उनी भगवान् नै हुन् भन्ने विश्वास गर्ने करोडौँ भक्तजनलाई निराश पार्दै साईबाबाले आइतबार संसार त्यागे। उनलाई सात फिट गहिरो र १२ फिट चौडा खाडलमा सुतेको अवस्थामा समाधिस्थ गरियो। उनको पार्थिव शरीरका साथमा कुरुक्षेत्रको माटो, नून, चाँदी, सुन र नवरत्न पनि राखियो। सोही ठाउँमा बाबाको सुनको मूर्ति केही दिनमा नै बनाइने बताइएको छ। साई केन्द्रीय ट्रस्टका केही प्रमुख सदस्यहरुको उपस्थितिमा मात्र अन्तिम संस्कार गरिँदैछ।
सन् २०२२ मा मात्र आफूले देह त्याग गर्ने घोषणा गरेका बाबाको निधनले उनी भगवान् थिएनन् भन्ने पुष्टि गरेको छ। मिडियाहरूमा आएको खबरअनुसार उनका कतिपय भक्तहरू भने अझ पनि उनी परलोक भएकोमा विश्वास नै गरिरहेका छैनन् रे। २०२२ आउन अझ ११ वर्ष बाँकी रहेकोले बाबा फेरि ब्युँतनुहुन्छ भन्ने उनीहरूको तर्क रहेछ। यी भक्तहरूको तर्क सही ठहरियोस् भन्ने कामना गर्नु बाहेक अहिलेलाई अरू के नै पो गर्न सकिन्छ र?
साईबाबाका ‘हार्डकोर’ भक्तहरूबाहेक अरूले सामान्यतया स्वीकारेको कुरा के हो भने उनी एक परोपकारी मानव, आध्यात्मिक गुरु र मध्यमस्तरका जादुगर थिए। साई-साहित्यको अध्ययन गरेको जोकोहीले पनि अनुभव गर्ने कुरा हो- ती अत्यन्त उच्चस्तरका छन्। तिनले प्रेम, करुणा,अहिंसा, परोपकार र बन्धुत्वको पाठ नै सिकाउँछन्। उनी सबै धर्मप्रति उत्तिकै सहिष्णु थिए र धर्मको पालनाबाट नै मानव समाज सभ्य,शान्त र सुखी रहनसक्छ भन्ने शिक्षा दिन्थे। यसमा कोही पनि सभ्य मानिसले असहमति जनाउने ठाउँ छैन।
ठूला-ठूला स्कुल, कलेज र अस्पताल खोलेर बाबाले उदाहरणीय काम गरेका हुन्। राष्ट्रलाई तिर्नुपर्ने कर नतिर्ने भ्रष्टाचारीहरू र कसैलाई एक रुपैयाँ सहयोग गर्नुपरे दाँतबाट पसिना चुहाउने कञ्जुसहरू पनि साई केन्द्रलाई लाखौं रुपैयाँ खुशीसाथ चन्दा दिन्थे। हाम्रै देशका कतिपय करमारा व्यापारीहरू, नैतिकताहीन नेताहरू र घुसखोर प्रशासकहरू पनि बाबाको आशीर्वाद लिन पुट्टपर्ती पुग्थे। बाबाले यिनीहरू कसैलाई हप्काएको खबर सुनिएन। बरु, उनीहरू हँसिलो मुद्रामा बाबासँग फोटोसेसन गराएर पो फर्कन्थे। र, फर्केर आएपछि पनि यिनीहरू सुध्रिएको कसैले अनुभव गरेनन्।
जर्ज अर्वेलले आफ्नो विख्यात उपन्यास ‘एनिमल फार्म’ मा लेखेकै शैलीमा पुट्टपर्ती आश्रममा ‘सबै भक्त बराबर हुन् तर केही भक्तहरू भने अझ बढी बराबर हुन्’ भन्ने मान्यतामा दर्शनार्थीहरूसँग व्यवहार गरिँदो रहेछ। सुकिला-मुकिला, धनी, दानी र सेलिब्रिटीले विशेष प्राथमिकता पाउँदा रहेछन्। क्यान्सर रोग लागेपछि बाबालाई भेट्न पुगेका साहित्यकार जगदीश घिमिरेले आफ्नो पुस्तक ‘अन्तर्मनको यात्रा’मा आफ्नो अनुभव यसरी लेखेका छन्:
‘हाम्रो चार दिने बसाइमा बाबाको उपस्थितिमा भएका भजनहरूमा हामी छ खेप सहभागी भयौँ। मेरो भिजिटिङ कार्डको वजनले गर्दा पहिलेका तीन खेप सबभन्दा अगाडिको पंक्तिमा बाबानेर बस्ने टिकट पायौँ। पछि रेखा बुहारीले बाबाको गौशालामा राम्रै रकम दान गरेपछि त झन् मान बढ्यो र बाँकी खेपहरूमा पनि अगाडि नै बस्ने मौका पायौँ। त्यो मात्रै होइन, दानको गहकिलो रकम पाएपछि पैले राम्ररी नबोल्ने, वास्ता नगर्नेहरू अति नम्र भएर मानमनितोसमेत गर्ने भए।’
भैगो, यो पक्षलाई बिर्सिदिउँ। हुनेखानेले दिएको चन्दा (भलै तिनले आफ्नो मनोकामना पूरा हुने अभिलाषाले दिएका किन नहुन्)बाट निर्माण भएका स्कुलमा गरीबका छोराछोरीहरूले पनि पढ्न पाउनुलाई सकारात्मक मान्नुपर्छ। असाध्य रोग लागेका तर खर्च गर्ने सामर्थ्य नभएका गरीबहरूले पनि साई अस्पातलमा अति न्यून खर्चमा वा सित्तैमा उपचार पाउने प्रबन्ध मिलाउनसक्नुमा बाबाको ठूलो देन छ। हुनेहरूबाट लिएर नहुनेहरूको हितमा खर्च गर्ने बाबा साँचो अर्थमा महान् कम्युनिस्ट नेता हुन्। कम्युनिज्मका कुरा गर्ने तर राजस्वमारा कालाव्यापारीहरूको हितमा काम गर्ने हाम्रा नेताहरूले पनि पुट्टपर्तीबाट सिके राम्रै हुन्थ्यो।
जसरी सेक्सको कुराबिना ओशोको चर्चा पूरा हुँदैन, जादुगरीको पाटो नउप्काई साईबाबाको बखान पनि पूरा हुँदैन। त्यत्रा ठूला आध्यात्मिक गुरु र समाजसेवी बाबा किन सस्ता जादूगरी देखाउँथे होलान्? औँलाको बीचमा चक्की राखेर धुलो पिस्ने वा बाहुँलाभित्र सिक्री, घडी लुकाएर पछि भक्तलाई दिनेजस्तो हल्काफुल्का काम किन गर्थे होलान्? टाइम्स अफ ईन्डियाका स्तम्भकार सीपी सुरेन्द्रनले एउटा लेखमा उनकी आमाको साईबाबासँग भएको भेटको बयान गरेका छन्। बाबाले उनकी आमालाई सबै भक्तहरूको अगाडि केही न केही माग्न भनेछन्। सुरुमा उनले केही पनि चाहिँदैन भनिछन् र बाबाले धेरै कर गरेपछि मुख खोलिछन्,’मलाई एउटा रुखकटहर दिनुहोस्।’ अब भन्नेबित्तिकै कहाँबाट ल्याउने कटहर? आखिर बाहुलामा लुकाउनसक्ने चीज त परेन त्यो। बाबा कालोनीलो भएछन्।
मेरो विचारमा यदि जादूगरी नगरेका भए बाबा यति प्रख्यात हुने पनि थिएनन्। राम्रा राम्रा दर्शनका कुरा गर्ने गुरुहरू भारतमा मात्र हजारौँ होलान्। तर, कुराले मात्र मान्छेलाई तान्न सकिन्नँ। जातैले स्वार्थी प्राणी भएकोले मान्छे हरेक कुरामा आफ्नो फाइदा हेर्छ। बाबाको जादु देखेरै भक्त हुनेको संख्या उल्लेख्य छ। यी जादूले धेरैलाई यो भ्रममा पारिदियो कि उनी भगवानकै अवतार हुन्। सुन्दा तीतो लागे पनि यथार्थ के हो भने, भक्तहरूको एउटा ठूलो संख्या बाबाबाट आफ्नो र आफ्नो परिवारको लागि केही पाउने आशामा नै पछि लागेको हो।
अन्तमा, बाबाको निधनमा तपाईंहरू सबैलाई जस्तै मलाई पनि दु:ख लागेको छ। बाबाको आत्माले चीरशान्ति पाओस् र सबै भक्तहरूमा यो दु:ख सहने क्षमता मिलोस् भन्ने कामना गर्दछु। जसरी दूध फाटेपछि छोक्रा र पानी छुट्टिन्छ, त्यसरी नै अब बाबाको निधनपछि वास्तवमै साईमार्गमा लागेका असली भक्तहरू र स्वार्थका कारण साईराम बनेका ढोंगी भक्तहरू छुट्टेलान्। बाबाका असल विचारको प्रचार गर्ने र आफू पनि सत्मार्गमा लाग्ने सक्कली भक्तहरू हाम्रो समाजलाई अँध्यारोबाट उज्यालोतर्फ लाने काममा भने राम्रा सहयोगी बन्न सक्छन्।