Thursday, April 28, 2011

ट्विटरले गराएको टेन्सन - mysansar

[ नेपाली वेब जगत यतिखेर एउटा कान्डले हल्लिएको छ- ट्विटर कान्ड। ट्विटलाई पत्रिकाले छापेपछि जागिर गुम्ने स्थिति आयो। अनि ट्विट गर्ने र मूलधारका मिडिया (कान्तिपुर) मा छाप्नेबीच मौखिक युद्ध चल्यो। मेरो व्यक्तिगत विचारमा सोसल मिडिया भनेको मास मिडिया जस्तै जिम्मेवार हुनुपर्छ। मास मिडियाले पनि सामाजिक उत्तरदायित्व महसूस गर्नुपर्छ। दुवै पक्ष अनावश्यक रुपमा उत्तेजित भएर आरोप-प्रत्यारोपमा उत्रिएका छन्, जसलाई सही ठहर्‍याउन सकिन्न। दुवै पक्षले सिक्नुपर्ने विषय समेटेर एउटा ब्लग लेख्‍न गरिएको आग्रहलाई स्वीकार्दै यो ब्लग @AnandNepal @webg0ru, @nepaldiary, @friendycalls, @hellomuku ले सामूहिक रुपमा तयार गर्नुभएको हो। कृपया यसमा ट्विटरमा जस्तो आरोप-प्रत्यारोप नगरी स्वच्छ रुपमा बहस गर्न हुन अनुरोध छ - उमेश]
ट्वीटरका हाकिम ;))प्रयोजन,  औचित्य र छनौटको आधार प्रष्ट नपारी केही हप्ताअघिदेखि कान्तिपुरले शुक्रबारको  अंक ‘हेलो शुक्रबार’ मा नेपाली ट्विटर प्रयोगकर्ताको ट्विट् छापिरहेको छ । तर, एक हप्ता अगाडि छापिएका केही ट्विट्हरुलाई लिएर इन्टरनेट र ट्विटरमा एक किसिमको तरङ उत्पन्न भएको छ । कतिपय निजी प्रसंग र विषयमा लेखिएका ट्विट्लाई छापेर कान्तिपुरले व्यक्तिको स्वतन्त्रताको हनन् गरेको आवाज तीब्र रुपमा उठेको छ । पत्रकारिताको सामान्य सिद्धान्त(नर्मस), गोपनियताको हक र इथिक्सलाई कान्तिपुरले बेवास्ता गरेको आरोप पनि लागेको छ ।
क्यानेडियन गायक ब्रायन एडम्सको कन्सर्ट काठमाडौँमा हुँदा सो सम्बन्धी छापेर शुरु भएको “साताका ट्विटस” स्तम्भ सबैले मन पराएका थिए । तर जब ट्वीट छान्ने काममा हेलचक्र्याईँ हुन थाल्यो र सामान्य मानिसले गरेका असान्दर्भिक ट्वीट छापिन थाले, तब केही ट्विटर प्रयोगकर्ताले विरोध गर्न शुरु गरेका हुन् ।

पत्रिकामा सामान्य मानिसले गरेका ब्यक्तिगत कुराहरुको ट्विट जस्ताको तस्तै छाप्नु भनेको पत्रिकाको खाली ठाउँ भर्ने बाहेक अरु केहीफाइदा नहुने भन्ने कुरा उठ्दा सो पत्रिकाका केही पत्रकारहरुले आफ्नो बचाउमा अन्तर्राष्ट्रिय अखबारहरुको उदाहरण दिएका थिए ।
पत्रकारहरुका अनुसार अन्तर्राष्ट्रिय अखबारहरुमा पनि त्यस्तो कुरा छापिने गरेको हुनाले नेपाली पत्रिकाले पनि छाप्न पाउनु पर्छ। तर, कुनै पनि अन्तर्राष्ट्रिय अखबारहरुमा सामान्य व्यक्तिले आफ्ना साथीहरु बीच गरेको गफ र ठट्टालाई पत्रिकाको सामाग्री बनाउने नगरेको तथ्य चाहिँ वहाँहरुले बुझ्न चाहनु भएन ।
चैत ८, २०६७ को कान्तिपुरमा  ”यसैगरी आफ्नो भनाइ बाँड्न मन भए भए हामीलाई ट्विटरमा उल्लेख (मेन्सन) गर्दै ट्विटिए हुन्छ” भनेर छापिएको देखे पछि ट्विटर प्रयोगकर्ताहरुले ढुक्क भएर आफ्नो मनमा लागेको कुरा गर्न शुरु गरेका थिए । तर आफैंले भनेको कुराको विपरीत बैशाख २ को कान्तिपुरमा त्यसरी उल्लेख नगरेका ट्विटहरु फेरि छापिएपछि ट्विटर प्रयोगकर्ताहरुले कान्तिपुरको यो ब्यबहार “अरुको व्यक्तिगत कुरामा बढी चासो राख्ने खालको” भएको ठहर गरेर एउटा चिठी लेख्ने निर्णय गरे । सो चिठीमा मूलत: कान्तिपुरमा छापिएको ट्विट र कान्तिपुरका पत्रकारहरुले गरेको गैरजिम्मेवारपूर्ण ब्यबहारलाई समेटिएको थियो | (यो चिठी – www.tweetdebate.net मा पढ्न सकिन्छ)
सो कदमले समस्याको समाधान हुनेमा ढुक्क भएका ट्विटर प्रयोगकर्ताहरु बैशाख ९ को कान्तिपुरमा प्रकाशित एक लेखबाट झन् बढी आक्रोशित हुन पुगेका छन् । सो लेखमा एक जना, जसले ट्विटर प्रयोगकर्ताहरुको तर्फबाट कान्तिपुरलाइ चिठी पठाउन सहयोग गरेका थिए, उनको व्यक्तिगत विवरणहरु संकलन गरेर, अफिसमा फोन गर्ने र हाकिमसँग कुरा गरी ती कर्मचारीलाई कारबाही गर्न उत्प्रेरित गर्ने जस्तो नीच कार्य गरेको (र सो कुरा पत्रिकामा प्रकाशित गरेको) पाइयो । अत्यन्तै गैर जिम्मेवारपूर्वक  तँ तँ र म म गरेर लेखिएको सो लेख नेपाली पत्रकारिताको कलंकको रुपमा रहने हामी देख्छौँ।
“पत्रिकामा कसैको ट्विट् छापिनु र ट्विट्को कारणले कसैको जागिर जानु सामान्य कुरा भएको” बताउने कान्तिपुरका पत्रकारहरुले नियतबस ट्विटर प्रयोगकर्ता नाम उल्लेख गर्ने र सोही ठाउँमा अर्काको प्रयोगकर्ताको नाम मेट्नु पर्ने कारण बताउन चाहेका छैनन् । त्यस्तै गरी कुनै व्यक्तिले सार्वजनिक स्थानमा गरेको कुरा उसको अफिसमा लगाएर (अनि, पत्रिकामा छापेर) कुरौटे प्रवृत्ति देखाउनुको कारण पनि बताउन चाहेनन् । पत्रिकामा छापिएका ट्विट्ले कति देश र यस पत्रिकाका पाठकलाई के कति फाइदा वा बेफाइदा भो भन्ने मूल्यांकन नगरी सो कार्यप्रति देखिएका असहमतिका आवाजलाई दबाउन जुन हत्कण्डा गरियो र भइरहेछ सोको विरोध नगर्ने हो भने स्थिति झन भयावह हुने संभावना छ ।
प्रजातन्त्रको सबभन्दा सुन्दर पक्ष वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता हो । जनमतको कदर, आफ्नो विपक्षमा आएका कुराहरुको सालिनतापूर्वक प्रतिरक्षा, अरुको बिचारको कदर र लेखनमा संयमता प्रजातन्त्रका सुन्दर पक्ष हुन । तर, पाठकले कुनै पत्रिकामा लेखिएको कुरा मन पराएनन् वा चित्त बुझाएनन् भने, पाठकभन्दा पत्रकार बढी जान्ने छौँ भनेर घमण्ड गर्नु कतिको जायज हुन्छ ? अहिले विश्वमा नै ‘टप डाउन’ हैन ‘बटम अप’ अर्थात् पाठककेन्द्रित पत्रकारिताको प्रयोग बढिरहेको अवस्थामा पाठकको सामूहिक ज्ञान र विज्ञतालाई संसारले स्वीकार्न बाध्य भइरहेको छ। त्यसैले सीएनएनदेखि बीबीसीसम्मले सिटिजन जर्नलिज्मको प्रयोग गरिरहेका छन्। यदि पत्रकार नै सबै ठाउँमा सँधै सक्षम हुने भएको भए सिटिजन जर्नलिज्मको अवधारणा आउने नै थिएन।  एक हप्ताअगाडि छापिएका ट्विट्लाई लिएर अधिकांस नेपाली ट्विटर प्रयोगकर्ताले आपत्ति जनाएपछि सम्बन्धित पक्षबाट आएका जवाफ योभन्दा पनि अझ डरलाग्दो छ । उदाहरणको लागि केही पत्रकार प्रतिक्रिया हरु (नेपालीमा उल्था गरिएको, यी सबै ट्वीटहरुको स्क्रिनसट tweetdebate.net मा पोस्ट गरिएका छन्):

… -तिमीहरु भुक्दै गर मलाई मतलब छैन (आशिष लुइँटेल) -
… तर तिमीले नपढे पनि मेरो पत्रिका बिक्छ, तिमीले नपढे नपढ (आशिष लुइँटेल)
पाठकले सल्लाह दिन पाउँछन् तर, धाकै सही, पत्रकार ज्ञाता/बिसेषज्ञ हुन | (दिनेश वाग्ले)
… हा हा हा | बन्द नगरिएको ट्वीट र गोपनियता ? सबै मिडियाले ट्वीट छाप्छन | (दिनेश वाग्ले)
… गाली र ताली हाम्रो पेशाको भाग हो ।  हामी हाम्रा १० लाख पाठकका लागि गर्छौ, आधा दर्जन ट्विटर प्रयोगकर्ता को लागि होइन | सरी केटा हो | (आशिस लुइँटेल)
… -आफ्नो क्षेत्रमा असफल हुने हरुले हल्ला गर्छन र जर्नालिजमको कमेन्ट गर्छन .. सरी म सुन्दिन (दिनेश वाग्ले)

( लामो समयदेखिको विवाद भएको कारणले माथि उल्लेखित भनाईको टिपोट राखीएको हो । नमेटाइएको खण्डमा समय लगाएर हेर्ने हो भने सबै इन्टरनेटमा भेटिन्छन् )
पत्रिकाका पाठकहरुले राम्रो र नराम्रो छुट्याउँछन्, आलोचना गर्छन्, र प्रशंसा पनि गर्दछन् लेख रचनालाई लिएर तर यस्तो कुरालाई “भुक्नु” भन्नु आफैमा कति उपयुक्त हुन्छ र “धाक” लागाउने पत्रकारले पाठकको सल्लाहलाई रद्दीको टोकरीमा फाल्ने हो भने के आधारमा विशेषज्ञ  भए त ? पत्रकारिताको बारेमा गरिने कमेन्ट नै नसुन्नेले पत्रकारिता बुझेका छन् भनेर कसरी पत्याउने? पाठक बाबुरा उल्लु हुन् – केही जान्दैनन् भनेर आम पाठकको मान-मर्यादामा आँच पुर्‍याउने खालको धाक दिन मिल्छ पत्रकारले? के ट्विटर चलाउनेहरु कान्तिपुरका पाठक होइनन्?

धम्की र बदला

कान्तिपुरको यस्तो गैर जिम्मेवार ब्यबहारका कारण केही ट्विटर प्रयोगकर्ताले आफ्नो एकाउन्ट नै बन्द गर्नेसम्मको कदम उठाउनु परेको छ।  हेलो शुक्रबारको अफिसियल ट्विटर एकाउन्टबाट एकजना ट्विटर प्रयोगकर्तालाइ ज्यान मार्ने धम्की दिएको आरोप लगाइयो र सो कुरालाई कान्तिपुरमा बिशेष प्राथमिकताका साथ फोटोसहित छापिदिने भनेर धम्की दिइयो । सोही  धम्कीका अनुसार गत शुक्रबार सुनिल रेग्मी (को हुन्, कसैलाई थाहा छैन) को नाममा ‘इन्टरनेटमा संयमता’ शीर्षक भएको लेख पढ्न पाइयो ।

हेलो शुक्रबारमा तँ तँ र म मको शैलिमा लेखिएको लेख। के सम्पादकहरुले यसलाई पढे ?

जिम्मेवार पत्रकारिताको विकास गरौं भन्ने बहस चलिरहेको अवस्थामा आम पाठकलाई “चुनौति” दिने नियतले लेखिएको आधा पेज लामो यो लेखलाई शायद सम्पादकहरुले पढेनन् होला नत्र  अत्यन्त घटिया र तल्लोस्तरको लेख छापिन्थ्यो भन्नेमा शंका छ । सो लेख पढ्दा कान्तिपुरमा बिषयबस्तुको गाम्भिर्यप्रति सचेत भएर लेख लेख्नेहरुको अभाव भएको भान पर्दछ । कुनै पनि पत्रिका, त्यो पनि राष्ट्रिय पत्रिकाले “थुतुनो चलाउनु“, केटो, “गाली गर्‍यो“ जस्तो शब्द को प्रयोग गरेर लेख लेख्दा जनमानसमा कस्तो छाप पर्छ भनेर पनि नजान्ने लेखकको लेख छाप्नु आफैमा बिडम्बना देखिन्छ ।

ट्विटर प्रयोगकर्ताले सिकेको शिक्षा

ट्विटरमा कुनै कुरा लेख्नु र चिया पसलमा बसेर गफ गर्नु झन्डै झन्डै उस्तै भएकोले, आफुले गरेको कुरा चिया पसलमा  जम्मा भएका मानिसहरु बीच मात्र नरहन सक्छ भन्ने कुरा प्रस्ट हुन गएको छ । हुनत, कुनै पनि संस्कार जानेको मानिस कुरौटे हुँदैन र अरुले गरेका गल्ति आफ्नो मनोरञ्जनका सामग्री पनि बनाउँदैन । यस्तो भन्दैमा सबै मानिस राम्रा नहुने हुनाले, अरु कसैमा औँला ठड्याउनु भन्दा आफ्नो सुरक्षा आफै गर्न ट्विटर प्रयोगकर्ताहरुमा आफ्नो ट्विटर खातामा ताल्चा (lock) लगाउने चलन बढेको अनुभव हुन्छ । तर अरु केही ट्विटर प्रयोगकर्ता ट्वीट प्रोटेक्ट गरेर ट्वीट गर्ने पक्षमा छैनन् । उनीहरु अभिब्यक्ति स्वतन्त्रता हुनु पर्छ भन्ने चाहन्छन् र भन्छन् “कसैको सजिलो वा सनकको लागि मनलाई बाँधेर राख्न सकिन्न । हामीले ट्वीट प्रोटेक्ट गर्नु सट्टा उनीहरुले सोधेर लेखे हुन्न? उनीहरुको जागिर सजिलो पार्न हामी हामी तल पर्न हुन्न होला । कि हामीले मान्न परो ट्विटरमा उनीहरुकै कानुन चल्छ।”
धेरै जसो पत्रकारहरुले आचारसंहिता को पालना गर्दछन भन्ने बिश्वास गलत साबित भएको अबस्थामा अरुलाई गाली गर्नु भन्दा पनि आफ्नो तर्फबाट पनि जिम्मेबारपूर्बक ब्यबहार गर्नु पर्ने शिक्षा धेरै ट्विटर प्रयोग कर्ता ले पाएका छन् । तेसैले पछि अफ्ट्यारो पर्ने खालका कुराकानी कम हुन थालेका छन् ।समग्रमा भन्नु पर्दा :
  • सबै जना बिश्वास गर्न लायक हुँदैनन र अरु कसैले गलत काम गर्दैन भनेर नसोच्ने
  • आफ्नो समुह भन्दा बाहिर ट्विटरभित्र भएको कुराकानी बाहिर नजाओस् भन्ने चाहने व्यक्तिले आफ्नो ट्विटर एकाउन्ट बन्द (पास्वोर्ड प्रोटेक्ट) गर्ने।  तर त्यसो गर्दा पनि कुरा बाहिर नजाने कुनै ग्यारेन्टी नहुने हुनाले भबिश्यमा अफ्टेरो पर्ने खालको कुरा गर्दै नगर्ने |
  • नितान्त व्यक्तिगत कुराकानी Direct Message मार्फत मात्र गर्ने |
यसै सन्दर्भमा एकजना ट्विटर प्रयोगकर्ता भन्दछन् – “साँच्चै भन्नु पर्दा, यदि आफ्नो ट्विटर पोस्ट सबैले नपढोस् भन्ने लाग्ने मान्छेले ट्विटर एकाउन्ट खुल्ला राख्नु मुर्खता हो । यसको साथसाथै, त्यसरी बन्द गरिएका ट्विटरमा पोस्ट गरिएका कुरा पनि कसैले छाप्छ भने त्यो पनि मूर्खता हो ।”
यो कुराबाट के प्रष्ट हुन्छ भने, खुला नभए पनि ट्विटर एकाउन्टको कुरा ट्विटर बाहिर फैलने सम्भाबना उत्तिकै रहन्छ । त्यस माथि, इन्टरनेट सम्बन्धी प्रष्ट कानुन नभएको नेपाल जस्तो मुलुकमा कसैले ट्विटर एकाउन्टको कुरा सार्वजनिक गरेको खण्डमा पनि कस्तो खालको सजाय गर्ने वा नगर्ने भन्ने कुरामा नै अन्योल छ । त्यसैले आफ्नो थैली बलियो बनाउने र अरुलाई चोरको दोस नलगाउनुमा नै बुद्दिमानी हुन्छ भन्ने कुरामा दुई मत नहोला ।

नेपालको पत्रकार आचारसंहिता

पत्रकार आचारसंहिता कतिको सान्दर्भिक वा सही छ भन्ने अर्को बहसको पाटो होला तर, अहिले उपलब्ध यस पत्रकार आचारसंहिता, २०६० (परिमार्जित, २०६४) मा उल्लेख भएका केही बूँदाहरु बर्तमान ट्विटर बिबादको सन्धर्बमा के भन्छ भन्ने तल बिश्लेषण गरिएको छ |
पत्रकार र सञ्चारमाध्यमले निर्वाह गर्नुपर्ने कर्तव्य:
६) गोपनीयताको हकको सम्मानः सार्वजनिक हितमा प्रतिकूल असर पार्ने बाहेकको अवस्थामा वैयक्तिक एवं व्यवसायिक गोपनीयताको सम्मान गर्नुपर्छ ।
साधारण प्रयोगकर्ताले ट्वीटरमा गरेका वार्तालाप (प्रतिष्ठित व्यक्तिहरुको मामला फरक हुन सक्छ) आफुलाई फलो गर्ने मानिसहरुलाइ भनेर उनीहरुले बुझ्ने भाषामा गरिएको हुन्छ । तेस्तो बार्तालाप अरुले नबुझ्ने वा बुझेमा पनि उल्टो बुझ्ने हुन सक्छ तेसैले त्यस्ता कुराहरूलाइ पत्रिक छाप्नु र एउटा चिया पसलमा भएको वार्तालाप छाप्नु उस्तै उस्तै हुन सक्छ । हेल्लो शुक्रबारमा छापिएका ट्वीटहरु सार्वजनिक हितमा प्रतिकूल असर पार्ने खालका थिएनन् र वैयक्तिक एवं व्यवसायिक गोपनीयताको सम्मान नगरेको प्रष्ट देख्न सकिन्छ ।
८) शिष्ट व्यवहार
हेलो शुक्रबारका संयोजक आशिस लुइँटेल र राम्रो पत्रकारका रुपमा नाम कमाएका दिनेश वाग्लेले अशिष्ट रुपमा प्रस्तुत भएका थिए । व्यक्तिगत कुरा नगर्ने हो भने पनि, हेल्लो शुक्रबारमा पछिल्लो शुक्रबार छापिएको लेखले शिष्टताको सामान्य परिधि पनि नाघेको थियो ।
९) गल्ती सच्याउने तत्परताः
गल्ती मानेमा मात्र गल्ती सच्याउने कुरा आउँछ । पत्रकारहरुबाट गल्ती नै हुँदैन भन्ने आशयको जवाफ दिने पत्रकारहरुबाट भूल सुधार त परका कुरा भए ।
अब पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने भनिएका विषयमा प्रवेश गरौं ।
४) निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने
कान्तिपुरको शुक्रबारे परिशिष्ट हेल्लो शुक्रबारमा अहिले आशिस लुइँटेल नै सर्वेसर्वा हुन् । दिनेश वाग्ले कान्तिपुरको शनिबारको संयोजक हुन् । अर्थात्, शुक्रबारको सप्लिमेन्टको सामग्री व्यवस्थापनदेखि सबै कुरा लुइँटेलकै हातमा भएकोले उनले आफ्नो अभीष्ट पूरा गर्न सुनिल रेग्मी नामका कहिले नाम नसुनिएका व्यक्तिलाई प्रयोग गरे ।
८) हिंसा, आतंक र अपराधलाइ प्रोत्साहन गर्न नहुने
पहिले नै ठूलो बहस भइसकेको बिषयमा आक्रोशित भएर लेख छाप्दा फेरि अर्को रोश उत्पन्न हुन्छ भन्ने थाहा पाउँदा पाउँदै आगोमा घ्यू थप्ने काम भएको छ | प्रष्ट रुपमा “मेरो ट्वीट छाप्न पाइन्न” भनि ट्विट गरेका व्यक्तिको कुरा छानी छानी उत्तेजित गर्ने अभिप्रायले छापियो । जब उनी उत्तेजित भएर कुरा गर्न थाले तब “ज्यान मार्ने धम्की दिएको“ कुरा लेखेर पत्रिकामा छापियो ।
१०) घटनासँग असम्वन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने
एकजना ट्विटर प्रयोगकर्तालाइ उनको कार्यालयको नाम जोडेर पत्रिकामा छापियो । उनले आफ्नो व्यक्तिगत ट्वीटर अकाउन्टबाट ट्वीट गरेका थिए, न किउनले काम गर्ने कार्यालयको । अझ उदेकलाग्दो कुरा त उनको कार्यालयमा समेत फोन गरेर “कम्प्लेन” गरेको व्यहोरा भेटिन्छ सो लेखमा ।
११) तथ्य बंग्याउन नहुने
अघिल्लो साता एक जनाकोको ट्वीट छाप्दा त्यसमा सम्बोधन गरिएका अर्का प्रयोगकर्ताको नाम मेटेर प्रकाशित गर्दा तथ्य बंग्याइएको देखिन्छ | एउटा ट्विटर पोस्ट लाइ अनुमति बिना अंग्रेजी बाट नेपालीमा उल्था गरेर पनि छापियो ।


यसरी यी बुदाहरुलाई सरसर्ती हेर्दा कान्तिपुरको हेल्लो शुक्रबारले पत्रकार आचारसंहिताको उल्लंघन गरेको देखिन आउछ | अझ सूक्ष्म रूपले केलाउँदै जाने हो भने अरु बढी उल्लंघनका प्रमाण देखिन सक्छ ।
मानवीय ब्यबहार आचरण नै हो भन्नु पर्ला आफु प्रतिकुल हुदा आफ्ना साथीभाई आफन्तजन को कुरा काट्ने । त्यसमा पनि न त हाकीमले हम्मेसी मातहतको कर्मचारीको न गुण गाउँछ न मातहतका कर्मचारीले हाकिमको कम्तिमा एक पटक भए नि कुरा काट्न छोड्छ । यो त जीवनको एउटा पाटो नै हो नि । नेपाली प्रयोगकर्ताको लागी ट्विटर दैनिकीको एउटा भाग हो । कुनै जिम्मेबार व्यक्तिले त्यस्तो कुरा सुनेर सो कुरा गर्ने व्यक्तिको व्यक्तिगत विवरण पत्ता लगाएर कम्प्लेन गर्न जानु कत्तिको जायज हुन्छ सबैले सोच्न सक्दछन् | राम्रो कुराहरुको बारेमा एक वाक्य पनि लेख्न नचाहने, अनि कहाँ कसले कसको कुरा काटिरहेको छ भनेर खोज्दै हिँड्न पत्रकारहरुलाई सुहाउँदैन ।
कसैको व्यक्तिगत कुरालाइ पत्रिकाको पानासम्म ल्याउनु भन्दा बरु ट्वीटरबाटै शुरू भएका राम्रा काम हरु जस्तै समाजसेवा गर्ने @tfcnepal, स्वस्थ बादबिबाद गर्ने #tweetdebate, नेपाली समयको जानकारी दिने @ghanta_ghar लोडसेडिङको समयबारे जानकारी दिने @tweetneag1 आदिको बारेमा पढ्न पाए पाठकहरुलाई पनि फाइदा हुने थियो होला ।
र अन्तमा , यस काण्डका मुख्या सुत्रधार मुखेन्जी ” म गज्जबले हाँसिरहेको छु । म किन ट्विटरमा हिरो बन्नु पर्‍यो ?१०लाख भन्दा बढीले मलाई हप्तैपिच्छे पढ्छन् यो ५हजारको बीचमा मलाई कुनै र्‍याल काढ्नु छैन् ” भनिरहेका छन् तर नेपाली ट्विटर प्रयोगकर्ता पनि चुप छैनन्, सबै आ-आफ्नो तर्फबाट असन्तुष्टि जनाइरहेका छन् ।