३० मंसिर, काठमाडौं । काठमाडौंमा रहेको
अन्तराष्ट्रिय चेन रेष्टुरेन्ट केएफसीले खानका लागि अयोग्य कुखुराको मासु
प्रयोग गर्ने गरेको खुलेको छ ।

पशु सेवा विभागका उप-महानिर्देशक रामकृष्ण
खतिबडाको नेतृत्वमा गएको टोलीले मिति उल्लेख नभएको र खानका लागि अयोग्य
रहेको भन्दै नष्ट गरेको छ । कुखुराको मासु बोकेर आइरहेको एम एच ४३ यु ४३३७ र
डि एल १ एम ६५८२ नम्बरका भारतीय कन्टेनरलाई किसानले शनिबार बिहान चालिसे
बजारमा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
प्रहरीले मासु नष्ट गर्न नमानेपछि
आक्रोसित स्थानीयबासी तोडफोडमा उत्रिएका थिए । त्यसक्रममा प्रहरीले अश्रु
ग्याँस प्रहार गर्दै र लाठी चार्ज गरेको थियो । त्यसक्रममा ३ जना किसान
घाइते भएका छन् । ‘स्थानीयबासीले तोडफोड गर्न थालेपछि केहीबेर अवस्था
असामान्य बनेको हो’ धादिङका प्रहरी प्रमुख विकासराज खनालले अनलाइनखबरसँग
भन्नुभयो । पशु विभागको टोली र स्थानीयबासीको चर्को दबावपछि प्रहरीले करिव
५५ क्विन्टल मासु खाल्डो खनेर गाडेको छ ।
तीन वर्षअघि काठमाडौंमा खुलेको केएफसीले
नेपालको मासु मापदण्ड नपुग्ने भन्दै थाइल्याण्डबाट ल्याउने बताउँदै आएको
थियो । तर, धादिङको घटनाले भारतबाट ल्याउने गरेको खुलेको छ ।