Monday, August 20, 2012

विश्व साइकलयात्रीका ठगिएका अनुभव - nayapatrika

अफ्रीकामा लुटिएका तीन घटना

अफ्रीकामा म थुप्रैपटक लुटिएँ, लगभग सातपटक । पाँच डलरकै लागि पनि कसैलाई गोली हानिदिने ठाउँ रहेछ, त्यो । जोहानेसबर्गमा पनि पाँचै डलरका लागि मारिदिने रहेछन् । बन्दुक साथमा छँदै छ, दुई डलर खर्च गरेपछि गोली आइहाल्छ । एकजनालाई मार्दा तीन डलर फाइदा । झन् गोली पनि लुटेर ल्याएको रहेछ भने पाँचै डलर फाइदा । त्यहाँ घडी लगाएको मान्छे देख्नै नहुने । कोही त्यस्तो देखियो भने या त्यो भर्खर विमानबाट ओर्लेर आएको हो, या त्यो लुटेरै हो ।
माली भन्ने देशको नाम सुन्नुभएकै होला । ठगहरूको स्वप्ननगरी रहेछ, त्यो । सहरभन्दा पनि मरुभूमिको गाउँजस्तो । त्यहाँको एउटा डकुमेन्ट्री कम्पनीले 'पुष्कर इन तिमुक्तु' बनायो । मसहित चारजना थियौँ । हामी जानुपर्ने त्यस्तै डेढ/दुई किलोमिटर जति टाढा थियो । पहिलोचोटि ट्याक्सी चढ्न लागियो । ट्याक्सीलाई कति पर्छ भनेर सोध्दा 'दुई डलर सर'  भन्यो । ओर्लने वेला त एकजनाको दुई डलर भन्छ । र्फकंदा अर्को ट्याक्सीलाई 'कति' भनेर सोध्यौँ, दुई डलर भन्यो । दुई डलर चारजनाको कि एक जनाको भनेर सोध्यौँ फेरि । चारजनाकै भन्यो । ओर्लने वेला पनि दुई डलर दियौँ । 'दुई डलर त मान्छेको पो, झोलाको अर्को दुई डलर पर्छ' पो भन्छ ।
त्यसो त अफ्रीकामा दर्जनचोटि लुटिएपछि बल्ल परिपक्व भइन्छ भन्दा रहेछन् । एकचोटि हामीलाई २५ किलोमिटरजति टाढा जानुपर्ने थियो । ट्याक्सीमा कति लाग्छ भनेर सोध्यौँ । २५ डलर भन्यो । छिनोफानो त गर्नैपर्‍यो । २५ डलर चारजना लागि हो भनेर सोध्यौँ । उसले हो भन्यो । मैले सोधेँ, 'झोलाको बेग्लै लाग्छ ?' उसले भन्यो, 'लाग्दैन ।' सिटमा बसेको ? लाग्दैन । झ्याल खोलेको ? लाग्दैन । तिमीसँग कुरा गरेको ? लाग्दैन । अनि चढेर गइयो । पाँच मिनेट जति पर एउटा पेट्रोल पम्पमा गएर रोक्यो ट्याक्सी । 'लौ ट्याक्सीमा पेट्रोल भर' पो भन्छ । पेट्रोलको त कुरै भएको छैन । 'कि पेट्रोल भर, कि पैसा तिर' भनेर एकदम थर्कायो । ट्याक्सीबाट झोला झिक्न पनि दिँदैन । अनि बल्ल-बल्ल यस्तो छुद्रसँग नजाने बरु दस डलर तिर्ने भनेर तिरियो । म त भन्छु, एक-दुई देश छाडेर अपि|mका नजाँदै राम्रो । 
एक दिन म जोहानेसबर्गबाट केन्डोल पार्क जान पर्‍यो । २५ किलोमिटर टाढा रहेछ । जोहानेसबर्गमा एकजना नेपाली बहिनी पढ्नुहँुदो रहेछ । त्यो बहिनीलाई भेटेर र्फकंदा केन्डोलपार्क जाने अन्तिम बस पनि छुटेछ । अब कसरी जाने ? २५ किलोमिटर हिँड्ने कुरा पनि भएन । त्यहाँको लुटको कहानी सुन्दासुन्दा हैरान भइसकेको थिएँ । पाँच-सातपटक लुटिएको त गन्ती नै हुन्न भन्थे, एकजना नेपाली विद्यार्थी । कोही त पन्ध्र-बीसपटक लुटिइसकेका रहेछन् । रात पर्न थालेपछि डर लाग्न थाल्यो । ती बहिनीले फोनमा यसो-यसो गरेर यसरी जानु भनिन् । अनि, त्यहाँ मान्छेलाई सोधेँ । केन्डोल पार्क र जोहानेसबर्गको बीचमा ग्लेनमारियस भन्ने एउटा सहर रहेछ । त्यो सहरसम्म जाने एउटा माइक्रो पाइयो । त्यहाँबाट अर्को बस पाइन्छ भनेर बसका मान्छेले भनेपछि माइक्रो चढेर गएँ । ग्लेनमारियस पुग्दा त पूरै अँध्यारो भयो । बज्न त त्यस्तै सात बजेको हुँदो हो तर सहर पूरै अँध्यारो न अँध्यारो थियो, चुक खन्याएजस्तो । म जिल्ल परे । के भएको भनेर सोधेको त यहाँ यस्तै लोडसेडिङ छ, सबै छिटै सुत्छन् भन्छन् । त्यहाँबाट जोहानेसबर्ग जाने गाडी पनि सकिइसकेछन् । 
'रेल आउँछ, त्यसैमा जाऊँ' भने दुइटी महिलाले । यता नेपाली साथीहरूले चाहिँ 'रेलमा कुनै हालतमा नचढ्नु' भनेका थिए । के गर्ने, अझै १२ किलोमिटर हिँड्नु छ । साथीहरूलाई फोन गरेँ- लौ मलाई त यस्तो पर्‍यो भन्दै । अनि, उनीहरूले 'ल त्यसो भए त्यही बसिराख्नु, हामी ट्याक्सी लिएर आउँछौँ' भने । कति समय लाग्छ भनेर सोधेको 'त्यस्तै २०-२५ मिनेट' भने ।
२५ मिनेट के गरी बिताउने ? अनि, यसो आँखा लगाउँदै जाँदा एउटा गल्लीमा उज्यालो-उज्यालोजस्तो देखियो । अनि, त्यतैतिर गएँ के रहेछ भनेर । मैले सधैँ बोक्ने झोला बोकेको थिएँ, विभिन्न देशका झन्डा भएको । त्यो झोला देखेपछि मानिसहरूलाई अचम्म लाग्ने रहेछ यो विदेशी हो भनेर । त्यो बार रहेछ । मान्छेहरू बियर खाँदै फुटबल हेरिराखेका रहेछन् । त्यो बारमा ठुल्ठूला फलामका बार थिए, पैसा छिराएपछि बल्ल बियर निस्कने । टेलिभिजन पनि ठुल्ठूला फलामे रडले छेकेका ।  अब यहाँ जोडी त मिल्नैपर्‍यो भन्ने लाग्यो । मैले पनि एउटा बियर किनेँ । सट्ट त्यो बियर पिएँ । अबचाहिँ बल आयो ।  कोही आइहाल्यो भने लौ आइज त भनेर बोतलसातल फुटाएर तर्साउनचाहिँ हुने भयो भन्ने लाग्यो । त्यो बियर सकेपछि अर्को मागेँ । भएभरिका मान्छे मलाई नै हेरिरहेका थिए । 
कसले कताबाट लुट्छ भनेर डरले मन ढुकढुक भएको छ । यता फुटबल पनि सकियो । दुईजनाबाहेक अरू लाखा-पाखा लागे । ती दुईले मलाई हेर्दै के-के कुरा गर्दै छन् । सके मलाई लुट्ने योजना बनाउँदै होलान् । त्यसै वेला मेरो फोन बज्यो । साथीहरू आइपुगेछन् । 'कहाँ हुनुहुन्छ' भनेर सोधे । म बारमा छु भनेर बाहिर निस्किएँ । बाहिर कोही पनि छैन । कहाँ हो तपाईंहरू भनेको त 'हामी बार बाहिर' भन्छन् । अर्कै बार परेछ ।  हिँड्दै-हिँड्दै गएँ । 'ग्लेनमारियसो रेल स्टेसन अगाडि होइन ?' भनेको, 'हो' भने । रेल स्टेसनअगाडि एउटा मानिस बसिराखेको थियो । त्यसलाई 'लौन यो कहाँ पर्‍यो, म त हराएँ, फोन गरेर सोधिदेउ' भनेर फोन दिएँ । त्यो त फोन लिँदाबित्तिकै दुई-तीन सेकेन्डमै टाप कसिहाल्यो । भाग्न लागेपछि च्याप्प समातेको त थिएँ तर झड्कारेर अँध्यारोमा कता भाग्यो कता । धन्न साथीहरू छेवैमा भेटिए । ट्याक्सी लिएर आएका रहेछन् । लौ छिटो-छिटो चढ्नुस् भने । 'मेरो फोन नै लग्यो' भनेको त 'तपाईंको लग्यो, हाम्रो जोगाउन परेन ?' पो भन्छन् ।

न्युयोर्कमा पाँच डलर लिएर हिँड्नू

नेपालमा जुन देशको जस्तोसुकै किन नहोस्, गोरो छाला देखेपछि योसँग डलरैडलर होला भन्ने ठानिन्छ । 'पर्यटक हो, योसँग झोलाभरि डलर होला' भनेर मलाई अफ्रीका र दक्षिण अमेरिकामा धेरै पटक दुःख दिए । त्यसो त लुटिन अमेरिका पनि कम छैन । न्युयोर्कमा म एकपटक खल्तीमा पाँच-दस डलर नभएको मारिन सक्थेँ । अफ्रीकाकी मूलका मान्छेसित पाँच-दस डलर माग्छन्, नदिए रिसमा गोली नै पनि हान्न सक्छन् । एउटा रमाइलो प्रसंग छ । एकजना नेपाली दाइ भर्खर अमेरिका पुग्नुभएको रहेछ । पुराना नेपालीले राति हिँड्दा महत्त्वपूण्र्ा चिजबिज र पैसा नबोक्न, अलि विचार गरेर हिँड्डुल गर्न सिकाएका रहेछन् । एकदिन कामबाट र्फकंदै गर्दा एउटा गल्लीमा कालेले समातेछ र पाँच डलर मागेछ । नेपाली दाइले पनि नेपाली पाराले 'छैन' भनिदिनुभएछ । त्यसपछि हात समातेछ र गोजीसोजी छामछुम पारेछ । उनीसँग साँच्चै पाँच डलर पनि रहेनछ । त्यसपछि एकदम रिसाएको कालेले जमाएर एक चट्कन हानेछ  र आदेश दिएछ, 'अबदेखि जहिले पनि कम्तीमा पाँच डलर बोकेर हिँड्नू, नत्र फेरि खान्छस् ।' 

मोबाइल भन्दै साबुन बेचे मलाई

यो इटालीको कथा हो । एकजना साथीलाई भेट्न म रोमको सेन्ट्रल स्टेसन जाँदै थिएँ । स्कुटरमा आइरहेको एक पुरुषले सडकको एक कुनामा रोकिएर सोध्यो 'ओ सर, तपाईंलाई मोबाइल फोन चाहिन्छ ?' भन्नासाथ फोन पनि गोजीबाट निकालिहाल्यो । मैले चाहिन्न भनेँ । त्यसरी बेचिने धेरैजसो फोन चोरीका हुन्थे र पछि अनावश्यक लफडामा पर्ने डर थियो । ऊ भने पछि लागेको लाग्यै गर्‍यो । 'यो एकदम राम्रो हो, एकदम राम्रो मोडेलको हो, सस्तोमा दिन्छु' भनेर हत्ते गरिरह्यो । वास्तै नगरी हिँडिरहेँ तर
मलाई पछ्याइरह्यो ।
फोन नोकियाको थियो । 'नयाँ किन्दा तीन सय युरो पर्छ' भन्यो । मैले त्यसै 'कतिमा दिने त' भनेर सोधेँ । उसले 'डेढ सय' भन्यो । मैले नमानेपछि उसैले सोध्यो, 'कति दिने त ?' मैले '४० युरो' भनेपछि ऊ सयमा आयो । मैले मसँग त्यति पैसा छैन भनेँ । ऊ ८० मा आयो, अनि ७० मा ।  मैले चलाइरहेको फोन खुइलिएर थोत्रो भइसकेको थियो । त्यसैले मिलाएर दियो भने किनूँ न त भन्नेमा पुगँे म । मनमनै प्रहरीको डर पनि लागिरहेको थियो ।
ऊ धेरैबेर ७० युरोमा अडियो । मसँग ४० युरो मात्रै थियो, त्यही भनेँ । एकछिन घोरिएर हुन्छ भन्यो र मैले एकदमै सस्तोमा एकदम राम्रो माल भेटेको भन्दै प्रशंसा पनि गर्‍यो । अनि सानो थैलोमा मोबाइल बेरेर दियो र 'प्रहरीले नदेख्नेगरी लुकाउनुस्' पनि भन्यो । म मख्ख थिएँ । केही बेरपछि सिमकार्ड नयाँमा सार्न पुरानो फोन झिकेँ । अनि, उसले दिएको थैली खोलेँ । हत्तेरी, हेर्दा हेर्दै बिताएछ बजियाले । त्यो फुच्चे थैलोमा मोबाइल जत्रै साबुन पो रहेछ ।


आफ्नै क्यामेरा चोरसँग किन्नुपर्‍यो

यो कंगोको घटना हो । मसँग ओर्जिनल सोनी क्यामेरा थियो, तर हेर्दा क्यामराजस्तो देखिन्नथ्यो । एक दिन म ब्राजभिलमा बाटोमा हिँड्दै थिएँ । एउटा गाडीनजिकै आएर ढ्याक्क रोकियो । अनि, गाडीबाट ओर्लनेहरूले भने- हामी प्रहरीहरू हौँ, तपाईंको परिचयपत्र देखाउनुस् । पासपोर्ट दिएँ । 'तपाइर्ं प्रहरी कार्यालय जानुपर्छ, पछाडि बस्नुस' भने । मेरो पछाडि दुईजना केटा थिए । दुई सय मिटरजति पर पुगेपछि तिनले बन्दुक निकाले । तिनीहरू कहाँ प्रहरी हुनु, लुटेरा रहेछन् । अगाडि बस्नेले बन्दुक ताक्यो, पछाडि बस्नेले हत्कडी लगायो । अनि, गाडी हुइँक्याउँदै त्यस्तै चार-पाँच किलोमिटर पर लगेर रोके । त्यसपछि 'तिमीसँग के-के छ' भनेर सोधँे । मैले 'क्यामरा छ' भनेँ । अरू के के छ भनेर सोधेपछि घडी र मोबाइल फोन दिएँ । मसँग २० डलर मात्रै थियो, त्यो पनि लगे । अनि 'धेरै धन्यवाद महासय !' भन्दै छोडिदिए । भएकोचाहिँ सबै लगिहाले धन्यवाद छोडेर के गर्नु ? 
अर्को दिन म कंगो रिपब्लिकको सीमा क्षेत्रबाट र्फकंदै थिएँ । त्यहाँ कंगो रिपब्लिक र कंगो डेमोक्रयाटिक भन्ने छुट्टाछुट्टै देश छन् । म रिपब्लिकको दूतावासबाट र्फकंदै थिएँ ।  आउँदै गर्दा देखेँ-त्यहाँ त घडी, मोबाइल, क्यामरा, लुगाफाटो साराका सारा बाटोमा बेचिँदै रहेछ । त्यहाँ जे पनि पाइने रहेछ । एउटाले सोध्यो- सर, तपाईंलाई रोलेक्स घडी चाहिन्छ ? कंगोको युद्धरत भूमिमा रोलेक्स घडी ? अचम्म लाग्यो मलाई । यसो हेरेको त साँच्चकै रोलेक्स घडीजस्तै छ । कति हो मूल्य भनेर सोधँे । पाँचसय डलर भन्यो । चाहिँदैन तेरो घडी भन्ने भयो । पाँच सय भयो भने त यो म साइकले तीन महिना बाँच्थेँ । त्यसैको छेउमा क्यामरा बेचिरहेका रहेछन् । हिजै मात्रै क्यामरा लुटिएको मेरो । खाँचो त परिरहेकै छ । यसै पनि क्यामरा किन्नै छ भने काम चल्ने खालको पुरानो क्यामरा किन नकिन्ने ?
हेर्दाहेर्दै एउटा क्यामरा देखेँ जुन मेरैजस्तो रहेछ । सोधेँ- कति पैसा हो भनेर । एक सय ५० डलर भन्यो । कस्तो रैछ त भनेर समातेर फोटो खिचेँ । क्यामराभित्र त मेरै फोटोहरू रहेछन् । मेरै क्यामरा पो बेच्दै रैछ, बजियाले त ! ल भयो त ? के गर्ने अब ? प्रहरीलाई भन्ने कि के गर्ने, गर्ने । कस्तो अप्ठेरो पर्‍यो भने । बरु तिनलाई नै खुसी बनाएर क्यामरा लगौँ भन्ने निण्र्ाय गरेँ, प्रहरीलाई खबर गरेर बबाल गर्नु भन्दा । किनभने म त बन्दुकै बन्दुकको केन्द्रमा न छु । कतै हतियार लुकाएर राखेको भए त बित्यास पार्छन् । सय-डेढ सय डलरका लागि मार्दिए भने त गयो ज्यान ! किन प्रहरीलाई भनेर तिनलाई रिस उठाउने ? वादविवाद र घटाघट गरेर एक सय डलर तिर्ने मन्जुरी गरेँ । अनि, सय डलर तिरेर आफ्नै क्यामरा किनेँ । त्यो बीचमा मैले कहिलेकाहीँ टायरमा पनि पैसा लुकाएँ । त्यतिखेर इन्टरनेट खोज्न नहिँडेको भए मोराहरूले बीस डलर पनि कहाँ भेट्थे र ?