यस्तो विज्ञापन तपाईँले काठमाडौँका थुप्रै ठाउँमा टाँसेको देख्नुभएको होला। यस्तो गैरकानुनी काम पनि पोस्टर टाँसेर, अझ खुल्लमखुल्ला मोबाइल नम्बरसमेत दिएर गर्न सक्ने देखेर अचम्म लाग्नु स्वभाविकै हो। हैन, कानुन भनेको यहाँ केही छैन र, जसले जे गरे पनि हुने हो र जस्तो लाग्थ्यो। बल्ल प्रहरीले यस्ता विज्ञापन टाँस्न थालेको वर्षौँपछि कारबाही अघि बढाएछ। थेसिस बेच्ने बल्ल खोरमा थचारिएछन्।
यी दुस्साहसी व्यक्ति रहेछन् श्यामचन्द्र अधिकारी। उनलाई प्रहरीले बल्खुबाट पक्रेको रहेछ। तीन वर्षदेखि यस्तो काम गर्दै आएका रहेछन्। पैसा चाहिँ आठ हजारसम्म लिने गर्दा रहेछन्। मान्छेलाई आफ्नो एउटा थेसिस लेख्न बाह्र बज्छ, यिनले चाहिँ कसरी लेख्दा रहेछन् हँ त्यत्राको थेसिस ? अचम्म लाग्नु स्वभाविक हो। तर उनको चलाखी हेर्नुस्, कहाँ उनले आफै लेख्ने हुन् र थेसिस। टियुको सेन्ट्रल लाइब्रेरी गयो, पुराना थेसिस निकाल्यो, माइक्रोसफ्ट वर्डमा कन्ट्रोल सि र कन्ट्रोल भि अर्थात् कपिपेस्ट गर्यो, तोडमरोड गर्यो, थेसिस तयार। २५ रुपियाँ तिरेसि थेसिसको सफ्टकपि ल्याउन पाइहालिन्छ क्यारे।
जस्ताको तस्तै सफ्टकपी दिँदा पनि पाँच सयदेखि २५ सयसम्म ठटाउँदा रैछन्। हेर बुद्धि, सेन्ट्रल लाइब्रेरी गए २५ रुपियाँमा पाउने चिज यो ठगसँग किन २५ सय तिर्न पर्यो ! फेरि हाम्रा गुरुहरु कस्ता ? पुरानो थेसिसको तोडमरोड पनि पत्तै नपाउने !
प्रहरीले तीन वर्षमा दुईसयभन्दा बढी विद्यार्थीलाई थेसिस बेचेर १६ लाखभन्दा बढी कमाइसकेको अनुसन्धानबाट देखिएको बताएको छ। लखपति बन्ने सजिलो उपाय खोजेका रहेछन्। अब यस्तो चोरीमा कारबाही के हुने होला, जति कारबाही भए पनि लाखौँ चोख्खै नाफा हुने होला। धत्, यस्तो नि हुँदो रैछ हाम्रो नेपालमा हे भगवान !
मास्टर्सको क्लासमा एक जना गुरुले भनेको पो याद आयो त- एक जना विद्यार्थी क्यासँग झगडा गर्न आए रे। किन रे थाहा छ ? पीयु (पूर्वाञ्चल युनिभर्सिटी) मा यही थेसिसले नब्बे नम्बर पाएको थ्यो, मैले एक अक्षर पनि यताउता गरेको छैन, यहाँ (टियु) मा चाहिँ किन फलानो नम्बर मात्र।