Sunday, April 24, 2011

गए साई बाबा, भक्तलाई श्रद्धाञ्जलि - MY Sansar

झण्डै एक महिनादेखि साई बाबाको अस्पतालमा उपचार भइरहेको र स्थिति चिन्ताजनक भइरहेको खबरका बीच एक साई भक्तलाई मैले यसबारे सोधेको थिएँ। उनले ‘बाबा आफैले ९६ वर्षसम्म बाँच्ने घोषणा गरेका छन्, केही हुन्न, केही दिनपछि फर्कनु हुन्छ’ भने। उनको आस्थालाई ठेस पुर्‍याउने कुरा के गराइ भो र, तर निरन्तर यो विषयमा समाचार खोजी खोजी पढिरहेका कारण मलाई भने उनको कुरामा पटक्कै विश्वास लागेको थिएन। भन्दै आज बिहान खबर आयो, साई बाबाको निधन भयो उपचार गराइरहेको अस्पतालमा बिहान सात बजेर ४० मिनेट जाँदा। अब उनी र उनीजस्ता भक्तहरुलाई श्रद्धाञ्जलि दिनुबाहेक अरु उपाय छैन। भक्तहरुको आस्थामाथि खेलवाड गर्दै सत्य साई ट्रस्ट र उपचारमा संलग्न डाक्टरहरुले स्वास्थ्यको पूर्ण विवरण सार्वजनिक गरेनन्। बिचरा ‘भगवान्’को मृत्युलाई विवादमा पारियो।
त्यसैले उनकै भक्तले पुट्टपर्थी रहेको भारतीय राज्य आन्ध्र प्रदेशको मानवअधिकार आयोगमा उजुरी दर्ता गर्न पुगेका थिए। अनि साई बाबाको स्वास्थ्यसम्बन्धी प्रतिवेदन वैशाख १६ गतेसम्म बुझाउन भारतको आन्ध्र प्रदेश राज्यको मानवअधिकार आयोगले राज्य सरकारलाई निर्देशन पनि दिएको थियो।
यसअघि आइसीयुमा रहेका बिरामीको फोटो र भिडियो सार्वजनिक गर्न मिल्दैन, त्यसो गर्नु मानवअधिकारको हनन् हुन्छ भनी डाक्टरहरुले बताएका थिए। बीचमा उनको सजीव समाधि (जिउँदै पुर्ने) सम्मका कुरा पनि आएका थिए।
साई बाबाको स्वास्थ्य बारे सत्य साई सेन्ट्रल ट्रस्ट र उपचारमा संलग्न चिकित्सकहरुबीचको विवाद पनि सार्वजनिक भएको थियो। ट्रस्टले उनको स्वास्थ्य सुधार भइरहेको भन्दै १५ दिनमा आश्रम फर्काउन सकिने वक्तव्य केही दिनअघि निकालेको थियो। तर उपचारमा संलग्न डाक्टरले भने कहाँ त्यस्तो हुनु, उनको स्वास्थ्य चिन्ताजनकै छ भनेर वक्तव्य निकालेको नौटंकी गज्जब कै थियो।
जीवन भर उनी विवादमा थिए। उनले हातबाट निकाल्ने खरानी र मालाहरु, मुखबाट निकाल्ने शिवलिङ्ग चटक मात्र भएको आरोप लागे। यौन दुराचारको आरोप पनि लागे। तर भक्तहरु टसका मस भएनन्। उनीहरुको आस्थामाथि केही असर परेन। भन्नेहरुले भन्दै गरे। पूजा गर्नेहरुले गर्दै गरे।
सन् १९२६ को २३ नोभेम्बरका दिन पुट्टपर्तीमा जन्मेका सत्यनारायण राजुले १४ वर्षको उमेरमा आफूलाई शिरडी साई बाबा (पहिलो साई बाबा) को अवतार भएको घोषणा गरेका थिए। भक्तहरु अर्को साई अवतार प्रेम साईको जन्म हुन्छ भन्ने विश्वास गर्दा रैछन्। त्यसैले श्रद्धाञ्जलि शब्द पनि गलत पर्‍यो भन्दै भक्तहरुले बबाल गर्न बेर छैन।