Tuesday, April 26, 2011

अनुजासँग तीन घन्टा बयान - सचिन पोख्रेल "GorkhaPatra"

इटहरी, वैशाख १२ गते । आफूले फेला पारेको ९१ लाख रुपियाँ र बहुमूल्य हीराको हार सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको भनिएर सर्वत्र प्रशंसाकी पात्र बनेकी अनुजा बानिया अन्ततः इमानदारको नाममा बेइमान साबित भएकी छन् ।
बेइमान साबित भएकी भोजपुर जिल्लाको भुल्के घर भई धरानमा बसोबास गर्दै आएकी अनुजामाथि सरकारले सोमबारदेखि औपचारिक रूपमा अनुसन्धानसमेत प्रारम्भ गरेको छ ।
नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक रेग्मीको नेतृत्वमा रहेको सादा पोसाकको टोलीले इटहरी नगरपालिका वडा नं. १ मा रहेको अनुजाका दिदीभिनाजुको डेरामा आएर अनुसन्धान प्रारम्भ गरेको हो । यस क्रममा सुरक्षाकर्मीको सो टोलीले अनुजासँग अपराहृन करिब तीन घन्टा बयान लिएको थियो । अनुसन्धान टोलीको नेतृत्व गरेर आएका प्रहरी नायब उपरीक्षक रेग्मीले गोरखापत्रसँग सक्षिप्त कुरा गर्दै आफूहरूले अनुजा काण्डको सन्दर्भमा अनुसन्धान प्रारम्भ गरेको बताउनुभयो । नेपाल प्रहरीको टोलीले अनुजाले प्रयोग गरेको मोबाइल कलको विस्तृत विवरण सङ्कलन गरी छानबिन गरेको छ ।
यस सन्दर्भमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले घटना काल्पनिक भएको देखिएकाले स्थानीय प्रहरी प्रशासनले घटनालाई अनुसन्धानको दायरामा ल्याउने बताउनुभयो ।
भोजपुर भुल्के-२ स्थायी घर भई हाल धरानमा अस्थायी रूपमा बस्दै गरेकी अनुजा बानियाले इटहरीमा भएका आˆना दिदीभिनाजुको घरबाट धरान र्फकने क्रममा भेट्टाएको ९१ लाख रुपैयाँ र एक थान हीराको हार सम्बन्धित धनीलाई बिनासर्त फिर्ता गरेको भनेर नेपाली सञ्चारमाध्यममा उनी प्रमुखताका साथ छाउन पुगेकी थिइन् । अनुजालाई बधाई दिनेको ओइरो लाग्न थालेको थियो । राष्ट्रपति रामवरण यादवसमेतले अनुजालाई बधाई दिनुभएको थियो ।
एक साता नबित्दै अनुजा घटनाले ९० डिग्रीमा कोल्टे फेरेको छ । हिजो अनुजाको प्रशंसामा खर्चिएका अखबारका पानाहरूले अनुजा झूठी र ठग रहेको कुरा प्रस्तुत गरिरहेका छन् ।
काठमाडौँ सीतापाइला घर भएको भनिएका ६५ वषर्ीय पुरुषोत्तम पौडेल अनेकौँ खोजी र अनुसन्धानपछिसमेत भेटिएका छैनन् । त्यस्तै यस घटनाका अन्य पात्रहरू पैसा फिर्ता लिन सँगै जाने मीतछोरी अनिता कार्की, पौडेलकी छोरी सुधा र इटहरी बस्ने छोरा अनिल कोही सम्पर्कमा छैनन् । त्यस्तै पत्रिकामा पहिलो दिन छापिएको तस्बिर अनुजाको नभई उनकी साथी ममता अधिकारीको रहेको समेत पुष्टि भएको छ । पौडेलकी मीत छोरी भएर समाचार दिन गएकी अनिता कार्की अरू कोही नभएर स्वयं अनुजा बानिया नै भएको समेत पुष्टि भइसकेको छ ।
अनुजाले यति ठूलो रकम भेट्टाएर सम्बन्धित मालिकलाई फिर्ता गरेको घटना स्वयं उनका दाजुले समेत पत्याएका छैनन् ।
त्यस्तै अहिले अनुजालाई पुरुषोत्तमको नम्बर माग्दासमेत गल्तिवश नम्बर डिलिट भएको बताउन उनी पछि पर्दिनन् । मेरो मोबाइलको नम्बरबाट उनले पुरुषोत्तमलाई राति ११ः३० मा सम्पर्क गरेको, इटहरी आईएमईबाट ९१ लाख झिकिएको भनिए पनि इटहरी आईएमईले आˆना शाखाबाट त्यति ठूलो रकम कसैलाई पनि भुक्तानी नगरिएको दाबी गरेको छ । त्यस्तै त्यति ठूलो रकम कुनै पनि बैङ्कले एकैपटक भुक्तानी गर्न गाह्रो हुनेसमेत शाखाले जनाएको छ । घटना असत्य हो भन्नका लागि यो नै एउटा गतिलो आधार हुन सक्छ । अर्कोतर्फ धरानमा पैसा चाहिएको हो भने धरानमा आईएमईको कुनै शाखा नै नभएजस्तो गरी किन इटहरी शाखामा त्यति ठूलो रकम पठाएर धरान लगिन्थ्यो ? अनि त्यति ठूलो रकम बोक्ने मान्छेले प्राइभेट गाडी चढ्नुको साटो किन सार्वजनिक गाडी प्रयोग गर्‍यो त ? घर किन्नका लागि त्यति ठूलो रकम नगद किन लगियो जब कि अहिले मालपोत कार्यालयमा ४० लाखभन्दा बढी रकम चेकबाट मात्र लिइने व्यवस्था छ । पैसा त घर किन्नका लागि ल्याइयो तर हीराको हार किन बोकियो त ?
त्यति ठूलो रकम र हीराको हार हराउँदासमेत प्रहरीलाई जानकारी नगराएको घटना अर्को अपत्यारिलो घटना हो । सबै घटना र फेला परेका प्रमाणहरूले अनुजा प्रकरण असत्य र भ्रामक प्रचारबाजीमात्र रहेको पुष्टि भएको छ ।