Friday, April 22, 2011

'९१ लाख फिर्ता दिने' अनुजा धरानबाट इटहरी सरिन् - onlinekhabar

इटहरी, वैशाख ९ (नागरिक)- 'बसमा पाएको ९१ लाख रुपियाँ फिर्ता दिएकामा' चर्चित अनुजा बानियाँ धरानबाट इटहरी सरेकी छिन्। दाजु-भाउजूसँग बस्दै आएकी उनले 'पैसा भेट्टाउँदा पनि किन नभनेको भनेर स्थानीयले बिरोध गर्न थालेपछि' दिदी-भिनाजुसँग बस्न आएको बताइन्। उनले काठमाडौं सीतापाइलाका ६५ वर्षीय पुरुषोत्तम पोखरेलको पैसा र हिराको हार भेट्टाएर फिर्ता गरेको बताउँदै आए पनि पुष्टि भने हुन सकेको छैन्।

उनले भनिन्- मैलै पैसा भेटेर दिएको साँचो भए पनि उहाँहरु कसैको पनि सम्पर्क नम्बर नलिँदा र अहिलेसम्म सम्पर्क नगर्दा समस्या परेको छ। उनी अहिले चिन्तामा डुबेकी छन्। 

अनुजाकै भनाइमा पैसा फिर्ता गर्ने क्रममा पुरुषोत्तमकी मित छोरी धरानकी अनिता कार्की र पोखरेलकै छोरा इटहरी निवासी अनिल पोखरेल थिए। पैसा लिन गएकामध्ये कसैको अहिलेसम्म पत्तो लागेको छैन। उनले पैसा फिर्ता दिएको घटना सर्वत्र चर्चाको विषय बने पनि पैसा फिर्ता लाने कोही पत्ता नलाग्दा घटना थप रहस्यमय बनेको छ।

अनुजाकै आफन्तसमेत घटनाप्रति अचम्भित छन्। 'अनुजाको अलिक बढी नै गोपनीयता राख्‍ने बानीचाँहि छ तर, यति ठूलो रकम भेट्दा त कम्तीमा परिवारका सदस्यलाई जानकारी दिनुपर्ने हो तर त्यसो भएन'- उनका भिनाजु चक्र बिष्टले बताए।

पैसा फिर्ता लिने पोखरेलले २५ गते इटहरीकै आइएमइबाट धरानमा छोरी सुधा पोखरेलको जग्गा खरीद गर्न पैसा निकालेर धरान पुर्‍याउन जाँदा गाडीमै छुटेको झोला अनुजाले भेट्टाएपछि फोन गरेरै फिर्ता गरेको बताएकी छिन्। तर चैत २० गतेयता इटहरीको आइएमइबाट एकै पटक यति ठूलो रकम कसैले नझिकेको शाखा प्रबन्धक दर्शन श्रेष्ठले बताए। 'घटनापछि सबै कार्यालयमा रेकर्ड हेर्‍यौं, अहिलेसम्म पुरुषोत्तम पोखरेल नाम गरेको व्यक्ति पनि फेला नपरेको र ठूलो रकम पनि कसैले ननिकालेको पाइयो'- उनले भने।

सुनसरी प्रहरीले घटनाका विषयमा पूरै अनभिज्ञता व्यक्त गरेको छ। प्रहरी प्रमुख भूपालकुमार भण्डारीले भने- सबैतिरबाट अनुजाको बारेमा फोनमार्फत् सोधिरहेका छन्। तर, यथार्थ थाहा छैन।