Tuesday, October 2, 2012

साहित्यिक महोत्सव कि भाँडभैलो ! - onlinekhabar

कृष्ण अविरल
के एनसेलले १४ लाख रुपैयाँ वुकवार्म नामको अजित बरालको समूहलाई आफ्नो कोटरी निर्माण गरेर पुराना र पाका स्रष्टाहरुको अपमान गर्न तथा नेपाली भाषा साहित्यको हुर्मत लिनका लागि दिएको थियो ? उत्तर आ-आफ्नै होलान् । निष्पक्ष रुपमा हेर्दा तीन दिने कथित साहित्यिक महोत्सव मिडियाका साहित्यिक स्तम्भलाई पेवा सम्झनेहरुलाई खुशी पार्दै र आयोजकहरुको स्वामित्वको फाइनपि्रन्टसम्बद्ध लेखकहरुलाई मञ्चमा उफार्दै सम्पन्न भएको छ । यसले संस्कार बसाउने भन्दा पनि कुसंस्कार र गुट प्रवृत्तिलाई प्रोत्साहन दिएको छ । विधागत योगदानका दृष्टिले ओठ निचोर्दा दूध आउनेहरु केहीलाई संयोजनकर्ताको रुपमा मञ्च दिलाएर ‘जोकर’ बनाएको छ । अनि पैसा र मिडियामा पहुँच हुनेहरुले जे गर्दा पनि हुन्छ भन्ने दादागिरीको नजिर बसाएको छ ।
चारैतिरबाट प्रशंसा र वाहीवाही पाइरहेका बेला अनि कमजोरी औंल्याउँदा आयोजकहरुको आँखाको तारो बनिएला भनेर पनि सबैले गुणगान गाइरहेका बेला कमजोरी सुन्ने कान बन्द भएको पनि हुन सक्ला । प्रशंसा र प्रशस्ति सुन्ने बानी परेका सामन्ती संस्कारको विरासत बोकेका साहित्यका मठाधिशहरुको मनमा यो आलोचनाले आगो नै लगाइदिन सक्ला । प्रकाश सायमीले समेत प्रशंसा गरिदिएपछि भुइँमा न भाँडामा भएका बेला यस्तो स्थिति उत्पन्न हुनु अस्वाभाविक पनि होइन । तर सत्य तीतो नै हुन्छ, स्वीकार्नु नस्वीकार्नु वेग्लै कुरा ।
स्रोतका अनुसार महोत्सवका लागि सुरुमा विकाश खनाललाई संयोजक तोकिएको थियो । कार्यक्रमको तयारीसहित पाहुना भारतीय स्रष्टाहरुसँग सम्पर्क स्थापित गरिसकेपछि खनालको अपमान गर्ने काम गरियो । अजित बरालबाट यति चर्को अपमान भयो कि केही समय त खनाल डिप्रेसनको शिकार समेत भए । त्यसपछि दिनेश काफ्लेलाई संयोजक तोकियो । आन्तरिक किचलोका कारण कार्यक्रम भद्रगोल भयो, जसले …लाई भन्दा देख्नेलाई लाज भन्ने उखानको स्मरण गरायो ।
प्रज्ञाप्रतिष्ठान निरीह
गत असोज ८ गते सम्पन्न चार दिने महोत्सवले नेपाल प्रज्ञा प्रतिष्ठान र त्यसका पद ओगटेर भत्ता खान पल्केका कुलपति-प्राज्ञहरुको नालायकी छताछुल्ल पारिदियो । चौर उपलब्ध गराएको भरमा सहआयोजक बनेको प्रज्ञा प्रतिष्ठान नेपाली भाषाको हुर्मत लिने कामको साक्षी बस्नु लज्जास्पद नजिर बन्यो । सहआयोजक भएर पनि छलफलका विषयहरु साझा र आम सरोकारका बनाउन नसक्नुले वुकवार्मलाई मनपरी गर्न सजिलो बनाइदियो । यतिसम्म कि प्रतिष्ठानका पदाधिकारीले विषयगत वक्ताका रुपमा मञ्चमा स्थानसमेत पाएनन् । कुलपति बैरागीको फोटो ‘रिड’ पत्रिकामा छापिनुलाई नै प्रतिष्ठानले उपलब्धीको रुपमा लिनुपर्ने स्थिति बन्यो ।
खड्किने कुरा हो, नेपाली साहित्यिक महोत्सब भनिए पनि कार्यक्रममा राखिएका तुल, जानकारी पुस्तिका -ब्रोसर), फाइनपि्रन्टसम्बद्ध लेखकहरुलाई प्रवर्द्धन गरिएको ‘रिड’ पत्रिका कतै पनि नेपाली भाषाको प्रयोग गरिएन । वक्ताहरुले समेत नेपाङ्ग्रेजी भाषाको प्रयोग गरेका थिए । नेपाली भाषा र त्यसको अवस्था एवम् समस्या जस्तो अहिलेको जल्दोबल्दो विषय समेत छलफलको विषय नबनेका बेला देश भित्रका अन्य भाषाभाषीका समस्या र तिनका स्रष्टाहरुले स्थान पाएनन्, आयोजकहरुले आम्दानी र खर्चसमेत सार्वजनिक गरेनन् भनेर गुनासो गर्नु भनेको अर्नाको अगाडि बाँसुरी बजाउनु जस्तो मात्र हुन जाला ।
अग्रजहरुको अपमान
सहआयोजक सम्बद्धहरुले नै मञ्चमा स्थान नदिइएको महोत्सवमा पाका र वरिष्ठ स्रष्टाहरुको उपेक्षा गरियो भन्नुको कुनै तुक नहोला । तर लज्जास्पद यो हो कि भारतका ‘ख’ र ‘ग’ श्रेणीका लेखकलाई आतेजाते खर्चसहित निम्त्याउन सक्ने आयोजकहरुले नेपाली भाषा-साहित्यका जीवितमध्येका उच्चवौद्धिक व्यक्तित्व प्रा.डा. वालकृष्ण पोखरेल, राष्ट्रकवि माधव घिमिरे, पूर्वीय दर्शनका प्रकाण्ड विद्धान मदनमणि दीक्षित, दर्शन-अध्येता एवम् समालोचक इन्द्रबहादुर राई, भाषाविद्-समालोचक डा. तारानाथ शर्मा, भाषा-लिपिका विलक्षण अनुसन्धाता मोहनप्रसाद खनाल, इतिहासकार ज्ञानमणि नेपालजस्ता महारथिहरुलाई कार्यक्रमको निम्तो समेत नदिएर पूरै अवमूल्यन गरे ।
कविता वचनकलाका प्रखर मानिने तुलसी दिवस, आफ्नो सिर्जनाशक्तिकै वलमा कुनै बेला देशमै हलचल ल्याएका परशु प्रधान, विष्णुविभु घिमिरे, वानिरा गिरी, मोदनाथ प्रश्रति, भुवन ढुंगाना, तोया गुरुङ, ध्रुव सापकोटा, डा. रामप्रसाद ज्ञवाली आदिलाई पनि साहित्यकार स्वीकारेर निम्त्याइएन । दुवसु क्षत्री, श्रीओम श्रेष्ठ, राधेश्याम लेकालीहरु त झन् साहित्यकारको दर्जामै परेनन् । नेवारी भाषा साहित्यका रत्न कोजु, मैथिलीका डा. राजेन्द्र विमल, थारुका कृष्णराज सर्वहारीहरुको त झन् सम्झने कोटीमै परेनन् ।
मोफसलबाट पनि त्यही स्थिति रह्यो । पोखराका तीर्थ श्रेष्ठ, वाग्लुङका काजी रोशन, धरानका बद्री पालिखे, हेटौंडाका आरसी रिजाल, विराटनगरका विवश पोख्रेल, धरानका बद्री पालिखे, झापाका शिव प्रणत, केशव आचार्य जस्ता आआफ्नो विधाका अब्बलकोटिका स्रष्टाहरु कसैले पनि निम्तो पाउन सकेनन् । दार्जिलिङबाट विन्दि्या सुब्बा, सिक्कमबाट डा. राजेन्द्र भण्डारी, असमबाट लीलबहादुर क्षेत्री आदिलाई बोलाउनु साटो उहाँहरु सबैको काम मनप्रसाद सुब्बाबाट चलाइयो । साहित्यिक योगदानका दृष्टिले अग्रज ठानिएका स्थापित स्रष्टाहरुलाई पूर्ण वेवास्ता गर्दै शिवानी सिं थारुहरुबाट प्रवचन गराइएको कारणले पनि यो महोत्सव शिव पुराणमा वणिर्त दक्ष प्रजापतिको यज्ञजस्तो हुन पुग्यो ।
छलफलका विषय हाँस्यास्पद
साहित्यिक महोत्सवमा छलफलका लागि तोकिएका कतिपय विषय यस्ता थिए जसले भाँडहरुको भैलोलाई सम्झाउँथ्यो । त्यहाँ नेपाली भाषा साहित्यका राम्रा पक्ष र चुनौती छलफलको विषय थिएन । बरु ‘लेखनका सुखदुःख’ विषय थियो । अनि त्यस विषयका वक्ता तोकिएका थिए, साहित्यिक योगदानका दृष्टिले मदनमणि दीक्षित डा. बालकृष्ण पोख्रेल, मनुजबाबु मिश्र, डा. तारानाथ शर्मा, आदिका अगाडि दूधेबालक भन्न मिल्ने बुद्धिसागर Û एकजना सहभागी भन्दै थिए, ‘आठ वर्षे बालकले आफ्नो जीवन भोगाइ बताएजस्तै थियो, बुद्धिसागरको प्रस्तुति ।’
किन कुँजियो समालोचना ?, नारी स्रष्टा र तिनका समस्या, प्रकाशकहरुसँगको सम्बन्ध र रोयल्टी समस्या, साहित्यिक पुस्तकको बजार प्रवर्द्धन कसरी गर्न सकिन्छ ?, किन फस्टाउन सकेन हास्यव्यङ्ग्य लेखन ?, नयाँपुस्ता ः सम्भावना र चुनौती, किन गिर्दो छ भाषा साहित्यको शोध ?, कहाँ छ महाकाव्य विधा ? जस्ता जल्दावल्दा विषय त आयोजकहरु दिमागमै रहेनछ । साहित्यमा यौन विम्बको प्रयोगको अवस्था, मुक्तक ः व्यङ्ग्य र सौन्दर्यजस्ता विषयमा छलफल गराइएको भए गजल कार्यक्रम जत्तिकै जम्न सक्थ्यो । अन्तर्राष्ट्रिय जगतमा देखाउन सकिने एकमात्र नेपाली स्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा त कुरै उठाइएन । बरु कार्यक्रमको अन्तिम दिन चलचित्रका नायिकाहरुलाई बोलाएर सुडौल तिघ्रा प्रर्दशन गराउने काम गरियो । यसबाट पनि आयोजकहरुको सोच कतिसम्म संकीर्ण र गरिब रहेछ भन्ने प्रष्ट हुन पुग्यो ।
तोकिएको विषयको छलफलका लागि संयोजनकर्ताको जिम्मा सञ्चार संस्था सम्बद्ध स्रष्टाहरुलाई दिइएबाट आयोजकहरु मिडियालाई खुशी पार्न कति आतुर रहेछन् भन्ने देखियो । साहित्यसँग असम्बन्धित विषयमा बोलाएर ठूला पत्रिकका सम्पादकहरुलाई मञ्च दिइनुलाई चाहिँ धेरैले निर्लज्जताको पराकाष्ठाको रुपमा टिप्पणी गरे । सहभागीहरुका अनुसार नागरिकका वसन्त वस्नेतलाई अपवाद राख्ने हो भने आफू सम्बद्ध मिडियाको साहित्यिक स्तम्भलाई मौजा सम्झनेहरुले सञ्चालन गरेका सबै कार्यक्रम केटाकेटीको गुच्चा खेलजस्ता थिए । हुन पनि विधागत सिर्जना र योगदानका दृष्टिले ओठ निचोर्ने स्तरकाहरुले संयोजनका नाममा प्रवचन दिन थालेपछि सहभागीलाई गुच्चा खेलको याद किन नआओस् ?
के गर्न सकिन्थ्यो ?
आयोजकहरुले छलफललाई साँच्चै स्तरीय बनाउन चाहेका भए साहित्यको भाषाका बारेका वक्ताहरुमा डा. तारानाथ शर्मा, डा. माधवप्रसाद पोख्रेल, शरच्चन्द्र वस्ती, केदार शर्मालाई रोज्न सक्थे । वालसाहित्यमा विनय कसजुसँगै कृष्णप्रसाद पराजुली, रामबाबु सुवेदी, रामप्रसाद ज्ञवाली आदिलाई मञ्च दिन सक्थे । संस्मरण लेखनको विषयमा गणेश रसिकसँगै जगदिश घिमिरे, भवानी क्षेत्री वा आनी छोइङलाई वक्ता वनाउन सकिन्थ्यो । लेखनका सुखदुःखमा मदनमणि दीक्षित, वालकृष्ण पोखरेल, माधव घिमिरे, मनुजबाबु मिश्र आदिको विकल्प सोच्नु पनि अक्ष्म्य हुन्छ भनेर सोच्नु पथ्र्यो । कवितामा तुलसी दिवस, तीर्थ श्रेष्ठ, गीता कार्की, निमेष निखिल, सुरेश हाचेकालीलाई माइनस नगरेकै भए हुन्थ्यो ।
पुस्तक विक्रीका लागि रत्न र फाइनपि्रन्टले मात्र एकलौटी नगरी सबैलाई स्थान दिएको भए हुन्थ्यो । अनि जम्माजम्मी तीन लाख हाराहारीको पुस्तक राखेर पाँच लाखको बिक्री भएको हावादारी प्रचार पनि नगरेको भए हुन्थ्यो ।
सत्य हो, काम गर्दै जाँदा निश्चय नै कमजोरी हुन्छन् । हिँड्ने मान्छे नै लड्छ । तर साहित्यिक महोत्सवका सन्दर्भमा आयोजकहरुको नियतमै खोट देखियो । किनकि उनीहरुले आफ्नो प्रकाशन सम्बद्ध लेखकहरुलाई जवर्जजस्त प्रचार गराउने, महोत्सवका माध्यमबाट सञ्चारमाध्यम र तिनका मौजावालाहरुलाई खुशी पार्ने अनि पाका स्थापित र इतर विचार राख्ने स्रष्टाहरुलाई निम्तै नगर्ने नियत राखे । खोटो नियत नराखी सबैको महोत्सव बनाउन सकेको भए आयोजकहरुको नाम इतिहासमै अंकित हुने थियो, कलंकित हुने थिएन ।