Tuesday, April 19, 2011

तीन देशका नागरिकलाई मन्त्री किन बनायौ? प्रम बयान दिन आऊ - Mysansar

अपडेटः तीन तीन देशको नागरिकता, पासपोर्ट र शरणार्थी कार्ड बनाउने डाक्टर ल्हारक्याल लामा अब फन्दामा पर्ने भएका छन्। उनको नागरिकता तथा राहदानीबारे बारे बयान दिन आऊ भनी संसदको राज्यव्यवस्था समितिले प्रधानमन्त्रीलाई डाकेको छ। यो विषयमा अख्तियारले पनि छानबिन गर्ने भएको छ।
यसरी बने तीन देशका नागरिक सभासद
अर्थ राज्यमन्त्री डाक्टर ल्हार क्याल लामा (खेन्पो छिमी छिरिङ लामा) तीन देशका नागरिक भएको प्रमाण माइसंसारले प्रस्तुत गरिसकेको छ। मन्त्री बन्नुअघि उनी एमालेको समानुपातिक सभासद बनेका थिए। समानुपातिक सभासदका लागि नाम सिफारिश गर्दा सिन्धुपाल्चोक जिल्लाबाट दुई जनाको नाम पठाइएको थियो, डोल्मा तामाङ र ल्हारक्याल लामा। पार्टीको सदस्य नै नरहेका अपरिचित व्यक्तिलाई सभासद सिफारिश गरिएपछि उतिबेला पनि जिल्लाका नेता-कार्यकर्ताले विरोध गरेका थिए। गाइँगुँइ सुनिएको थियो- आर्थिक लेनदेनका कारण उनले सभासद पद पड्काएका हुन्। नत्र कांग्रेसका खुँखार खुमबहादुर खड्का स्थानीय विकास मन्त्री हुँदा गुम्वा विकास तथा व्यवस्थापन समितिको अध्यक्ष बनेर विवादमा आइसकेका व्यक्तिलाई सजिलै एमालेको सभासद् पद किन चिठ्ठा पर्थ्यो र ! मन्त्री बनिसकेपछि उनको कर्तुत व्यापक रुपमा सार्वजनिक मात्र भएको हो, सभासद हुँदै उनले के कस्ता चर्तिकला देखाएका थिए, पढ्न भित्र आउनुस्।

ल्हारक्याल लामालाई एमालेमा भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए, एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र काठमाडौं महानगरपालिका सव–इन्जिनियर गम्भीरलाल श्रेष्ठले। एमाले सिन्धुपाल्चोकका नेता समेत रहेका गम्भीरलालको भेट ल्हारक्यालकै घरको नक्सा पास गर्ने बेलामा भएको थियो। उनै श्रेष्ठले नै ल्हारक्याललाई बोहोरासित भेटाइदिएका थिए। त्यसपछि उनी खाँट्टी एमाले कार्यकर्ता बने।
बोहोरा कै सिफारिशमा उनी समानुपातिक सभासदमा सिफारिस भए। सभासद भइसकेपछि मात्रै उनले तीन वर्ष अगाडि एमालेको संगठित सदस्यता लिएका थिए।
संगठित सदस्यहरुले सामूहिक रुपमा शपथ लिने परम्परा छ। तर ‘दाम’को अगाडि ‘साम’को के जोर चल्नु ! उल्टै उनले एमालेका केही उच्च नेतालाई आफ्नै निवास महाराजगन्जमा निम्त्याए। अनि त्यहीँ सपथ लिए।
लामा संविधान सभा अन्तर्गत राष्ट्रिय हितको संरक्षण समिति र अन्तर्राष्ट्रिय सम्वन्ध तथा मानव अधिकार समितिमा सदस्य छन्। तर यी समितिको बैठकमा उनी कमै उपस्थित हुने गरेका छन्। अहिले उनलाई मन्त्री बनाउनमा पनि अमृत बोहोरा कै सिफारिशले काम गरेको सुनिन्छ। (धन्यवाद एटिभी खबरभित्रको खबर टिमलाई माइसंसारको पासपोर्टको फोटो प्रसारण गरी समाचारलाई अझ व्यापक बनाएकोमा र थप जानकारीका लागि)

यस्तो छ उनको नेपाली नागरिकता

अर्थ राज्यमन्त्री नेपालको भए पनि भारतको नागरिक भनी A2129812 नम्बरको भारतीय पासपोर्ट र तिब्बतको नागरिक भनी भारतबाटै तिब्बती शरणार्थी कार्ड लिएका उनको नेपाली नागरिकताको विवरण पनि फेला परेको छ। उनको नेपाली नागरिकतामा यस्तो विवरण रहेको छ-
नाम: चारक्याल लामा ,
ठेगाना: सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गा.बि .स., वार्ड नम्बर ६ , मेलम्ची गाउँ
नागरिकता नम्बर: ६३६९, जारी मिति: २०५०/१०/१९
बुवाको नाम: पासांग फुपा

आठ कक्षा पास गर्नुपर्ने योग्यताको पीएचडी

अर्थ मन्त्रालयको साइटमा उनले आफ्नो नामको अगाडि गर्वका साथ ‘डाक्टर’ राख्‍न लगाएका छन्। उनी अरु ठाउँमा पनि यसरी नै डाक्टर लेख्‍ने गर्छन्। आफू डाक्टर रहेको प्रमाण उनले यसलाई देखाउने गरेका छन्-
 
 भर्ना नम्बर १०० हुनु, डक्टरेट उपाधि दिइयो भन्ने प्रमाणपत्रमा नै डाक्टर ल्हारक्याल लामा भनी ब्राकेट भित्र नाम लेखिनुले यसमा शंका गर्नुपर्ने ठाउँ देखिन्छ। उनले पढेको यो इन्स्टिच्युटमा पढ्नका लागि न्युनतम योग्यता स्कूलमा कक्षा आठ पास गरेको हुनुपर्ने रहेछ-