Monday, December 17, 2012

युवाका पि्रय लेखक चेतन भगत - nayapatrika

पछिल्लो समयमा नेपालमा भएका विभिन्न पुस्तक प्रदर्शनीमा भारतीय युवा लेखक चेतन भगतको उपन्यास निकै बिक्री भयो । विशेषगरी अंग्रेजी उपन्यास पढ्न चाहने युवाको रोजाइमा उनको उपन्यास परेको थियो । त्यस्तै पुस्तक पसलहरूमा भगतको पुस्तक खोज्ने युवा पनि निकै छन् । अंग्रेजीमा लेख्ने भगत गैरअंग्रेजीभाषीबीच पनि निकै लोकपि्रय छन् ।
त्यसो त उनको लेखाइलाई धेरै समीक्षकले स्विकारेको पाइँदैन । उनको साहित्यलाई 'हल्का' र 'नरम साहित्य' साहित्य भन्नेहरू पनि छन् । तर, पनि उनी दिनानुदिन लोकपि्रय भइरहेका छन् । उनको किताबको बिक्रीले विश्वका चर्चित पुरस्कार पाएका पुस्तकहरूलाई पनि पछाडि पारेको छ । लेखनको छोटो समयमै धेरै लोकपि्रय हुने कमै लेखकमा भगत पनि पर्छन् ।

लोकपि्रयताको राज

अहिलेसम्मको उनका कृतिहरूलाई हेर्दा 'युवा' नै उनको सफलताको राज देखिन्छ । उनी युवा वर्गका भावना, उनीहरूको मनमा उत्पन्न हुने आवेग, उनीहरूको प्रेमप्रतिको आकर्षण तथा उनीहरूको दृष्टिकोणलाई समातेर लेख्न उनी सफल देखिन्छन् । विषय छनोट गर्दा उनले युवाहरूको मनमा गुजि्ररहेको विषयलाई समाएको देखिन्छ । भर्खरै आफूले पार गरेर आएको जीवनका कथालाई पनि उनले उपन्यासको रूप दिएका छन् । त्यसले पनि उनका उपन्यासमा युवाले आफैँले भोगिरहेको जीवन पाउँछन् ।
उनको लोकपि्रयताको राज भनेको सामान्य अंग्रेजी पनि हो । सामान्य अंग्रेजीलाई मीठो गरी प्रस्तुत गर्न सफल हुनुको कारण उनी गैरअंग्रेजीभाषाका पाठकबीच झनै लोकपि्रय भएका छन् । उनको अंग्रेजी बुझ्नलाई अंग्रेजीभाषाको गहन अध्ययन आवश्यक पर्दैन, सामान्य अंग्रेजी बुझ्ने पाठक पनि उनको उपन्यासमा रमाउन सक्छन् । उनका उपन्यासहरूमाथि बनेका चलचित्रले पनि उनलाई लोकपि्रय हुन सघाएको छ । त्यस्तै उनको युवा र वक्ता व्यक्तित्व पनि त्यसमा सहयोगी सिद्ध भएको देखिन्छ ।

भगतका किताबहरू

फाइभ प्वाइन्ट समवान
भारतीय प्राविधिक कलेजमा भर्ना भएका तीन युवाको वरिपरि यो उपन्यास घुमेको छ । उनीहरूको कलेजको सुरुवाती दिन नै खराब हुन्छ । त्यसपछिका कक्षामा पनि उनीहरूले राम्रो गर्न सक्दैनन् । उपन्यासले उनीहरूको मनोविज्ञान, चाहना, प्रेमजीवन र भविष्यलाई समेटेको छ । यस उपन्यासका विभिन्न घटना उनले आफ्नो बिद्यार्थीकालको अनुभवबाट पनि लिएका छन् ।

वान नाइट एट द कल सेन्टर
यो एउटा लेखकको कथा हो । लेखकलेे रेलयात्राका क्रममा एक युवतीलाई भेट्छ । समय बिताउनका लागि युवतीले कथा सुनाउने तर त्यो कथालाई किताबको रूप दिनुपर्छ भन्ने सर्त राख्छिन् । किताब लेख्ने कुरामा लेखक अन्कनाए पनि कथाबारे जिज्ञासा राख्छ । युवतीले एउटा कल सेन्टरमा एक रात ६ जना व्यक्ति काम गरिरहेको र उनीहरूलाई भगवानको फोन आएको कथा सुनाउँछे । उपन्यासमा कल सेन्टरमा काम गर्नेहरूको कथा, व्यथा र दुःखको वरिपीर घुमेको छ । यो उपन्यास सन् २००५ मा प्रकाशित भएको हो ।

द थ्री मिस्टेक्स अफ माई लाइफ
गोविन्द नाम गरेको अहमदावादनिवासी युवा यो उपन्यासको केन्द्रीय पात्र हो । जोे राम्रो व्यवसायको सपना देख्छ । त्यसका लागि साथीहरूसँग मिलेर क्रिकेट पसल खोल्छ । ऊ पैसा धेरै कमाउन चाहने भएकाले त्यहीअनुसार सोच्छ । तर, साथीहरूको सोच उसको जस्तै हुँदैन । यस क्रममा उनीहरूले आफ्नो लक्ष्य थाहा पाउन र प्राप्त गर्न सामना गर्नुपरेका विषयलाई उपन्यासमा समेटिएको छ । यो उपन्यास सन् २००८ मा प्रकाशित भएको हो ।
टु स्टेट्स
यो प्रेमकथामा आधारित उपन्यास हो । यसमा भारतका दुई फरक राज्यका युवायुवतीबीचको प्रेम कथा समेटिएको छ । उनीहरू गहिरो प्रेममा परेका हुन्छन् र विवाह गर्न चाहन्छन् । तर, उनीहरूका आमाबुबा विवाहका लागि तयार हँुदैनन् । आफ्नो प्रेमकथालाई प्रेम विवाहमा परिणत गर्न उनीहरूले निकै चुनौती खेप्नुपर्छ । परिवारबाट विद्रोह गर्नभन्दा परिवारलाई मनाउन निकै गाह्रो हुन्छ भन्ने विषयको वरिपरि कथा घुमेको छ । उनले यसमा आफ्नै प्रेमकथाका घटनाक्रमहरुलाई पनि उतारेका छन् ।  यो उपन्यास सन् २००९ मा प्रकाशित भएको हो ।

रिभोल्युसन २०२०
यो भारतको सानो सहरका दुई बुद्धिमान र चलाख केटाबारे लेखिएको उपन्यास हो । एउटाले आफ्नो बुद्धि पैसा कमाउनका लागि प्रयोग गर्न चाहन्छ भने अर्कोले आफ्नो चलाखी परिवर्तनका लागि प्रयोग गर्न चाहन्छ । तर, उनीहरूको एउटै समस्या हुन्छ त्यो हो एउटै केटीलाई मन पराउनु । दुवै युवाले यो समस्यालाई कसरी हेर्छन् र अघि बढ्छन् भन्ने विषयको वरिपरी कथा घुमेको छ । यो उपन्यास सन् २०११ मा प्रकाशित भएको हो ।

ह्वाट योङ इन्डिया वान्ट्स
यो उनको गैरआख्यान कृति हो । यसमा उनले 'किन विद्यार्थीहरूले आत्महत्या गरिरहेका छन्, किन भारतमा धेरै नै भ्रष्टाचार भइरहेको छ, भारतका राजनीतिक दलहरू कहिल्यै मिलेर काम गर्न सक्छन्, हाम्रो भोटले देशमा केही फरक पर्छ कि पर्दैन, देशमा केही फरक हुनु आवश्यक छैनजस्ता प्रश्नको उत्तर खोज्ने प्रयत्न गरेका छन् । निबन्धात्मक शैलीमा लेखिएको यो गैरआख्यानले उल्लेखित समस्या र त्यसको समाधानको विषयमा बहस सिर्जना गरेको छ । यो पुस्तक सन् २०१२ मा प्रकाशित भएको हो ।

भगतका कृतिमा आधारित फिल्म

थ्री इटियट्स
भगतको उपन्यास फाइभ प्वाइन्ट समवानको कथामा आधारित चलचित्र 'थ्री इडियट्स' निकै सफल भएको थियो । यो चलचित्रले धेरै कमाउने रेकर्ड बनाएको गजनी चलचित्रको रेकर्डसमेत तोडेको थियो । आमिर खानले मूख्य भूमिका निर्वाह गरेको यो चलचित्र पूर्वी एसिया र चीनमा निकै हेरिएको थियो । नेपालमा पनि यो चलचित्र निकै हेरियो । चलचित्रको निर्देशन राजकुमार हिरानीले गरेका थिए । २५ डिसेम्बर २००९ मा रिलिज भएको यो चलचित्रमा खानका साथमा करिना कपुर, आर माधवन, मोना सिंह, ओमी वैद्यलगायतले अभिनय गरेका छन् ।
यो चलचित्र निकै सफल भए पनि भगतकै विषय विवादित पनि बन्यो । यो चलचित्र भगतले चलचित्र निर्माणको क्रममा आफूले भनेको भन्दा धेरै कथा पुस्तकबाट लिएको र कथाको 'क्रेडिट' आफूले नपाएको भन्ने अभिव्यक्ति दिएपछि निकै विवाद सिर्जना भएको थियो । उनले आफूलाई सुरुमा दुईदेखि पाँच प्रतिशत मात्रै कथा उपन्यासबाट लिने भनिए पनि ७० प्रतिशतभन्दा बढी कथा लिइएको देखिएको बताए । तर, चलचित्रका निर्देशकले यो कुरालाई अस्वीकार गरे । चलचित्रमा भगतको नाम चलचित्रपछि मात्र उल्लेख गरिएको थियो । तर, उनले सुरुमै आफ्नो नाम उल्लेख गर्ने सहमति भएको बताए । चलचित्रका निर्देशक राजकुमार हिरानीले भने, 'चलचित्र बन्नुभन्दा पहिले नै आफूले कथा लिने आधिकारिक सहमति गरेको र भगतको स्थानबारे पनि सहमति भइसकेको थियो ।'

काई पो चे
भगतको द थ्री मिस्टेक अफ माइ लाइफ उपन्यासमा आधारित यो चलचित्र २२ फेब्रुअरी २०१३ मा रिलिज हँुदै छ । अमृत त्रिवेदीको संगीत यो चलचित्रको निर्देशन अभिषेक कपुरले गरेका हुन् । यसमा जावेद अख्तर, सुशान्त सिंह, राजकुमार यादवलगायतको अभिनय हेर्न सकिनेछ । यसको शिर्षक गुजराती भाषामा राखिएको हो ।

हेलो
अतुल अग्निहोत्रीद्वारा निर्देशन गरिएको यो चलचित्र भगतको वान नाइट एट द कल सेन्टरमा आधारित छ । यसमा सोहिल खान, अमृता अरोराका साथमा सलमान खान र क्याटि्रना कैफको पनि भूमिका रहेको थियो । १० अक्टुबर २००८ मा रिलिज भएको यो चलचित्रले बलिउड फिल्म बक्स अफिसमा औसत व्यापार गरेको थियो ।
उनको उपन्यास टु स्टेट्समा आधारित फिल्म बनाउन नदियादवाला ग्रान्डसन इन्टरटेनमेन्ट प्रालिले अधिकार लिइसकेको छ । त्यस्तै युटिभी मोसन पिक्र्चसले उनको पछिल्लो उपन्यास 'रिभोलुसन २०२०' मा आधारित चलचित्र निर्माण गर्दै छ ।

को हुन् भगत ?

चेतन भगत २२ अपि्रल १९७४ मा नयाँदिल्लीको मध्यमवर्गीय परिवारमा जन्मिएका हुन् । उनको बुबा सैनिक हुन् भने आमा कृषि विभागमा सरकारी जागिरे हुन् । उनको धेरैजसो शिक्षा दिल्लीमा नै भएको हो । उनले आफ्नो प्रारम्भिक शिक्षा नयाँदिल्लीको आर्मी पब्लिक स्कुलमा पूरा गरे । त्यसपछि उनले दिल्लीकै इन्डियन इन्स्िटच्युट अफ टेक्नोलोजीमा मेकानिकल इन्जिनियरिङ अध्ययनको पढाइ पूरा गरे । त्यस्तै उनले इन्डियन इन्स्िटच्युट अफ मेनेजमेन्टबाट आफ्नो ग्रयाजुएसन पूरा गरे । त्यसपछि उनी हङकङ गए र त्यहाँ बैंकमा लगानी गरी काम गर्न थाले ।
उनको विवाह सन् १९९९ मा अनुशा सूर्यनारायननसँग भएको हो । उनीहरूका दुई छोरा श्याम र इशान छन् । ११ वर्षको हङकङ बसाइँपछि उनी आफ्नो लेखाइलाई समय दिनका लागि मुम्बई फर्किए । अहिले उनी भारतमा लेखक, स्तम्भकार र वक्ताका रूपमा परिचित छन् । उनले अहिलेसम्म लेखेको पाँचैवटा उपन्यास 'बेस्टसेलर' बनेको छ । उनका 'फाइभ प्वाइन्ट समवान' वान नाइट एट द कल सेन्टर, द थ्री मिस्टेक्स अफ माई लाइफ, टु स्टेट्स र रिभोल्युसन २०२० उपन्यास तथा 'ह्वाट योङ इन्डिया वान्ट्स' गैरआख्यान प्रकाशित छन् । अंग्रेजी म्यागजिन 'टाइम'ले उनलाई सयजना प्रेरक व्यक्तित्व सूचिमा राखेको थियो ।

कला अनुरागी (एजेन्सीहरूको सहयोगमा)