवार्ता भयो । होटल अन्नपूर्णमै कार्यरत कर्मचारी सुत्रका अनुसार उनीहरुवीच ‘लगानी’, ‘एमाओवादी विरोधी मिसन’ र ‘निर्वाचन रणनीति’बारे छलफल भएको थियो  । उनीहरुवीच भएको कुराकानीबारे कर्मचारी सुत्र भन्छ, ‘उनीहरुवीच कसरी एमाओवादीलाई मिडिया क्याम्पेन गरेर बदनाम गर्ने भन्ने बारेमा छलफल भएको स्पष्ट बुझन सकिन्थ्यो ।’
असोज ३ गते अमेरिकाको एक अनुसन्धान केन्द्रले नेपालका दश शक्तिशाली नेताहरुको सुचीमा एमाओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई क्रमशः नम्बर एक र नम्बर दुई स्थानमा राखेको रिपोर्ट सार्वजनिक भएको थियो । जनतामा प्रभाव र व्यक्तित्वको आधारमा अमेरिकी संस्थाले नै गरेको त्यो सर्वेक्षणले प्रचण्ड र बाबुरामलाई शीर्ष स्थानमा राखेको घटना नेपालमा एकथरीलाई चित्त बुझिरहेको थिएन ।
जुन दिन यो रिपोर्ट नेपाली मिडियाहरुमा पनि सार्वजनिक भयो, त्यही दिन साँझ होटल अन्नपूर्णमा नागरिक दैनिकका सम्पादकले अमेरिकी र जापानी अज्ञात पात्रहरुलाई भेटनुको उद्देश्य स्पष्ट थियो, माओवादी नेतृत्वमाथि प्रचार प्रत्याक्रमण ।
होटल कर्मचारी शुत्रका अनुसार त्यो साँझ केही समयपछि एकजना सेतै कपाल फुलेका गोरो वर्णका अधवैंशे पनि आएका थिए । उनी थिए, कनकमणी दिक्षित । उनको स्वर अली चर्को थियो । अली हतास देखिन्थे ।
‘इलेक्सनको बेलामा यसरी हाम्रै साइड (अमेरीकी पक्ष)बाट उनीहरु (प्रचण्ड र बाबुराम)कै पक्षमा सर्वेक्षण आउन नहुने, मिस्टेक भयो नी । न्युयोर्कको त्यो कुन चाँही संस्था हो, त्यसलाई लवीङ गरेर भए पनि हाम्रो रिपोर्ट हैन भनेर भन्न लगाउनुप¥यो’, वाइनको चुस्की लिदै कनकले भने ।
‘अब हामी अली आक्रामक हुनुपर्छ । त्यस्तो रिपोर्टले केही हुदैन । जनयुध्दका ज्यादतीका बारेमा अझै लेख्नुपर्छ, अली हाइ भोलुममा’, प्रतिकले भने–थबाङ्मा प्रचण्डकै समर्थक भड्किएको समाचार कान्तिपुरले छापेझैं हामीले पनि अब त्यस्ता पुराना घटनालाई बाहिर ल्याउनुपर्छ ।’
त्यसपछि कनकले डायरीमा केहीबेर केही बुँदा कोरे । डायरीका केही पाना च्यातेर प्रतिकलाई दिए । ‘यसलाई म भोलिको म्याटरमा मेन्सन गर्नेछु’, प्रतिकले भने । अनी वाइनको चुस्की लगाए । छेउमै रहेको पिनट्सका केही गेडा झिकेर मुखमा राखे । चपाउँदै उनले भने, ‘नागरिकको लाइन कस्तो छ त ?’ कनकले हास्दै भने, ‘एकदम बोल्ड । पावरफुल छ । किशोर गएपछि बल्ल ट्रयाकमा आयो ।’
अमेरिकी र जापानी नागरिक को थिए, त्यो रहष्यमय छ । उनीहरुसँग कनक र प्रतिकले पालैपालो एकान्तमा पनि कुराकानी गरेका थिए । राती ११ बजेतिरर त्यो समुह होटल अन्नपूर्णबाट बाहिरिएको प्रत्यक्षदर्शी बताउँछन् ।
पर्सीपल्ट असोज ५ गतेको नागरिक दैनिकमा सम्पादक प्रतिक प्रधान स्वयंको ‘बाइ लाइन’मा ‘आवेगको आगो’ शिर्षकमा मुख्य सामाग्री प्रकाशित भयो । त्यो सामाग्रीको लेखनशैली, त्यसमा उल्लेख गरिएका सूचना र सावित गर्न खोजिएको आशय हेर्दा त्यो सामाग्री प्रायोजित थियो भन्ने सामान्य पाठकले पनि अन्दाज लगाउन सक्थ्यो । त्यस लेखको सार थियो – दस वर्षको जनयुध्दले प्राप्त गरेका उपलव्धी माथि भयानक हमलाका ।
होटल अन्नपूर्णमा प्रतिक प्रधान, कनकमणी र विदेशीहरुको विबादास्पद भेटघाट र नागरिक दैनिकमा एमाओवादी नेताहरुको चरित्र हत्या गर्ने खालका सामाग्री प्रकाशित हुनु कुनै संयोग थिएन, त्यो नियोजित सिलसिलाको एउटा प्रकट कडी मात्र थियो । नागरिक दैनिकमा डा. बाबुराम भट्टराई र प्रचण्ड माथिको ‘गाली गलौज’का पछाडि प्रतिक प्रधान मात्र हैन, पश्चिमा शक्ति नै लागेको त्यसले स्पष्ट गथ्र्यो ।
अमेरिकी गोटी
सन् १९९३ मा काठमाडौं पोष्टबाट सम्वाददाताका रुपमा पत्रकारिता थालेका प्रतिक प्रधानको पश्चिमाहरुसँगको सँगत त्यसबेलादेखिकै हो । उनी काठमाडौं पोष्टको सम्पादक नै भए । काठमाडौं पोष्टमा हुँदादेखी नै जुलीया चाङ ब्लक यताका हरेक अमेरिकी राजदूतसँग उनको उठबस भएको देखिन्छ । विस्तारै प्रतिकको कनेक्सन पश्चिमाहरुसँग गाढा हुँदै गयो । नेपाली नेताहरुसँग गोप्य सूचना फुत्काउने र अमेरिकीहरुलाई ति सूचना उपलव्ध गराउने काममा उनको संलग्नता समेत रहेको श्रोत बताउछ ।
अमेरिको हार्वड विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेका प्रतिक केही वर्षअघि मात्र फुल ब्राइट स्करलरशीपमा अमेरिकामा अध्ययन गरेर फर्किएका हुन । ज्ञानेन्द्रको शासनकालमा तात्कालीन राजदूत जेम्स एफ. मोरीयार्टीसँग हिमचीम बढाएका यी काँग्रेसी पत्रकार ‘राजा र संसदवादी दल मिलेर माओवादीलाई तह लगाउनुपर्ने’ मोरीयार्टी लाइनकै पक्षमा थिए । अमेरिकी स्कलरशीप नपाएको भए उनी काँग्रेसको कोटामा पत्रकार महाँसघको अध्यक्ष लडने ताकमा थिए ।
पत्रकारिता गर्दा गर्दै व्यापारीहरुसँग आर्थिक मोलमोलाइ र बिजनेश डिल गर्न माहिर भैसकेका र पत्रकारिता गरेको छोटो समयमै अकुत सम्पत्ती कमाएका प्रतिक कान्तिपुर दैनिकमा मार्केटिङ प्रमुृखसमेत भए । कान्तिपुर दैनिकमा कैलाश शिरोहीया र विनोद ज्ञवालीवीच कलह चर्किएपछि भने अवसरवादी चरित्रका प्रतिक विनोद ज्ञवालीको रिपब्लीका दैनिकको सम्पादक भएर गए । प्रतिक यसवीचमा आर्थिक पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार समाज ‘सेजन’को संस्थापक अध्यक्ष समेत भए । डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा उनी चाकडी गर्न बेला बेलामा पुग्ने गर्थे । २०६७ सालदेखि आर्थिक विषयको ‘कारोबार दैनिक’को प्रकाशन सुरु भयो । प्रतिक स्थापनाकालदेखि नै सम्पादक रहे । २०७० साल जेठमा प्रतिकले कारोबार दैनिकबाट पनि राजिनामा दिए । अचेल उनी नागरिक दैनिकमा सम्पादक छन् ।
प्रतिक सम्पादक भएर आएयता नागरिक ‘दैनिक हिमाल खबरपत्रिका’मा परिणत भएको पुराना पत्रकारहरु बताउँछन् । एमाओवादीको खोइरो खन्नु नागरिक दैनिकको धन्दा नै भएको छ । कुनैबेला ‘भक्तमान श्रेष्ठको अपहरणमा एमाओवादीको हात’ भनेर झुठो समाचार लेखेर नांगिएको नागरिक दैनिकलाई धमाधम पत्रकार र कर्मचारीले छाडेर जाँदैछन् । किशोर नेपालले छाडेपछि यो पत्रिकाको सन्तुलित धार भुत्ते भएको छ र यसले पश्चिमा शक्तिको उक्साहटमा एमाओवादीको विरोधलाई नै मुख्य सम्पादकीय नीति बनाएको स्पष्ट हुन्छ, अन्नपूर्ण होटलको भेटवार्ताबाट पनि ।
बाबुराम भट्टराईमाथिको गाली गलौजपछि अब प्रचण्डमाथि पनि सिलसिलेबार आक्रमण गर्ने उनीहरुको योजना छ । ‘काँग्रेस र एमाले त मरेका लास भइसके । उनीहरुको दृष्टीमा बाबुराम पनि कमजोर पात्र नै हुन, तर कमजोर भए पनि हात्ती नै भएकाले उनीमाथिको आक्रमण चर्किएको हो’, नागरिक दैनिकमै कार्यरत एक पत्रकार भन्छन, ‘बाबुराम र प्रचण्डलाई बारम्बार ठोक्नु, सानो निहुँ पाए पनि नछाडनु, भाषणलाई तोड मरोड गरेर भए पनि बिबादमा पारिरहनु भनेर माथिको आदेश आएको छ ।’
पश्चिमा डिजाइन
प्रतिक प्रधानको गोयबल्स शैलीको प्रोपोगन्डाले अहिले नेपाली मिडियामा पश्चिमा प्रभाव बढदै गएको संकेत गर्छ । डलरको प्रलोभन देखाएर केही व्यवसायिक छवी भएका पत्रकारलाई पनि पश्चिमाहरुले नकारात्मक प्रयोजनका लागि सँगठित गरिरहेका छन् । खुबी भएका र बिगतमा व्यवसायिक पत्रकारिता गर्दै आएका पत्रकार पनि अचेल पश्चिमाहरुको डलरको मोह र खासगरी कनकमणी मार्का पत्रकारको उक्साहटमा बरालिएको देखिन्छ । पश्चिमा प्रभावमा परेका पत्रकारहरुको प्रचार अभियानमा यतिखेर निम्न शुत्रले काम गरेको देखिन्छ ः
१) जनयुध्दमा भएका घटनालाई उछाल्नुृ । बाँदरमुढे बम विष्फोट, फुजेल प्रकरण र अन्य यस्ता केही घटनालाई बारम्बार उछालिरहनु । प्रचण्डले बारबार कुरा फेरी रहन्छन् भनेर होहल्ला गर्नु ।
२) नेपाली जनतामा रहेको राष्ट्रवादी भावनालाई नकारात्मक कोणबाट उत्तेजित पार्नु् । खासगरी राजा महेन्द्रको खोक्रो मन्डले राष्ट्रवादकै सोचलाई मिडियामा हो–हल्ला गरेर एमाओवादीलाई भारतपरस्त सावित गर्न खोज्नु ।
३) जेम्स एफ मोरीयार्टीको ‘राजा र संसदवादी दल मिल्नुपर्छ’ भन्ने यथास्थितिवादी सोचलाई साकार पार्न राजतन्त्र ब्युताउँने कोशिस गर्नु । पंचायती प्रधानमन्त्री मरिचमानको गुनगान गाएर युवराज घिमिरेहरुले लेख लेख्नुको अर्थ एउटै थियो, अहिलेका नेताभन्दा बरु मरिचमान नै राष्ट्रवादी थिए भनेर साबित गर्नु ।
४) नेतृत्वलाई प्रहार गरेपछि आन्दोलन कमजोर हुनसक्छ । अहिलेको संघीयता, पहिचान, समावेशीकरणको मुद्दा सभ्रान्तहरुलाई मन परेको छैन । यसलाई भाँडन उनीहरुको एउटै कोशिस भइरहेको छ, यो समग्र परिवर्तन प्रकृयाको नेतृत्व गर्ने प्रचण्ड र बाबुरामजस्ता नेताहरुको व्यक्तित्व क्षय गर्नु । विद्रोहको मैदानबाट उदाएका यी नेतालाई एमाले र काँग्रेसका नेता झैं पदलोलुप, भारतपरस्त सावित गर्नु ।
५) नेपालमा भारत र चीनको प्रभाव रहिरहे अमेरिकी स्वार्थ पुरा हुन सक्दैन । अमेरिका नेपालमा ‘बेस’ बनाएर चीनलाई घेर्न चाहन्छ । यहाँ फ्रि तिब्बत गतिविधि चर्काउन चाहन्छ । त्यो अमेरिकी मिसनका लागि काम गर्नु । अमेरिकी स्वार्थमा काम गरेपछि फुलब्राइट स्करलरसीप, ग्रिन कार्ड र विदेश भ्रमण गर्न पाइने भएकाले पत्रकारहरुको त्यसतर्फ झुकाव बढनु स्वाभाविक हो । कनकमणी मार्का पत्रकारको डलरको जुन संजाल छ, त्यो संजालभित्र पर्ने लोभमा पनि केही पत्रकार मुलुकको परिवर्तन प्रकृयाको विरोधमा पश्चिमाहरुको गोटी बनिरहेको र केहीले त्यसबाट लाभ लिइरहेको स्पष्ट देखिन्छ ।
एउटा व्यवसायिक पत्रकार प्रतिक प्रधानलाई पश्चिमाहरुले आफनो गोटी बनाउनुका पछाडि सारमा यही कारण छन् ।
कस्तासंग सँगत
प्रतिक प्रधान हेर्दा सोझा, मिलनसार र भलादमी नै देखिन्छन् । धेरै पत्रकारको दृष्टिमा प्रतिक व्यवसायिक पत्रकारमा गनिन्छन् । तर, उनको विबादास्पद सम्बन्ध र गतिविधि भने डरलाग्दो छ । विश्वस्त सुत्रका अनुसार प्रतिक प्रधानको कनेक्सन अन्र्तराष्ट्रिय समुहहरुसँग पनि गाँसिइसकेको छ । उनको माफिया डनहरुसँगको सँगत भने एनआरएन नेता भवन भट्टको सँगतपछि नै कायम भएको हो ।
‘कारोबार दैनिक’का लगानीकर्ता गैर आवासीय नेपालीको संस्था ‘एनआरएन’का तात्कालीन कोषाध्यक्ष भवन भट्ट थिए, जसले नेपालमा ‘भगवान बुध्द एयरवेज (बिबि एयरवेज)को उडान थालेका थिए । प्रतिक प्रधान बिबि एयरवेजको सिइओ बने । भवन भट्ट र प्रतिकको समुह ठगी गर्नकै लागि हवाइ उडान क्षेत्रमा आएको रहेछ भन्ने कुरा त्यसबेला प्रमाणित भयो, जव तिन महिना पनि नपुग्दै बिबि एयरवेज बन्द भयो ।
बिबि एयर खासमा जापानी माफियाहरुको कालो धनलाई सेतोमा परिणत गर्ने उद्देश्यले स्थापना गरिएको थियो । कालो धनलाई चोख्याउने काममा प्रतिक प्रधानको प्रशासनिक र आर्थिक कुशलताको उपयोग गरे, भट्टले । बीबी एयरवेजले २०६८ चैत ३० गते उडान सञ्चालन अनुमतिपत्र ‘एओसी’ पाएको थियो । यो कम्पनीलाई अनुमती दिलाउन प्रतिक प्रधानले आफनो शक्ति र पहुचको प्रयोग गरेका थिए ।
खासमा यसका अध्यक्ष भट्टले जापानी डनहरुको कालोधनलाई सेतो बनाउने काममा मूख्य भूमिका निर्वाह गर्दै आएका थिए । कालो धनलाई सेतो बनाउन सञ्चारमा लगानी गर्ने हरुकै अर्को संस्करण थिए, प्रतिक र भट्टको समुह । बिबि एयरमा लगानी गर्ने जापानी कम्पनी ‘याकुजा’ खासमा जापानको मनि माफिया समुह हो । जापानमा भट्टका विभिन्न होटल, ६० वटा भन्दा बढी रेस्टुरेष्ट र अन्य ब्यापारमा याकुजाकै लगानी छ । बिबि एयरलाइन्समा पनि जापानको भूमिगत गिरोह याकुजाको लगानी रहेको नेपालको सुरक्षा निकायले चाल पायो । डनहरुको संजालले विभिन्न आपराधिक कामबाट जम्मा गरेको पैसा भट्टमार्फत बीबी एयरवेजमा लगानी गरेको सुरक्षा स्रोतले थाहा पाएपछि अनुसन्धान सुरु भयो ।
बिबि एयरको पक्षमा प्रतिक प्रधानले सरकारदेखि मिडियासम्ममा ठुृलो लवीङ गरेका थिए । उदघाटन हुँदा नै एक महिनाभित्र बोइङ ७५७ र फेरी ७६७ बोइङ पनि ल्याउने दावी गरेका थिए, प्रतिकले । त्यसै साल असोज २५ मा मलेसिया उडान सुरु गरेपछि हङकङ र अस्ट्रेलिया र युरोप हुँदै अमेरिका उडाउने योजनासमेत सार्वजनिक गरिएको थियो । तिन महिना पनि नबित्दै त्यसको उडान बन्द भयो । गैरआवासीय नेपालीको लगानी रहेको भन्दै विश्वभर प्रचार गरिएको बीबी एयरवेज जहाजविहीन भयो ।
बीबीलाई जहाज भाडामा दिइरहेको ताइवानस्थित टोन्लेसाप कम्पनीले तीन महिना नबित्दै जहाज फिर्ता लग्यो । बीबीले सम्झौताअनुसार भाडावापतको रकम भुक्तानी नगरेपछि टोन्लेसापले जहाज फिर्ता लगेको थियो । बिबि एयरको त्यो हालत देखेपछि चलाख प्रतिक बिबि एयरबाट अलग भए ।
तैपनि जापानी माफियाहरुसँगको उनको सँगत भने अझै बरकरार छ । सायद, होटल अन्नपूर्णमा आएका ति जापानी कतै ‘याकुजा’ नामक उही डनहरुको समुहको सदस्य त थिएनन ? कतै त्यही याकुजा समूहको लगानी अहिले नागरिक दैनिकमा भैरहेको त हैन ? खोजिको विषय भएको छ ।