Saturday, December 15, 2012

यस्तो थियो अमेरिकी नरसंहार गर्नेको स्वभाव अमेरिकाको स्कुलमा गोली चल्यो २० बालबालिकासहित २८ को मृत्यु - ekantipur


सनकी एडम लान्जा: उमेर २०, हत्या २७ - bizmandu

न्युयोर्क । अमेरीकाको स्याण्डी हुक स्कुलमा शुक्रबार राती भएको घटनाबाट अहिले सारा विश्व आक्रान्त छ । २० बालबालिका सहित २७ जनाको ज्यान लिने गरी भएको सो घटना २० वर्षीय युवाबाट भएको खुलेको छ । एडम लान्जा नामका ती युवाले राइफलबाट अन्धाधुन्ध गोली प्रहार गरी नरसंहार गरेका थिए । उनले एकै व्यक्तिलाई धेरै ठाउँमा गोली प्रहार गरेको प्रहरी अधिकारीहरुले बताएका छन् । नरसंहारपछि उनले सोहि राइफलबाट आत्महत्या समेत गरेका थिए । २० बालबालिका सहित उनले ६ महिला र आफ्नै हत्या गरेका हुन ।
लान्जा विद्यालयमा जवर्जस्ती पसेका थिए । एसोसिएटेड प्रेसका अनुसार उनी आफ्नी आमालाई मारेर आमाकै गाडी लिएर  स्कूल भित्र घुसेका थिए । स्कुल भित्र पसेपछि ६ मिनेटको अन्तरमा उनले २६ जनाको हत्या गर्न भ्याएका थिए र पछि उनले आफैलाई गोली प्रहार गरे । गोलिवारीका क्रममा उनले एक शब्द पनि बोलेका थिएनन् ।
सहपाठिहरुका अनुसार लान्जा निक्कै लजालु स्वभावका थिए त्यसैले उनको बारेमा साथीहरुलाई धेरै कुरा थाहा हुन सकेको थिएन । साथीहरुको नजरमा निक्कै मेहनती लान्जा स्मार्ट पहिरन लगाउने गर्दथे । उनी सार्वजनिक कार्यक्रममा समेत निक्कै कम सहभागी हुने गर्दथे । यतीसम्मको उनले पढने विद्यालयको हाईस्कुल इयर बुकमा समेत उनको तस्वीर थिएन । उनी इन्टरनेटमा समेत सक्रिय थिएनन् ।
लान्जा आप्mनी आमाका साथ कनेक्टीकटको नजीकै न्युटाउनमा बस्थे । उनको वासस्थान स्याण्डी हुक स्कुलबाट आठ किलो मिटरको दुरीमा थियो । उनले वाल्यकालका केहि वर्ष यहि स्कुलमा विताएका थिए भने पछि ठूलो भएपछि न्युटाउनकै हाई स्कुलमा अध्ययन गर्न थालेका थिए । लान्जालाई चिन्नेहरु उनलाई ज्यादै लजालु र सोझो केटा भन्ने गर्थे, साथीहरु उनलाई निक्कै बाठो तर भद्र भन्ने गर्थे । अरुसँग कमै बोल्ने भएकाले उनका साथीहरु समेत थोरै छन् । लान्जाकी पुर्व सहपाठी ओलिभिया डि विवोले न्यूयोर्क टाइम्ससँगको कुराकानीमा भनिन्, “उसलाई कहिले पनि कसैको साथ देखिनँ । उसँग देखेको कोहि मानिस म सम्झन पनि सक्दिन ।”
लान्जाकी आन्टी मार्शा लान्जाले उनका बुवाआमा संवेदनशिल भएकाले उनको पालनपोषण राम्रैसँग भएको एसोसियटेड प्रेससँगको कुराकानीमा बताईन । उसलाई मानसिक समस्या भएको भए उसका वाबुआमाले उसलाई पहिले नै परामर्श दिन्थे वा आवश्यक अन्य उपचार गर्थे, उनले भनिन् । लान्जाका वाबुआमाको सन् २००९ मा छोडपत्र भएको थियो भने लान्जा आमा न्यान्सीसँग बस्दै आएका थिए । उनका पिता पिटर भने अर्की श्रीमतीसँग स्ट्यामफोर्डमा बस्ने गर्छन । लान्जाका २४ वर्षिय दाजु रायन कलेजको अध्ययन सकेर न्युजर्सीमा कार्यरत छन् । उनी २०१० देखि भाईसँग सम्पर्कमा नरहेको प्रहरीको भनाई छ । छिमेकीहरुका अनुसार वाबुआमाको छोडपत्रले दुबै दाजुभाईमा नराम्रो असर परेको थियो । न्यान्सी शिक्षीकाको रुपमा कार्यरत थिइन् । दुबै छोराहरु आमासँगै बस्दै आएका थिए ।
--------------------------------------------------------------------------------------------------------------
न्युयोर्क , पुस १ - अमेरिकाको पूर्वोत्तर प्रान्त कनेक्टिकटको न्युटाउनस्थित एक स्कुलमा गोली चल्दा २० बालबालिकासहित २८ जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार १८ बालबालिकाको स्कुलमा र दुईको अस्पतालमा मृत्यु भएको थियो । स्थानीय स्यान्डी हुक एलिमेन्ट्री स्कुलमा २० वर्षे एक बन्दुकधारीले गोली चलाएपछि हेड शिक्षकसहित ७ जना वयष्क र ती बन्धुकधारीको पनि मृत्यु भएको छ ।
यो घटनाअघि शुक्रबार बिहान बन्धुकधारी एडम लान्जाले न्युटाउन योगानान्डा स्टि्रटस्थित घरमा शिक्षक आमा नान्सीको हत्या गरेका थिए । कम्ब्याट पोसाकमा आमाको कार लिएर बन्दुकहरूसहित विद्यालय पुगेका एडमले दुई कक्षा कोठामा केही मिनेटमै नरसंहार मच्चाएपछि अन्तमा गोली हानी आत्महत्या गरेका थिए ।
स्कुल बाहिरको वाहनमा एक राइफल र तीन अन्य बन्दुक प्रहरीले बरामद गरेको छ । आमा नान्सीले कानुनी रूपले थुप्रै बन्दुक किनेको प्रहरीले जानकारी दिएको छ । कुनै गम्भीर मानसिक रोगबाट एडम पीडित भएको हुनसक्ने सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अमेरिकाको सबभन्दा सुरक्षित थलो मानिने न्युटाउनमा भएको यो घटनाले सबैलाई चकित बनाएको छ । मृत्यु हुने बालबालिका ५ देखि १० वर्ष उमेर समूहका छन् । अमेरिकाको इतिहासमा यो घटनालाई अहिलेसम्मकै सबभन्दा ठूलो सामूहिक हत्यामध्येको मानिएको छ । सयौं राउन्ड गोलीको आवाजसँगै त्रसित बालबालिकालाई भागिरहेको देखेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
गोली चलिरहेको बेला बाहिर रहेका बालबालिकालाई तानेर कक्षा कोठाको झ्याल ढोका थुनी थुप्रैको ज्यान शिक्षक-शिक्षिकाले बचाएको प्रत्यक्षदर्शीहरूले जानकारी दिए । अग्नि नियन्त्रकहरूले पटक-पटक बालबालिकालाई आँखा बन्द गरेर स्कुलको कार्यालयमा भेला हुन सुझाव दिएका थिए । विद्यालयमा पीडादायी एवं भयंकर दृश्यको सामना गर्नु परेको प्रहरीले बताएको छ । यो घटनाले फेरि एक पटक अमेरिकामा बन्दुक राख्न पाउने कानुनी प्रावधानमाथि बहस सुरु हुनेछ ।
डेमोक्र्याटिक पार्टीका सांसद जेरोल्ड नाडलरले यतिबेला पनि बन्दुक नियन्त्रणमाथि गम्भीर छलफल भएन भने यो दिन फेरि कहिल्यै नआउने बताए । संविधानमै हतियार राख्ने अधिकार प्रदान गरिएकाले अमेरिकामा यससम्बन्धी कानुनलाई कडा बनाउने विषय विवादित छ ।
अमेरिकाका थुपै राष्ट्रपतिले नियन्त्रणलाई अझ कडा पार्नुपर्ने दबाबका विरोध गरिसकेका छन् । पाँच वर्षअगाडि भर्जिनियाको टेक युनिभर्सिटीमा एक छात्रले ३२ जनाको हत्या गरेका थिए । सन् २०१२ मा भएको यो तेस्रो ठूलो घटना हो । यसै वर्षको जुलाईमा कोलोराडोको अरोराको एक सिनेमा घरमा बन्धुकधारीले १२ जनाको गोली हानी हत्या गरेका थिए । यो घटनामा ५८ जना घाइते भएका थिए ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा यो घटनाले मुलुकलाई ठूलो चोट पुगेको बताए । धेरै पटक भइसकेको यस्ता अपराधलाई रोक्न राजनीतिबाट माथि उठेर अर्थपूर्ण पाइला चालिने ओबामाले स्पष्ट
गरे । बारम्बार आँसु पुछिरहेका ओबामाले यो घटनाबाट मुलुकका हरेक आमा-बुवा उनीझैं दुःखी भएको बताए ।
'मारिएका लालाबालाहरू १० वर्षभन्दा मुनिका थिए, उनीहरूले धेरै बाँच्नुपर्ने थियो तर उनीहरूको जीवन खोसियो,' उनले भने । ओबामाले पीडित परिवारका आमा-बुवा, हजुरबा-आमा, दाजु-भाइ र दिदी-बहिनीप्रति शोक व्यक्त गरेका छन् । यो असह्य पीडाको घडीमा वासिंगटनको क्यापिटल हिलमा अमेरिकी झन्डालाई आधा झुकाइएको छ भने सयौंले मैनबत्ती बालेर संवेदना व्यक्त गरेका छन् ।
एडम लान्जाको स्वभाव
आकर्षक पहिरन लगाउने परिश्रमी स्वभावका एडम कमै बोल्ने स्वभावको भएको उनका सहपाठीहरूले बताएका छन् । न्युटाउन हाइस्कुलमा यी छात्रको थोरै मित्र थिए । सन् २०१० हाइस्कुल इयरबुकमा उनको कुनै तस्बिर छैन । बुद्धिमान एवं लज्जालु मित्रको रूपमा सहपाठीहरूले उनलाई सम्झन्छन् । उनको घनिष्ठ मित्र एउटै नभएको सहपाठीहरू बताउँछन् । सन् २००९ मा पिता पिटर र आमाबीचको पारपाचुकेले दाइ रियान र भाइ एडममा नराम्रो प्रभाव परेको थियो । निराश दाजु-भाइलाई आमा नान्सीले उनीहरूको निरन्तर रेखदेख गर्दै आएकी थिइन् ।
 ---------------------------------------------------------------------------------------------------------
 अमेरिकी स्कुलमा गोली चल्यो, २७ को मृत्यु - onlinekhabar
---------------------------------------------------------------------------------------------------------
Dec-15 - 2012
------------------
अमेरिकाको पूर्वोत्तर प्रान्त कनेक्टीकटस्थित प्राइमरी स्कुलमा एक बन्दुकधारीले गोली चलाउँदा २० बालबालिकासहित २७ जनाको मृत्यु भएको छ ।
घटना न्यू टाउनको स्याण्डी हुक एलिमेन्टरी स्कुलमा भएको हो । यसलाई अमेरिकी इतिहासको अहिलेसम्मको सबैभन्दा ठूलो सामूहिक हत्या मानिएको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार बन्दुकधारीले सयौं राउण्ड गोली चलाएको आवाज सुनिएको थियो र बाच्चाहरु डराएर भागेको देखिन्थ्यो ।
प्रहरीका अनुसार बन्दुकधारी पनि मारिएका छन् । आक्रमणकारी २० वर्षका मात्र छन् । बन्दुकधारीले आफ्नी आमाले पढाइरहेको कक्षालाई निसाना बनाएका थिए । घटनामा उनकी आमाको मृत्यु भएको छ । स्याण्डी हुक एलिमेन्टरी स्कुलमा पाँचदेखि १० वर्षसम्ममा बालबालिका पढ्छन् ।
ह्वाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले घटनाले अमेरिकालाई ठूलो धक्का लागेको बताउनु भएको छ । उहाँले यस्ता घटना रोक्न तत्काल आवश्यक चदम चाल्नु पर्ने बताउनु भयो ।
पटक-पटक आँसु फुछ्दै गरेका ओबामाले यस घटनाले हरेक आमाबाबुलाई दुःखी बनाएको बताउनु भयो । उहाँले भन्नुभयो–‘मारिएका बच्चाहरुको उमेर १० वर्षभन्दा पनि कम थियो । जसको पूरै जिन्दगी बाँकी थियो । तर, त्यो जिन्दगी खोसिएको छ ।’