Friday, April 29, 2011

प्रचण्डको प्रस्ताव पारित गर्दै माओवादी बैठक सम्पन्न पार्टी निर्णयप्रति उपाध्यक्ष वैद्यको नोटअफ डिसेन्ट - onlinekhabar

१६ वैशाख, काठमाडौँ । तत्कालका लागि जनविद्रोहको कार्यनीति स्थगन गरी शान्ति र संविधानलाई जोड दिएर अघि बढ्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव पारित गर्दै एकसाता देखि राजधानीमा जारी एकीकृत माओवादी केन्द्रीय समितिक बैठक आज सकिएको छ ।
अध्यक्षको प्रस्ताव बहुमतले पारित भएको बैठकपछि प्रवक्ता दिनानाथ शर्माले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
पार्टीको निर्णयप्रति असहमति जनाउँदै उपाध्यक्ष मोहन वैद्यले भने नोटआफ डिसेन्ट लेख्नु भएको छ ।
पालुङटार विस्तारित बैठकले जनविद्रोहमा जाने निर्णय गरेपनि पछिल्लो समय अध्यक्ष प्रचण्डले तत्काल जनविद्रोह सम्भव नभएको भन्दै कार्यनीति परिवर्तन गरी शान्ति र संविधानमा ध्यान केन्द्रीत गर्नुपर्ने प्रस्ताव ल्याएपछि माओवादीमा विवाद थियो ।
प्रचण्डले यसअघि स्थायी समितिमा उक्त प्रस्ताव ल्याएपछि वैद्य समूहले कार्यदिशा परिवर्तनका लागि केन्द्रीय समितिले निर्णय गर्नुपर्ने अडान लिएपछि शुक्रबार देखि बैठक बसेको हो ।
उपाध्यक्ष वैद्यले केन्द्रीय समितिमा अध्यक्षको प्रस्ताव विरुद्ध छुट्टै फरकमत पेस गर्नुभएको थियो ।
दुवै प्रस्तावका पक्ष विपक्षमा केन्द्रीय सदस्यहरुले बिहीबार आ-आफ्ना धारणा राखेका थिए ।
केन्द्रीय सदस्यको बोल्ने पालो सकिएपछि अध्यक्ष प्रचण्डले हिजै र उपाध्यक्ष वैद्यले आज बिहान सदस्यहरुले उठाएका जिज्ञाशाको जवाफ दिनुभएको थियो ।
बैठकमा बोल्ने मध्ये अधिकांश सदस्य अध्यक्ष प्रचण्डको प्रस्तावका पक्षमा उभिएका थिए ।
अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराईले पनि प्रचण्डको प्रस्तावको समर्थन गर्नुभएको छ ।
आज बिहान सदस्यहरुले उठाएका जिज्ञाशाको जवाफ दिने क्रममा उपाध्यक्ष वैद्य अध्यक्ष प्रचण्ड विरुद्ध खरो रुपमा उत्रनु भएको एक नेताले बताए ।
स्रोतका अनुसार वैद्यले बैठकमा प्रचण्डले ल्याएको प्रस्ताव सुधारवादी दिशारितको यात्रा भएको आरेप लगाउँदै त्यसले पार्टीलाई एमालेकरण गर्ने दावी गर्नुभएको थियो ।
आफूले प्रचण्डकै नेतृत्वमा नेपालमा नयाँ जनवादी क्रान्ति भएको हेर्न चाहेपनि अव त्यसको सम्भावना किनै कम हुँदै गएको भन्दै वैद्यले घुमाउरो भाषामा पार्टी नेतृत्वको दावी गर्नु भएको बुझिएको छ ।
बैठकपछि सञ्चारकर्मीसित प्रतिक्रिया दिँदै वैद्य पक्षीय स्थायी समिति सदस्य देव गुरुङले निर्णयमा नोटआफ डिसेन्ट जनाएपनि पार्टीको काम कारवाहीमा भने आफूहरु सहभागी हुने बताउनु भयो ।
मुल निर्णयमा असहमति भएपनि शान्ति प्रक्रियाको पूर्णता र संविधान निर्माणमा भने वैद्यको सहमति रहेको गुरुङको भनाई थियो ।
बैठकले वैद्यको फरकमतलाई पार्टीका तल्ला कमिटिसम्म छलफलका लागि लैजाने निर्णय गरेको केन्द्रीय सदस्य पुष्पविक्रम मल्लले अनलाइनखवरलाई जानकारी दिनुभयो ।
यस्तै पार्टीका तर्फबाट सरकारमा सहभागी हुने थपमन्त्रीको नाम तोक्ने जिम्मा भने पदाधिकारी लाइ दिइएको छ ।