Wednesday, April 13, 2011

रिसाउनु भो' गीता मिस - mysansar

राष्ट्रिय स्वाभिमानको खिल्ली उडाउने ज्ञान बाँड्ने ग्यालेक्सी स्कुललाई सरकारले कारवाही गर्ने भनेपछि हामी प्रिन्सिपल गीता राणालाई भेट्न स्कुल पुगेका थियौं। उनले यति निच शब्दहरुको झटारो हानिन् कि हामीलाई : तिमेरु मेरो स्कुल बन्द गर्न आएको? के मलाई गोली हान्छौ? मेरो स्कुललाइ नदेखाएर तिमेरुको टीभी चल्दैन? आदि आदि। त्यसपछि हामीले हिजो पावरन्यूजमार्फत् उनलाई यस्तो चिट्ठी लेखेर न्युज२४ मा प्रसारण गर्‍यौँ।
गीता मिस,
यसरी किन रिसाउनुहुन्छ तपाईं?
हुन त तपाईं भारतमा जन्मिनु भएको र त्यहाँबाट नेपाल आउनु भएको पाहुना हो हाम्रो। शायद यसकारण पनि तपाइँलाई यो किताबको पानाले कतै दुखाएको थिएन होला। तर, हामीलाई हाम्रो स्वाभिमान असाध्यै प्रिय छ गीता मिस, हामी तपाईंले तपाईंको देश भारतको राष्ट्रिय चिन्हहरुलाई यो नेपाली पहिचान हो भनेर पढाएको सहन सक्थेनौं र सहेनौं पनि। तर, तपाईं हामीसँग किन यसरी आक्रोशित हुनुहुन्छ? के तपाईं मान्नुहुन्छ तपाईंको त्यो देश भारतमा खोलिएको यस्तै कुनै स्कुलमा नेपालको राष्ट्रिय निशानीहरु पढाइएको? के तपाइँ यस्तो स्वीकार्नु हुन्छ?
छातिमा हात राखेर भन्नुस् गीता मिस, कोही पनि नागरिकले सहन नसक्ने झुठो ज्ञानको प्रचार गर्न तपाईंलाई यो देशमा पनि छुट छैन। कसलाई सोधेर तपाईँले यस्तो किताब पढाउन थाल्नु भयो? कसको अनुमति छ तपाइँसँग कि : नेपालको राष्ट्रिय जनावर बाघ हो भनेर पढाउने? तपाईंको नियतमा पनि उठेको प्रश्न हो यो गीता मिस, तपाईं जुन देशबाट शिक्षाको व्यापार गर्न नेपाल आउनु भयो त्यही देशको परिचय किन बाँड्नु हुन्छ? एक दिन तपाइँले भन्नुभएको थियो तपाइँलाई यो देश आफ्नो जस्तो लाग्दैन भनेर। सुन्नुहुन्छ? सुन्नुस्।
बाइट : यसमा उनी भन्दै थिइन् किन-किन मलाई नेपाल आफ्नो देशजस्तो लाग्दैन। जति दु:ख गरेपनि।
कतै यही कारण वा यस्तै कुनै योजना त थिएन तपाईको? हामी त शंका गर्छौं गीता मिस, र गर्नेपर्छ, जुन माटोमा तपाई शिक्षाको ब्यापार गरेर कमाइरहनु भएको छ : त्यसको माया लाग्दैन भने कम्तिमा घृणा गर्ने अधिकार पनि छैन तपाइँलाई। न त यस देशको हितविपरीत कुनै पाठ पढाउने छुट छ तपाइँलाई।
त्यसैले यो नेपाल हो गीता मिस, यहाँ देशलाई जीवन भन्दा पनि बढी प्रेम गर्ने नागरिकहरु पनि छन्। यहाँ तपाइँले सोचेजस्तो सजिलो मात्र छैन, तपाइँले सोचेको भन्दा कठिन पनि छ। त्यसैले हामीले यो नेपाली स्वाभिमानको विषयलाई टुलुटुलु हेरिरहन सकेनौं। तपाइँकै स्कुलकी कक्षा एककी छात्राको दिमागमा के भरिदिनु भएको छ तपाईले? सुन्नु भो होला नि? फेरि सुन्नुस्।
बाइट : यसमा एउटी बालिका प्रतिष्ठा निरौला भन्छिन् : हाम्रो देशको राष्ट्रिय जनावर बाघ हो, राष्ट्रिय पंक्षी मयूर र राष्ट्रिय फूल कमल हो।
यस्तो ज्ञान बाँडेर तपाईँले कस्तो आधुनिक शिक्षा दिनुभएको हो गीता मिस? तपाईँले किन भारतकै राष्ट्रिय चिन्हहरु पढाउनु भयो नेपालमा? किन तपाइँले अरु नभनेर बाघ नै नेपालको राष्ट्रिय जनावर भन्नुभयो होला? तपाइलाई गाई मन पर्दैन थियो होला तर तपाईँले बाघ नै भनेर पढाउनुसँग हामी शंका गर्छौं नै गीता मिस।
र, यस्तो कहिल्यै नसोच्नु होला कि तपाइँको स्कुललाई नदेखाएर न्यूज २४ चल्दैन।
के भन्नु भाको त्यस्तो? हामी त तपाईजस्तो पाहुनालाई सच्याएर ग्यालेक्सीजस्ता स्कुलहरु चलून् नै भनिरहेका छौं। हामीले भनेको यत्ति हो कि : तपाईको देश भारतको जत्रो भूगोल नभएपनि स्वाभिमान हाम्रो चाहीँ सानो हुँदैन। हाम्रो देशमा पनि कानुन छ र हामीलाई पनि देशको माया लाग्छ।
त्यसैले गीता मिस,
तपाइँले नेपालको कानुन सहनै पर्छ। र, माफ गर्नुहोला हामीसँग कुनै नियत थियो भने त्यो हो –हामी आफ्नो देशलाइ माया गर्छौँ। बस् ! यही नियत छ हामीसँग। र, यसबाट तपाइँलाई पर्न गएको क्षतिप्रति हामी कुनै पश्चाताप गर्ने छैनौं।
र, अन्त्यमा गीता मिस, तपाईको प्रतिष्ठित स्कुलको सम्मानमा चोट नपुगोस् भन्नेमा चिन्तित हुनुहुन्छ भने सरकारी नियम र कानुनलाई पनि सम्मान गर्नुस् र त्यो तपाइँको टाइम टू राइट भन्ने पुस्तकलाई कोर्सबाट हटाइएको जानकारी दिइदिनुस्। अनि त्यसअघि पढाइएका बालबालिकाहरु जो तपाइँको त्यही स्कुलमा छन् तिनीहरुसामू माफी मागेर फेरि एकपटक तिनीहरुलाई पढाइदिनुस् कि नेपालको राष्ट्रिय फूल लालीगुरास हो, नेपालको राष्ट्रिय जनावर गाई हो र नेपालको राष्ट्रिय पंक्षी डाँफे हो। अनि भनिदिनुस् तिनीहरुलाई कि नेपालको आफ्नै मुद्रा छ र त्यसलाइ पैसे होइन पैसा भनिन्छ। त्यसपछि यो पनि भनिदिनुस् : नेपाल भनेको नेपाल हो भारत होइन।