Thursday, December 27, 2012

ठूलाहरुलाई जेलमा पनि मोज गुप्ता र खड्काको जेल दैनिकी - onlinekhabar

१३ पुस, काठमाडौं । पदमा नभएको बेला पनि उत्तिकै चुरीफुरी र फुर्तिफार्ती देखाउने जेपी गुप्ता र खुमबहादुर खड्काको यो रवाफ जेलमा पनि उस्तै छ । भ्रष्टाचारको अभियोगमा छुट्टाछुट्टै रुपमा डिल्लीबजार सदरखोर पुगेका उनीहरु सँगसँगै जस्तो बस्छन् । त्यहाँको दिनचर्या र चहलपहल देख्दा लाग्छ, उनीहरु जेलमा नभएर आफ्नै आलिशन बंगलामा छन् ।
टेलिभिजनदेखि हिटरसम्म
झण्डै डेढसय कैदीको क्षमता रहेको डिल्लीबजार कारागारमा अहिले झण्डै सातसय कैदीबन्दी छन् । देशका अन्यत्र जेलमा जस्तै त्यहाँ रहेका कैदीहरुलाई पनि उस्तै साँघुरो र सास्ती छ । हुन त जेल, घरजस्तो हुने कुरा भएन । तर अरुले घरमा जस्तो सुविधा नपाएपनि गुप्ता र खड्काले भने जेलमा समेत ससुरालीमा भन्दा बढी मेजमानी पाएका छन् ।
पूर्वमन्त्री र चर्चित नेता भएकाले होला उनीहरुलाई सुविधा सम्पन्न छुट्टै कोठाको व्यवस्था गरिएको छ । चाहिएको सरसामान लगिदिन र भेट्ने मान्छे आएका छन् भनेर खबर गरिदिन सहयोगी छन् । कोठामा जाडोको बेला जिउ तताउने हिटर समेत छ । दुवैजनाको कोठामो ठूला टेलिभिजन सेट राखिएको छ । बाहिर हिँडडूल गर्न बाहेक अरु सबै सुविधा उनीहरुलाई छ ।
मीठा परिकारको बन्दोबस्त
जेलमा कैदी बन्दीका लागि सरकारले नै सिदाको व्यवस्था गरिदिन्छ । अर्थात सरकारी भाततिउन नै खान पाइन्छ । तर गुप्ता र खड्काले जेलमा पाउने खानेकुरा खाँदैनन् । उनीहरुलाई होटलबाटै प्याकिङ खानेकुरा आउँछ । घर परिवारले पनि बेलाबेला मीठामीठा परिकार लगिदिने गर्छन् । भेट्न जानेहरुले त अस्पतालमा बिरामीलाई लगेजस्तो मनपर्ने फलफूल र अरु खानेकुरा लगिहाल्छन् ।
भेट्नेहरुको ओइरो
पहिले निवास र पार्टी कार्यालयमा रहँदाजस्तै जेलमा पनि गुप्ता र खड्कालाई भेट्न जानेहरुको दिनहुँ ओइरो लाग्छ । हरेकदिन उनीहरुलाई भेट्न ५० भन्दा बढीको ओहोरदोहोर हुने जेल प्रशासनले जनाएको छ । खड्का र गुप्तालाई भेट्न बिभिन्न दलका शीर्ष नेता, बहालवाला मन्त्री, सुरक्षा अधिकृत, आफन्त, परिवार र साथीभाइको जेलमा चहलपहल देखिन्छ ।
भेट्नलाई छुट्टै कक्ष
जेलभित्र रहेका गुप्ता र खड्कालाई अरुसँग भेट गर्नको लागि जेल प्रशासनले छुट्टै कक्षको व्यवस्था गरेको छ । जेलको प्रवेशद्वार नजिकै रहेको कोठामा पनि सुविधासम्पन्न भौतिक सामग्रीको व्यवस्था गरिएको छ । बस्नको लागि आरामदायी सोफा र कुर्सीको व्यवस्था छ । त्यो कोठामा अरु कैदी बन्दी जान पाउँदैनन् । गुप्ता र खड्का बस्ने कक्षमा जस्तै भेटघाटको लागि बनाइएको कोठामा पनि सहयोगीको व्यवस्था छ ।
दिउँसो भेटघाटमा व्यस्त हुने दुवै ‘भ्रष्टाचारी’ नेता बिहान सबेरै उठ्छन् । दैनिक कर्मपछि गुप्ता लेखपढमा व्यस्त हुन्छन् । तर खड्का भने टेलिभिजन हेरेर समय बिताउँछन् ।